मिडियामा साहित्य : नाटकीय छलाङ

  • पदम गौतम

सामान्यतया आइतबार मेरो छुट्टीको दिन । शनिबारका लागि बिभिन्न अनलाइन र दैनिक पत्रिकाले शनिबारीय अङ्कमा बिशेष सामग्री राखेका हुन्छन् । छुट्टीमा घुमघाममा तालमेल नमिले यस्तै सामग्री पढेर बस्ने गरेको छु ।

बितेका दुई दशकमा नेपालमा पत्रकारिता र आमसञ्चारमा अकल्पनीय परिवर्तन भएका छन् । यसभित्रका बिभिन्न गम्भीर बिषयमा थोर बहुत लेखिँदै, खोजिँदै र टिप्पणी गरिँदै आएका छन् । समाजमा आएको परिवर्तन अनि मिडियाको बृद्धि र विकासका कारण अनेकौं अकल्पनीय फेरबदल भएका छन् । तर यहाँ अहिले चाहिँ यस पंक्तिकारले आफ्नै लेखन र सरोकारको बिषय अर्थात् साहित्य र नेपाली मिडियाबारे केही टिप्पणी गर्न चाहेको हो ।

समाजले हरेक बिषयलाई हेर्ने दृष्टिकोण बन्नुका पछाडि त्यस बिषयको महत्व र त्यहाँ संलग्न व्यक्तिहरूप्रतिको समाजको हेराइ महत्वपूर्ण हुन्छ । बिगतमा नेपालमा साहित्य भनेकै पागलजस्ता मान्छेले उत्पादन गर्ने अनुत्पादक वस्तुका रूपमा हेरिँदै आएको थियो । यसको परिणाम नै भन्नुपर्छ, पत्रिकामा साहित्यलाई स्थान त दिइन्थ्यो तर दयाका पात्रका रूपमा । गाउँघरतिर दलितलाई पुराणस्थलमा बाहिर बसेर सुन्ने व्यवस्था छुट्याएझैं थियो त्यो अवस्था । नयाँ पत्रकार देख्नासाथ वा समूहमा परिचय हुँदा ‘यसले कुन बिषयमा लेख्छ ?’ भनेर सोधिन्थ्यो । साहित्य, कला र यीसँग नजिकका बिषयमा लेख्ने चाहीँ तल्लो दर्जाको पत्रकारमा पथ्र्यो । ऊ अक्सर ठूला ठाउँमा ‘आउट साइडर’ बन्न पुग्थ्यो ।

तर, बिडम्बना, सूत्रको हवालामा लेखिएका राजनीतिक समाचार जस्तो स्तरका भएपनि पहिलो पृष्ठमा नै छापिन्थे । राजनैतिक बिषयले पहिलो पेजमा समाचार लेख्ने र बाइलाइन पाउने भएका कारण त्यहाँ स्थान नपाउने पत्रकारलाई हेयका दृष्टिले हेरिन्थ्यो, दयाको पात्र बनाइन्थ्यो । अझ, ती पत्रकारमै पनि आफू पत्रकारभन्दा बढी ‘कवि’ मात्र हुनसकेको धारणासहित हीनताबोध थियो ।

अनि अर्कोतिर, साहित्यकार वा अखबारमा साहित्य लेख्नेहरूपनि आफूलाई मंगल ग्रहबाट आएको अलौकिक वस्तु सम्झन्थे । कथित मूलधारमा तुरुन्तै घुलमिल हुन सक्दैनथे । समग्रमा व्यक्तिगतदेखि भावनात्मक दूरी थियो । त्यसको प्रभाव पनि सबैजसो पत्रिका र त्यसमा पस्किइने बिषयमा परेका कारण पत्रकारबीच दुई तह थिए, यस अर्थमा ।

५० को दशकको शुरूमा कान्तिपुर दैनिकमा नारायण वाग्लेको ‘कफीगफ’ आउन थाल्यो । उनको लेखन बिषय र शैली सामान्य मान्न सकिए पनि ‘हार्डन्युज’ बाहेकका शैली र बिषय स्थापित गर्दै नयाँ पुस्तालाई मिडियामा आकर्षित गराउन उनले भूमिका खेले । साँच्चै नै उनको स्तम्भ स्थापित हुनुअघि साप्ताहिक पत्रिकामा साहित्यिक स्तम्भ लेख्ने र नरम फिचर लेख्नेहरू हाँस्यपात्र जस्ता नै थिए । उनीहरूलाई सम्पादक, सिनियर र साथीहरूले नै कवि सम्बोधन गर्ने गर्थे । यो ‘कवि’ शव्दमा बढीजसो व्यंग्य र थोरै दयाको भाव हुन्थ्यो । कविता लेखुन् वा नलेखुन्, निबन्धात्मक शैलीले फिचर लेख्ने, केही फरक स्तम्भ लेख्ने र साहित्यिक स्तम्भ लेख्ने सबै नै कविको रूपमा हेरिन्थे ।

त्यसबेला चल्तीका बिभिन्न विचारका साप्ताहिक पत्रिकामा शिव अधिकारी, किशोर नेपाल, भवानी घिमिरे, नारायण ढकाल, हरि अधिकारीजस्ता साहित्यकारहरू नै सम्पादक थिए । अर्कोतिर अखबार र पत्रकारिताबाट भने साहित्य हेपिएकै हुन्थ्यो । एउटा कुनामा दिइने साहित्यको सामग्री पनि हेपिएरै बसेको हुन्थ्यो । त्यसका सर्जक र पृष्ठ संयोजकहरू अझ बढी दयाका पात्र हुने नै भए । मूलधारमा काम गरे पनि तिनीहरू तेस्रो किनारामा धकेलिएका मान्छेजस्ता हुन्थे । पत्रिकाले पाना भरेर आठ पेज पुर्‍याउनका लागि मात्र उनीहरूलाई ठाउँ दिएकोजस्तो हुन्थ्यो । साहित्य मात्र हैन, साहित्यिक शैलीले लेखिएका समाजका बिभिन्न बिषयका फिचरलाई पनि त्यही नजरले हेरिन्थ्यो ।

करिब १८ बर्षअघि ताप्लेजुङका जोशिला पत्रकार कुमार ओझाले यस पंक्तिकारसँग अनौठो दुःख पोखेका थिए । उनी त्यस समयमा लगातार एक दशक ‘क’ वर्गमा परेको एउटा साप्ताहिक पत्रिकाका जिल्ला संवाददाता थिए । उनी राजनीतिक बिषयमा थोरै र अन्य बिषयमा धेरै लेख्थे । उनले लेखेका राजनीतिक बिषयका सामग्री पत्रिकाको लाइन अनुसार बढाइचढाइ वा क्रूर ढंगले सम्पादन भएर छापिन्थे । तर अन्य बिषयका सामग्री सितिमिति छापिँदैनथे । झापामा एक दिन भेट हुँदा उनले भने, ‘यार दाइ, कति मेहनत गरेर फिचर लेख्यो, सम्पादक बूढाले त एक कोलमको समाचार बनाएर पो छापिदिन्छन् ।’

एक पटक यस पंक्तिकारबारे साथी राजकुमार बानियाँले तरुण साप्ताहिकमा एउटा टिप्पणी लेखे । टिप्पणी २०५९ मा प्रकाशित मेरो पहिलो कविता सङ्ग्रह ‘फूलको लाशमाथि’ को सेरोफेरोमा थियो । त्यहाँ एउटा वाक्य थियो, ‘पदम गौतम कविको भीडमा पत्रकार र पत्रकारको भीडमा कवि जीवन बाँचिरहेछ ।’ त्यो वाक्य धेरै पछिसम्म केही साथीहरूले मलाई उँडाउन प्रयोग गरे । यसको संवेदना बुझ्ने केहीले भने आफ्नै अवस्था जनाउनका लागि उदाहरणका रूपमा प्रयोग गरिरहे । यसको अर्थ हो, यस वाक्यमा साहित्य लेख्दै पत्रकारिता गर्नेहरूको पीडा उजागर भएको थियो ।

पत्रकारितामा मात्र साहित्यले यस्तो अवस्था भोगेको होइन ।  साहित्यका किताबको बिक्रीवितरण र किताबमा पैसा खर्च गर्ने बिषयप्रतिको दृष्टिकोण पनि त्यस्तै थियो । केही बर्षयता लगातार ‘हटकेक’ उपन्यासका सर्जक नयनराज पाण्डेले ५० को दशकको शुरूमा उलार नामको सानो उपन्यास निकाले । साथीभाइको सानो प्रकाशन गृहबाट निस्किएको यो किताबबाट लेखकस्वको आशा त उनले गरेका थिएनन् । तर, हरेक गम्भीर पाठकबीच चर्चाको बिषय बन्दा पनि यसको बिक्री अनुपात लाजमर्दो अवस्थामा थियो । पछि साहित्य बजारमा बिक्न थालेपछि उनले यसको अर्को संस्करण निकाले । यो किताबले स्तर र चर्चाका हिसाबले निकै माथि भएका कारण दोस्रो संस्करणमा न्याय पायो । चर्चा नपाउँदै सेलाएका र खास पाठकबीच नै नपुगेका अनेकौं कृति त्यसै बिलाएरै हराए ।

अर्कोतिर, साहित्यकार भन्नेबित्तिकै लामो दाह्री कपाल पालेका, झोलाभरी कविता बोकेका र केही पागलपन सहितका अफ्टेरा मान्छे हुन् भन्ने आम धारणा थियो । अहिले पनि समाजमा यो धारणा पूर्णतः समाप्त चाहीँ भएको छैन । कतै कवि भेट भइहाले पठित वा विद्यार्थी जमातमा पनि उसलाई तुरुन्तै कविताको फर्माइस् गरिन्थ्यो, ब्यंग्यस्वरूप । यो धारणा बन्नुका पछाडि पूर्वज कविको ब्यवहार पनि उत्तिकै जिम्मेवार छ । उनीहरू पनि जहाँ पायो त्यहीँ कविता सुनाइहाल्ने प्रवृत्तिका हुन्थे । तर, हामीले नै कविता लेख्दाको प्रारम्भमा भोगेको केही बिडम्बना हुन् यी । र, यस दृष्टिकोणको  छाप त अखबार र सिंगो पत्रकारितामा पर्ने नै भयो ।

पत्रिका र सञ्चारमाध्यमको कुरा गर्ने हो भने सीमित दैनिक पत्रिका थिए । तिनै सीमित पत्रिकाका शनिबारका अङ्कमा साहित्यिक सामग्री पनि थोरै स्थान पाउँथे । बिस्तारै पत्रिका र अनलाइन न्युज पोर्टलका कारण साहित्यिक सामग्री पनि पस्किने अनौठो वातावरण बन्यो । केही पछि त यस्ता सामग्री पस्किनका लागि होडबाजी नै चल्यो । अहिले साहित्य, कला, संगीतजस्ता बिषयमा जेजस्ता सामग्री पढ्न पाइन्छ, त्यस्ता सामग्री पढ्न र सुन्नका लागि कुनै सीमित व्यक्तिका रचना पढ्ने वा सुन्ने गनुपथ्र्यो । अहिलेजस्तो इन्टरनेटको सुबिधा नभएका कारण रेडियोमा सुन्न छुटेका सामग्री फेरि सुनका लागि ठूलै कसरत गर्नुपथ्र्यो । बजारमा आएका स्तरीय र पढ्नयोग्य किताब कुन कुन हुन थाहा हुँदैनथ्यो । स्तरीय पुरस्कार पाएका कृतिको नाम पनि पुरस्कृत भएपछि मात्रै सुनिन्थ्यो । थोरै मात्र अग्रज थिए, जसले पढ्नैपर्ने नयाँ किताबबारे सही सुझाव दिन्थे । सामान्यतयाः लेखकले किताब बाँडेरै सक्थे । बढी त लिखित समीक्षा र मौखिक प्रशंसाको आशामा । एक हजारप्रति छापिएका किताब कुनै ठूला प्रदर्शनीमा परिहाले सय प्रतिको हाराहारीमा बिक्थे । बाँकी चाहीँ बाँडेरै सक्नुपर्ने बिडम्बना । अँ, साझा प्रकाशन र एकेडमीबाट निस्किएका किताब र लेखक भने भाग्यमानी सम्झिनुपर्ने अवस्थामा थिए । यिनको अवस्था थोरै भए पनि माथि हुन्थ्यो ।

अहिले यहाँनेर मलाई एउटा जिज्ञासा उत्पन्न हुन्छ– हामीलाई साहित्यिक शैलीमा लेख्दा उँडाएर ‘बताउनु भयो, भन्नुभयो, जोड दिनुभयो’ आशयका सामग्रीमा मात्र ध्यान दिन लगाउने प्रवृत्ति अहिले छ कि छैन खै ? हामीलाई फरक बिषय पनि मिडियाले पस्किनु पर्छ भन्ने प्रेरणा थोरै मात्र नै दिइएको भए एउटा पुस्ता नै सिर्जनशील सामग्री लेख्न सक्थ्यो कि ? अहिले फेरिएको मिडियाको ट्रेण्ड दुई दशकअघि नै फेरिन्थ्यो कि ?

   (कवि तथा पत्रकार गौतम हाल युरोपमा छन् ।)

  • रवि

    सहि विश्लेषण ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing