आउला नि कामरेड, कुर्ची–टेबल बेच्ने दिन!
- ददिराम सापकोटा६-चैत-२०६४,बुधवार‘विश्वका मजदुर एक हौं।‘ भनिएजस्तै कुनै बेला यो विश्वभरिकै कम्युनिस्ट पार्टीहरूको लोकप्रिय नारा थियो। तर, अब भने रहेन। किनभने विश्वका गरिखाने जनतालाई एकताबद्ध गराउने नारा दिए पनि कहिल्यै एक हुन नसकेकाले हुनुपर्छ- फ्रान्सेली कम्युनिस्ट पार्टीका झन्डा, पोस्टर र पार्टी कार्यालयमा भेटिन मुश्किल परेको छ अब यो नारा। बरु त्यो नारालाई ‘पुँजीवाद धनीहरूले निर्देशन गर्छन्‘मा प्रतिस्थापन गरेका छन् उनीहरूले। कुनैबेला सारा देश हल्लाएको यो पार्टी अहिले अस्तित्वको अन्तिम लडाइँमा लर्खराइरहेको छ। गाउँ र नगरमा संगठन प्रायः शून्य छ। सम्पर्कको माध्यमसमेत नभएर छट्पटिनुपरेको छ। कतिपय नगरमा सम्पर्क कार्यालयसमेत छैन। कतिपय ठाउँमा त बैठकसमेत कफी पसलमा गएर गर्नुपर्ने अवस्था सिर्जना भएको छ। फ्रान्सेली कम्युनिस्ट पार्टीको इतिहास, लडाइँ र अहिलेको गिर्दो साखबाट के अहिले नेपालका कम्युनिस्ट पार्टीहरूले शिक्षा लेलान्रु खासगरी अहिलेको संविधान निर्माण गर्ने चुनावका बेला?विगत एक वर्षमा यो मुलुक र यसका छिमेकको भ्रमण हाम्रा थुप्रै कम्युनिस्ट नेताले गरे। नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल, भीम रावल, प्रदीप नेपालदेखि माओवादी नेता बाबुराम भट्टराई, सिपी गजुरेल, दीनानाथ र सैन्य कमान्डर बलदेवसम्मले युरोपेली कम्युनिस्ट आन्दोलनको लेखाजोखा गरे। मुख्य कम्युनिस्ट पार्टीका यी मूल नेताले अवश्यै अध्ययन गरे होलान्- फ्रान्समा सन् १९४५ सम्म पनि कम्युनिस्ट लोकप्रिय थिए। सन् १९४४ देखि १९७० त कम्युनिस्टहरूको निम्ति स्वर्णकाल नै मानिन्छ यहाँ। यसबीच फ्रान्सेली कम्युनिस्ट पार्टीले स्वतन्त्रताको धेरै लडाइँ लड्यो। सन् १९५० बाट महिलाले पुरुषले झैं चुनावमा भाग लिन पाउने अधिकार यदि कम्युनिस्टले नलडेको भए मुश्किलै हात पर्थ्यो। सामन्तवादविरुद्ध धेरै नै लड्यो। विश्वयुद्धपछि छिमेकी मुलुकबाट मजदुर ल्याएर विकास निर्माण गराउन उनीहरूले ठूलो भूमिका खेले जसको जगमा अहिलेको यो मुलुक विश्वका धनी मुलुकमध्ये एक हुन सम्भव भएको हो। त्यो बेला राजतन्त्रका समर्थक नभएका होइनन् यो मुलुकमा पनि। पुँजीवादीको दबदबा पनि उत्तिकै थियो। त्यतिबेला कम्युनिस्ट भन्नासाथ टोलटोल जग्मगाउँथ्यो। बस्ती-बस्ती उठ्थ्यो- कम्युनिस्टको आह्वानमा। कम्युनिस्टको साहस, लडाइँ र समर्पणका अगाडि विरोधीहरू डराउँथे। वृद्धा, महिला र युवाको आस्था थियो यहाँको कम्युनिस्ट पार्टी। जनयुद्धकालमा गोरखाका दिलबहादुर रम्तेलजस्ता बालकले कम्युनिस्टका लागि भनेर जसरी ज्यान दिए, त्यसैगरी यहाँ पनि कम्युनिस्टको आह्वानमा भएको प्रदर्शनमा गी मोके नामका एक स्कुले बालकले ज्यान दिएका थिए। तर, त्यसको बदला जनताले के पाएरु कम्युनिस्ट पार्टीहरूबीच चिरैचिरा। फुटैफुट। आफू-आफूमै गालीगलौज र दोषादोष अनि मारकाट। वामपन्थीहरू मिलेको भए बहुमतमा पुग्नसक्ने अवस्था रहँदारहँदै पनि आफू-आफूबीचको फुटका कारण सरकारमा सिलो टिप्नुपर्ने।त्यसो त सन् १९४७ सम्म पनि फ्रान्सेली कम्युनिस्ट पार्टीका थुप्रै सदस्य सरकारमा थिए। यो बेलासम्म फ्रान्सेली कम्युनिस्ट पार्टी एउटा प्रमुख राजनीतिक दलका रूपमा कायमै थियो। तर, जनताको समर्थन, आस्था र भावनालाई आदर गर्न नसक्ने पार्टी र नेता कतिन्जेल टिक्छन्रु अहिले नेकपा एमाले र माओवादीका नेताको झैं एक अर्कालाई सत्तोसराप गरेर शत्रु हँसाउने र जनता रुवाउने खेल यहाँ पनि चल्यो। आफू मात्रै सच्चा क्रान्तिकारी भएको दाबी गर्दै रित्तो विमान हाँकिरहे। सानातिना मनमुटाव हल गरेर जानुको साटो शत्रुको आँगनमै गएर कोकोहोलो हाल्न थाले एक अर्काविरुद्ध। सिंगो वामपन्थीहरू एक होऊ भन्ने जनताको आवाजलाई धुलोमा चटाउने र सही नीति लिन नसक्नेको हालत के हुन्छ? सन् १९८१ देखि १९८९ को बीच कम्युनिस्ट पार्टीले झन् धेरै धक्का खायो। १९८१ मा भएको राष्ट्रपतीय चुनावमा फ्रान्सेली कम्युनिस्ट पार्टीका उम्मेदवार जर्ज मार्सेले १५ प्रतिशत बढी मत ल्याउन नसकेपछि कम्युनिस्ट पार्टीको झन् लज्जास्पद हार भयो। त्यसपछि सन् १९८८ को राष्ट्रपतीय चुनावमा फेरि आन्द्रे लज्वानी उम्मेदवार बने। यसपटक विजयको त कुरै छाडौँ झन् घटेर ६ दशमलव ५ प्रतिशत मात्रै मत आयो। १९८८ मा २० जना सांसद जितेको पार्टी सन् १९९३ मा जम्मा दुईजनामा खुम्चियो। गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा जर्ज मारी बुफेले २ प्रतिशत जनताको मत पनि जित्न सकिनन्। अहिले फ्रान्समा स्थानीय नगरस्तरको निर्वाचनको मत परिणाम धमाधम प्राप्त हुँदैछ। जसमा कम्युनिस्ट पार्टीले एक स्थानमा मात्रै विजय गरेको छ। अहिले एमाले र माओवादीले एकलौटि रूपमा आफ्नो पार्टीले जित्ने दाबी गरिरहेका छन्- अरू पार्टीको नीति पश्चगमन र आफ्नो सोह्रैआना अग्रगमन भएको दाबी गर्दै। गत राष्ट्रपतीय निर्वाचनमा जर्ज मारी बुफेको दाबी पनि झन्डै त्यस्तै थियो। निर्वाचनमा अन्य वामपन्थी दलहरूसित एकता गरेर जान नसकेपछि पहिलो चरणमै फालिएकी बुफे अन्तिम चरणमा भने समाजवादी पार्टीकी उम्मेदवार सेगोलेन रोयलको चुनावी पर्चा बाँड्न आफैं सडकमा उभिएकी थिइन्। माओवादी र एमालेले आगामी १० वर्षमा देशको विकास गरेर अनुहार फेर्ने आश्वासन दिएझैं यहाँको कम्युनिस्ट पार्टीको नारा पनि गज्जबको थियो। पाँच वर्षभित्र ६ लाख मानिसलाई निःशुल्क आवासको व्यवस्था गर्ने, न्यूनतम तलब अहिलेको करिब एक हजार ५० युरोबाट एकैचोटि बढाएर एक हजार ६ सय युरोसम्म पुर्या्उने, बेरोजगारलाई तालिम र सुत्केरीलाई विशेष रोजगार दिने। तर, जनताले फुटेर एक्लै जाने यो पार्टीलाई पत्याएनन्। एमाले महासचिव माधव नेपालले झैं फ्रान्सेली कम्युनिस्ट पार्टीकी महासचिव बुफेले पनि झन्डै एक दशकदेखि महासचिव भएर पार्टी हाँक्दै आएकी थिइन्। पत्याऊन् पनि किन? जनताले पत्याउन्जेल चिरैचिरामा विभाजित भए। सानातिना वामपन्थी दलहरूलाई सँगै मिलाएर लैजानुको साटो अहिले एमाले र माओवादीले नेपालका साना वामदललाई झैं गरे। तर, जब पार्टी खिइँदै गएर विघटनको अवस्थामा पुग्ने बेला आयो तब अहिले समाजवादी दलहरूलाई पनि समेटेर लैजानेगरी पार्टी पुनर्गठन गर्नुपर्ने माग उठिरहेको छ। हुन पनि फ्रान्सेली कम्युनिस्ट पार्टी कतिसम्म कमजोर भएछ भने पार्टी कार्यालयमा कुर्ची र टेबलसमेत बिक्री गर्नुपर्ने अवस्थामा पुगेको भन्दै दैनिक अखबार माता प्लुसले उल्लेख गरेको छ। आफ्ना सयौं नेता र हजारौं कार्यकर्तालाई खर्च पुर्याउने यो पार्टीको हैसियत कतिसम्म खस्किएछ भने आर्थिक संकटले गर्दा संसदीय चुनावमा भाग लिनै नसकिने अवस्थामा पुगेको पार्टी प्रवक्ता ओलिभिय दार्तिगोलले हालै बताएका थिए।पार्टी कार्यकर्ता हेर्योन भने युवाहरू शून्य देखिन्छन्। यसले बताउँछ कि यही अवस्था रह्यो भने पार्टी भविष्यमा विघटनको स्थितिमा पुग्छ। लुमनिते भनिने वर्षौदेखि चलिरहेको वामपन्थी समर्थक दैनिक पत्रिका पनि गत वर्षदेखि बन्द भएपछि पार्टीका नीति जनतामाझ लैजाने बाटो बन्द भएको छ। पार्टी खर्च धान्ने माध्यम छैन। छापिएका पर्चा र पोस्टर बाँड्ने कार्यकर्ताको समेत संकट पर्दैछ। पार्टी लोकप्रिय रहुन्जेल झन्डा नबोके पनि विभिन्न क्षेत्रका समर्थक थिए। भिन्न विचार भए पनि विविध क्षेत्रमा सहकार्य गरेका विज्ञहरूको साथ प्रशस्तै थियो। तर, अहिले कम्युनिस्ट पार्टीको गलत राजनीतिक दिशाका कारण ती सबैले हात खुम्च्याइरहेका छन्। अहिले सानातिना टुक्रेटाक्रे कम्युनिस्ट, समाजवादी र वामपन्थीलाई मिलाएर एउटै बलियो वामपन्थी संगठन बनाउने पहल त गरिरहेका छन् तर विगतको उनीहरूको गलत कार्यदिशा, अहंता, फुटवादी चरित्रका कारण त्यही पनि सम्भव हुन सजिलो छैन।टुक्राटाक्री वामदलका नेता र कार्यकर्तालाई उचित सम्मान र स्थान दिएर ल्याउनुको साटो आत्मसमर्थन वा विलय गराउने नीति अपनाएपछि के हुन्छ? ती अन्य समाजवादी वा पुँजीवादी दलतिर लाग्छन्। कार्यकर्ता नहुने, भएकालाई थेग्न नसक्ने, पार्टी चलाउन नसकिने, ठूला वामपन्थी दलहरूमा स-सम्मान भित्रिन पनि नपाइने अवस्था भयो भने तिनको विकल्प के रहन्छरु के कमजोरी साना दलहरूको चाहिँ थिएन त? अवश्यै थियो। साना दलहरूले पनि के गरेरु नेपालमा हाल भूतलमा कतै फेला नपर्ने नेकपा माले, साम्यवादी, एकीकृतहरूले झैं आफ्नो प्रभाव र हैसियत बिर्सिएर ठूला दलकै हैसियत मागे। ठूल्ठूला वामपन्थी दललाई सिध्याउन पाए पालो हाम्रो भन्ने धारणालाई एकताविरोधी काम गरिरहे। यसले गर्दा कुनै दलविशेषको मात्र नभएर सम्पूर्ण वामपन्थीकै पतन भयो। नेपालमा खासगरी ०३६ सालपछि भएका हरेक आन्दोलन र संघर्षमा वामपन्थीलाई जनताले सहयोग गर्दै आएका छन्। ०४६ पछि भएका राष्ट्रिय र स्थानीय चुनावमा पनि जनताले वामपन्थीलाई नै अत्यधिक मत दिँदै आएका छन्। तर, वामपन्थीको त्यो विश्वास, मत र आस्थालाई हाम्रा नेताले कहिल्यै पनि आदर गर्न सकेका छैनन्। आफ्ना लेख, रचना, भाषणमा विश्व कम्युनिस्ट आन्दोलनको इतिहास जनतालाई रटाएर नथाक्ने नेताहरूले आफैंले चाहिँ यस्ता इतिहासबाट पाठ किन सिक्दैनन्रु नेकपा एमाले र माओवादीका कामरेड, कि तपाईंहरू पनि फ्रान्सेली कम्युनिस्टले झैं कुर्ची र टेबुल पनि बेच्ने दिन नआएसम्म चेत्नुहुन्न? साभार-जन आस्था साप्ताहिक

