बन्ला र कम्युनिष्टहरुको अर्को क्रान्तिकारी रिम ?

  • प्रेम पाठक / बेल्जियम

स्वास्थ्यमा खासै समस्या नभएपनि म केहि दिनदेखि चिकित्शकको सल्लाहले बिरामी बिदामा थिएँ । चेग्वेभाराको सहादतको पचास बर्ष पुग्दै गरेको अघिल्लो दिन अक्टोबर ८ । सधै क्रान्ति र मुक्तिको कुरा गर्ने नेदरल्याण्ड्स निवासी कमरेड गुणा रत्नमको याद आयो । उनलाइ नभेटेकोपनि धेरै नै भएछ । लाग्यो, भेट्नुपर्छ । अझ भनौं, संगठनको सक्रिय जिम्मेवारी छाडेपछि उनीसँग भेट भएको थिएन । फोन सम्पर्क गरें । सम्बादमा उनको स्वास्थ्य अलि प्रतिकुल भएको आभास मिल्यो । कुनै दिन भेट्ने बाचाका साथ भलाकुसारी सक्यौं । फेरि सोचें, भेट्नुपर्छ । मिल्ने साथी सोम थनेतजीसहित भेट्न जाने प्रस्ताव गरें । आखिर सोम दाइ न हुन्, साथीभाई हार्न नसक्ने खालका । मेरो प्रस्ताव स्विकारे । भोलि पल्टनै जाने निधो भयो । अक्टोबर नौका दिन १३५ किमिको दुरी नापेर हामी दिउँसो उनको निवास पुग्यौं ।

युरोपमा कसैको घरमा पुग्नु अघि अनुमति लिएर जाँदा राम्रो र सहज मान्ने चलन छ । उनको घरमा पुग्नासाथ न्यानो आतिथ्यका साथ कमरेडली हात मिलायौं । हामी नेपालीहरुलाई यस्तै मन पर्छ भनेर होला, तातो कफी सहित पन्जाबी समोसा र श्रीलंकन पकौडासहित उनले आतिथ्य दिए । अरु दिन मर्निंग वाल्क जाने उनी त्यो दिन हामी आउँदै छौं भनेर रमाएछन् । बिहानका सबै काम छाडेर किनमेलमा हिँडेछन् । हामीलाई मनपर्ने खानेकुरा खोजि गर्दै । लामो समयपछिको भेट न थियो त्यो । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लियौं । पहिला उनलाई मधुमेह, कोलस्टेरोल, रक्तचाप थियो । फेरि अहिले मिर्गौलाको समस्या थपिएको रहेछ । यहि महिनाको अन्तमा बिस्तृत रिपोर्ट आएपछि स्वास्थ्यको वास्तविकता स्पष्ठ हुन्छ की भन्दै थिए उनी । खानामा शाकाहारिपन र नियमित कसरतले उनकै शब्दमा ” पहिलाको भ्यागुताको जस्तो भुँडी अहिले घटेर कम भएको” रहेछ ।

मैले चिनेदेखिनै उनी सार्वजनिक रुपमा देखिन नरुचाउने खालको उनको स्वभाव थियो । झन फोटो खिचेर सर्वजनिक गर्ने र आफ्ना कुरा पस्केर रमाउन उनी रुचाउँदैनथे । ब्यक्तिगत प्रचारबाट टाढै रहन रुचाउँछन् भन्ने थाह थियो । तरपनि उनको बारेमा केहि खोतल्न मन लाग्यो । कता कता चे को सहादतको दिन भएकोले होला, मलाई उनको जिबनबारे केहि बढिनै जान्न मन लाग्यो । मैले उनको जीवन बारेमा सोध्ने अनुमति मागें । अरु बेलाको भेटमा विश्व कम्युनिस्ट आन्दोलन, यसका पाटा र अन्य पक्षमा छलफल हुन्थ्यो । आज नितान्त बेग्लै बिषय रोज्यौं । उनि अलि संकोच मान्दै त थिए । तर विस्तारै खुल्दै गए । गफिन थाले ।

गुणा रत्नमका बाबु भारतीय मुलका । आमा मलेसियामै जन्मेपनि तमिल मुलकी । त्यो जोडीबाट पाँच भाइ, दुई बहिनी मध्येका माहिला छोरा उनी ।  १९४६ मा मलेसियाको कोलाल्म्बपुरमा जन्मेका रहेछन् । सन् १९६७ मा १२ कक्षा पास गरेपछि नजिकै स्कुलमा अध्यापनमा लागेका । दुई वर्ष अध्यापन गराई पेशाबाट बिदा लिए । त्यसपछि उनी बेरोजगार बने । त्यहि बिचमा भियतनाममा राष्ट्रिय स्वाधिनताको आन्दोलन चर्कियो । त्यसले उनको ध्यान खिच्यो । भियतनाम जस्तो सानो देशलाई अमेरिकी साम्राज्यवादले कम्युनिस्ट आन्दोलन दबाउने नाममा सेना पठायो । बम खसाउन थाल्यो । दमनमा उत्रियो । यो कुकर्म देखेर उनलाई असह्य भयो । तत्कालिन पिपुल्स पार्टी, मलायले चलाएको अमेरिकी साम्राज्यवाद बिरोधि आन्दोलनमा सरिक भए उनी । पर्चा र पोस्टर टाँस्दै गरेका बेला सन् १९७० मा उनलाई पक्राउ गरियो । राजनैतिक अभियोगमा गिरफ्तार परेका उनलाई जेल हालियो । जेलमा थोरै मलय मूलका र धेरै चिनियाँमूलका कैदी थिए । जेलमा अनिवार्य रुपमा केहि श्रम गर्नुपर्थ्यो । त्यो काम गरेबापत केहि रकम दिन्थ्यो  प्रशासनले । त्यो रकमले केहि मार्क्शवादी किताब किन्दा रहेछन् उनी । माओ सम्बन्धि किताब लुकाएर झिकाउँदा रहेछन् । जेल बस्दा झन साम्राज्यवादी बिरोधि भए उनी । १२ बर्षको त्यो हक्की जिवन उनको जेलमै बित्यो । जेलबाट निस्कँदा उनी माओवादलाइ माया गर्ने भएर निस्किए । “यसमा चिनीयाँमुलका कैदीको पनि हात छ” उनले सुनाए । मलेशियामा जन्मेका उनी त्यसपछि न महिल्यै मलेशिया पुगे । न अब जानेनै योजना छ ।

जेल जीवनले उनको लेखन र बैचारिक ज्ञान झन तिखो बनायो । जेलबाट छुटेपछि “नाडी इन्सान” भन्ने प्रकाशनमा तिन बर्ष काम गरे । सन् ‘८५-‘८७ सम्म बैधानिक मजदुर संगठनमा काम गर्नपनि भ्याए । ट्रेड युनियनबाट उति आशा गर्नुपर्ने कारण उनी देख्दैनन् । भने ‘ट्रेड युनियनसंग क्रान्तिको आश नगर्दा हुन्छ ।’

नेदरल्याण्ड्समा गुणा रत्नम आइपुग्नुको प्रसंगपनि रोचक छ । यहि सामाजिक क्षेत्रमा काम गर्दै गर्दा उनको साथिमध्ये कसैको सामिप्यमा रहेका एक नेदरल्याण्ड निवासी जोडीसित निकटता भयो । त्यहि जोडीको सिफारिसमा अक्टोबर १९८७ मा नेदरल्याण्डको देनहाग आईपुगे । जब उनी यता आए उता नाडी इन्सानका प्रमुखलाइ मलय सरकारले गिरफ्तार गर्यो । ब्यापक धरपकड शुरुभयो त्यहाँ । केहि समय उनि यतै बस्ने निधो गरि इन्स्टिच्युट अफ सोसिअल स्टडिजमा भर्ना भए । पढ्ने ईच्क्षा अझै जाग्यो उनमा । सन् १९८९ मा सनातकोत्तर तहमा भर्ना भै १९९० मा पुरा गरे । जब यिनी यता आफ्नो अध्ययन अगाडी बढाउदै थिए उता सन् १९९० कोनोभेम्बरमा इराकी सेना कुबेत प्रवेश गरेको थियो । साम्राज्यवादीले इराकमा युद्ध प्रस्ताव गरे । यहि अवसरमा उनी साथी भेट्न बेलायत पुगे । त्यहि समयमा रिमको सम्पर्क व्यक्तिसंग युकेमा उनको भेट भयो ।

सन् १९९१ मा इराक युद्ध शुरु भयो । बेलायत स्थित विभिन्न संस्थाको आयोजनामा साम्राज्यवादी आन्दोलन चल्यो । नेदरल्याण्ड्स फर्कनुपर्ने उनी उतै लाखौं जनताको आन्दोलनमा सामेल हुन थाले । सन् १९९१ मा पी एच डिको लागि नेदरल्याण्ड्स फर्के । तर यो समय फरक थियो । बिश्व कम्युनिस्ट आन्दोलनका नेता गोञ्जालो १९९२ मा जेल परेका थिए । सोलीडारिटी कम्युनिटी विथ द पिपुल्स अफ पेरुको नामबाट १९९२ देखि १९९४ सम्म गोञ्जालो रिहाइको लागि भएको अभियानमा लागे । यसमा प्रमुख रोलकर्ता यिनी पनि थिए । १९९३ मा गोञ्जालोको जीवन रक्षार्थ  international  Emergency committee to defend the life of Avimiel  Guzaman (आइ इ सी) द्वारा जर्मनीको दुइस्बर्गमा आयोजित सम्मेलनमा सक्रिय भाग लिए । उनि सम्झन्छन् ‘ त्यहाँ जनमोर्चाको नामबाट तत्कालिन नेपाली माओवादी नेता हिसिला यमी र बाबुराम भट्टराई सहभागी थिए । नेकपा मसालबाट एक युवा थिए जसको नाम सम्झन खोज्दापनि उनले सकेनन् । त्यो अभियानमा आरसीपी देखि तमाम माओवादी पार्टी सहभागी थिए । सन् १९९४ मा युके गएको बेला रिम सम्बन्धि आरसीपीको कामरेड संग भेटे । गोन्जालो रिहाइको अभियानलाई निरन्तरता दिने योजना बनाए उनले ।

गुणा रत्नमले यसै समयमा जोडे ‘युकेबाट फर्केपछि उनको मलय पासपोर्ट हरायो । नयाँकोलागि अपिल गरे । तर उनी भारतीय मुलको हुनाले मलय दुतावासले दिन मानेन । त्यसपछि नेदरल्याण्ड्समा शरणार्थी माग गरे । यता बसाइकोलागि बैधानिक बन्ने क्रम थाले । उता क्रान्तिकारी आन्दोलनमा सक्रियपनि भैरहे । सन् २००२ मा उनलाई आर सिपि बाट रिमको कर्मचारीको रुपमा काम गर्न प्रस्ताव आयो । त्यसलाई स्वीकार गरे ।

यहि मेसोमा तत्कालिन नेकपा माओवादीका नेता कन्चनसंग आफ्नै निवासमा पहिलो भेट गरेको तथ्यपनि उनले खोले । विश्व कम्निस्ट आन्दोलनको आकर्षणको रुपमा रहेको नेकपा मावोवादी आन्दोलनप्रति उनलाई आकर्षण नहुने कुरै भएन । उनी २००६ मा नेपालपनि पुगे । रोल्पा देखि इलामसम्मका पिएल ए र वाइसिएलको क्याम्प पुगे । बास बसे । तिनका कुरा सुने । आफ्ना अनुभव सुनाए । नेता भेटे । तालिम हेरे । धेरै आशावादी बनेर फर्केका उनी सन् २०१० मा नेपाल जाँदा पहिलाको आशा जे थियो त्यो पाएनन् । त्यतिबेला देखिनै उनलाई प्रचण्डको नेतृत्वप्रति शंका जागेको थियो । पहिला जाँदा लाल सलाम भन्ने कामरेडहरुले दोस्रो पटक जाँदा नमस्ते भनेकोमा नमिठो लागेको तितो अनुभवपनि उनले स्मरण गरे ।

हिजो त्यस्तो मजबुत नेपालको माओवादी आज कमजोर भएको भन्दै टुटफुट पछिका नयाँ पार्टीहरुका राजनैतिक दस्ताबेज पढ्न नपाएको कुरा सुनाए । लामो समयसम्म सँगै जस्तो रहेका कन्चनसंग अहिले सम्पर्क नभएकोमा खिन्न देखिए । क्रान्तिकारी धार क नेतृत्व गर्ने नेकपा (विप्लव नेतृत्व) को वर्तमान राजनैतिक कार्यदिशाको बारेमा आफूले कुनै जानकारी पाउन नसकेकोमा गुणा रत्नमले दुख माने ।

विश्वका कम्युनिष्टहरुलाई एकै थलोमा ल्याउने रिम । त्यहि रिमको बेलायतस्थित कार्यालयमा काम गरेको अनुभव छ उनको । विश्वका धेरै नेतालाई उनले तौलने, छाम्ने र अध्ययन गर्ने मौका पाएका छन् । रिमको क्रान्तिकारि धार वा रिम तिखारिएर अर्को रिम बन्ने संभावना कत्तिको देख्लान् यिनले । जिज्ञासा लाग्यो । उनी तत्कालकालागि रिम बन्नेमा उति आशावादी देखिएनन् । भने ‘रिम बनाउनलाई थोरै बहस र छलफल होला । प्रस्ताव र चाहनाहरु बाहिर देखापनि पर्लान् । तर त्यस्तो क्रान्तिकारी रिम बन्ने संभावना म तत्काल चाहिँ देख्दिन । सानो पहल देखिएपनि रिम बन्ने दह्रो पहल भने भएको देखिन्न । ‘

रोगि कामरेड । त्यो माथिपनि लामो समयको छलफलले अलि थाकेको महसुस भयो उनलाई । थकान दुर गर्न केहि समय बाहिर जाँदा फ्रेश हुने थनेत जीको प्रस्ताव अनुसार बाहिरको पुजिवादी भौतिक संरचना घुम्ने योजना बन्यो । हामी  निस्कियौं । यो मेसोमा मैले सामुहिक तस्बिर लिने प्रस्तावब गरे।  तर गुणा रत्नम मानेनन् ।  एक दुइ वटा सिंगल फोटो लिएर हामी पुन उनको घर फर्कियौं ।

यति बेलासम्ममा समय घर्की सकेको थियो । सिम सिम पानी पर्दै थियो । सुर्यास्तले बेल्जियम फर्कन ढिला भएको संकेत गर्दैपनि थियो । तर मनले फेरी पनि मानेन । अझ धेरै जिज्ञाशा थिए जिवित थिए । धेरै थाँती राखियो । उनले  बिस्व कम्युनिस्ट आन्दोलनमा बिद्रोह भन्दा जनयुद्दकै भूमिका अहम रहेको भन्ने आफ्नो अनुभव सुनाए । चेग्वेभारा र फिडेल क्यास्ट्रोको पनि संक्षिप्त तुलना भयो । कुन महान ? फेरीपनि नेपालको माओवादी आन्दोलनबारे तपाइको एक लाइनको समिक्षा के ? हामीले सोध्यौं। उनले भने –The Prachand –Baburam cligue’s Betrayal of the Revolutionin Nepal is the Worst blow against the Nepalese People and the Nation. It Is also the worst blow against the International Communist movement in the 21st century so far .

विश्व कम्युनिस्ट आन्दोलनको बारेमा गुणा रत्नम भन्छन ‘पूँजीवाद हजारौं बर्ष पुरानो हो भने कम्निज्म भनेको दुइ शताब्दिनी पुगेको छैन । त्यसैले समय लाग्छ । यसको भबिस्य छ ।’ अझ छोटकरीमा सुनाउने आग्रह गरियो । उनले थपे ‘ The hope for the ICM is that there will be more and more people participating in people’s war in more and more countries.

सानैदेखि घर परिवारभन्दा क्रान्ति र मुक्तिको बाटो समातेका उनी एक्लै किन भए ? जिज्ञासा लाग्नु स्वभाविकै थियो । ‘युवा अवस्थामा जेल परियो । समाज परिवर्तनको लागि हिँडियो । जिवन परदेशमा बित्यो । अहिले उमेर गयो । त्यसैले बिवाह गरिएन’ एक्लो जिवन बिताउनुको रहस्य खोले ।

‘बिस्व कम्युनिस्ट आन्दोलनका ज्ञाता उनी बाहिर देखिन, प्रचारमा आउन खासै मन पराउँदैनन् । केहिबेरको अनुरोधपछि आफ्नो कोठामा रहेको कम्युनिस्ट आन्दोलनको प्रतिक मुनि बसेर फोटो खिच्न र भला कुसारीका केहि कुरा प्रकासन गर्न अनुमति दिए । उनको स्वाथ्य लाभको कामना सहित हाम्रो बसाईलाइ बिट मार्दै बिदा भयौं ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing