मर्ने मात्रै ? फेन्ट हुन्छ फेन्ट !!!
तिहारको रमझम थियो चारैतिर । जुवा तासमा सिंगै गाउँवस्ती डुबेको । त्यस्तो बेला नखेल्नेले के गर्ने ? चरा हेर्न जाने सल्लाह गरियो । कपिल मामा (कपिल पोख्रेल) सँग सोधेको त जोस्सिए । नेपालमै चराका क्षेत्रमा नाम कमाएका । चरा = कपिल पोख्रेल भने जस्तै । उनी जाने भनेपछि सुकेको शरिरमा सलाईन पानी दिएजस्तो हुन्छ । कपिल मामा जाने भए त जाने भन्दै सुर्रिए साथीहरु ।
थुप्रै वर्षपछि भेट भएका थिए प्रेम थापा । पटक पटक सुनाइरहन्थे -म त गैडा शिकारी टोलम बस्छु दाई भन्दै । उनी पदमपुर वस्तिमा बस्ने रहेछन । जहाँ गैंडा चोरी शिकार गरेको आरोपमा धेरै पक्राउ परेका रहेछन । बटारिएका र सालका रुखमा बेरिने लहराझैं जेलिएका प्रेमका कुरा गर्ने । झिंगा शरिरमा बस्दा पनि धान्न नसकेर लच्किएल जस्तो फुकिढल । खिस्स दातँ देखाउँदै “दाई म त ४१ किलो छु” भन्दा गालाका खोबिल्टामा एउटा बिमिरो अटाउला जत्रो खाडल पर्ने । हात्तीसारमा पुग्दा प्रेमकली लेखेको हात्तीपनि उसैले पहिले देखाउँछ “वाह त्यो पोथीको नाम त प्रमकली रहेछ नी ” भन्दै । तिमीले अब बिहे गर भन्यो । तोरन बटारिएझैं “हेत् बिहे गरेर दुख पाउनु छ र ? जिन्दगी नगर्ने दाई” भन्दै दिर्घकालिन प्रेमलाई ठाडै अस्विकार गर्ने । प्रेम भनेपछि पहिलेनै ज्वरो आउने त्यस्तो मान्छेलाई त्यस्तो नाम जुराउने को होला ? त्यस्तो पुरेतले खानु पर्ने होइन त कालोमोसो ?
(दाहिनेबाट कपिल मामा, प्रेम, रुपेन्द्र, अन्जना र आमोद। )
चरा हेर्न जाने भन्दै बिहानै पाँच बजे उठिएको थियो । १२ वर्षे छोरो आमोदपनि रातीनै उठ्यो ल अंकलहरुसित आज चराहेर्न जाने भन्दै । हामी साईकलमा बाबु छोरा लाग्यौं सौराहातिर । तोकिएको ठाउँमा त जम्मा छ जना म, आमोद सापकोटा, रुपेन्द्र कर्माचार्य, अन्जना पाठक, प्रेम थापा र कपिलमामा (कपिलपोख्रेल) मात्रै भेट भइयो । पानी पर्न थाल्यो चरा हेर्न वन पस्नै पाएको छैन । झोंक चल्यो । मैले एक जना नगरकोटे साथी दिनेश श्रेष्ठका बाबु पानी परेको देखेपछि रिसाएको प्रसंग सुनाएँ-
धान सुकाउने रहेछन अनि झ्यार्र पानी पर्छ, उठाएर भित्र लैजान्छन । फेरि पानी रोकिएर घाम लाग्छ अनि बाहिर ल्याउँछन सुकाउन । थुप्रै पटक त्यस्तो भएपछि झोंक चल्यो बुढालाई । अनि जल देउतासँग आक्रोशित बुढाले कम्मरमा हात लगाएर आकाशतिर हेर्दै भने-कटि माट्रै पानी पर्न सक्याको ? जटि गर्यापनि पानी ट पर्याको पर्याकै गर्ने । यो डेउटापनि बौलाएर ल्यायो कि क्याहो ? घत लागेछ साथीहरु हाँस्न थाले ।
एकै छिनमा फुस्रो रंगको भद्राई, चिचिल्कोटे, गाजली चरा, साँवरी, किर्ने बकुल्ला भटाभट देखिदैँ गए । चिचिल्कोटे त्यती फिस्टे चरो, मोरो हाम्रा नजिकै आएर ठुंगौंला झैं गर्दै कराउँछ । उता वस्तीमा मानिस मासु, माछा, चिउरा अनि जुवा र तासमा मस्ती छन तिमीहरु के खोज्छौ जंगलै जंगल भन्दो हो ।
(ढुंग्रेखोलामा देखिएको विश्वकै दूर्लभ चरामा पर्ने [आङ्ल भाषामा लेसर एजुटेन्ट स्टोर्क भनिने] गरुड । फोटो-आमोद सापकोटा । )
ढुंग्रे खोलाको किनार पुगियो । होटेल गैडा वाईल्डलाईफ क्याम्प (होटेल) को मुखैमा । हुन त बिचरा पालेलाई के दोष, जस्तो माथिको खटन त्यस्तै गर्ने न हो । उसको गेट भएर जंगलभित्र छिर्न लागेको त पाले कराउँछ-तपाईहरु कहाँ जाने, किन, कसरि, कतिबेर, ङा ङुँ, ओहो हुँदैन त्यता जान भन्दै । मेरा त कन्सुलीका रौं ताकेका थिए । हामी स्थानिय मानिसले सानैदेखि घुमेको, दौडेको, खेलेको त्यो वन । हाम्रा बाबु बाजेको बुद्दी र बिबेकले जोगिएको । अहिले काठमाडौंतिरको कुनै तस्करले हामीलाई नै रोक्ने ? मैले यहाँ किन तस्कर भनेको भने निकुञ्जभित्रका धेरै होटेलले जिवजन्तु तस्करहरुलाई सुरक्षा दिएर राख्छन । तस्करहरु निकुञ्जभित्रका त्यस्ता होटेलम बसेर गैंडा बाघ जस्ता दूर्लभ जिवजन्तु चोर्ने योजना बनाउँछन । सात समुद्रपारीका गोरे बिना मतलब छिर्न पाउने स्थानिय मानिसलाई बाटो हिँड्नपनि रोक ? पहिले ज्ञानेन्द्रकि दिदीको थियो त्यो होटेल । पछि पर्यटन ब्यवसायी भरत बस्नेतले किनेको चर्चा थियो । जसले किनेपनि संस्क्रिति भने दरबारिय भुतकै रहेछ । धाक धम्की । स्थानियलाई हेप्न र पेल्न खोज्ने ।
जे होस, कपिलमामाले नरमै भएर हल गरे । भित्र छिर्नासाथ बडेमाको लामकाने हात्ती फ्वाँ फ्वाँ गर्दै आयो । घरपालुवा त्यो हात्ती देख्नासाथ कपिलमामाले पहिले गएको सातो संझिएछन । पाँच छ महिनापहिले चरा हेर्दै हिँड्दा होटेलका पोथी हात्तीहरुलाई बिटुल्याएर लस्किँदै आएको जंगली मत्ताले झन्नै परमधाम पारिदिएको रहेछ । मामा झोला सोला लौजा भन्दै दश दिशा फालेर हाम्फालेछन ढुंग्रे खोलातिर । बाल बालले त्यो बेला बचेको ज्यान, ठुलो शरिर देखेपछि त्यहि मत्ता हात्तीको स्वाँ र फ्वाँ फ्वाँ ले तर्साउने, त्यसैको छायाँ परे झैं हुने रहेछ ।
(वन पुरै छपक्कै ढाकेको छ यसरि वनमासाले।)
वन त पुरै एक खाले लहराले पुरै जेलिएको छ । झपक्कै लहराहरु भर्याङ हालेर सबै रुख, बुट्यान, झाडीमा चढ्न लागे जस्तो देखिन्छ । कपिल मामाले सबै ब्रितान्त सुनाए । यो लहरा पहिलो पटक सन् १९९६ मा बाघमारा सामुदायिक वनमा देखिएको रहेछ । त्यसलाई वनमासा लहरा भन्ने रहेछन । यो यति ज्याद्रो हुने कि एक मिनेटमै माइल दौडिने रहेछ रे । त्यहि भएर यसलाई माईल मिनेट भन्ने रहेछन बोली चालीको भाषामा । यसले त पुरै निकुञ्जनै ढाकिसकेको थियो । तर त्यसलाई कसरि रोक्ने उपाय त के चिन्तन समेत गरेको निकुञ्जले देखिएन । हुनत यसलाई मास्ने औषधी अहिलेसम्म फेला परेको छैन भन्दै थिए मामा ।
बिहानको समय न हो । चराहरु पुरा सोरठी, दोहोरी र झ्याउरे गित माथ गर्नेगरि गाइरहेका थिए । हाम्रालागि गित । संभवत तिनकालागि शत्रु लखेट्ने धम्कि । मायालु नजिक्याउने भाका । वा जर्जस्ति साखुल्य हुन आउने भालेलाई लेखेट्ने धम्किपूर्ण भाषा । जबर्जस्ति गरिस भने तेरा प्वाँख जगल्ट्याउँछु पो भनेको हो कि ! त्यो जेपनि हुन सक्थ्यो । मानविया कानलाई ति जसरि कराउँदापनि गितै लाग्ने ।
उ न्याउली !!! चिलका जस्ता उनै मामाका आँखा भाका फेर्दै रुने न्याउलीमाथि परे । तर दशैंको बेला भएर हो कि किन हो, सधैं रोएको सुनिने न्याउली पनि रोएको जस्तो लागेन । फेरि न्याउली हाँसोस कि रमाओस जहिलेपनि रोएकै ठानिन्छ । तिनका मनमा सायद नयाँ नयाँ भाव हुन्छन । नयाँ अर्थ हुन्छन । तरपनि मुखले एकै आवाज निकालेको जस्तो लाग्छ ।
(दाहिनेबाट कपिल मामा, रुपेन्द्र, आमोद र पछाडि अन्जना।)
यो च्याउ खान हुने यो नहुने । मामाले भन्दै थिए । यो त डेन्जर छ, खायोकि मर्छ भनेर सुनाउँदै थिए मामा । रुपेन्द्रजीले थपे-मर्ने मात्रै ? फेन्ट हुन्छ फेन्ट । उनलाई कसैले मर्नु भन्दापनि फेन्ट हुनुलाई अझ खतरा हो भन्ने अर्थमा सुनाएको रहेछ । यो कडि पत्ता, यो हलेदो, यो चर्चरे, यो वीई, यो साग थारु जातिले तरकारी खान्छन । यो विषालु । सारा झार पात, चरा, जिव जन्तु, लहरा नजानेको, केहि छैन कपिल मामाले । हामी धेरै पढेका । थुप्रै किताब छिचोलेका । थरी थरीका प्रमाणपत्र हात पारेका । मामाको त्यो ज्ञानका अगाडि ति सबै प्रमाणपत्र, उच्च पढाई र शिक्षित शब्दलेनै हावा खाईरहेको थियो । मामाको शिशु वर्णमालामात्रै सिध्याएको पढाईका अगाडि त्यो अथाह ज्ञानको खानीले हामीलाई छक्क पारिरहेको थियो । हाम्रो उच्च शिक्षा, प्रमाणपत्र सब आफैंसँग लाज मानेर त्यहि शिशु वर्णमालाको पछिपछि लागिरहेको थियो ।
ओहो त्यहाँ चानचुने थिए र ! आमोद त वालकनै भैहाले । बाँकि मध्ये, प्रेम क्याम्पसका बिद्दार्थीलाई आङ्ल भाषा पढाउने गुरु । रुपेन्द्रजी बिज्ञान विषयमा स्नातक गरेका । अर्कि बहिनी थिईन अञ्जना पाठक । उनीपनि बिज्ञान विषयकी बिद्दार्थी । म परें लेखक, पत्रकार अनि अङ्ल भाषा साहित्य पढेको । नेपाली चराका विषयमा पुस्तकनै लेखिसकेको । तर कपिल मामाका अघि नत आङ्ल भाषा पढाउनेको केहि सिप लाग्दो रहेछ । नत बिज्ञानको स्नातकको केहि सिप चल्यो । न अञ्जनाले केहि सुझाउन सकिन । नत लेखक, पत्रकार र अङ्ग्रेजी साहित्यको कुनै जोरजुलुम चल्यो । ति सब एकै ठाउँमा भुस खाए ।
(अन्जना र रुपेन्द्र)
रातम्मे फूलमा भँवरा र माहुरीको जुलुस थियो । तँछाडमछाड, लखेटा लखेट गर्दै मह थुत्न । एकैछिनमा हाम्रो जुलुस तिनको वस्तिमा हमला गर्दै भकाभक फुलको मह तान्न थाल्यो “यि यहाँ हुन्छ मह” भन्दै । संयोग हो कि के, कपिल मामा र म यसो हेरेर तर्कियौं । तर बहिनी अन्जना पाठक, प्रेम र रुपेन्द्रजि चाहिँ निकै बेर फूलमा टाँस्सिएको टाँस्सियै गरे । मलाई दार्जिलिङे साहित्यकार ईन्द्र बहादुर गुरुङको “आज रमिता छ” शिर्षकको उपन्यास को झलक्क याद आयो। त्यसमा छ-साथीहरुले त बिहा गरेको छ र कामबाट बेलुका घर जाँदा वरिपरि केटाकेटी आउँछन । श्रीमती आउँछे । कति राम्रो ! मलाई पर्खिरहने त यै फूलहरु हो । रातो लिली मलाई आइमाई जस्तै लाग्छ।” प्रेम र रुपेन्द्र अनि अन्जनालाईपनि त्यस्तै लागेर फूलमा टाँस्सिएको टाँस्सियै गरेका त होइनन ?



charaa, chari, bhura charaa ko photo ramrai dekhna paaiyo.
matra udna nasakne hai baaki ta ustai.
मन परो वा परेन:
0
0
[Reply]
मलाई पनि सौराहामा घुमेको याद आयो तपाईँको संस्मरण पढेर । रमाईलो लाग्यो ॥
मन परो वा परेन:
0
0
[Reply]
Lekhai chaahi raamro laagyo hai
मन परो वा परेन:
0
0
[Reply]
I also love Sauraha
Thats a great place.
Quiet, green, animals, rivers, many birds, nice bars in typical things (khadai, khar etc), elephant riding, bird watch, seeing Rhino, staying underneath the treas, everywhere green, good and clean hotls, big gardens etc……………So nice.
It remined me my visit to sauraha.
You have very good way of writing.
मन परो वा परेन:
0
0
[Reply]
kasto deuta raichha bahulaune, pathak is beautiful
मन परो वा परेन:
0
0
[Reply]
I am so happy ,,
remined me my place even i am far from sauraha but i feel i am alwas there,,
thnak you rupan bro,,
मन परो वा परेन:
0
0
[Reply]
Dherai ramro cha.Lamo lekh bhayo jasto cha.Lekhdai garnu hola.
मन परो वा परेन:
0
0
[Reply]
teo yatra ta maro ani ramilo lageo. ana tapie ka kaka mama, chora chori bhaye bhuhari, thula ba sna ba, mama, sasura, sasu ko pani photo rakhe huntheo ni, bakawas barnaan, bekar ko
मन परो वा परेन:
0
0
[Reply]
रमाईलो लाग्यो !!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परो वा परेन:
0
0
[Reply]
अन्जना मलाई पनि सौराहा घुमाउन लैजाउन। कती राम्री ।
मन परो वा परेन:
0
0
[Reply]