विदेशमा पनि महिला त बझाङका जस्ता
-ददिराम सापकोटा
दुई दशकदेखि पेरिसमा बसोबास गर्दै आएकी ज्ञानु कायस्थको अनुभवमा नेपाली पुरुषहरु महिलालाई अगाडि बढ्नै दिँदैनन् । नेपालमा जस्तो महिलाहरुले घरायसी काममा मात्रै सीमित रहेर हुँदैन । पुरुषहरुले मात्रै जागिर खाएर यहाँ गुजारा चल्दैन । दैनिक जीवन महङ्गो हुनाले महिला र पुरुष दुवैले आर्थिक कमाइ गर्नुपर्छ । दिनभरि पुरुषसरह काम गरे पनि साँझ फर्किएपछि घरको अधिकांश काम यहाँ पनि महिलाले नै गर्छन् । यसले गर्दा महिलाहरु बूधुवाजस्ता भएका छन् । यदाकदा नेपालीहरुले गर्ने सामाजिक कार्यक्रममा महिलाहरुको सहभागिता त हुन्छ तर त्यही सहभागिता पनि महिलाको निर्णय चासो र सहमतिमा भन्दा पुरुषहरुको निर्णयमा हुने गर्छ । ‘यहाँ त पुरुषहरु मात्रै अगाडि बढ्न खोज्छन् । महिलाहरु खासै बोल्दैनन् । पुरुषहरुले मात्रै फाइदा लिन्छन् बाहिरको । महिलाहरु बोल्न खो खोज्यो कि जहाँ पनि पुरुषहरु नै अगाडि बढेर बोल्छन्‘- ज्ञानु भन्छिन्- ‘मलाई त यहाँका महिलाहरु नेपालमाभन्दा पनि अझ पछाडिजस्तो लाग्छ ।‘
फ्रान्समा झण्डै सात दर्जन संस्थाहरु नेपालका निम्ति भनेर खोलिएका छन् । तीमध्ये झण्डै एक दर्जन त पेरिसमै कार्यरत छन् । यहाँ सक्रिय एनआरएन फ्रान्स, एभरेष्ट एशोसिएसन, नेपाली सांस्कृतिक गृह र पेकोफेन मुख्य संस्था हुन् । तर, यी संस्थामा महिलाहरुको सहभागिता हेर्यो भने पाँच प्रतिशत पनि छैन । संभवतः यहाँको सबैभन्दा ठूलो संस्था नेपाली सांस्कृतिक गृहमै एकजना पनि नेपाली महिलाको सहभागिता छैन नेतृत्व तहमा । कतिपय पुरुषहरु भने चार-पाँचवटासम्म संस्थाको नेतृत्व तहमा बसेका छन् ।
नेपाली महिलाहरु अशिक्षित भएरै हो भन्ने अवस्था पनि छैन । अधिकांश महिला शिक्षित नै छन् । कतिपय त यहींकै उच्च शिक्षा लिएका पनि छन् । यी महिलाहरुको उपस्थितिसमेत कतै देखिँदैन । पेरिसमा सभा दिमालय (हिमाली बाटो) नामको रेष्टुराँ खोलेका चितवन भण्डाराका रविन शर्मा ओलीका विचारमा पनि यहाँका नेपाली महिलाहरु पीडित छन् । उनको विचारमा नेपालमा उच्च शिक्षा हासिल गरेका महिलाहरुले व्यक्तिका घरमा निम्नस्तरको काम गर्नुपरेकाले पनि बढी पीडित र चिन्तित बन्ने गरेका हुन् । त्यसो त नेपालमा झैं यहाँ पनि पुरुषहरुबाट दूर्व्यवहार हुने गरेकाले महिलाहरु टाढै बस्न रुचाउँछन् । ‘नजिक पर्यो । बोलचाल गर्यो । केही समयपछि भिन्नखाले चाख देखायो । नटेरेपछि कुरा काइते र दुर्व्यवहार गर्न थाल्छन् । त्यही डरले महिलाहरु पनि टाढै बस्न रुचाउँछन्‘- ओलीले भने ।
नर्वेबाट र्फकनासाथ अमेरिकातिर हान्निएका एमाले अन्तर्राष्ट्रीय विभाग प्रमुख भीम रावल भने युरोपमा बसे पनि पुरानै संस्कारमा बसिरहेकाले नेपाली महिलाहरुको अवस्था नसुध्रिएको धारणा राख्छन् । ‘बाहिर काम नगरी गुजारा चल्दैन । घरमा आएपछि पनि घरायसी कामजति महिलाकै जिम्मामा छोड्ने । सबै काम महिलाले नै गरेपछि कहाँबाट पाउनु अगाडि बढ्न ?’ पेरिसमा भएको भेटमा रावलले भने ।
त्यसो त महिलाहरु अगाडि बढ्न नसक्नुमा महिलाहरुकै कमजोरी पनि नभएका होइनन् । यूरोपमा बसेर पूरै नेपालको जस्तै खोज्ने र पुराना कुरीतिहरुमै रमाउने महिलाहरु भएकाले पनि अगाडि बढ्न नसकेका हुन् । झन् खल्लो यथार्थता त के छ भने फ्रान्समा नेपाली समुदायको संख्या बढ्दो छ भने नेतृत्व तहमा बस्ने महिलाहरुको संख्या झन् घट्दो छ । महिलाहरु स्वयं परिवर्तन हुन नखोज्ने, नेतृत्वमा अधिकार नखोज्ने गरेकाले पनि पुरुषहरुको बर्चश्व बढी भएको हो । नेपाली राजदूतावासले आयोजना गर्ने जमघटमा नेपाली सारी नलगाउने महिलाहरुको महिलाहरुले नै कुरा काट्ने गरेको स्मरण गर्दै ज्ञानु कायस्थले भनिन्- ‘देशको संस्कृति बिर्सनुहुन्न । तर, आफ्नै बाबु-बाजेको पालामा जसरी महिलाहरु नै बस्न खोजेपछि कहाँबाट हुन्छ महिलाको प्रगति ?’
‘मलाई सामाजिक संघ-संस्थामा काम गर्ने इच्छा छ । तर, लोग्नेले गर्दा नपाउने भएँ । अबदेखि कुनै पनि बैठकमा म उपस्थित हुने छैन‘- गैरआवासीय नेपालीहरुको संस्था एनआरएन फ्रान्सको एउटा बैठकमा एक नेपाली महिलाले निन्याउरो पर्दै भनिन् । सामाजिक वा राजनीतिक कुनै पनि संघ-संस्थामा आबद्ध भएमा पारिवारिक सम्बन्ध तोड्ने पतिको धम्की पाएपछि पति वा सामाजिक संस्थासूगको सक्रियतामध्ये एक रोज्न बाध्य भइन् उनी । मन अमिलो पार्दै सामाजिक संस्थासूगको नातो छोड्न बाध्य उनी भन्दै थिइन्- ‘महिला समानता, महिला समानता । कहाँ छ महिला समानता ?’
फ्रान्स होस् वा बेलायत । इटाली होस् वा जर्मनी । विकसित, सभ्य र अवसरै अवसर भएको मुलुकमा बसेको ठानिए पनि धेरै नेपाली महिलाको अवस्था नेपालकै कामकाजी महिलाको भन्दा धेरै भिन्न छैन । फ्रान्स, जर्मनी, बेलायत, बेल्जियमजस्ता यूरोपेली मुलुक भन्नासाथ आर्थिक रूपमा सम्पन्न भइन्छ । सभ्य समाजसूग हातेमालो गर्न पाइन्छ । उच्च स्वतन्त्रताको उपभोग गर्न पाइन्छ महिला र पुरुषबीच समानता हुनाले महिलाहरुले अगाडि बढ्ने अवसर पाउूछन् भन्ने सोच्छन् अधिकांश नेपालीहरु । तर, यी मुलुकका नेपाली महिलाको अवस्था भने बिल्कुलै फरक छ । अझ सामाजिक सक्रियता र नेतृत्वदायी भूमिकामा त यहाँका नेपाली महिलाहरु नेपालका महिलाहरुभन्दा पनि पछाडि छन् । नेपालका राजनीतिक नेताहरुदेखि दशकौंदेखि यहीं बसेका नेपालीहरुको अनुभवले पनि त्यही भन्छ ।
नेकपा (एमाले) का विभाग सदस्य भीम रावल गत नोभेम्बरमा यूरोपेली मुलुकका नेपालीहरुलाई संगठित गर्दै हिँडेका थिए । नेपाली समुदायसँग निकै समय बिताएका उनको अनुभवमा पनि यूरोपमा बस्ने नेपाली महिलाको अवस्था नेपालमाभन्दा खासै सुधारिएको छैन । नेपाली समुदायसँग हेलमेल हुँदै पेरिस आइपुगेका बेला उनले पंक्तिकारसँग भने- ‘यत्रा अवसरहरु भएका मुलुकमा बसे पनि नेपाली महिलाहरुको सहभागिता नै छैन- सांगठानिक र नेतृत्वतहमा । यहाँका महिला त बझाङका जस्तै रहेछन् ।‘ (जन आस्था साप्ताहिक, बैशाष १२, २०६४; २५ अप्रिल, २००७)

