नयाँ द्रिष्टिकोण सार्वजनिक गर्दै एन आर एन ए ईटालीको अध्यक्षमा राजन चापागाईको उमेदवारी

आज भन्दा १७ वर्ष पहिला अर्थात २००० को मे महिनामा ईटालीको मिलान शहर आएको थिएँ म । सन् २००३ सम्म मिलानमा बसेँ । त्यतिबेला भर्खर भर्खर नेपालीहरुको आगमन हुँदै थियो । त्यस समयमा मपनि नयाँ भएकोले धेरै त सकिन होला तर आफुले अन्य नेपाली मित्र, दाजुभाईहरुलाई सक्दो सहयोग पुराएको मिलानबासी दाजु भाइलाई अवगत नै छ । मैले त्यो बेला देखिको सहयोगी भावना सधैं कायम राखेको छु । त्यहि भावनालेपनि मलाई सामाजिक संघसंस्थामा लागेर अगाडि बढ्ने साहस, स्रोत, हौशला र उर्जा दिन्छ । त्यहि अनुभव, उर्जा र आफूसित भएको सामूहिक भवनाकै कारणले गर्दा एन आर एन ए ईटालीलाई नयाँ सोचकासाथ नेत्रित्व दिन सक्ने स्पष्ठ भावनाले अध्यक्ष पदको उमेदवार बनेको छु ।

सन् २००० तिर मिलानमा हामी अत्यन्तै थोरै थियौं नेपाली । हामी  मिलानमा करिब १५, १६ जना मात्र थियौं । त्योबेला सबैले एक अर्कालाई चिन्थ्यौं । सानो सुखि परिवार जस्तो थियो, त्यो बेला मिलानको नेपाली समूदाय । त्यति बेला मितेरी मञ्च, मिलान इस्थापना भैसकेको थिएन । हामी आफू आफू एक अर्कामा अनुभव, सहयोग बाँडाबाँड गर्थ्यौं । थोरै नेपाली भएकाले संस्थाको खाँचोपनि महसुस भैसकेको थिएन ।

हामी परदेशमा कामको शिलशिलालेनै आएका मान्छे । जता काम पाइन्छ उतै हिँड्नुपर्ने । करिब तिन वर्षको मिलान बसाईपछि म कामको सिलसिलामा पदोभा शहर गएँ । मलाई त्यतै कामको मेसो मिल्यो । पदोभा गएपछि लाग्यो, हामी नेपाली कति आर्काको जागिरे मात्रै बन्ने ? हामी ब्यवशायिक, उद्दमीपनि बन्नुपर्छ । त्यो बन्ने सके हाम्रा नेपाली दाजुभाईहरुलाई केहि कामपनि दिन सकिन्छ । एक जना नेपालीले जोखिम लिएर कस्सियो भने अरुलाईपनि उर्जा र अनुभव दिन्छ । त्यहि सोचेर मैले आफ्नो ब्यवशाय सुरु गरें ।

पादोभा शहर भेनेश शहर धेरै टाढा छैन । पानीनै पानीमाथिको शहर भनेर चिनिने भेनिस शहरमा २००३ मा भेनिस एसोसिएशन स्थापना भयो । नेपालीहरुकालागि खोलियो यो । म स्थापाना कालदेखि यो एसोसिएसनमा आबद्द भएँ ।

सन् २००७ साल देखि मैले आफ्नो ब्यवशाय शुरु गरेर हालसम्म तिन ओटा शहर पादोभा, भेनिस र त्रेभिसोमा रेस्टुरेन्ट संचालन गरिरहेको छु । जहाँ जहाँ मेरो ब्यवशाय छ त्यहाँ सबैभन्दा बढि नेपालीदाजुभाईलाई नै प्राथमिकता दिएको छु, रोजगारीकोलागि । जता गयो उतै आफ्नो ब्यवशायमा नेपालीहरुलेनै स्थान पाएको देख्दा, आफु नेपाल छोडेरपनि यहाँ नेपाली दाजु भाइलाई रोजगारी दिन पाउँदा खुशि लाग्छ । देश छोडेर परदेश आएकामा कतै कहिँ मन पोलेपनि नेपालीहरुसितै रहन पाउँदा राहत मिलेको अनुभूती भैरहन्छ । मेरो आफ्नो उद्देश्य के छ भने सकेसम्म धेरै नेपालीलाई सिपमुलक काम सिकाएर ब्यवशाय गर्न सक्षम बनाउँ । यहि योजना अनुसार मैले केहि नेपालीहरुलाई सक्षमपनि बनाएको छु । अझै धेरै गर्न बाँकि छ । सामूहिक प्रयासमा त्यो गर्नुपर्छ भन्ने लागेको छ । त्यसको पहल गर्नपनि म एन आर एन ईटालीको अध्यक्ष पदमा उमेदवार बनेको छु ।

एन आर एन ईटालीको अध्यक्ष पदकालागि आफू योग्य रहेको मेरो दाबी युक्तिसंगत, तर्कसंगत छ । त्यो किनभने २०११-१३ को डा अनिल भट्टराई अध्यक्ष रहेको कार्यकाल देखि सदस्य पदमा रहेर एन आर एन ईटालीमा काम गरेको छु । डा भट्टराईको कार्यकालदेखि सिक्दै र भोग्दै २०१३-१५ को एन आर एन ए को कार्य समितिमा महासचिव जस्तो जिम्मेवारपूर्ण पदमा बसेर सफलतापूर्वक काम गरें । अनुभव लिएँ र आफूले सकेको दिएँ । त्यसका बारेमा आफैंले प्रशंसा वा आलोचना गर्नुभन्दा ईटालीबासी नेपालीलेनै भोग्नु भएको छ ।

आफूले माथिल्लो र सबैभन्दा जिम्मेवारपूर्ण पदको दाबी गरेपछि त्यसलाई सिद्द गर्नपनि सक्नुपर्छ । आफूले बिगतमा गरेका काम, दिएका सेवा र भएका अनुभव अनि सक्रियतालेनै त्यो पदको लागि सक्षम वा असक्षम सिद्द गर्ने हो । म केहि कुराहरु उल्लेख गर्न चाहन्छु । मेरो कार्यकालमा नेपालमा गएको महाभूकम्पमा इटालीमा भएका बिभिन्न समाजिक सघसंस्थासंग मिलेर करिब दुई करोड रुपियाँ उठाउन सफल भएका थियौं । मेरो एक्लो प्रयास र अक्रियताले म भन्दिन । तर यति धेरै रकम सामूहिक भावना र सहि नेत्रित्वबिना उठाउन पक्कै संभव हुने थिएन । मेरै कार्यकालमा अनिश खालिङ बचाऊ अभियान सफल पार्‍यौं । त्यो मेरो संलग्नताबाटै शुरु गरिएको थियो । त्यसैगरि अनिल पुन ईटालीको रोम जेलमा पर्दा उहाँलाई सबभन्दा बढि सहयोग गरेका थियौं ।

सन् २०१३ देखि इटालीको आर्कोबालेनो एसोसिएसन त्रेभिसो (Arcobaleno Association Treviso) संग हातेमालो गर्दै नेपालको हेलम्बुमा करिब २५, ३० जना वालवालिकाहरुलाई शिक्षा, खानेपानी र स्वास्थ्य चौकी निर्माण गरेर सहयोग गर्दै आएको जानकारी गराउन पाउँदा खुशि लाग्छ । मैले सानातिना अन्य धेरै ठाउँमा आर्थिक सहयोग गर्दै आएको छु । ति सहयोगको सूची लामो हुन्छ । म यसै लेखको अन्तिममा हेर्न अनुरोध गर्छु । अहिले गएको बाढीबाट प्रभावितहरुलाई राहत दिन  मैले ५० हजार नेपाली रुपियाँ सहयोग गर्ने घोषणा गरेको छु । बाढी पिडितलाई आर्थिक सहयोगको कुनै अभियान सञ्चालन गरेमा आफू त्यसमा सक्रिय भएर लाग्ने सार्वजनिक गरिसकेको छु ।

एन आर एन ए एउटा सामाजिक संस्था हो । यसको नेत्रित्वमा लिन होइन दिनैकालागि जाने हो । समाजकालागि केहि दिन । समाजकालागि केहि दिनकालागि आफूपनि सक्षम हुनै पर्छ । समाजकालागि केहि दिन, संस्थालाई सबल र बलियो बनाउन आफ्ना पक्षमा मिलेर काम गर्ने बलियो समूहपनि चाहिन्छ । संस्थालाई स्थापित गराएर अगाडि बढाउन अनुभवपनि चाहिन्छ । म आफू यि सबै कुरोमा पूर्ण नभएपनि अध्यक्ष पदकालागि योग्य देख्छु । आर्थिकरुपले संस्थालाई सानोतिनो योगदान गर्न सक्ने अवस्थामा छु । परिवर सहयोगि छ । एन आर एन ए लगायत अन्य संस्थामा काम गरेको अनुभव छ । मलाई साथ दिने ईटालीवासी योग्य,  ईमान्दार र सामाजिक भावना भएका साथी र शुभेच्क्षुकहरुको टोलीपनि छ ।

ईटालीमा सहज तरिकाले काम गर्न म ईटालियन भाषामा रोकिन्न । नेपाली र अंग्रेजी भाषाको ज्ञानपनि छ । ईटालीमा काम गर्ने अन्य संघसंगठन, नेपालप्रति चासो राख्ने ईटालीका संस्था र नेपालप्रेमी ईटालियनहरुसितपनि मेरो संपर्क र लगाव छ । एन आर एन ए लाई ईटालीमापनि चिनाउने, ईटालियन नागरिकहरुसितपनि संवन्ध बनाउन रचनात्मक कामको शुरुवात हुनुपर्छ । त्यसैको बलमा नेपाल र नेपालीको हितमा एन आर एन ए ईटालीलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो द्रिष्टिकोण छ । संघ संस्थाका कामहरु आर्थिक र कार्यगतरुपमा पारदर्शी हुनुपर्छ भन्ने अर्को मान्यता रहेको छ मेरो । म हिजो संलग्न हुँदापनि त्यसलाई कायम राख्ने कोसिस गरें । र अबको मेरो नेत्रित्वमापनि एन आर एन ए ईटालीले गर्ने काम र क्रियाकलापहरु पारदर्शीरुपले अगाडि बढाइन्छ भन्ने विश्वाश दिलाउँछु । यि सबै कामकालागि म सक्षम छु भन्ने दाबी गर्दै सबै ईटालीवासी दाजुभाई दिदिबहिनी र मित्रहरुलाई मेरो उमेदवारीमा साथ दिन हार्दिक अपिल गर्दछु ।

ईटालीमा जे सिकें, यो नेपाली समाजमा जे जसरि शुरुदेखिनै उपस्थित भएँ मैले हार्दिकतासाथ हातेमालो गरेरै अगाडि बढेको हुँ । अबपनि यहाँका संघसंस्था, ईटालीबासी अग्रज तथा सबैको सुझाव, सहकार्य र साझा मुद्दा लिएर अगाडि बढ्ने आफ्नो योजना र मन रहेको स्पष्ठ पार्दै अध्यक्ष पदमा मलाई बिजयी गराउन सबैसित सहयोगको हार्दिक अपिल गर्न चाहन्छु ।

नमस्कार र सबैमा शुभकामना

राजन चापागाईं,          

निवर्तमान महासचिव तथा प्रस्तावित अध्यक्ष पदको उमेदवार

इटाली

मैले गरेको सानोतिनो सहयोगको सूची

-हेल्प नेपाल लाई २०१५ मा रु १५ ००० सहयोग गरेको

-२०१३ मा म आफु र राम जीबी पन्त नेपाल गएर पुष्पा बस्नेतलाई कपि, किताब र नगद सहयोग गरेको

-माओबादी युद्दको समयमा बाबु आमा गुमाएको जाजरकोटको एउटा बालिकालाई तुरुन्तै रु १०००० सहयोग र नानिलाई पढ्ने ब्यवस्था गरेको

-मेरो गाउँ काठमाडौं गोठाटारमा दुइ ओटै किड्नी फेल भएको असक्त लाई रु १०००० सहयोग गरेको

-आफ्नो नगरपालिकामा एम्बुलेन्स किन्नको लागि लगाएको महायज्ञमा रु १५००० सहयोग गरेको

  • भिमसेन थापा

    बधाई एवं कार्यकालको सफलताको शुभकामना दाजु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajendra dahal

    Good wishse rajan

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing