सम्मान नपचेकी समाजसेवी कोइराला

केहि मानिसहरुलाई सम्मानपनि पच्दैन । सारा जनताले दिएको मान, सम्मान र प्रतिष्ठाले नपुगेर ति आफैं बदनाम हुन खोज्छन् । सिंगो राष्ट्रको सम्मान पाउँदा पाउँदै त्यसको  महत्व नबुझेर ति सिमित घेरो, केहि नेता, कुनै राजनितिक दलको साँघुरो कोठरीमा कैदी बन्न रुचाउँछन् । अनुराधा कोइरालाले आफूलाई त्यहि बाटोमा हिँडाउने रहर गरेकि छन् । नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट राजनितिक टिको लगाउँदै उनी नेपाली कांग्रेसमा प्रवेश गरिन् । उनलाई सिंगो राष्ट्रले सम्मान गर्दा गर्दै त्यो सम्मानको मात लागेर राजनितिक दलमा भित्रिएकि छन् ।

ठूलो संघर्ष, मेहनत र त्यागले बनेको हो, अनुराधा कोइरालाको छबी । उनको नाम लिनासाथ धेरैले सम्मानपूर्वक शिर झुकाउँथे । उनले अति धेरै चुनौति, जोखिम, धाक धम्की र कठिनाईको सामना गरेर खोलेको सामाजिक संस्था माईती नेपाल नमूना संस्था हो । यसले आफ्नै देशबाट अनेक लोभ, लालच देखाउँदै, झुक्काउँदै बिदेशमा लगेर अनेक यातना दिएका, काल कोठरीमा पुर्‍याइएका, बिदेशका यौन कारखानाहरुमा बेचिएका महिलाहरुको उद्दार गरेर ख्याती र प्रशंसा कमाएको छ ।

माईती नेपाल हाम्रो देशका धेरै महिलाको लागि माईती हो । प्रिय माईती । यो संस्थाले समाज सेवा गर्नेका लागि बाटो देखाएकोपनि हो । यसैको सिको गरेर, यहि संस्थामा प्रशिक्षित भएर, अनुभव सँगालेर थुप्रै महिलाले सामाजिक काम गरिरहेका छन् । माईती नेपालले बिदेशबाट उद्दार गरेर ल्याएका महिला अहिले थुप्रै गाउँमा उदाहरणिय काम गरिरहेका छन् । स्वदेश फर्किन पाएकाहरुले सहज जिवन बिताइरहेका छन् ।

अन्तर्राष्ट्रिय रुपमै नाम आउँछ, माईती नेपालको । नेपालका सामाजिक संस्थाको नाम लिनुपर्दा । यसका कामको प्रतिफलले गर्दानै अनुराधा कोइरालाको छबी अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको हो । यस्तो प्रतिष्ठित संस्थाको नेत्रित्व गर्दा गर्दै अनुराधा कोइरालालाई किन राजनितिक दलको जुवा मुनी सिकारु बहर झैं जोतिन रहर लाग्यो ?

सन् १९९३ देखि २०११ को बिचमा माईती नेपालले १२ हजार महिलाको उद्दार गर्‍यो । यो चानचुने काम होइन । उनको यहि चुनौतिपूर्ण कामको कदरलेनै उनले थुप्रै पुरस्कार जितेकि छन् । सम्मान पाएकि छन् । सन् १९९८ मा सरकारका तर्फबाट उत्क्रिष्ठ समाजसेवी पुरस्कार, प्रवल गोर्खा दक्षिणबाहु सन् १९९९, सुप्रसिद्द त्रिशक्तीपट्ट सन् २००२ पाएकि हुन् । सन् २००६ मा अबे फाउुन्डेशनका तर्फबाट द करेज अफ कन्सियन्स अवार्ड, सन् २००७ मा जर्मन युनिफेम पुरस्कार र सन् २००७ मै क्विन सोफिया सिल्भर मेडल अवार्ड पाएकि उनी झन झन चर्चित बन्दै गईन् ।

यतिलेपनि नपुगेर उनले सन् २०१० मा सिएनएन हिरोको उपाधीपनि जितिन । सन् २०१४ मा मदर टेरेसा अवार्डबाटपनि सम्मानित गरियो । अमेरिकाको लस एन्जलसमा भएको सि एन एन हिरो छनौटमा उनलाई मञ्चमै आमन्त्रण गरिएको थियो । उनलाई प्रशंसास्वरुप सि एन एनले २५ हजार डलर दिएको थियो । यस बाहेक अमेरिकी, जर्मन लगायतका सरकारले थुप्रै आर्थिक सहयोग दिएका छन् । उनको संस्था विशाल छ । थुप्रै जिल्लामा परियोजना छन् । उनलाई आर्थिक समस्यापनि छैन ।

(नेपाली कांग्रेस पार्टी प्रवेश गर्ने क्रममा कोइराला, शेर बहादुर देउवा र रमचन्द्र पौडेलका साथ, तस्विर-कान्तिपुर)

अनुराधा कोइरालालाई सिएन एन हिरो कुनै दल, कुनै राजनितिक नेता र समूह, कुनै बादले बनाएको थिएन । उनलाई एक होनहार, स्वच्छ समाजसेवी भन्दै आम नेपालीले मतदान गरेर बनाएका थिए । त्यो भावनालाई लत्याउँदै उनी नेपाली कांग्रेस पार्टीको कार्यकर्ता, समर्थक बन्न टिको थाप्दै हिँड्नु उनलाई सिएनएन हिरो बनाउन मतदान गर्नेमाथिको अपमान हो ।

अनुराधा कोइराला सिएनएन हिरोको प्रतिस्पर्धामा रहँदा कुनैपनि नेता, कुनैपनि पार्टी र दलले उनका पक्षमा अभियान चलाएको थिएन । समाजसेवी, स्वच्छ, गैह्र राजनितिक क्षेत्रकी भन्दै आम नेपालीले रातदिन मतदान गरेर जिताएका थिए । अहिले ति सबैको मत, विश्वास, सम्मान र भरोसालाई लत्याएर अनुराधा कोइराला राजनितिक पार्टीको टिको थाप्न पुगेकि छन् ।

नेपाली कांग्रेसमा प्रवेशसँगै उनको छबी गिरेको छ ।  समाजसेवाको निस्कलंकित, निस्पक्ष भूमिकामा दाग लागेको छ । र शंका उत्पन्न भएको छ, कुन स्वार्थले अनुराधा कोइराला नेपाली कांग्रेस पार्टीमा प्रवेश गरिन् ? के उनलाई समाजसेवाबाट बित्रिष्णा जागेर राजनितिमा होमिन मन लागेको हो ? राजनितिप्रति आकर्षण बढेकाले उनले कुनै एउटा दलको छहारी खोजेकि हुन् ? अथवा निकट भविष्यमा माईती नेपाल छोडेर राजनितिमा आउने योजना हो ?

अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश सँगै अब उनी आम नेपालीको साझा समाजसेवी रहिनन् । नेपाली कांग्रेस पार्टीको कार्यकर्ता, कांग्रेसकी समाजसेवी जस्तो बनिन् । अब उनले आफू गैह्र राजनितिक, निस्पक्ष र सबैको साझा हुँ भन्ने ठाउँ, त्यो नैतिकतापनि रहेन । सबै नेपालीको साझा ब्यक्तित्व कुनै एक राजनितिक बिचारको, कुनै एक दल र पार्टीको कार्यकर्ता, समर्थकमा झर्नु दुखद संयोग हो ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing