संघियता लागू गर्न बजेटनै छैन, दाताले नदिए के गर्ने ?

संघिय गणतन्त्र नेपाल घोषणा गरेको निकै भयो । संघियता लागू गर्ने भनेर संघिय संविधान बनिसकेको छ । प्रादेशिक खाका बनाइएको छ । तर प्रदेशहरु चलाउने बजेटनै राज्यसित छैन । संघियता लागू भएपछि प्रादेशिक राज्यहरु चलाउन बजेट नभएर अहिले सरकारले बिदेशीहरुसित हारगुहार मागिरहेको छ । दाताहरुले त्यो रकम नदिए के गर्ने ? दिएपनि कहिलेसम्म दिएर हाम्रो प्रान्तिय संरचना धानिने ? तिनले दान वा सहयोग नदिएको दिन के गर्ने ? आफ्नो मुलुकले धान्नै नसक्ने संघियताको भविष्य कस्तो होला ? 

अन्नपुर्ण पोष्ट दैनिकको एक रिपोर्ट अनुसार प्रदेश संरचना व्यवस्थापनका लागि मात्रै करिब आठ खर्ब ५० अर्ब रुपैयाँ थप चाहिने देखिन्छ । प्रदेश सभा, मन्त्रि, मुख्य मन्त्रि, सुरक्षा लगायतका सबै संरचना चाहियो । सुरक्षा निकाय र त्यहाँ काम गर्ने कर्मचारीकोलागि कार्यालय त चाहियो नै । आवाशपनि नभैहुन्न । प्रदेशको संसद भवनमा पुग्ने सवारी साधन र सडक कसरि बनाउने ? सात प्रदेशकालागि यि सबै पूर्वाधार निर्माण गर्न त्यति रकम कहाँबाट ल्याउने । त्यो रकम कसले दिने ? कुन शर्तमा ल्याउने ? यत्रो रकम कसरि तिर्ने ? अहिले अर्थ मन्त्रालयलाई यो रकम जुटाउने कसरि ? टाउको दुखेको छ ।

प्रारम्भिक अनुमानअनुसारनै सात प्रदेशका राजधानी र स्थानीय तहमा पूर्वाधार निर्माण गर्ने र सवारीसाधन खरिदमै दुई खर्ब ५० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको अन्नपुर्ण दैनिकको रिपोर्टमा उल्लेखे छ ।

पार्टीहरुले प्रदेशको मुख्य मन्त्रि कसलाई बनाउने भनेर रडाको मच्चाईरहेका छन् । सभामुख, उपसभामुख को बन्ने भनेर पार्टीभित्र किचलो छ । तर ति मुख्य मन्त्रिका लागि चाहिने के के हो ? कसरि प्रदेशका सबै संरचना बनाउने ? त्यतातिर ध्यान छैन । सात प्रदेशको खर्च कसरि धान्ने ? कुन श्रोतबाट रकम जुटाउने र त्यसलाई कसरि दिर्घकालिन रुपमा टिकाउने ? त्यतातिरपनि कसैको ध्यान छैन । पार्टी, नेता र सरकारको पारा हेर्दा लाग्छ, यो संघियता टिकाउनेतिर कसैलाई मतलवनै छैन ।

प्रदेश सभाको चुनाव हुन लामो समय बाँकिपनि छैन, तयारिकालागि । तर अहिलेसम्म ति सात प्रदेशको राजधानीकै कहाँ बनाउने हो ? त्यसमै दलहरुका बिचमा मतभेद छ । दलका नेता र कार्यकर्ताबिचनै आफ्नो स्वार्थ अनुसारका क्षेत्रलाई राजधानी बनाउन रस्साकस्सी छ । प्रदेशसभाको चुनाव सकिएपछि सभाको बैठक बसेर प्रदेश सरकार गठन गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रदेशसभा भवन, सभामुखको आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, मन्त्रालय, मन्त्री आवास चाहिन्छ । त्यसकोलागि कहाँ छन् उपयुक्त भवन ? कसरि राख्ने ? कार्यालय कसरि निर्माण गर्ने ? केहि तयारि छैन । प्रदेश सभा अन्तर्गत पाँच हजारजति वडा कार्यालय कहाँ बनाउने ? लाग्ने अनुमानित खर्च माग्न अर्थ मन्त्रालयले बिदेशीसित हारगुहार शुरु गरेपनि बाँकी दलहरु यसमा गम्भिर देखिएकै छैनन् ।

संघियता संघियता भनेर उफ्रिन सजिलो भएको छ । यो संघियताले दिने सबै सुविधा त्यत्तिकै आकाशबाट ओइरिन्छ जस्तो गरिएको छ । तर यसका चुनौति कति छन् भन्नेमा न दल, न त नेता र जनताकै गम्भिर देखिएका छन् ।

अहिले हाम्रो देशको बजेट जम्मा १२ खर्ब ८० अर्ब रुपैयाँको छ । संघीयता कार्यान्वयन गर्न तीन वर्षमै आठ खर्ब ५० अर्ब रुपैयाँ चाहिने प्रारम्भिक अनुमान छ । केन्द्रिय बजेट बाहेकपनि यत्रो रकम कहाँबाट जुट्छ ? हरेक तिन वर्षमा यत्रो रकमको स्रोत के हो ? कसरि धान्ने संघियता ? तयारि के हो ? केहि पक्का छैन ।

यति ठूलो रकम दाताले त्यसै दिँदैनन्, सहयोग र दानका रुपमा । दाताले सहयोग दिने प्राय मानविय क्षेत्रमा हो । यसकालागि ऋण खोज्नुपर्ने हुन्छ । ऋण लिने कोसित ? एशियाली विकास बैंक, विश्व वैंक, ब्रिटिस सहयोग नियोगसित । यिनले ऋण दिँदा अनेक शर्त राख्छन् । त्यो पालना गर्नुपर्ने हुन्छ । हामीले हाम्रै मोडेलमा चलाउन खोज्दा कतिपय अवस्थामा ऋण दिनै अस्विकार गरिदिन्छन् । ऋण दिँदापनि तिनले चर्को ब्याज असुली गर्छन् ।

प्रदेश सरकारनै सक्षम भए राम्रो हो । तर आफ्नो प्रदेशमा लाग्ने बजेट मध्ये कति प्रतिशत प्रदेशको आन्तरिक स्रोतबाट उठ्ला ? हाम्रा प्रदेशहरुको आर्थिक हैशियत दह्रो छैन । आर्थिक विकास राम्रो नभएकाले आफ्नो प्रदेशलाई लाग्ने खर्च धान्न सक्ने अवस्था सबै प्रदेशको छैन । त्यसैले अधिकांश प्रदेशलाई आर्थिक सहयोग नगरि धानिँदैनन् ।

प्रदेश सभा, सुरक्षा, कर्मचारीका लागि नभै नहुने भवन र संरचनाको लागि खोजिपनि भएको छैन । राज्यसित सबै प्रदेशकालागि चाहिने त्यस्ता भवनपनि छैनन् । संरचना छैन । तर प्रदेश सभाको निर्वाचन भने नजिकै आइसकेको छ । त्यो निर्वाचनपछि प्रदेश सरकार बनाउनुपर्छ । प्रदेश सरकार बनाएपछि कसरि चलाउने भन्ने कुनै तयारिपनि देखिँदैन । त्यसैले, संघियता कसरि सफल होला ? कसरि टिक्ला यो ? गम्भिरतापूर्वक बहस र तयारि भएकोपनि देखिँदैन । प्रदेशहरु चलाउन आवश्यक बजेट, संरचनाहरु पुरा गर्न नसके के गर्ने ? संघियतालाई फेरि तिलान्जली दिने ? असफल भएको घोषणा गर्ने ?

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing