को हो पत्रकार ?

-भानुभक्त आचार्य

पत्रकारभन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाद्दाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेसक्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ।’

नेपाली पत्रकारहरूका लागि प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको पत्रकार शब्दको परिभाषा हो माथिको पंक्ति । हुनत आचारसंहिताले शब्दको व्याख्या वा परिभाषा गर्दैन, कानुनले गर्छ । तर नेपाल त्यस्तो अपवाद मुलुक हो, जहाँ कानुनबेत्ताहरूले २०५५ सालयता कानुनकै ढाँचाकाँचामा पत्रकारको आचारसंहिता बनाइदिने गरेका छन् । त्यसैले वर्तमान पत्रकार आचारसंहितामा ‘पत्रकार’ शब्दको परिभाषा हुनु अस्वभाविक भएन । तर, कानुन व्यावसायीहरूकै आचारसंहिता–२०५१ मा चाहीँ ‘कानुन व्यावसायीहरू’ भनेका को हुन् भनेर परिभाषा गरिएको छैन । संसारमा विभिन्न देश र संघसंस्थाहरूले निर्माण गरेका एक हजारभन्दा बढी पत्रकार आचारसंहिताहरू छन् । तिनमा पत्रकार को हो, को होइन भनेर परिभाषा गरिएको छैन ।

उल्लेखित परिभाषामा दिइएका शब्दहरूलाई गहिरिएर विचार गरौं । परिभाषाले ‘स्तम्भ लेखक’ र ‘विश्लेषक’लाई पनि पत्रकार बनाएको छ । कुनै किसानले गोबारो किराबाट केराका बोट कसरी जोगाउने, धान कसरी धेरै फलाउने, बेमौसमी गोलभेडा कसरी उत्पादन गर्ने जस्ता शीर्षकमा वर्षमा तीन–चारओटा लेख पत्रपत्रिकामा प्रकाशन गर्न सफल भयो भने उसलाई यस परिभाषाले पत्रकार बनाइदिन्छ । पत्रपत्रिकामा नियमित लेखन गर्ने संविधानविद् भीमार्जुन आचार्य, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला आदिलाई पनि पत्रकार भन्न सकिने भो । अझ प्रेस–क्यामरापर्सन, व्यंग्यचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता तथा सञ्चालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादकलाई समेत यस परिभाषाले पत्रकार बनाएको छ । क्यामरापर्सन प्राविधिक व्यक्ति हो । पत्रकारिताको ज्ञान नभएको अवस्थामा ऊ पत्रकार हुन सक्दैन । रेडियो टेलिभिजनमा मनोरञ्जनात्मक कार्यक्रम चलाउने, राशीफल लेख्ने, धार्मिक कार्यक्रम चलाउने, वास्तुशास्त्र भन्ने, कवितावाचन गर्ने, कम्प्युटरमा डिजाइन गर्ने, तयार पारिदिएको समाचार पढ्ने व्यक्ति आदिलाई सञ्चार संस्थाले जागिर दिएकै आधारमा पत्रकार भन्नुपर्ने अवस्था यस परिभाषाले सिर्जना गरेको छ । हाम्रो परिभाषाका आधारमा भारतमा ‘कौन बनेगा करोडपति’ चलाउने अमिताभ बच्चन र ‘बिग बोस’ चलाउने सलमान खानलाई पत्रकार भन्न सकिन्छ ।

उसो भए पत्रकार को हो त ? पत्रकार भनेको त्यो व्यक्ति हो, जसले पत्रकारिताका शाश्वत मूल्यमान्यतालाई औपचारिक वा अनौपचारिक रूपमा पढेको वा बुझेको छ र त्यस्ता मान्यताहरूलाई पत्रकारिताका विभिन्न चरणहरूमा अवलम्बन गर्दछ । उदाहरणका लागि सूचनाको सत्यता, वस्तुपरकता, विश्वसनियता, कार्यगत स्वतन्त्रता, जनहित, तटस्थता, स्वच्छता, जवाफदेहिता आदिलाई बीबीसी एकेडेमीले पत्रकारिताका आधारभूत मान्यताहरू भनेको छ । यस्ता मान्यताहरूलाई आत्मसात गर्दै सर्वसाधारणको हितका लागि कुनै व्यक्ति पत्रकारिताको अभ्यास गर्दछ एवम् पत्रकारिता गर्ने सिलसिलामा पत्रकार आचारसंहिता पालन गर्दछ, त्यो पत्रकार हो । पत्रपत्रिकामा नियमित लेख्ने, रेडियो वा टेलिभिजनमा नियमित कार्यक्रम चलाउने तर पत्रकारिताका मूल्यमान्यतालाई बरखिलाप गर्ने व्यक्ति पत्रकार होइन ।

जसरी बिरामीको उपचार गरी हिड्ने तर चिकित्साशास्त्र नपढेको व्यक्तिलाई चिकित्सक भन्न सकिँदैन, जसरी शिक्षाशास्त्र पढेको तर कक्षाकोठामा शिक्षण नगरेको व्यक्तिलाई शिक्षक भन्न सकिँदैन, जसरी औषधि बेच्ने तर फार्मेसी नपढेको व्यक्तिलाई फर्मासिस्ट भन्न सकिँदैन, त्यसैगरी पत्रकारिताको सैद्धान्तिक ज्ञान (आधारभूत मूल्यमान्यता र पेसागत आचारसंहिता) हासिल नगरीकन गरिएको लेखापढीलाई पत्रकारिता भन्न सकिँदैन पत्रकारिताका मान्य सिद्धान्तहरूलाई नबुझी एवम् आचारसंहिताको पालन नगरी कसैले नियमित लेख्ने गरेको भने त्यो उसको लेखनवृत्ति हो, पत्रकारिता होइन । अर्कातिर, पत्रकारिताको सैद्धान्तिक ज्ञान भएका तर पत्रकारिताको साच्चिकै अभ्यास नगर्ने व्यक्ति (जस्तैः पत्रकारिताका शिक्षक वा विद्यार्थी) लाई पनि अभ्यास नगरुन्जेलसम्म पत्रकार मान्न सकिन्न । अमेरिकी पत्रकारद्वय बिल कोभाच र टोम रोसेन्स्टिअलले आफ्नो पुस्तक इलिमेन्टस् अफ जर्नलिजममा भनेका छन्इन्टरनेटको उपस्थितिले गर्दा एक्काइसौँ शताब्दीमा जोसुकै पत्रकार बन्न सक्छ तर उसले सही अर्थमा (सैद्धान्तिक आधारहरूलाई बुझेर व्यवहारमा उतार्ने गरी) पत्रकारिता गरेको हुनुपर्दछ

उसोभए यस्तो गोलमटोल परिभाषा किन ? यस्तो गोलमटोल परिभाषा राख्न जोड गर्नेहरूमा मिडियाका साहुजीहरू र ‘पत्रकार’ भइटोपलेर बेलामौकामा सामाजिक पद, प्रतिष्ठा, सम्मान र विभिन्न स्वार्थपूर्ति गर्न उद्यत् आकांक्षीहरू छन् । नेपालमा धेरैजसो मिडियाका लगानीकर्ताहरू पनि पत्रकार भनेर चिनिन चाहन्छन् । लगानी गरेको आधारमा आफूलाई प्रधानसम्पादक वा प्रबन्ध सम्पादक भनाउने धेरै छन् । तर, जसरी जग्गाजमिनको स्वामित्व भएका तर आफैँ खेती नगर्ने जग्गाधनीहरू किसान होइनन्, पत्रकारिताको मेलोमेसो नपाएका, मिडियाका लगानीकर्ता वा प्रकाशकहरू त्यस्तै हुन्, जो सञ्चार संस्था चलाउँछन् तर आफैँ पत्रकारिताका कार्यमा संलग्न हुँदैनन् । आफूलाई पत्रकार भनेर चिनाउने तर पत्रकारिताका मूल्यमान्यताहरूबारे केही थाहा नभएका मानिसहरूले नेपाली पत्रकारिताको साख घटाइरहेका छन् ।

माथिको परिभाषाअनुसार पत्रकारिता नबुझे पनि, समाचारको मेलोमेसो थाहा नपाए पनि पत्रकार हुन सकिन्छ । किनभने सञ्चारमाध्यममा खास पदमा नियुक्त हुनु नै उसको पत्रकार हुने योग्यता हो । तर कुनै व्यक्तिले पत्रकारिताका सैद्धान्तिक मान्यताहरूलाई नबुझुञ्जेल र त्यसअनुसार व्यावहारिक अभ्यास नगरुञ्जेलसम्म (उसको नाउँ कुनै अखबारको प्रिन्टलाइनमा प्रकाशित भएता पनि) उसलाई पत्रकार भन्न सकिँदैन । पत्रकारितासम्बन्धी कुनै एउटा काम गर्दैमा जोकोही पत्रकार भइहाल्ने होइन, त्यो काम उसले व्यावसायिक मापदण्डलाई बुझेर र अपनाएर गरेको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । पद प्राप्त गरेकै आधारमा हुने पत्रकारलाई खासमा ‘पदेन पत्रकार’ भने हुन्छ । नेपाल पत्रकार महासंघमा पदेन पत्रकारहरूले साँच्चिकै श्रमजीवी पत्रकारहरूलाई विस्थापन गर्न सक्ने जोखिम बढेको छ ।

(लेखक मेडिया विशेषज्ञ हुन् । यो लेख लेखकको अनुमतिमा अन्नपूर्ण टुडेबाट लिईएको हो)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing