एन आर एन लाइ एकलौटी चलाउने गोप्य रिपोर्ट सार्वजनिक (रिपोर्ट सहित)

ददि सापकोटा 

एन आर एन ए युरोप क्षेत्रिय भेला घनिभूत रुपमा चलिरहेकै थियो । एन आर एन ए का केन्द्रिय तहका अभियन्ताहरु हलको अघिल्लो पङ्तिमा थिए । संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, केन्द्रिय महासचिव डा बद्रि केसी, प्रवक्ता रन्जु वाग्ले, संरक्षक रामप्रताप थापा, दिल गुरुङ लगायत सबै । अध्यक्ष शेष घलेलाई मञ्चमा बोलाईयो । उनले एन आर ए को भावि योजना सुनाउँदै थिए । उनको छेउमा दाहिनेतिर एक जना युवा थिए, कम्प्युटरबाट चित्रसहितको रिपोर्ट भित्तामा फ्याँक्ने र त्यहि अनुसार शेष घलेले ब्याख्या सुनाउने । तर एउटा महत्वपूर्ण समयमा कम्प्युटरको भित्तो बिजुली चम्किए जस्तो झ्यार झ्यार झ्यार झ्यार देखियो । त्यसमा के लेखिएको छ कसैले हेर्न पाएन । शेष घलेलेपनि यसलाई स्पष्ठसित देखाउनुपर्ने, थप स्पष्ठ पार्नुपर्ने जाँघर देखाएनन् । तर बिजुली चम्किएझैं पर्दा झ्यार झ्यार गर्दा शेष घले सुनाउँदै थिए ‘ एन आर एन ए लाई नयाँ उचाई र सफलतामा पुर्‍याउन भिजन २०२० को योजना । उनले यति भनेपछि करिब साढे तिनसय सहभागि सम्मिलित हलमा मुख्य नेत्रित्वकाबिच गलफत्ती परिहाल्यो । त्यो भिजन २०२० शेष घलेले तयार गरेपनि त्यसलाई ब्रिहद छलफलमा त ल्याइएन  नै बरु हालसम्म त्यसलाई गोप्य राखिएको छ । ‘कफिडेन्सियल’ भनेर उल्लेख गरिएको करिब १० पेजको त्यो दस्ताबेज गोप्य स्रोतबाट फेला परेको छ ।

भिडियो गेम, सेटिलाईट, ईन्टरनेट आदिको पहुँचले गर्दा विश्व बदलिएकाले एन आर एन ए लाइपनि बदल्नुपर्ने कुरा सुनाउँदै थिए घले, हलभित्र । त्यसपछि उनले फेरि सुनाए – एक दिन नेपाली डायस्पोराको संयुक्त राष्ट्र संघ बन्न सक्छ । दोस्रो र तेस्रो पुस्ता प्रवाशमा तयार भएपछि । एन आर एन ए को निति निर्माण गर्ने निकाय (पोलिसी इन्सटिच्युट) अलग्गै हुनुपर्नेपनि उनी बताउँदै थिए । विज्ञान, शिक्षा, स्वास्थ्य, संस्क्रिति, ब्यापार हरेक क्षेत्रकालागि त्यो अलग हुनुपर्छ । ति हरेक क्षेत्रमा धुरन्धर विद्वानहरु राखेर निति बनाइन्छ । उनी बिस्तारै आफ्नो योजनामा अघि सर्दै गएको आभास भयो, उनले यति सुनाउँदा । त्यहि अनुरुप उनले भिजन २०२० को नारा अघि सारे ।

भिजन २० जस्तो महत्वाकांक्षी योजना सुनाउने तर ब्याख्या नगर्ने । देखाएको योजनापनि कम्प्युटरको पर्दामा स्पष्ठ नबुझ्ने बरु बिजुली चम्किएझैं घ्यार घ्यार पारेकै भरमा टार्ने देखिएपछि एन आर एन ए का प्रमुख संरक्षक जिवा लामिछाने बसिरहेको ठाउँबाट जुरुक्क उठेर माईक मागे । उनले भने ‘यो भिजन २०२० एन आर एन ए को कुनै बैधानिक निकायबाट अनुमोदित भएको छैन । के छ यसमा ? किन यो बिजुली चम्किएको जस्तो भयो ? यो प्राविधिक कारणले हो की ? यसका बारेमा थप ब्याख्या र स्पष्ठ हुनुपर्‍यो । यति गम्भिर विषयलाई यति हल्कापूर्वक प्रतुत गर्नु भएन ।’ एन आर एन ए का प्रमुख अभियन्ताहरुलेनै नदेखेको, नपढेको यो दस्ताबेज एन आर एन ए का अन्य देशका अभियन्ताहरुले देख्न पाउने कुरो त संभवै थिएन । यसबारे खास केहि नबुझेका, नसुनेकालेपनि अन्य देशका एन आर एनवालाहरु चुपचाप बसे ।

लामिछानेको कुरो सुनेपछि एन आर एन ए का अध्यक्ष शेष घले आगो जस्तै भए । लामिछानेले बोलेर सक्नासाथ माईक मागेर उनी कड्किए ‘यो कुनै बिजुली चम्किएको होइन । प्राविधिक कारणले हो । यसमा शंका गर्नु पर्दैन बरु एन आर एन ए समय र परिस्थिति, बदलिँदो युग अनुरुप यहि रुपमा चल्न सक्दैन । त्यसैले यसलाई समय र युग अनुरुप बदल्ने योजना हो । झ्यार झ्यार भएको प्रविधिक कारणले हो, यसमा यति धेरै शंका गर्नु पर्दैन । मन लागे यसलाई पारिद गर्नुस मन नलागे बिर्सिनुस’ उनले यसलाई अमेरिकाको न्यु जर्सीमा भएको क्षेत्रिय सम्मेलनले पारिद गरिसकेकोपनि बताएका थिए ।

जब शेष घलेले अमेरिकाको क्षेत्रिय सम्मेलन न्यु जर्सीबाटपनि अनुमोदित भएको बताए तब एन आर एन ए का संस्थापक अध्यक्ष उपेन्द्र महतोपनि चुप लागेनन् । उनले माईक मागे । त्यसपछि शेष घलेको भिजन २०२० को बिरोध गरे । ‘यो भिजन २० भनेको के हो ? के छ यसमा ? यति गम्भिर विषयलाई किन यति हल्का रुपमा प्रस्तुत गरिँदै छ ? यो विषयलाई किन घनिभूत रुपमा छलफलमा ल्याउन सकिन्न ? यो भिजन २०२० का बारेमा न्यु जर्सीमा प्रसंग उठेको हो तर पछि छलफल गरौंला ब्रिस्त्रित रुपमा भनेर टुंग्याएको हो । यस्तो गम्भिर विषयलाई सबै एन आर एन ए का बिच ब्रिस्त्रित छलफलमा ल्याउनुपर्छ, यो गम्भिर विषय हो ।’ उनको जवाफ सुनेपछि शेष घलेले फेरि उहि कुरो दोहोर्‍याए ‘मन परे सहमति गरौं । यहि अवस्थामा एन आर एन लाइ हाँक्न सकिन्न । तर मन पर्दैन भने यसलाई बिर्सिन सकिन्छ । यसमा मेरो कुनै स्वार्थ छैन ।’

सधैभरी भावनाको डोरीले बाँधेर मात्रै हाल एन आर एन एले अघि सारेका लक्ष्य हाँसिल गर्न नसकिने आफ्नो चार वर्षे कार्यकालमा आफूले अनुभूती गरेको शेष घलेले संवोधनका क्रममा बताएका थिए । संस्थालाई सबल र नेपालको सम्बृद्धिसँग सहकार्य गर्न सक्नेगरी क्षमतायुक्त नबनाइ सम्बृद्धिको साझेदार बन्ने लक्ष्य पुरा गर्न नसकिने हुँदा त्यस्तो सबल संस्था बनाउन सही संरचना र सही दृष्टिकोण चाहिने भन्दै उनले भिजन् २०२० अघि सारेका हुन् ।

युग बदलिएको । राजन्तन्त्रबाट संघिय गणतन्त्रमा देश अघि गएको,  पहिचानमा आधारित राजनितिक आन्दोलन विश्वब्यापी भएको, अफ्रिका र एशियाका धेरै मुलुकले आर्थिक उन्नती गरेको, गुगल, विकि पेडिया, युटुब, फेसबुक, ट्विटर, लिन्क्ड ईन, ईस्ताग्राम, स्काईप लगायतका प्राविधिक सामाजिक सन्जालले नेपाललाई बदलेकोलेपनि बदलिँदो परिस्थिति अनुकूल एन आर एन एलाई लैजान आफूले अघि सारेको २०२० लागू हुनुपर्ने जिकिर उनले गरेका छन् ।

के छ शेष घलेको गोप्य भिजन २०२० मा ?

शेष घलेको भिजन २०२० मा थुप्रै सकारात्मक पाटाहरु नभएका होइनन् । तर उनले यो दस्तावेजलाई अमेरिकाको न्युजर्सीमा भएको क्षेत्रिय सम्मेलनमै पास भएको दाबी गर्नु र दस्ताबेजमा गोप्य भनेर उल्लेख गर्नुले उनको नियतमाथि शंका उब्जिन्छ । उनले यो दस्ताबेजलाई सार्वजनिक नगरेकालेपनि बिवाद भएको हो । यो भिजन २०२० कालागि उनले सन् २०१५ बाटै गोप्यरुपमा प्रयास थालेको दस्ताबेज पढ्दा देखिन्छ । किनभने सन् २०१७ को नवौं युरोपेली भेलामा भिजन २०२० प्रस्तुत गरिने छ भन्ने भूमिकामै उल्लेख छ ।

न्युजर्सीमा भएको नवौं क्षेत्रिय भेलामा दस्तावेज पेश गरि प्रतिक्रियासमेत लिएर रिपोर्ट पेश गरेको उल्लेख छ । तर यो दस्तावेज कहिँ कतैपनि सार्वजनिक नगरेको केन्द्रिय अभियन्ता, संरक्षक र राष्ट्रिय समन्वय परिषदका सदस्यहरुले खुलेरै बताएका थिए,  जुलाई २९ र ३० मा जर्मनीमा भएको क्षेत्रिय भेलामा । दस्तावेजको धेरै ठाउँमा गोप्य भनेर उल्लेख गरिएकालेपनि उनी चुकेका छन् ।

उनले गोप्य उल्लेख गरेको पहिलो भागमा उल्लेख गरेका छन् ‘एन आर एन को सरोकार (ईस्सु) उपलब्धि के हो भन्ने विषय होइन । एन आर एनका उद्देश्यहरुलाई कसरि प्राप्ति गर्ने भन्ने हो ।’ एन आर एन एका उपलब्धिहरुको प्राप्तिकालागि एन आर एनको संस्थागत उपलब्धिकालागि कुनै परिवर्तनको खाँचोको महसुस नगरिएको आरोपपनि उनले लगाएका छन् ।

बुँदा नं ३ मा फेरि गोप्य भन्ने उल्लेख छ । त्यसमा नेपालको सामाजिक आर्थिक विकासमा साझेदारी हुनुपर्ने उल्लेख छ । ति उद्देश्यहरु पुरा गर्ने रणनिति के हुन् भन्नेमा उनले ए बि र सि गर्दै हरेकमा तिन तिन बुँदा समेटेका छन् । तिनमा युवा सञ्जाल बनाउनुपर्ने, नेपालमा निजि र सामूहिक लगानी गर्ने, ज्ञानको हस्तान्तरण गर्नुपर्ने, नेपालको सम्पदा संरक्षण गर्नु पर्ने आदि उल्लेख भएपनि एन आर एन ए लाई सामाजिक संस्थाको रुपमा भन्दा कुनै ब्यापारिक ग्रिहको नेत्रित्व गर्ने भन्ने शैलीमा प्रस्तुत छ । गोप्य भनेर उल्लेख गरिएकै बुँदाको अन्तिममा उनले हाल एन आर एन ए नाजुक अवस्थाको चौघेरोमा उभिएको र यसलाई पूनर्संरचित गर्नुपर्ने उल्लेख छ । यहि आरोपको जगमा उभिएर उनले भिजन २०२० को आवश्यकतालाई सिद्द गर्न खोजेका हुन् ।

त्यसैले पूनर्संरचनाको माग गर्दै उनले गोप्य भनिएको छ नंबर बुँदामा उल्लेख गरे अनुसार एन आर एन ए हाँक्नकालागि स्वयंसेवी तरिकाले परिचालित हुने एउटा परिषदको निर्माण हुने छ । विश्व स्तरको ब्यवस्थापनको संरचना सहितको । उनले एन आर एन ए लाई एक परिषद वा प्रतिष्ठान बनाउने प्रस्ताव गरेका छन् । त्यसैले स्दस्यहरुमा आधारित कार्यबिधी र विश्वस्तरिय ब्यवस्थापन संरचना गर्ने उनको प्रस्ताव छ । सदस्यसित संवन्धित कार्यविधी र प्रतिष्ठानसित संवन्धित क्रियाकलापका आधारमा संस्थालाई बिभाजित गर्नुपर्ने उनको प्रस्तावपनि छ ।

गोप्य उल्लेख गरिएको बुदा नंबर सातमा एन आर एन ए लाई पन्चायतकालको राजाले नुयुक्त गर्ने राजपरिषद सचिवालय जस्तै बनाउन प्रस्ताव गरिएको छ । शहरि स्तरको संस्थाबाट देश देशमा क्षेत्रिय स्तरको संस्था निर्माण गर्ने, त्यसपछि राष्ट्रिय संरचना खडा गर्दै विश्व संरचना निर्माण गर्ने । सात नंबरको बुँदाको बि दोस्रोमा स्वयंसेवी तरिकाले निर्वाचित परिषदको परिकल्पना गरिएको छ । यसमा एक बलियो सचिवालय बनाउने भनिएको छ जसमा विश्वका ठूला फर्महरुबाट उच्च मानव स्रोतहरुलाई नियुक्त गरिने छ भन्ने उल्लेख छ । कुनै विशेषज्ञको आवश्यक पर्दा हालसम्म एन आर एन ए ले गैह्र आवाशिय नेपालीहरुलाईनै प्राथमिकता दिनुपर्ने योजना बनाउँदै आएका थिए । तर घलेको भिजन २०२० ले जुनसुकै देशका नागरिकलाई नियुक्त गर्ने र ति नेपाली हुनु नपर्ने प्रस्ताव अगि सारेको छ । यो विषयमा हलभित्र एन आर एन ए का प्रमुख संरक्षक उपेन्द्र महतोलेपनि प्रश्न गरेका थिए । त्यसबेला घलेले ‘निस्चित रुपमा जो सक्षम छ उसैलाई नियुक्त गरिन्छ’ भन्ने जवाफ महतोलाई दिएका थिए ।

तेस्रो बुँदा गम्भिर छ । किनभने यो परिषदको मुख्य कार्य अध्यक्षले गर्ने उल्लेख छ । अध्यक्षलाई संस्थाको एकाधिकार दिएको छ । त्यसमा रहेका अन्य सदस्यहरुले अध्यक्षलाई सहयोग र प्रशंसा गर्न सक्ने छन् । अध्यक्षलाई पथप्रदर्शन गर्न एक सल्लाहकार बोर्ड गठन गरिने छ । निर्माण हुने परिषद र अध्यक्षलाई तिनले पथप्रदर्शकको काम गर्ने छन् । अर्थात् यो संरचना हेर्दा पञ्चायति शासन ब्यवस्थामा राजाले निर्माण गर्ने राजपरिषद सचिवालय जस्तै हुने छ जसले राजालाई सल्लाह दिन त सक्छ तर अधिकार केहि हुँदैन ।

शेष घलेले प्रस्तुत गरेको भिजन् २०२० एन्ड बियोन्ड भन्ने उक्त रिपोर्टको ८ नंबर बुँदाको दोस्रो भागमा एन आर एन ए लाई विश्व वन्यजन्तु कोष जस्तो बनाउने स्पष्ठ उल्लेख छ । राजनितिक संस्थाका सदस्यहरु परिषदको सदस्यका रुपमा कार्य गर्न असक्षम हुने उल्लेख छ ।

उनले अघि सारेको यो भिजन प्लान को दशौं बुँदा सबैभन्दा गम्भिर छ । किनभने यसले अध्यक्षलाई सर्वेसर्वा शक्तिसम्पन्न बनाउने छ । दशैं बुँदाको पहिलो नंबरमा अन्तर्राष्ट्रिय सम्मेलन (अधिवेशन) ले यि सिद्दान्तहरुलाई सदर गर्ने छ र परिषदका अध्यक्षलाई यि लागू गर्न आवश्यक शक्ति प्रदान गर्ने भन्ने उल्लेख छ । अर्थात् आगामी अक्टोबरमा एन आर एन ए को काठमाडौंमा हुन गैरहेको विश्व सम्मेलेनले सम्पूर्ण अधिकार अध्यक्षलाई दिएर अधिकारसम्पन्न बनाउने योजना उनले अघि सारेका छन् । हालसम्म ब्रिहद छलफलमै नल्याईएको यो दस्ताबेज साटाकसुटुक रुपमा क्षेत्रिय भेलाहरुबाट पास गराएर आगामी अक्टोबरमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय अधिबेशनबाट पास गराउने उनको आन्तरिक तयारि देखिन्छ ।

उनको गोप्य दस्तावेजमा उल्लेख भए अनुसार आफ्ना कार्ययोजना सफल बनाउन अध्यक्षले पाँच सदस्य नियुक्त गरि कमिटि गठन गर्ने छन् । अगष्ट २०१७ सम्ममा अध्यक्षले यो योजनाको अनुमोदन प्राप्त गरिसक्ने उल्लेख छ । अर्थात् जर्मनीको फ्र्यांकफर्टमा हुने एन आर एन ए क्षेत्रिय भेलाबाट साट्टसुट्ट पारेर पारिद गराउने उनको उद्देश्य देखिन्छ । अक्टोबर २०१७ बाट आगामी अध्यक्षले यो भिजन २०२० लाई कार्यान्वयनमा ल्याउन शुरु गर्ने भन्ने उल्लेख छ ।

यो गोप्य दस्तावेजकै कारण एन आर एन अहिले तिब्र मतभेदमा परेको छ । शेष घले पक्षका अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा, एन आर एन एका प्रवक्ता रन्जु वाग्ले, बेलायतका योगेन क्षेत्रि, एन आर एन ए को सल्लाहकारमा घलेलेले नियुक्त गरेका बेल्जियमका युवराज गुरुङ लगायतले यो दस्तावेज न्युजर्सी सम्मेलनबाटै पारिद भएको दाबी गर्दै आएका छन् । तर एन आर एनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्रि केसी, लगायत अधिकांश देशका एन आर एन एहरुले यसको तिब्र बिरोध गर्दै घलेको भिजन २०२० दस्तावेज सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । एन आर एन एका सबै राष्ट्रिय परिषदहरुलाई बितरण गरेर ब्रिहद छलफल गरि तिनको रायका आधारमा पारिद गरिनुपर्ने दस्ताबेजलाई शेष घलेले केन्द्रिय तहमापनि सार्वजनिक गरेका छैनन् ।

 

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing