पम्फाले मच्चाउँदैछिन कि त प्रलय !

वर्ष दिनभन्दा लामो समयपछि एक संघर्षशील नारी राजदूत भएर आउने खबरले फ्रान्सवासी नेपाली खुशी हुनुपर्ने हो। तर, यहाँका थुप्रै नेपालीले असहज महसुस गरेका छन्। राजाको प्रत्यक्ष शासनकालमा राजदूत भएर आएका प्रज्वल्लसमशेर राणाले राजावादी खेमामा नजानेहरुलाई तर्साउने र धम्क्याउने गरेका थिए। त्यसपछि कार्यकारी अधिकार हातमा लिनेको व्यवहार पनि खासै भिन्न रहेन। केही नेपालीमा नयाँ राजदूतको आगमनले फेरि नेपालीलाई फुटाउने त होइन? भन्ने त्रास थपेको छ। त्यसैले होला, प्रतिक्रिया लिन सम्पर्क गरेका धेरै नेपाली ओहो, राजदूतका बारेमा त नबोलौंभन्दै तर्किए। राजदूत भएका बेला झन् दुःख पाइन्छ,’ भर्साइ शहरको एक रेष्टुराँमा काम गर्ने जगत कँडेलले भनेहामीलाई त राजदूत नभएकै जाति।यहाँका केही सीमित चाकरीदार नेपालीसँग हिमचिम बढाएर तिनैको प्रभावमा अन्य नेपालीलाई दुःख दिने गरिएको प्रसङ्ग सुनाउँदै थिए उनी।  

त्यसो त पम्फा भूषालको आगमनले यहाँका नेपालीमा भएको प्रजातान्त्रिक भावनालाई ऊर्जा थप्ने आशा गरेका नेपालीहरु पनि प्रशस्तै छन्। राजाको प्रत्यक्ष शासनको विरोध र लोकतन्त्रका पक्षमा दह्रो आवाज उठाउने काम विदेशमा संभवतः पेरिसबाटै शुरु भएको थियो। पारस शाहलाई कालोझण्डा देखाएर तिरस्कार गर्ने र राजनीतिक दलहरुलाई सचेत गराउन खबरदारी जुलुस गर्ने काम पनि यहाँ पटकपटक भएको थियो।   

लोकतन्त्रवादी नेपालीहरुको बहुमत भएको ठाउँमा दशकौं लामो संघर्षबाट उठेकी महिला आउनु त्यस्ता नेपालीका लागि खुशीको कुरा हो। पम्फा भूषाल राजदूत भएर आउने सुनिएपछि वरपरका नेपाली मित्रहरुसँग छलफल पनि चलाए केही नेपालीले। त्यस्तैमध्येका एक थिए पेरिसनजिकै समा दिमालय रेष्टुरेन्ट चलाएर बसेका रवीन शर्मा ओली।  नाजायज आर्थिक लाभ लिने, पासपोर्ट वितरण र धर्मपुत्रपुत्री बनाउन चाहने विदेशीलाई समेत दुःख दिने गरेकाले त्यस्ता बेथितिहरुको अन्त्य हुने आशा गरेको उनले बताए। भनेहामीले ०४६ सालदेखि नै एक संघर्षशील महिलाका रूपमा उनको नाम सुन्दै आएका हौं। यस्ती महिलाले राजा लुई सोह्रौंको घटनाबाट सिकेर पनि दूतावासमा परिवर्तन ल्याउँछिन् भन्नेमा विश्वास छ। 

हुन त यहाँको राजदूत भएर आउनु स्वयं भूषालकै लागि पनि कम्ती चुनौतीपूर्ण छैन। ५० वर्षे इतिहास बोकेको नेपाल र फ्रान्सको सम्बन्ध औपचारिकतामै सीमित छ। पछिल्लो समयमा फ्रान्सले नेपाललाई दिँदै आएको सहयोग झन् कटौती गर्दै लगेको छ। दूतावासको क्रियाकलाप र भौतिक पूर्वाधारसमेत गतिलो छैन। देश र जनताको प्रतिनिधित्व गर्ने थलो दूतावासभन्दा कर्मचारीहरु सुविधासम्पन्न निवासमा बस्छन्। दूतावासको भौतिक संरचना देखेरै विदेशीहरु सकभर दूतावास जान चाहँदैनन्। नेपाल र नेपालीलाई विधि कोणबाट व्यङ्ग्य हानिरहेका हुन्छन्। अरू त के भन्ने नेपालबारे जानकारी दिने आधिकारिक वेभसाइट रद्द भएकै महिनौं भइसक्यो। दूतावासको वेभसाइटमा क्लिक गर्दा कुनै व्यक्तिकोमा पुगिन्छ।  

हरेक हिउँद महिना लागेपछि आकर्षक विज्ञापन, सभा र समारोह गरेर आआफ्ना देशमा पर्यटक तान्ने होड नै चल्छ यहाँ। तर, नेपाली दूतावासको तर्फबाट अहिलेसम्म त्यस्तो कुनै कार्यक्रम भएको छैन। हुन त एउटा आधिकारिक वेभसाइट कायम गर्न नसक्ने दूतावासबाट प्रचारप्रसारको अन्य आशा पो के गर्नु र! विदेशमा नेपालको प्रचारप्रसारमा दूतावासको भूमिका कस्तो छ भन्ने यसैबाट स्पष्ट हुन्छ। वर्षौंदेखिको सीप, अनुभव र विदेशीहरुसँग सम्पर्कमा बसेका नेपालीको सहयोग लिएर काम गर्नुको साटो नेपालीकै कुरा काटेर बस्ने कर्मचारी पनि छन् दूतावासमा। जी ८ मध्येको एक र यूरोपेली युनियनको एक शक्तिशाली खेलाडीका हिसाबले फ्रान्सबाट लिनसक्ने धेरै संभाव्यता छन्। विज्ञान र प्रविधि, सांस्कृतिक संरचना, पुरातत्व, चिकित्सा, हवाईसेवा, जडीबुटी, जलस्रोतलगायतका धेरै क्षेत्रमा फ्रान्सबाट नेपालले फाइदा लिनसक्ने अवस्था छ। फ्रान्स सरकार र प्रशासनलाई प्रभाव पार्नसक्ने नेपालका फ्रान्सेली मित्रहरु प्रशस्त छन्। तर, नेपालले सहयोग कानूनको साटो सम्पर्कसमेत नगरेको गुनासो उनीहरु गर्छन्।  

नेपालका तिनै फ्रान्सेली मित्रमध्येका हुन् फ्रान्सका पूर्व युवा तथा खेलकुद मन्त्री पियर माजो। उनी सगरमाथा चढ्ने पहिलो फ्रान्सेली र पूर्व संवैधानिक सल्लाहकार पनि हुन्। पूर्वराष्ट्रपति ज्याक सिराकको निकट रहेका यी अहिलेका राष्ट्रपति निकालो सार्कोजीसँग पनि निकट छन्। दुई महिनाअघि पंक्तिकारसँग भेट भएका उनले गुनासो गरेका थिएहामीले अरू देशलाई सहयोग गर्दा नेपाललाई किन नगर्ने? नेपालले सहयोग कहाँ माग्नु? मसँग सम्पर्कसमेत कसैले गर्दैन।   

त्यसो त चुनौती मात्रै छैनन् उनका अगाडि। अवसर पनि प्रशस्तै छन्। माओवादी एउटा अप्रजातान्त्रिक शक्ति हो। ऊ आतंक, त्रास र जबर्जस्तीको बाटो अपनाउँछ भन्ने सोच धेरै विदेशी र दूतावासकै कर्मचारीमा पनि छ। राजाको प्रत्यक्ष शासन अन्त्य भएर माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि यो सोच थियो तिनमा। दूतावास सुधारका केही सुझाव सबै राजनीतिक दललाई बुझाउँदा दूतावासका कर्मचारी स्वयंले माओवादीबाट हाम्रो ज्यान खतरामा परे कसले जिम्मेवारी लिने?’ भन्दै च्याठ्ठिएका थिए। प्रज्ज्वल्लसमशेर राणाको निकट रहेका एक मण्डलेले राजावादीको आरोपमा काठमाडौंस्थित आफ्नो घरमा चन्दा रसिद लिएर मान्छे गएको हुँदा त्यसको जिम्मेवारी प्रजातन्त्रवादी नेपालीले लिनुपर्ने बताएका थिए। त्यसैले, माओवादीहरु प्रजातान्त्रिक मान्यतामा विश्वास गर्छन् भनेर सिद्ध गर्ने अवसर पनि छ। दूतावास अहिले भीसा दिने र कागजपत्र सदर गर्ने काममै सीमित छ। आफ्नो देशको कूटनीति बलियो पार्ने काम हुन सकेको छैन। सरकारबाट कृपास्वरूप आराम र मोजमस्ती गर्न दिइने पदजस्तो भएको राजदूत। त्यसलाई चिरेर नेपाल र नेपालीका हितमा काम गर्ने अवसर पनि छ उनलाई।   

स्पेन, इटाली, पोर्चुगललगायत सात मुलुक हेर्ने जिम्मेवारी पनि फ्रान्सस्थित नेपाली दूतावासकै हो। ती मुलुकसँग सम्बन्ध विस्तारका लागि नेपाली दूतावासले कहिल्यै चासो दिएको छैन। ती मुलुकमा बस्ने नेपालीहरुको पीडा र अप्ठ्याराहरुलाई संबोधन नगरिएको मात्रै होइन, त्यहाँका नेपालीको अवस्थाबारे पनि दूतावासलाई खासै ज्ञान छैन। त्यसैले चुनौती धेरै छन्। तर, हालसम्म यहाँ आएका राजदूतहरुले कुनै रचनात्मक काम गर्न नसकेकाले ती सबै काम गरेर जस लिने र संघर्षमय छविलाई अझ उँचो बनाउने अवसर पनि पाएकी छन् पम्फा भूषालले। तर, यी अवसरलाई समस्याकै रूपमा लिएर पुरानै थिति र मानसिकतामा चलाउने हो भने देशलाई फाइदा त परै रहोस्, आफ्नै छवि पनि कमजोर पारेर फर्किनेछिन् उनी। (जनआस्था साप्ताहिक२६ भदौ २०६४ बुधबार/Wednesday, September 12, 2007)

  • Nimesh Bhandari

    Dadiji, ho chalauchhin jasto chha. yaha ta lau maobadi aunu bho bhanera sara tharkaman bhayekachhan Embassy ka karmachari dekhi mandaleharu. Thikka paryo.

    kahile dekhi regular update hune ho tapaiko Blog?
    Herda ta chatta chha. lau agrim subhakamana,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Yeah!! (Wrings hands)! Nice blog you have here. I’ve enjoyed much reading your last posts. Keep it that way.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree