टुक्राटुक्रामा बाँचेका जिन्दगीहरू

  • सामरिक

असार साउन महिनातिर गाउँका किसानहरू खेतबाट घर फर्कंदा बेलुकीको ८ जस्तै बजेको हुन्थ्यो । बिहानदेखि बेलुकीसम्म झरीमा रुझेर भएपनि धान रोपेर आमाहरू घरमा आएर थकाई नमारी खाना बनाउन थाल्दथे । खाना पकाएर भाँडा माझेर भान्साकोठा सफा गरिसकेपछि आमाहरू अगेनामा तेल तताएर बच्चाहरूलाई लगाइदिन्थे । झरीको हिलोले खाएका आफ्ना गोडालाई आगोको रापमा सेकाएर आमाहरूले पनि तेल लगाउँथे । त्यतिबेला धेरैले पराललाई आगोमाथि राखेर त्यसको धुँवामाथि गोडा सुकाउँथे । झिसमिसे बिहानमा उठ्नु अनि दैलो पोत्नु, गाईवस्तुको भकारो सोर्नु, सोत्तर र स्याउला हाल्नु आदि उनीहरुको दिनचर्या बनेको थियो ।

एकाबिहानै बुढी हजुरआमा पूजा गर्थिन्, अनि सबैलाई टीका लगाइदिन्थिन् । भाग्य र कर्म यस्तै रहेछ, यसलाई स्वीकार गर्दै अघि बढ्नुपर्छ भने झैं आमाहरू दैनिक दौडिरहेका हुन्थे । दुखस् सुख जस्तो जेसुकै भए पनि आमाहरूको संसार सारै प्रिय लाग्थे ।

घरभरिका बालबच्चालाई खानपान गराउनु, स्याहारसुसार अनि सिंगो परिवारलाई खाना पकाउन र पालन पोषणका लागि आफ्नो सबै जीवन समर्पण गरेका आमाहरूका पनि आफ्ना व्यक्तिगत सपनाहरू हुँदाहुन् नी है ? समय घर्कियो आमा ! भन न आमा के थिए तिम्रा सपनाहरू ? मान्छेहरू भन्छन् । मान्छेहरुका व्यक्तिगत सपनाहरू भैहाल्छन् नि । तर आमाहरूको व्यक्तिगत सपनाहरू,  ईच्छाहरू सबै परिवारका निम्ति सहिद भएका हुन्छन् ।

आज आमाहरु धेरै बुढा भएका छन् अनि धेरै कमजोर । हिजो उनीहरूले एक्लै सबै काम, घरधन्दा बस्तुभाउ सबै गर्न सक्थे । तर आज उनीहरूले सबै काम गर्न सक्दैनन् । उनीहरुका छोरा र छोरीहरूले घरजम गरेर बसेका छन् । कतिपयलाई दम, मधुमेह तथा अनेक रोगहरू लागेको छ । रोगको उपचारको लागि आमाहरू अरूको भर पर्न बाध्य भएका छन् । अधिकांश छोराबुहारीको भर पर्न बाध्य भएका छन् । कतिपय परिवारमा छोरा र आमाकै बोलचाल नहुने त कतिपयमा बुहारी र सासुकै बोलचाल नभएर खटपट भइरहेको यथार्थ हाम्रो समाजमा प्रस्ट देखिन्छ । छोरा र बुहारी रिसाउलान् भनेर आफूले खाने गरेको औषधि सिद्दियो भनेर पनि भन्न डर मानिरहेका आमाहरू पनि हाम्रै समाजमा छन् । विदेश वा घरबाट टाढा रोजगारीको लागि गएको छोरालाई कहिलेकाहीं फोन गर भनेर भन्नसमेत आमाले सक्दिनन्, किनभने हिजो आफ्नै ससुरा र श्रीमानसँग डराउने आमा अहिले आफ्नै छोरासँग डराउन थालेकी छिन् । छोरा रिसाउला कि भन्ने डर, छोरा रिसाएर आमाको मन दुख्ने डर । कति भयानक छन् हाम्रो समाजमा घट्ने डरका कथाहरू ?

अस्ताउँदो घाम जस्तै बुढा बाजे

आफ्नो पुस्तौनी घर, छरछिमेक छोडेर बाजे पहाडबाट तराई बसाइं सरेका थिए । पहाडको चिसो पानी, कोदोको र फापरको रोटी अनि आलु र गोलभेडाको अचार बाजे धेरै मन पराउँछन् । पहाडमा जिन्दगीको गर्जो टार्न मुस्किलै पर्न थालेपछि आफ्ना जहानपरिवार बोकेर बाजे तराई झरेका थिए । आर्थिक अवस्था कमजोर भएर होला, बाजेहरू त्यतिबेला भारतको कलकत्ता, बम्बई दिल्लीसम्म नोकरीको लागि जान्थे । केही पैसा जम्मा गर्थे, बालबच्चालाई केही कपडा अनि जीवनसंगिनीलाई एकसरो धोती र साडी हालिदिन्थे । आफूलाई भए लगाउँथे । नभए यसपाला पनि यस्तै त भयो नि भन्दै टारिदिन्थे । परिवारको खुसीमै बाजेहरूको खुसी हुन्थ्यो ।

पहाडको चिसोबाट तराईको गर्मीमा झरेका बाजे र तिनका परिवारलाई सुरुवाती दिनहरूमा तराईको गर्मी पचाउन सारै गाह्रो भएको थियो । बिहानदेखि बेलुकी अबेरसम्म खेतमा काम गर्नु बाजेको दिनचर्या जस्तै बनेको थियो । खेतीबालीबाट अन्न उब्जाएर त्यसलाई साहुकहाँ बेचेर परिवारको खर्च जुटाउने चलन थियो । अरूबेला दैनिक काम, पर्म, ऐंचोपैंचो गरेर बाजेले गुजारा चलाउँथे । अत्याधिक श्रम गर्ने पनि भएर होला बाजेलाई धर्ममा त्यति चासो थिएन । सामान्य परम्परा धान्नलाई मात्र बाजे विभिन्न चाडपर्वहरू मनाउने गर्थे । छरछिमेकका अन्य बाजेहरूको तुलनामा बाजे धर्मकै लागि भनेर हरिकिर्तन, भजन, मन्दिर धाउने काम कहिल्यै गरेनन् । श्रम गरेरै बाजेले केही जग्गाजमिन जोडे । परिवार राम्रैसंगै चलाए ।  सबैलाई हुर्काए । पढाए । बा भएर आफ्ना परिवारलाई गर्नु पर्ने सबै गरे ।

आज बिहान उदाएको सूर्य बुढो भएर साँझ अस्ताउँन लागेको जस्तै बाजे पनि बुढा भएका छन् । दिनभरि काम मात्रै गरिरहने बाजे अहिले लौरोको साहारामा आफूलाई हिडाउन बाध्य छन् । उमेरले ९० काटिसकेका बाजेको मनमा जोस र आत्मविश्वास भने अचम्मकै बेजोड देखिन्छ । बोल्दाबोल्दै कहिले जंगिने, कहिले हाँस्ने त कहिले सजिलै रोइदिने गर्छन् बाजे । बहुआयामिक बिम्ब बोकेका बाजेका जीवनमा अनगिन्ति रङ्गहरू म सजिलै देख्न सक्छु । आफ्नो ठाउँमा रहेर ईमान्दारीपूर्वक आफ्नो काम गर्ने, अरूले हेपे जाईलाग्ने र अथाह परिश्रमी छन् बाजे ।

पछिल्लो वर्ष बाजेलाई बिमारीले सारै चापेको थियो । सिकिस्तै भएर उनी कोठाको एक छेउमा लडिरहेका थिए । बाजे जीवनमा मृत्युसंग अन्तिम लडाइं लडिरहेका थिए । जीवनको अन्तिम क्षणतिर बाजेले आफूले बालापन बिताएको ठाउँलाई सम्झिएका थिए । मान्छे जहाँ जस्तो अवस्थामा भए पनि आफ्नो बाल्यकाल, सानो छँदा हिंडेको डुलेको ठाउँको याद गर्दा रहेछन् भन्ने महसुस मलाई राम्रोसँग भएको थियो । अहिले बाजे शारीरिक रूपमा धेरै दुर्वल अनि कमजोर भएका छन् । तर परिवारको चिन्ता भने गरिरहन्छन् । परिवारको माया, सहयोग र स्याहारले बाजे अहिले ठिक भएका छन् । अलिकता मुर्झिएका छन्, तर बाजे खुसीनै छन् । शरीर नुहुंदै गए पनि बाजेको बिम्ब धेरै अग्लो र स्वाभिमान लाग्छ ।

वर्तमानको आँखीझ्यालबाट उनीहरूलाई चियाउँदा

म उनीहरुलाई मेरी बुढी हजुरआमाले सुकीसुकी पैसा आफ्नो सुर्केनी थैलीमा राखिरहेको लुकेर हेरिरहेझैँ  हेरिरहेको छु । उनीहरू कस्ता थिए, के गर्थे अनि के भन्थे अनि के गरिरहेका छन् । म एकटकले उनीहरूलाई पछ्याइरहेको छु । कसैको गैरी खेत, कसैको टाँडी अनि कसैको घोलमा खेत हुन्थ्यो । बर्खाको भेलले खेतमा घोल जम्थ्यो । छरछिमेक मिलेर घोलमा भिजेको धान मिलेर बोक्थे । आली, डिल हुँदै घरको ओभानोसम्म ल्याएर धान तह लगाउँथे । केही मुरी आफूलाई खानलाई राख्थे अनि केही बेच्थे । परिवारको गर्जो टार्दथे । त्यतिवेला हरेक जस्तो परिवार संयुक्त परिवार नै हुन्थ्यो । कम्तीमा एक घरमा ७, ८ जना मान्छे त हुन्थे । कसैका छोरी धेरै हुन्थे भने कसैका छोरा । बाआमा हट्टाकट्टा भइन्जेल बच्चाबच्चीहरु हाँसीखुसी पढ्ने, काम गर्ने, खेल्ने आदि गर्थे । बाआमालाई छोराछोरीले मिलेर सघाउँथे । घरको आयस्रोत बाआमाको श्रमको पुँजीले चलेको हुन्थ्यो । परिवारका जेठा, माइला साइँला हुँदै जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्थ्यो । बाआमाले त्यसैअनुसारको जिम्मेवारी सुम्पन्थे ।

सबैको आयस्रोत कृषि नै थियो । कसैले दुईचार हल गोरु नारेर खेत जोत्ने, कसैले आली लगाउने, कसैले बिउ काढ्ने आदि भिन्नभिन्न कामहरू हुन्थ्यो । घरका आमा दिदीबहिनी बुहारीहरूले भने खेत रोप्न पर्थ्यो । आमाहरूलाई पछ्याउँदै दिदीबहिनीहरू असारे भाकामा रोपाइँको गीत गाउँथे । त्यो समय बेग्लै आनन्दमय हुन्थ्यो । सिंगो परिवार एकजुट भएर खेतीकिसानीमा लाग्थ्यो । धेरै नाफा पनि नहुने, घाटा पनि नहुने जस्तो गरी परिवार चल्ने गर्थ्यो ।

बालबच्चाहरु ठूलाठूला हुँदै गए बाआमा बुढा हुँदै गएपछि भने परिवारमा केही खटपट बढ्न थालेको दृश्य आम समाजमा देख्न सकिन्थ्यो । बाआमाले ऋणधन गरेर छोराछोरीको बिबाह गरिदिन्थे । अधिकांश परिवारमा विवाहपछि खटपट सुरु भएको पाइन्थ्यो । कसले धेरै कमायो ? कोसँगधेरै पैसा छ ? कसले धेरै काम गर्छ ? बा आमाको सबैभन्दा प्यारो कोहो ? भन्ने जस्ता बहसहरू लुकीछिपी गर्ने अनौठा दिनहरू पनि त्यतिबेला देखिन्थे । कहिलेकाहीं हप्कीदप्की गरे पनि दाइभाइ असाध्यै मिल्थे । बिहेपछि खै किन हो उनीहरूको बीचमा पनि अनौठो धर्सो कोरियो । एकअर्कालाई सम्मान गरिरहे पनि उनीहरूले त्यो अनौठो धर्सो चाहेर पनि मेट्न सकेनन् । आफ्नै बाआमाका अगाडि उनीहरू बिरानो ठाउँका भिन्नभिन्न मानिसहरू जस्तो महसुस गर्थे ।

जब उनीहरूसँग सम्पत्तिको नाममा सिसाकलमको ठुटो, गाता उप्किएको किताब अनि आधा लेख्न बाँकी रहेको कापी थियो । उनीहरूसँग सबै थियो । दुई छाक खान्थे । बाआमा दाइ, दिदी, भाइ कहिलेकाहीं हप्किदप्की पिटापिट गरे पनी बेलुकासँगै सिरान हालेर हाँस्दै कुरा गर्थे । आमाले कुँडेमा तताएर दिएको तातो दूध खाएर सुत्थे । बाले हाँसीखुसी परिवार चलाएका थिए । मीठो मसिनो सबै राम्रै चलेको थियो । बिस्तारै बाआमा बुढा भए, छोराछोरी ठुला । त्यसपछि सबै बिग्रँदै गयो । हाँसो, खुसी हराउँदै गयो । परिवारको आयस्रोतमा बाआमाको श्रमको पुँजीभर रहेसम्म परिवार एकजस्तै भयो । तर जब परिवारको आयस्रोतमा सबैको श्रमको पुँजी जोडिनथाल्यो तब अनगिन्ती प्रश्नहरू तेर्सिए र उनीहरूले त्यसको समाधान र हल निकाल्न सकेनन् । जसको नतिजा उनीहरू बाआमालाई साक्षी राखेर फरकफरक घरव्यवहारतिर लागे । त्यतिबेलादेखि अहिलेसम्मकै हाम्रो समाजको स्थिति यो रहेको छ ।

यतिबेला समाजमा घर त ठूलाठूला बन्न थालेका छन् । तर घरमा बस्ने मान्छेहरूको मन भने झनझन् साँघुरोसाँघुरो हुँदैगएको आभाष हुन्छ । मानिस हिड्ने बाटाहरू फराकिलो र राम्रा बनाइंदैछ । तर मान्छेहरूलाई जोड्ने बाटो भने भत्किन लागेको जस्तो देखिन्छ । पुरानो पुस्ता र नयाँ पुस्ताको खाडल झनै गहिरिंदै छ । वर्षौअघि रोजगारीको लागि गाउँ छोडेका एक प्रियजनले चिन्ता व्यक्त गर्दै अहिलेको नयाँ पुस्ताले मलाई चिन्छन् कि चिन्दैनन् होला हगि ? भनेर चिन्ता व्यक्त गरेका थिए । यो पुस्ताले त चिन्लान्, आउँदो पुस्ताले नचिन्दा आफ्नै गाउँ पनि कति निरस निरसलाग्छ होला नि है ?

अँध्याराहरू 

कथा १

उमेरले ७० वरिपरि पुगेकी एक बुढी आमा अहिले एक्लै छिन् । १० वर्षअघि आफ्ना श्रीमानको मृत्युपछि सम्भवत उनी सारै एक्लै भइन । आफ्ना बुढाले बनाएको घरलाई फेरेर छोराहरूले नयाँ घर बनाए । समयको वेगसँगै छोराहरू रोजगारीको लागि लाखापाखा लागेपछि बडेमानको महलमा आज बुढी आमा एक्लै छिन् । उनको सहारा लौरो र केही छिमेकीबाहेक कोही छैनन् । केही छोरा विदेशमै घरजम भएर बसेका छन् । बुढी आमा बढ्दो उमेरसँगै बिरामी परिरहन्छिन् । छोराहरुले पनि आलोपालो कहिले कसको मा त कहिले कसकोमा डोराइरहन्छन् । घनाजङ्गलको खुला आकासमा आजाद भएर आफ्नो जीवन बिताइरहेकी सिंहनीलाई बजारमा चटक देखाउन चिडियाखानामा राखिएको जस्तो जिन्दगी बुढी आमाले जिउन सकिनन् । उनी आजभोलि जेजस्तो होस्, एक्लै भए पनि आफ्नै घरमा बस्छु भनेर आफ्नै घरमा फर्किएकी छिन् । उनका आफ्नै छोराहरूले आमालाई के गर्ने होला भनेर ठोस उपाय सुल्झाउन नसकिरहेको अवस्थामा बुढी आमा भन्ने गर्छिन् – आफ्नै छोराहरूले त केही गर्न सकेनन् । अब अस्ति भर्खर अरूको घरबाट हाम्रोमा आएका बिचरी बुहारीहरूबाट मैले के आश गर्नु बाबु !

आम प्रश्न तेर्साएर आमाले आगामी दिनहरू स्वाभिमानपूर्वक जिउने फैसला गरेकी छिन् । बुढीआमा आजभोलि रेडियो सुन्छिन् । बत्ती कात्छिन् । मोबाइल फोनमा छोराहरूले फोन गर्लान् नि भनेर फोनको प्रतिक्षा गरिरहन्छिन् । पानी तातो बनाइराख्ने थर्मस, बिहानीपख गुन्जिरहने थोत्रो रेडियो,  अँध्यारोमा साथ दिने पुरानो लाइट अनि अरूले छोडेर गए पनि साथ दिइरहेको लौरो बुढी आमाको प्यारा सन्तान वा साथी भएका छन् । सायद ती बुढी आमा – यतिवेला पनि रेडियोमा गीत  सुनिरहेकी होलिन् – ‘आमा रुँदै गाउँबेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा !!!!!!

कथा २

जनयुद्दको समयमा उनको नाम कमरेड सिमा थियो । उनको कुनै जात थिएन । कुनै धर्म पनि थिएन । त्यो महासमरमा सिमाजस्तै हजारौ सिमाहरू लामबद्द भएका थिए । सिमाहरू  भन्नेगर्थे – ‘हामीहरूसँग गुमाउन यही एउटा भौतिक शरीर छ ।  तर जित्नका लागि सिङ्गो संसार ।‘ त्यतिबेला सिमा दिदीहरू  अँध्यारोमा हाम्रो घरमा ढोका ढकढकाउँदै बास बस्न आउँथे । लाम्चो कोठामा बुढी आमाले बुनेका गुन्द्री ओछ्याएर सिमाहरू गाउँका युवादेखि किसानहरूलाई हा’मी माओवादी पार्टीका कार्यकर्ता, हामी जातपात, छुवाछुत मान्दैनौं र हामी धर्म पनि मान्दैनौं’ भन्ने गर्थे । ‘हाम्रो उदेश्य केवल जनताको सेवामा लाग्नु हो । सुकुम्बासीसी र गरिब किसानका निम्ति लड्नु हो ।‘ त्यो भनिरहँदा सिमा दिदीहरूको अनुहारमा बेग्लै कान्ति छाएको देखिन्थ्यो । यस्तो लाग्थ्यो, कति साहास अनि आत्मविश्वास छ सिमा दिदीहरूमा ।

नेपाल नयाँ भएको खबर रेडियोमा बज्न थालेका केही महिनापछि जातपात र छुवाछुत नै नमान्ने सिमा दिदीको नाम फूलमाया विश्वकर्मा भन्ने थाहा भयो । मलाई आफ्नै मनले सोधेको थियो – कमरेड सिमालाई भर्खरै न्वारन गरिएको नयाँ नेपालमा कसले फेरि फूलमाया विश्वकर्मा बनायो होला ? अलिबेर बुझ्दै जाँदा जनताको बीचमा अँधेरी रातमा छापामारको पोशाक लगाएर घन्टौं धाराप्रवाह बोल्न सक्ने अनि दुस्मनसँग लड्न सक्ने उही उज्याली कमरेड सिमालाई नयाँ नेपालमा पार्टीले समानुपातिकतर्फको अन्तिम सूचीमा राखेको रहेछ । समरको मैदानमा जुझारु योद्दा सिमाहरूलाई नयाँ भनिएको नेपालमा यिनीहरू लङ्गडा हुन् भनेजसरी व्यवहार गरिरहेको आभास सजिलै हुन्थ्यो ।

कमरेड सिमा उर्फ फूलमाया विश्वकर्मा, ५६ सालको मध्यतिर पार्टीकै सहकर्मी कमरेड प्रतापसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । प्रताप सन्धिखर्कको मोर्चामा दुस्मनसाँग लड्दालड्दै सहिद भएका थिए । जनयुद्दको समयमा जनता, देश र क्रान्तिको सपथ खाएर एकअर्काको बन्दुक साटासाट गरी सिमा र प्रताप विवाहमा बाँधिएका थिए । शान्तिकाल छाएपछि प्रतापको परिवारले कमरेड सिमा बनेकी फूलमायालाई जातपातको बहाना बनाएर स्वीकार गरेन । गणतन्त्रको विजयजुलुस मनाइरहँदा आफ्नै परिवारभित्रको लडाइंले कमरेड सिमा कति उद्देलित भइन् होला ? के हामीले साँच्चै जितेर यो अविर जुलुस गरिरहेका छौं कि फगत एक नाटक मन्चन ? कति सिमाहरूले यसरी सोचिरहेका होलान् ?

आफैंभित्रको लडामा पराजित फूलमायाँ आज समानुपातिकतर्फको सभासद भएकी छिन् । उनको अनुहारमा कमरेड सिमामा देखिएको जस्तो जुझारुपना,  कान्ति अनि बेग्लै स्वतन्त्रता देखिन्न । उनी बोल्दा पनि मज्जाले खुलेर नबोलिरहेको आभाष हुन्छ । एउटा उकुसमुकुस अनि अट्टहासमा आज फूलमायाहरु संसदभवन आउँछन् ।  जान्छन् । तर मेरा आँखाहरू भने कमरेड सिमाहरूलाई खोजिरहन्छन् ।

कमरेड सिमा बोल्दै गर्दा अन्त्यमा मुठ्ठी कसेर हात उठाउँदै भन्ने गर्थिन्-

‘लालसलाम कमरेडहरु !

मरे सहिद, बाँचे सिङ्गो संसार !’

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing