कति संभव छ आफूले आफैंलाइ बदल्न ?

—रामवहादुर गुरुंग / वेल्जियम

मेरो अनुभवमा मानिसले कुनैपनि विषयलाइ छिट्टै चिन्छन । किनभने सबै विषय आफ्ना वरिपरी घटेका हुन्छन र त्यसलाइ वुझ्दै,भोग्दै आएको आधारमा वा आफ्नै अनुभव वा वुद्धिको मियोमा अड्याएर निर्णय लिन्छन । भनिहालिन्छ मैल चिने,मैले बुझें आदि । मलाइ पनि यस्तै लाग्थ्यो । अहिले पनि घरी घरी यस्तै लाग्छ । तर त्यो व्यक्तिगत मापदण्डलाइ फेरी पुनर्वालोकन गर्दै आफुलाइ नियाल्दै र बुझ्दै जाने हो भने धेरै विषय आफुले बुझेकोनै हुँदैन रहेछ । सबभन्दा प्रमूख कुरा त हामीले आफुलाइ आफैले चिनेकोनै हुँदैनरहेछौं ।

दुनियामा चल्दै आएको सजिलो तरिका भनेको आफ्नो अनुकुलतामा हरेक विषयको व्याख्या गर्नु । यसकारण आफुलाइ आफैले चिन्नु भनेको मालेमावादी सर्वहारावादी दृष्टिकोणले भन्ने हो भने आफुले जानेको वुझेको विषयलाइ व्यवहारमा लागु गर्नु र त्यसले दिएको प्रतिफल प्रति आएको अरुको धारणालाइ वुझेर मात्र आफ्नो धारणा बनाउनु  । तर यसो भन्दै गर्दा हामीले जानेको विषय व्यभारमा धेरै भन्दा धेरै कम लागु गर्छौ र आफ्नै हिसावले पहिलेनै त्यसको प्रतिफलको पनि आंकलन गर्छौ । कहिले काहीँ त भविष्यवाणी पनि गरिदिन्छौ ।

वुद्धिविलास त धेरै हुँदो रहेछ । केही गरेको जस्तो पनि देख्दो रहेछ । लाग्दोरहेछ र हुँदो रहेछ । तर अन्तर्यमा वास्तविकता अर्कै हुँदोरहेछ । संसारलाइ वदल्छु, समाजलाइ वदल्छु भनेर लागी परेकाहरुमा पनि यस्तो समस्या प्रशस्त विद्यमान रहेको हामीले देखेका र भोगेका छौं । त्यसैले क माओले आफुले आफैलाइ चिन्न वुद्धिविलास गर्न सक्नेहरुलाइ पनि कम्यूनको जीवन भोग्न लगाउनु भयो र आफैले पनि भोग्नु भयो ।

कम्युनको सदस्य बन्नु भनेको आर्थिक हालतले तल्लो स्तरसम्मका जनताको विचमा घुलमिल हुनु हो । संसार बदल्नु भन्दा पहिले आफुलाइ बदल्न जरुरी छ भन्ने जानेरनै माओले, विचारको प्रयोग नगरी सुविधायुक्त स्थानमा बसेर वुद्धिविलास मात्र गरिरहेका आफ्ना वुद्धिजीवी कार्यकर्ताहरुलाइ जनताको बिचमा पठाउनु भयो । नेपालमा पनि यस्तो प्रयोग जनयुद्ध मार्फत भयो नै । जनयुद्धको शुरुवाती चरणमा आफुलाइ क्रान्तिकारी भन्ने थुप्रै वुद्धिजिवीहरु कसरी अन्तर्ध्यान भए । जनयुद्धमा ज्यानफालेर लाग्ने कमरेडहरुलाइनै थाहा होला । कतिपय माक्र्सवादी पसल खोलेर बसेका र जनयुद्धलाइ सत्तोसराप गर्नेहरु जस्ले सुरुवाती चरणमा जनयुद्धको विरोधको अभियाननै चलाएका थिए उनिहरुनै पछि आएर जनयुद्धकै राप तापमा सभासद भए । मन्त्री पनि भए ।

चितवनका एकजना उ वेलाका मेरा नजिकका मित्रले ‘ववार्द गर्यो जनयुद्धले,गाउँमा बसीखान दिएन । सबैलाइ भड्खालामा हाल्ने भो । भातमाराहरु हुर्र आउँछन ।जवर्जस्ती खान बनाउन लगाउँछन । सेल्टर मागेर त्राहीमाम पार्या छन’ भन्थे । अहिले उनै मित्र माओवादी केन्द्रका भक्त छन । आफैलाइ बदल्नुनै प्रमुख विषय हो भन्ने निष्कर्षलेनै माओले सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुवात गर्नुृभयो । समाजवाद हुँदै साम्यवादसम्म पुग्दा मानवले आफुलाइ पुरा वदलेर पूर्णमानव बन्न सकिन्छ भन्नेनै माक्र्सवादको साम्यवादी अवधारणा हो । यसमा कस्ले कति आत्मसात गर्छ भन्ने विषय पहिलो महत्वपूर्ण विषय हो । जस्ले धेरै भन्दा धेरै प्रतिशत आत्मसात गरेका छन उनिहरु महान बनेका छन । नसक्नेहरु साधारण हामी जस्ता समर्थक तथा शुभचिन्तक पनि छौं । अन्तिममा उल्टो वाटो आत्मसात गर्नेहरु रायमाझी,मोहनविक्रम हुंदै प्रचण्ड,वावुराम जस्ताहरु पनि हाम्रा आँखा अगाडी छन ।

आफुलाइ चिन्ने र वदल्ने विपश्यना विधी

आजभन्दा पच्चिस छव्विससय वर्ष अगाडी कपिलवस्तुका सिद्धार्थ गौतम भन्ने राजकुमार जस्ले मानव जातिको समस्याको समाधानका विषयमा अनुसन्धान गर्न भर्खर विवाह गरी एउटा छोरा जन्माएको युवा अवस्थामा उनि आफ्ना राजकिय सुख सुविधा सवै त्यागेर सन्यास भएर हिंडे । भनिन्छ उनि यसरी घरपरिवार सवै छाडेर समस्या समाधानको खोजीमा हिडेको छ वर्ष पश्चात मानव जातिको समस्या समाधान गर्न सकिने विधी विपश्यना पत्ता लगाए । अथवा ज्ञान प्राप्त गरे । तवदेखि उनी गौतम वुद्ध बने भन्ने हामीले सुन्दै र पढदै आएका पनि हौं । शायद गौतम वुद्धको दर्शन वस्तुपरक,सरल र भौतिकवादको नजिक भएर होला पश्चिमी दुनियाँका जनताले पनि यिनीमा रुची राख्छन । अहिंसा,शान्ति र समानता लाइ प्राथमिकता दिने वुद्धको दर्शनलाइ नेपालकै कतिपय वुद्धिजिवी,साहित्यकार तथा माक्र्सवादी विद्धानहरुले समेत दुवैको दर्शनमा मानव कल्याणको लागी समानता भएको पनि भन्दछन । वुद्ध दर्शन र माक्र्सवादमा समानता वा भिन्नता छुट्याउने भन्दा पनि दुवैको दर्शनले मानवजातीको कल्याणको लागी आआफ्नो विधी द्धारा मार्ग प्रशस्त गरेका छन । वुद्धकालमा वुद्धवाट परम्परागत ढंगले पारंगत भएका सयौं वैदिक विद्धानहरु समेत वुद्धको सिद्धान्तवाट प्रभावित भए र उनिहरु वौद्ध संघमा समावेश भए । वुद्धको सरल ज्ञानको प्रभावले हजारौं हजार वौद्ध भिक्षुहरु जनताको विचमा वुद्धको ज्ञान प्रचार प्रसार गर्न खटिए । भिक्षुहरुको सालिनता,सादगी र नराम्रो कर्म प्रतिको वितरागले उनिहरुले भ्रमण गर्ने हरेक गाउँ र शहरका जनता प्रभावित भए । स्वयं गौतम वुद्ध आफुले प्राप्त गरेको ज्ञानको प्रचार प्रसार गर्न तात्कालिन भारतको विभिन्न स्थानमा भ्रमण गरिरहन्थे । साथै त्यसवेलाका राज्यका राज्यप्रमुख वा राजा वा व्यापारी समेत गौतम वुद्धको शिक्षावाट प्रभावित भएर आफुलाइ वदलेको थुप्रै उदाहरण पाइन्छ । जस्तै उदारहरणको रुपमा मगधका राजा अजातशत्रु, श्रावस्तीका व्यापारी अनाथपिण्डिका र दुर्दान्त डाकु अंगुलीमाललाइ  लिन सकिन्छ ।

गौतमवुद्धले ज्ञान प्राप्तीको लागी सरल र सुगम मार्ग विपश्यना ध्यान विधी पत्ता लगाए जसद्धारा सर्वप्रथमत आफुले आफैलाइ चिन्न सिकाउँछ भने वदल्न पनि । पाली भाषामा विपश्यनाको अर्थ आफुले आफैलाइ हेर्ने भन्ने रहेछ । विपश्यना विधी द्धारा आफुलाइ आफैले भित्री रुपमा हेर्न सकेमा आफु भित्रको फोहर मैला सबै देख्न सकिने तिनै फोहर मैलाको कारणले मनमा वेचैनी उत्पन्न हुने र आफु दुखी हुने हुनाले समभावमा रहेर आफु भित्रका फोहर मैलालाइलाइ एक एक गरेर निकाल्दै वेचैन हुने मनलाइ निर्मल वनाउंदै जाने विधी रहेछ । यो ध्यान विधी यसकारण पनि वैज्ञानिक छ की प्राय सवै ध्यानमा कुनै काल्पनिक देवताको रुपको आलम्वन वा कुनै काल्पनिक प्रकाश पुंजको आलम्वनमा ध्यान गरिन्छ भने यस विधीमा आफ्नै श्वास प्रश्वासको आलम्वनमा ध्यान केन्द्रित गर्न सिकाउँदो रहेछ । यसमा वानी परीसकेपछि आफ्नो शरिरको शिर देखी पैताला सम्मका अंगप्रत्यंगलाइ एक एक गर्दै हेर्नाका साथै त्यसमा उत्पन्न भएका समवेदनालाइ समभावमा हेर्न सिकाइने रहेछ । पाली भाषा अनुशार समवेदना भन्नाले शरिरमा स्वतस्फूर्त रुपमा उत्पन्न हुने विभिन्न प्रकारको महशुस गराइलाइ रहेछ । त्यो सुखमय पनि हुन सक्छ । दुखमय पनि हुन सक्छ । साथै संसारका हरेका वस्तु परिवर्तनशिल भएकोले आफुभित्र आएका सुखी वा दुखी समवेदनालाइ समभावमा हेर्नुपर्ने हुन्छ जुन विभिन्न प्रकारले आउँछन जान्छन ।

संस्कारगत आफु भित्र रहेको र आफ्नै कर्मद्धारा आफुभित्र रहेका विकारहरु एक एक गर्दै आउने र त्यसको पहिचान गर्दै त्यसलाइ निकाल्दै मनलाइ निर्मल बनाउने विधी भनेकोनै विपश्यना ध्यान रहेछ । यसरी आफुभित्रको बिकारलाइ निकाल्दै मन निर्मल भएपछि स्वभावत∶ मानिस आफै पनि वदलन्छ । एक्काइसौं शताव्दिको आधुनिक युगमा समाज परिवर्तन गर्न वा परिवर्तनको लहरै ल्याउन नसके पनि यो विधीले व्यक्तिगत हिसावले मात्र भने पनि आफुलाइ वदल्न सकिन्छ ।

बदल्नु भनेको दुखको सागरबाट मुक्त हुँदै बिस्तारै सुखमय मार्गतिर अग्रसर हुनु हो । यो विधीलाइ कुनै व्यायम वा योगा जसरी अडियो भिडियो हेरर,सुनेर वा यस सम्वन्धी पुस्तक पढेर गर्न सकिने चाहीँ होइन । यस विधीलाइ प्रयोग गर्न कम्तीमा पंचशिलको पालना गर्नु पर्ने हुनाले या त आफु भिक्षु वन्नुपर्यो । तर सवै भिक्षु वन्नपनि सक्दैनन भने कामकाजी गृहस्थ जीवन वांचीरहेकाले कसरी प्रयोग गर्ने त ? भन्ने प्रश्न भएकोले यस प्रश्नको हलको लागी जहां कम्तीमा दश दिनको शिवीरको व्यवस्था गरिएको हुन्छ ती विपश्यना ध्यानकेन्द्रमा गइ पंचशिलको पालना गर्न सकिन्छ । जीवनमा कम्तीमा दशदिन भिक्षु वन्ने आंट गर्नुस र विपश्यना ध्यानमा डटनुस । दश दिनको ध्यान सकिए पछि अवश्य तपाइले आफु भित्र केही वा धेरै परिवर्तन भएको पाउनु हुनेछ ।

दश दिवशिय शिवीरमा पुरा दश दिन आर्यमौन अथवा पूर्णरुपले मौन यहाँसम्मकी तपाइले कुनै पनि प्रकारको इसाराले समेत सम्पर्क वा ध्यानाकर्षण गर्न निशेध गरिएको छ । आहार विहार सवै सात्वीकको साथै अल्पआहर दिइन्छ । ताकी विहान चार वजे देखी राती नौ वजे सम्मको अवधीसम्म खाने र विश्रामको छोटो समय बाहेक चंगा शरिरले ध्यान गर्न सकियोस । पंचशिल वारे भित्तामा ठुला अक्षरमा यस्तो लेखिएको छ ∶

१- प्राणी हत्या नगर्नु

२- झुठो नवोल्नु

३- चोरी नगर्नु

४- व्याभिचार नगर्नु

५- कुनै पनि नशालु पदार्थको प्रयोग नगुर्नु ।

यसैले आफुलाइ बदल्नको लागी यात आफ्नो राजनीतिक दर्शन अनुशार इमान्दार भएर लाग्नुस । त्यसमा पनि मालेमावादी हुनुहुन्छ भने जनताको विचमा आफ्ना व्यक्तिगत सवै स्वार्थ त्यागेर जानुस । अवश्य तपाइ वदल्नु हुनेछ वा वदलिन वाध्य हुनु पर्ने छ ।

राजनीतिकरुपले आफु वदलिंदा पक्कै पनि वहुजन हिताय हुन्छ भने विपश्यनाले कसरी सुखी भएर वाँच्न सकिन्छ भन्ने व्यक्तिगत अभ्यास गर्न सिकाउँछ र त्यसले केही न केही त पक्कै आफुभित्र सकरात्मक परिवर्तन गराउँछ नै ।

(राजनीतिक आस्था र समर्थन हुँदाहुँदैपनि आफैले विपश्यना ध्यानको पहिलो पल्ट दश दिने शिविर सम्पन्न गरेको आधारमा आफ्नो अनुभव शेयर गरेको मात्र -लेखक)

  • Bame Banda .

    अनुभब राम्रो छ ! अध्यान र अनुभबहरुले सहि र गलत छुट्याउन सजिलो हुनेछ साथै कर्तब्य बोध समेत गराउनेछ ! भेरी गुड !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing