बाम एकताका सैद्धान्तिक आधारहरु

-सिद्धिचरण भटराई

वामपन्थ केहो भन्ने कुरा बुझेर मात्र वाम एकताको कुरोको चुरोमा पुग्न सकिन्छ । वामपन्थ भनेको यथास्थितीका बिरुद्ध परिवर्तनको आवाज उठाउने बाटो हो । संसारमा संसदीय राजनीति संग यसको साईनो जोडिएको देखिन्छ । वेलायती संसदमा गणतन्त्र पक्षधर र सामन्तवाद बिरोध संसद सदस्यहरुको वायाँसाइडमा रहेको बसाईले वामपन्थ शब्दको प्रयोग हुन थालेको हो । यो कम्युनिष्ट आन्दोलन भन्दा अघिकै अभ्यास हो । यसरी हेर्दा सबै वामपन्थी कम्युनिष्ट हैनन तर सबै कम्युनिष्ट वामपन्थीहरु हुन् भन्ने निष्कर्ष निस्कन्छ । नेपालमा पनि यो लागु हुन्छ ।

को वामपन्थी र को दक्षिणपन्थीको सन्दर्भमा राजनीतिक, सामाजिक, आर्थिक र साष्कृतिक अग्रगमनका पक्षपातिहरु वामपन्थी र यथास्थितीका पक्षपातीहरु दक्षिणपन्थी हुन । नेपालको राजनीतिमा यीनै पक्षहरुको ध्रुवीकरण र एकता चर्चाको सन्दर्भ हो । यीनिहरु विचको एकताको चर्चा र पक्रीया तात्कालिक क्षणिक हो कि सैद्धान्तिक र वैचारिक हो ? यो वारेमा पनि प्रचण्ड, केपी ओली र वावुरामको दशै चमत्कार पछि बृहतर बहस शुरु भएको छ ।

तत्कालिन सवालमा कार्यगत एकता र दीर्घकालका लागि पार्टी एकता वताइएको यो समिकरणको विभिन्न गुह्य कथाहरु रचिन थालेका छन । यी समिकरणले राष्ट्रिय, अन्तराष्ट्रिय जगत र शक्ति केन्द्रमा एक खालको भुईँचालो गएको छ । यसको आयतन र प्रभाव क्षणिक भन्दा पनि दुरगामी  छ ।

 विभाजन र एकताका इतिहाँस

०१९ सालको दरभंगा प्लेनम पछि कम्युनिष्ट आन्दोलन विभाजित बन्यो । ०१७ सालको राजाको हातमा सत्ता गएपछिका घटनाक्रमलाई हेर्ने बिषयमा रहेका मतभेदहरु समाजवादी चिन र रुसलाई हेर्ने दृष्टिकोणमा रहेको मतभेदले पार्टी विभाजित बन्यो । पुष्पलालले निर्माण गरेको पार्टी विभिन्न चिरामा विभाजित भयो, जडसुत्रवाद, उग्रवामपन्थी र क्रान्तिकारी अधैर्यताका कारण संस्थापक नेतालाई गद्धार भन्न पछि परेन । ०२८ साल पछि झापा विद्रोह पछि विभिन्न क्रान्तिकारी समुहहरु संगठीत हुँदै पुर्नगठीत हुन थाले ।

पुष्पलालको नयाँ जनवाद र तुलसी लालको राष्ट्रिय प्रजातन्त्र, कुन बाटो र मुल बाटो जस्ता बहसहरुले वामपन्थी जगत तरंगीत रहँदै आएको हो । तत्कालिन नेकपा माले र मसाल विचको सैद्धान्तिक धारलाई हेर्दा कुनै वेला मसालहरु मालेलाई उग्रवामपन्थी भन्थे भने त्यहीधार लाई मालेले चौथो महाधिवेशन पछि जडसुत्रवादी र ०५२ सालमा जनयुद्ध शुरु गरेपछि उग्रवामपन्थी भनेको इतिहाँस हामि संग छ । ०४२ सालमा एमालेले ०२८ सालको क्रान्तिकारी हिँसा र युद्धको धारलाई सच्चायो, ०४९ सालमा त्यसलाई जनताको बहुदलीय जनवादमा संस्थागत गर्‍यो । त्यस अघि ०३९ सालदेखि पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको बहस र ९० को दशकमा सोभियत समाजवादले खाएको धक्काले एमालेलाई जबजको निष्कर्ष सम्म ल्याउन दबाव दियो । एमालेलाई दक्षिणपन्थी संसोधनवादी भन्दै दीर्घकालिन जनयुद्ध हुँदै नयाँजनवादी शासन व्यवस्था स्थापना गर्न गरिएको जनयुद्ध शुरु गरेको दश  वर्ष नपुग्दै चुनवांग वैठक पछि क्रान्ति पश्चातको राज्य व्यवस्थाको खाका प्रस्तुत गर्‍यो । एकाइसौ शताव्दीको जनवाद को नाम दिइएको यो कार्यक्रम करिब करिव जबजकै वरीपरी आइपुग्यो ।

राज्यव्यवस्थाको क्रमभंगताका लागि माओवादीले अघि सारेको संविधान सभाको नारा माओवादीलाई बहुदलीय जनवादको अन्तरवस्तु संग जोडने सबैभन्दा महत्वपुर्ण कडि थियो । एमालेले शुरुमा यसलाई स्वीकार्न नसकेपनि माओवादी फौजी युद्धले निम्ताएको अशान्त नेपाललाई शान्तीको ढोका उघार्ने सुत्रको रुपमा पनि हेरियो । संविधान सभाको नारा बोक्नु एमाले भित्रका जबजको क्रान्तिकारी कार्यदिशामा बिश्वास गर्नेहरुले यसलाई अवसरको दृष्टिकोण पनि हेरे । ०५९ तिर एमालेमा गणतन्त्र तात्कालिक नारा बन्छ, संविधान सभा यसको बाटो हुन्छ भन्नेमा बिश्वास गर्ने निकै कम नेता थिए । बरु सम्वैधानिक राजतन्त्रकै वरीपरि प्रतिगमन आधा सच्चिएकोमा बहस छेडन तत्पर नेतृत्व भएको हेक्का आजका एमाले पक्तीले पनि बिर्षन सायद हुँदैन । यही विर्मशले एमालेलाई ००७ साल देखि बाँकी रहेको नेपाली जनसंघर्षको कार्यभार सम्म ल्यायो । त्यही विमर्शले कांग्रेसलाई विपीले बाँकी राखेको कार्यभार र लोकतन्त्रका मुल्यहरुले संविधान सभाको बिन्दुमा उभ्यायो । यो बुझाईले १२ बुँदे समझदारी र ०६२,०६३को जनक्रान्ति सम्पन्न भयो ।

पुँजीवादी जनवादी क्रान्ति र समाजवाद

माक्र्सको परिभाषामा समाजवादमा मानिसलाई योग्यता अनुसार काम दिइन्छ, काम अनुसार दाम दिइन्छ । यसैगरी यसैको विकसित रुप साम्यवादमा मानिसलाई योग्यता अनुसार काम दिइन्छ र आवश्यकता अनुसार दाम दिइन्छ ।

समाजवादमा मानिसलाई काम र दाम दिने कुराको ग्यारेण्टी हुनुपर्छ । यसका लागि सामन्तवादी समाज भएका मुलुकहरुले सिधै समाजवादमा पुग्न सक्दैनन । किनकी यसका लागि उत्पादन सम्वन्ध नै यसको बाधक बन्दछ । समाजवादमा  उनिहरुले पुँजीवादी जनवादी क्रान्तिको बाटो भएर जानुपर्छ भन्ने माक्र्सवादी दृष्टिकोण हो । हो, हामी सामन्तवादी समाजमा रहँदा हाम्रो कम्युनिष्ट पार्टी जन्मियो । उसले नयाँ जनवादी क्रान्तिको कार्यक्रमको रुपमा पुँजीवादी जनवादी क्रान्तिको बाटो अंगिकार गर्दै समाजवादको बाटो लिने कार्यदिशा लियो । कम्युनिष्टक आन्दोलनमा ६ दशकमा नेपालमा धेरै राजनीतिक उतारचढाव रहे । हाम्रो सैद्धान्तिक बहस समाजमा चलेको अर्थव्यवस्थाका आयामहरुमा भन्दा प्रचलित कम्युनिष्ट जार्गनका वरीपरि केन्द्रीत भए । वौद्धिक उत्पादनका दृष्टिले समेत यसले आलोचनात्मक अध्ययनको प्रक्रियाबाट भन्दा बढि पुर्वाग्रहका कोणहरुबाट यसको बढि ब्याख्या भयो ।

प्छिल्लो पटक पटक समाजशास्त्रीय र मानवशास्त्रीय तथा अर्थशास्त्रीय कोणबाट यसको अध्ययन हुन थाल्यो । यसले नेपाली समाज पुँजीवादी व्यवस्थामा गईसकेको निष्कर्ष निकाल्दै ०६२ को जनक्रान्ति मुलत पुँजीवादी जनवादी क्रान्ति हो भन्ने निष्कर्ष निकालिन थाले । हो, अहिले नेपालका मुख्य वामधारारहरु मध्ये माओवादी केन्द्रको हेटौडा महाधिवेशन र एमालेको नवौ महाधिवेशनले पुँजीवादी जनवादी क्रान्तिका सम्पन्न भईसकेकोले अव राष्ट्रिय पुँजीको विकास गर्दै मुलुकलाई समाजवादको दिशामा अघि बढाउने कार्यदिशा पारित गरे । यही बिश्वासका कारण संविधानलाई समाजवाद उन्मुख भनेर समेत भनियो । माओवादी र एमालेलाई एकताको बिन्दुमा ल्याउने एकमात्र सुत्र यही हो । भविश्यको बाटोले तय गर्ने हो एकता । विगतबाट थिचिएर र विगतका आफनै व्यवहारले जन्माएका आग्रहबाट लखेटिएर हामी कहिँ पुग्न सक्दैनौ । हामीलाई डोर्याउने सुदुर भविश्यको गन्तव्यले हो ।

वाम आन्दोलनमा अर्को एउटा धार पनि छ जसले ०६३ को जनक्रान्ति भएका शान्ति प्रक्रिया र संविधान निर्माणलाई क्रान्तिमा भएको बिश्वासघात र राष्ट्रघातका रुपमा व्याख्या गर्छ । एमाओवादीको विभाजित धारहरु मध्ये बैद्य र विप्लव समुह यसै कित्तामा पर्छन । यसै गरी अर्को जडसुत्रवादी धार पनि छ उसले अझैपनि नेपाली समाज अर्ध सामन्ती र अर्धऔपनिवेशिक छ यसर्थ नयाँ जनवादी क्रान्ति नै तत्कालिन कार्यक्रम हो भन्ने विश्वास गर्छ । यी समुहहरु विच तत्कालिन मुद्धामा कार्यगत एकता भएर जान सकिएपनि दीर्घकालिन रुपमा एकताबद्ध हुन धेरै सैद्धान्तिक दुरीहरु छन ।

सैद्धान्तिक अस्पष्टताहरु 

एमाले माओवादी चुनावी तालमेल, गठबन्धन र वाम सरकार निर्माण गरेर अगाडि बढ्न सक्ने उपरोक्त आधार हामीसंग मौजुद छ । तर पार्टी एकताका लागि अझै सैद्धान्तिक स्पष्टता जरुरी हुन्छ, अन्यथा यसले भविश्यमा संयुक्त बन्ने पार्टी अरु विभाजनको दिशामा लैजाने खतरा रहन्छ । क्रान्तिमा हिँसात्मक बल प्रयोग अनिवार्य कि परिस्थीतिजन्य बाध्यता? नेपालमा विगत १० बर्षे जनयुद्ध मार्फत माओवादीले गरेको योगदानलाई कसरी लिने ? अधिनायकत्वको प्रश्न के हो ? सर्वहारा वर्गिय अधिनायकत्वका प्रश्नमा साझा धारणा के हो ? एकल जातिय पहिचान र क्षेत्रिय स्वसासन र जातिय आत्मनिर्णयको व्याख्या एवं बुझाई के हो ? वर्गिय आन्दोलन र जातिय मुक्तिको प्रश्नलाई कसरी लिने ? यी बुझाईमा एकरुपता आयो भने पार्टी एकता असम्भव छैन ।

मलाई लाग्छ एकाइशौ शताब्दीको जनवादको रुपमा माओवादीको चुनवांग वैठकबाट पारित कार्यदिशाले एमालेको जनताको बहुदलिय जनवाद मुलभुत धारणाको पक्षपोषण गर्छ । ०६३को जनक्रान्तिलाई एकाइशौ शताब्दीको जनवादको दिशातर्फको पहिलो यात्रा मान्ने हो र पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षले जनवादका मुलभुत आयाममा देश प्रवेश गरिसकेको स्वीकार्ने हो भने एमाले माके न्युनतम कार्यक्रममा समेत एकताका सैद्धान्तिक आधार भेटिन्छन ।(हेर्नुहोस जबज र प्रचण्डपथः सिद्धिचरण भटराई ०६४ एशिया पब्लीकेशसन) ।

वाम एकताको बस्तुगत आधार

२० बर्ष पछि नेपालमा संविधान अनुरुप भर्खर चुनाव भयो । यो चुनावको आकँडा हेर्दा कुल सदर मतको ५१ प्रतिशत मत वामपन्थीको पक्षमा देखिन्छ । स्थानिय तहका जनप्रतिनिधी हेर्दा ५३.७६ प्रतिशत एक्लै वामपन्थीले जितेका छन । कुल ७५३ मध्ये वाम गठबन्धनको स्थानिय प्रमुख मात्रै ४०१ छन । यसमा जनमोर्चा, नेमकिपाको जोडदा अझ बढि हुन आउँछ । जनताको स्तरमा काम गर्ने वडा अध्यक्षमा एमाले एक्लै २५९० र माओवादी ११०३ गरी जम्मा कुल ३६९० वडाअध्यक्षमा वामगठबन्धनका जनप्रतिनिधी हुन्छन । यी जनशक्तिलाई हेर्दा स्थानिय सत्ता वामपन्थीको हातमा छ र अव उपरी सत्तालाई आफनो पक्षमा पार्दा देशमा आमुल परिवर्तन गर्दै आफना समाजवादतर्फ शान्तिपुर्ण रुपमा अगाडि बढने बस्तुगत र आत्मगत दुवै आधार तयार भएको छ ।

संविधानका मौलिक हक प्राप्तिका चुनौति : समाजवादी मुल्यमा आधारित भएर हामीले संविधानमा धेरै मौलिकहकहरु लिपिवद्ध गर्यौं । यी अधिकारहरुलाई जनताको जीवनमा उतार्न सकेनौं भने कानुनी र सम्वैधानिक हक प्राप्तिकै आन्दोलनमार्फत अन्तरविरोध र वर्ग संघर्षलाई मुखरित गर्ने वातावरण बनेको छ ।

स्थीर सरकार र वाम एकताको प्रमुख एजेण्डा

तथ्यांक हेर्दा नेपालमा वामपन्थीहरु मिल्ने हो भने दुईतिहाई बहुमत आउने देखिन्छ। ०७ साल देखि हालसम्म देशी र विदेशी दुवै प्रभावबाट मुक्त नहुँदा स्थीर सरकार बनेनन । देश अस्थिरताको जञ्जीरमा फस्दै आयो । लोकतन्त्रहरु बढि फलिफाफ नहुनुका पछाडि हाम्रो शासकिय स्वरुपमा रहेको संसदीय गणीतले सरकार प्रभावित गर्ने परिपाटी हुनु हो भन्ने स्पष्ट भएकोले अवको मुल एजेण्डा भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बन्ने शासकिय स्वरुप बनाएर देशलाई स्थीरता तिर लैजाने  हुनुपर्छ । बिधायिकालाई बढि भन्दा बढि स्वतन्त्र निति निर्माणको थलोमा विकसीत गर्नुपर्छ । यी एजेण्डामा एमाले र माओवादीका विचमा हिँजो पनि सैद्धान्तिक मेल भएकोले यो एजेण्डा लिएर चुनावमा जानु पर्छ ।

वाम एकताका चुनौतिहरु

नेपालका पार्टीहरु संस्थागत बन्न नसक्दा र दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दा दलभित्र स्वार्थ समुहहरु जन्मीने र मौलाउने मौका पाएका छन । पार्टी भित्रको गुटगत प्रतिष्प्रर्धा अस्वस्थ भएकाले दलहरु पनि अस्वस्थ छन । यही विमारी लिएर बन्ने वाम एकता वा पार्टी एकताले त्यो एकतालाई पनि विरामी नै पार्नेछ । यसर्थ गुटगत आंकाक्षाहरुको व्यवस्थापन यो एकताको प्रथम चुनौति हो । दोश्रो : वस्तुगत मुल्यांकन नगर्ने र मतपरिणाम पछि एकअर्कामा अन्तरघातको विल्ला भिराउने खालको निर्वाचन पछि आउने असन्तुष्टिको व्यवस्थापन । किन भने सबै ठाउँमा उत्तिकै अपेक्षित परिणाम आउँने छैन । तेश्रो :  जनधरातल बिनाको एकता वा सिटबाँडफाँड वा हिस्सेदारी माग । चौथौ : चुनाव चिन्हको प्रयोग, मतदाताहरु गठबन्धनकारीले प्रशिक्षित नगर्दा वा हतारोले गर्दा अलग अलग चिन्हमा मत माग्दा अन्यौलमा पर्नेछन । एउटै चुनाव चिन्हलिँदा कानुनी र पार्टी ह्वीपका प्रश्नहरु आउन सक्नेछन ।  यी पक्षहरुले चाहना हुँदा हुँदै पनि एकतालाई चुनौति दिइरहेका छन ।

सुझाव अथवा निष्कर्ष

विद्यमान चुनौतिको वैज्ञानिक व्यवस्थापन जरुरी छ । स्थीर सरकार बनाएर देशलाई राष्ट्रिय पुँजीको विकास गर्ने योजनावद्ध खाका पेश गर्नु आवश्यक छ । यसको विकास तब हुन्छ तब वाम सरकारले दलाल पुँजीवाद संग लड्ने योजना उम्मेदवार छनौट देखिनै शुरु गर्नेछ । सरसर्दी हेर्दा नेतृत्वले पार्टीमा डनवाद र धनवादलाई टिकट वितरण देखिनै भित्राउन खोजेको देखिन्छ । जनता यस्तो महसुसु गर्दै छन कि चुनावमा वाम पार्टी श्रमजिवी वर्गको प्रतिनिधी बनेर चुनाव लडिरहेको छैन दलाल पुँजीपती वर्ग नै उसकै शैली र व्यवहार वोकेर चुनावमा आएको छ । राजनीतिक सोँच, सांगठनिक अनुभव, योग्यता र क्षमता भएका इमान्दार कार्यकर्ता पाखा लाग्ने र पैसा बोकेर चुनावका वेला देखिनेहरुबाट कार्यकर्ता समेत खरिदने परिपार्टी र सष्कृति विकास गरिँदैछ । यसको अन्तय गरेर श्रमजिवी जनताले यही देशमा योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउने ग्यारेण्टी गर्न भुमि, कृषि, शिक्षा र प्रविधि पुर्वाधार विकासको स्पष्ट नीति लिएर जनतामा आउनुपर्छ । अन्यथा यो तालमेल काले काले मिलेर खाउँ भालेको ताल हुन सक्छ । वाम एकताको बोधगम्यता र गाम्भिर्यता नेतृत्वमा बनिरहोस, जनता जागेकै छन, जाग्दै जानेछन ।

(मदन भण्डारी अध्ययन केन्द्र रुपन्देहीद्धारा बुटवल पुष्पलाल स्मृती भवनमा वाम एकता ः सैद्धान्तिक छलफल कार्यक्रममा २०७४ असौज २६ गते प्रस्तुत अवधारणापत्र)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing