चामल बेच्न नजान्ने कांग्रेस

  • लेखनाथ अधिकारी

पंतिकार एउटा राष्ट्रिय दैनिकको सम्पादक भएका बेलामा दुई पत्रकार साथीलाई कांग्रेस सभापति शेरबहादुर देउवाको अन्तर्वार्ताका लागि खटाएको थियो । उनीहरु सोद्धै खोज्दै देउवाको कार्यक्रम भएको राजधानीको एउटा होटलमा पुगेछन् र अन्तर्वार्ताको लागि अनुरोध गरेछन् । देउवा आगो भएका रहेछन् ।   भनेछन्–‘तो तो … पत्रिकाले मेरो बारेमा के लेखेको? …जे पायो त्यही लेख्ने ?  म अन्तर्वार्ता दिन्न भनेपछि दिन्न’ साथीहरु कालो नीलो भएर फर्केछन् । कार्यालयमा आएर भन्दै थिए–‘हत्तेरिका बुढाले झण्डै मारे । के गर्ने होला ?’मैले उसो भए छोडिदिनुस् देउवाको अन्तर्वार्ता लिनुपर्दैन । त्यो अंकलाई अर्कै मान्छे खोज्नुपर्ने भो, खोजियो ।

कुरा के परेछ भने नेपाली कांग्रेसको विधानले तोकेको समयावधीमा उनले पदाधिकारी चयन गर्न नसकेकोले ‘देउवा अक्षम’ भए भनेर समाचार आएको थियो । त्यसैले उनी आगो भएका रहेछन् । देउवाले सातो बोलाएका पत्रकार साथीहरुको ‘अफ’ भएको मूड ‘अन’ गर्न पंतिकारलाई केही दिन लाग्यो ।

कांग्रेसका अर्का नेता रामचन्द्र पौडेलको बारेमा एक ताका एउटा सत्य घटनामा आधारीत किस्सा प्रचलित थियो । यो पंतिकार काम गरेको कार्यालयका पत्रकार साथीहरु उनको छेउमा पर्नै हायलकायल हुने । कुरा के परेछ भने एक जमानामा एउटा सन्ध्याकालीन दैनिकले उनको घर भनेर एउटा घरको फोटो छापेको रहेछ । यो पंतिकार पहिला काम गरेको कार्यालयले पनि एउटा सन्ध्याकालीन पत्रिका निकालेको थियो । उनी त्यस प्रकाशनका पत्रकारलाई संसदमा भेटे संसदमा, अन्यत्र भेटे अन्यत्र नै तिम्रो पत्रिकाले मेरो हुँदै नभएको घर छाप्यो । ‘लु लेऊ मेरो घर, तुरुन्त लेऊ’ भनेर र्‍याखर्‍याख्ती पार्दा रहेछन् । यो प्रसंग पौडेलले राजधानीको बोहराटारमा घर बनाउनु भन्दा पहिलाको हो । कहिले कसले घरको फोटो छापेको थियो विचरा अहिले भेटिएको पत्रकारले कहाँबाट घर ल्याएर देओस् । हायलकायल भएर साथीहरु छेऊ नै नपर्ने रहेछन् । पछिल्ला वर्षहरुमा चाहिं पौडेलले त्यसबारेमा कुरा उठाउन छोडे रे ।

कांग्रेसका महामन्त्री डा संशाक कोइरालाको बारेमा पनि एउटा प्रसंग छ । आइतबारको अन्तर्वार्ताको स्तम्भका लागि एक पटक उनीसँग समय लिइएको थियो । उनले शनिबार अगाडि भ्याउन गाह्रो भएको बताए । शनिबार ‘कन्फर्म’ हो भने हामी पर्खन्छौं । तर शनिबार दायाँबायाँ गर्न पाइदैन है डाक्टर साब भनेर हामीले भन्यौं । ढुक्क हुनुस् म कुनै पनि हालतमा शनिबार बिहान भेट्छु भने । हामी उनको निवास टोखा टाढा पर्ने भएकोले पहिला सुशील कोइराला बसेको महाराजगन्जस्थित निवासमा फोटोपत्रकार सहित तीन जना गयौं । १ घण्टा जति कुरियो । उनी टोखाबाट हिंडेको थाहा भयो । तर महाराजगन्ज आइपुगेनन् । फोन गर्दा फोन अफ छ । निजी सहयोगी चाहिं महाराजगन्जमै थिए । शनिबार अन्तर्वार्ता उतारीकन भोलिपल्टकोलागि छाप्नुपर्ने थियो, पुरै एक पृष्ठको लागि । तर उनले ठूलै धोका दिए । पछि बुझ्दा त उनी पूर्व राष्ट्रपति डा रामबरण यादवको निवासमा पो पुगेछन् । फोनमा कुरापनि भयो । हेर्नुस् न एक्कासी यता जानुपरयो, सरी । ठूलो धोका भयो । यहाँसँग समय लिन पनि दश पटक सोच्नुपर्ने भयो आइन्दा भनेर हामीले भन्यौं । म कार्यक्रममा छु पछि फोन गर्छु ल भने । हामीले कुनै मन्त्रीसँग तत्काल समय लिएर अर्को अन्तर्वार्ता लिइ त्यसलाई उतारेर भोलिपल्टको लागि तयार पार्यौं । एक घण्टापछि उनले फोन गरेर सरी भने । र, अर्को पटक जहिले जहाँ बोलाएपनि आउने प्रतिबद्धता पनि जनाए ।

डा. रामशरण महतको बारेमा पनि एउटा रमाइलो घटना छ । हामीले १ पेजभरीको एउटा अन्तर्वार्ता लिएका थियौं । शुक्रबार अन्तर्वार्ता लिएको र आइतबार छापिन्छ है भनेका थियौं । आइतबार छापियो पनि । पत्रिका हेरे होलान् भनेर हामीले भनिरहनु आवश्यक ठानेनौं । उनीसँग अर्कै कामले अर्को शुक्रबारतिर कुरा हुँदा ‘साँच्ची त्यो अन्तर्वार्ता कहिले छापियो रे लौ न एउटा पत्रिका पठाइदिनुपर्यो । मैले त हेर्नै पाएको छैन ’ भने ।

यी कांग्रेसको नेतृत्वमा रहेका केही नेतासँग सम्बन्धित प्रतिनिधि घटना हुन् । यस्ता किस्सा कैयौंसँग छन् । जसले ती नेता कति लोकतान्त्रिक, कति चुस्त दुरुस्त र कति सहिष्णु र जिम्बेवार रहेछन् भन्ने प्रष्टै देखिन्छ । अर्थात् गएको संघीय निर्वाचनमा पार्टीको हारको तस्वीर समेत यो कार्यशैलीले बोल्छ ।

देउवा आफू विरुद्धको समाचार आएकै भरमा त्यो पत्रिकाका पत्रकारसँग कुरा गर्नै नमान्ने सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीका सभापति । साँच्चीकै उनले जानेको भए खासमा यस्तो भएर मैले पदाधिकारी नियुक्त गर्न नसकेको हो । यहाँहरुले संझाइदिनुभएछ, धन्यवाद है । म प्रयास गर्दैछु भन्नुपर्ने । राम्रोसँग अहिले चाहिं नबोलौ होला भनेको भए सकिइहाल्थ्यो । तर, सन्केर कुरै गर्दिन भनेछन् । रामचन्द्र पौडेलको घरको किस्सामा पनि एउटा लोकतान्त्रिक नेता त्यस्ता कुरामा सधै गनगन गर्दै नहिंड्नु राम्रो हुन्थ्यो । महामन्त्री डा कोइरालाको हुस्सुपनको अघि नै चर्चा गरियो । त्यतिबेलाको सबैभन्दा ठूलो पार्टीको महामन्त्रीको मिडियासँगको ‘डिलिङ्ग’ त्यस्तो होस्ल्याङ्गे । कसैले समय लिइसकेपछि कुनै अपर्झट काम पर्यो भने सहयोगीलाई भनेर ‘ल है म भ्याइन नआउनुहोला’ भन्न लगाउनुपर्छ । तर, छैन । आए आउँछन् , बसे बस्छन् । भेट नभए हुन्न भने झैं लथालिंग पारा उनले प्रदर्शन गरे । उनले हामी जस्तै १० जनालाई सोही समय दिएका रहेछन् ।

अब डा महत जस्ता अर्थविद् तथा परराष्ट्र मामिलाका विज्ञ मान्छेले कम्तिमा मुलुकका राष्ट्रिय दैनिक कति वटा छन् , कुनमा के निस्केको छ, त्यो त बिहानै थाहा पाइसक्नुपर्ने । आफ्नो जिल्लाको बारेमा कुनै समाचार निस्केको छ कि ? आफ्ना कामका बारेमा कुनै समाचार आएको छ कि ? आफैंले हेर्ने वा आफ्ना निकटका कार्यकर्तालाई ‘वाच’ गर्न लगाउनुपर्ने होइन ?उनलाई अन्तर्वार्ता निस्केको ५ दिन सम्म पनि पत्तै  रहेनछ ।

यस्ता नेताको कार्यशैली र पारा हेर्दाखेरी त अहिले चुनावमा आएको मत पनि कसरी कांग्रेसले ल्यायो भनेर आश्चर्य मान्नुपर्ने अवस्था छ ।  लोकतान्त्रिक पार्टीको ‘ब्रान्ड’ले काम गरेको मात्रै हो । त्यसैको छहारीमा मान्छे गोलबद्ध भएका हुन् । वैकल्पिक लोकतान्त्रिक शक्तिको अभावमा यसको फाइदा कांग्रेसले लिन पाएको मात्रै हो । अझैपनि कार्यशैलीमा सुधार ल्याउने र चुस्त दुरुस्त हुने हो भने कांग्रेसको अझै संभावना नभएको होइन ।

अबको कांग्रेस ?

कांग्रेस प्रमुख विपक्षीको भूमिकामा रहेपनि सो पार्टीका नेताको हुस्सु पाराले गर्दा उसबाट ठोस भूमिका खेलिएको पाइएको छैन । त्यसको फाइदा भरपुर रुपमा सत्तापक्षले उठाइरहेको छ । चुनावको हारले गर्दा उसको नूर यति धेरै गिरेको देखिन्छ कि न यसका नेताहरुलाई कसरी अघि बढ्ने खाका नै प्रष्ट देखिन्छ नत उनीहरु आफैं मुलुकलाई कसरी अघि बढाउने भन्ने कुरामा सचेत देखिन्छन् । अहिले सम्ममा छायाँ सरकार जस्तो बनाएर कुन मन्त्रालय मातहतका गतिविधि कुन नेताले अनुगमन गर्ने कसरी मुलुकलाई समृद्धि तर्फ लग्ने भनेर केही कसरत भइसक्नुपर्ने ।

जनताका समश्या बग्रेल्ती छन् । उसले त ती कुराहरुलाई कसरी समाधान गर्नुपर्ने भनेर अहिले सम्ममा खाका प्रस्तुत गरिसक्नुपर्ने । तर त्यस पार्टीका नेताहरु कुहिरोका काग जस्ता भएका छन् । केन्द्रीय कार्य समितिको लम्बेतान बैठक आपसी गाली गलौजमा नै सिमित भयो । त्यसले बल आर्जन गरेन झन् जग हँसायो । पछिल्लो समयमा सिन्डिकेटको पक्षमा लाग्ने खालको वक्तव्य आयो । फौजदारी अभियोग लागेका व्यक्तिलाई निलम्बन गर्न नपाइने भन्ने खालको लबिङमा लागेको देखियो । जुन जनताको अपेक्षाभन्दा बिलकुलै फरक हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सरकारका तर्फबाट गरिएका कतिपय त्रुटीको बारेमा प्रमुख प्रतिपक्षीले छेकछन्दै पाएको छैन ।

गिरिजाप्रसादबाट सिकेनन्

कांग्रेसका नेताहरुले मिडियासँग गर्ने डिलिङ्ग शैलीका बारेमा बीपी कोइरालाको पालासम्म पुग्नु जरुरी  छैन । निकट विगतका गिरिजाप्रसादको शैली हेर्दा पनि हुन्छ । उनी गृहनगर विराटनगरमा गएर आफूले बोल्नुपर्ने विशेष कुरा बोलिदिन्थे । जुनसुकै पार्टीका पत्रकार हुन् कोइरालासँग दंग । किनकि राजधानीका ठूला मिडियामा कोइरालाको बोली पहिलो पेजको समाचार बन्थ्यो । दैनिक पत्रिकाहरुमा बाइलाइन पहिलो पृष्ठमा पाउन जिल्लाका पत्रकारसाथीहरुलाई विशेष घटना नै भइदिनुपर्ने बाध्यता हुन्छ । तर, कोइराला गएर बोल्दिएपछि सजिलै भइ नै हाल्थ्यो । कोइरालाको बेबी किङ्ग प्रसंग देखि थुप्रै विषय विराटनगरमै उत्पत्ति भएका हुन् । कोइराला त्यति सम्म विचार गरेर विराटनगर जान्थे । आफ्नो निर्वाचन क्षेत्रका सबै पत्रकार दंग भएपछि त्यसले स्वतः सकारात्मक प्रभाव पार्ने गरेको थियो ।

गिरिजाप्रसाद कोइरालालाई बाहिर कडा भनिन्थ्यो । तर, उनी गजबकै मिडिया फ्रेन्डली थिए । मिडियाले आफूले भने झैं गरेन भने पनि असहिष्णु थिएनन् । सन् २००१ को अक्टुबर २२ मा माओवादीले दाङ्गस्थित सैनिक व्यारेकमा राति आक्रमण गरेको थियो । आक्रमणमा परेर १ मेजरसहित १४ सैनिक र ७ माओवादी मारिएका थिए । थुप्रै हतियार लुटिएका थिए । सैनिक क्याम्पमै माओवादीले धावा बोलेपछि भोलिपल्ट मुलुकमा हल्लीखल्ली मच्चियो । प्रधानमन्त्री कोइरालाले पुत्री सुजाताको मण्डिखाटारस्थित निवासमा केही सम्पादकहरुलाई बोलाएका थिए । पंतिकार पनि आफ्नो सम्पादकको पछि लागेर त्यहाँ पुगेको थियो । गिरिजाबाबुले ‘अफ दि रेकर्ड’ भन्दै थुप्रै संवेदनशील कुरा गरे । अफ दि रेकर्ड भनिएकोले अरु कसैले लेखेनन् । तर एक जना बरीष्ठ दाइ सम्पादक भएको पत्रिकाले चाहिं ‘गिरिजाबाबुका अफ दि रेकर्ड कुरा’ भन्ने शीर्षकमा पहिलो पेजको मेन स्टोरी बनायो । भोलिपल्ट समाचारकै सिलसिलामा गिरिजाप्रसादसँग पंतिकारको भेट भएको थियो । अफ दि रेकर्डको पनि समाचार बनाए भनेर रिसाउँछन् कि भनेको त नहाल्नु भनेको हालेछन् है भन्दै मुस्कुराएको देखियो । रिसाएको देखिएन ।

अहिलेकाको पारा

तर, अहिलेका हुस्सु नेताहरुको मिडिया ‘डिलिङ्ग’ हावादारी लाग्छ । देउवा सरकारले यसपालि पनि एउटा निकै महत्वपूर्ण काम गरेको हो । त्यो भनेको यति महत्वपूर्ण निर्वाचन पार लगाएर मुलुकलाई संक्रमणकालबाट जोगाउनु चानचुने कुरा थिएन । तर, त्यसलाई प्रचारप्रसार गरेर आफ्नो पक्षमा पार्न समेत जानेन । अर्थात् अरुले पिठो बेचे, कांग्रेसले चामल बेच्न पनि जानेन । सबै कांग्रेसी एकमुष्ट रुपमा चुनावमा पनि लागेनन् । अन्तर्घात गर्नेलाई कारवाही पनि गरेको देखिएन । मतदानको दिन ‘आ… के भोट हाल्न जानू ’भन्दै तास खेलेर समय गुजार्ने कार्यकर्ता समेत पंतिकारले देखेको छ । सामाजिक सञ्जाल कांग्रेसको पक्षमा मौन देखियो, बरु गाली थुप्रै थिए ।

कांग्रेस नेताहरु यति हुस्सु भइदिए कि आफूले गरेको राम्रो काम समेत भन्न नसक्ने । बरु ज्योतिषीले प्रधानमन्त्री बनाइदिने भनेको कुरा भन्दै हिंडेको देखियो । दोस्रो र तेस्रो पार्टी मिल्दा कांग्रेसलाई अप्ठेरो अवस्था पर्नु ठूलो कुरा नै होइन । तर, समानुपातिकको मत हेर्दा यो अवस्थामा पनि कांग्रेसको मत पहिलाको भन्दा खासै घटेको नदेखिनु आश्चर्य लाग्ने कुरा छ । अलिकति मेहनेत गरेको भए के हुने रहेछ आफैं अनुमान गर्न सकिन्छ ।

अबको भूमिका

नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि पुनर्गठित दलका नेताहरुले अहिले कांग्रेसलाई लल्कारी रहेका छन् । त्यसरी लल्कार्नु स्वयं सत्तापक्षकै लागि पनि राम्रो होइन । किनकि त्यसले अन्तर्राष्टिय जगतमा समेत प्रश्न उब्जाउन सक्छ । तथापि कांग्रेसलाई अब आमूल परिवर्तन गर्नैपर्ने बाध्यता भने आइपरेको छ । संसदीय प्रजातन्त्र भएको मुलुकको मान्यता भनेको देशमा बलियो विपक्षी भएमा नै स्वतन्त्रता जोगिन्छ भन्ने हो । कांग्रेस अहिले संख्यात्मक हिसाबले बलियो नभएपनि नीतिगत रुपमा बलियो ढंगले प्रस्तुत हुने हो भने ५ जना सांसदले पनि जनताको मन जित्न सक्ने कुरालाई नजर अन्दाज गर्न सकिदैन । सैद्धान्तिक रुपमा भन्दा विपक्षले सरकारले गरेका गलत काम पत्ता लगाउँछ । संशोधन प्रस्ताव गर्छ । जनताको अवधारणाको प्रतिनिधित्व गर्छ । कांग्रेसले यसो गर्न सकेको छ त ? जवाफ हुन्छ, छैन । केही अघि सिन्डिकेट प्रकरणमा चिप्लिसकेको छ । अब त्यस्तो नहुन कांग्रेसले व्यापक गृहकार्य गर्न जरुरी छ ।

एक पश्चिमा राजनीति विज्ञका  अनुसार सत्तापक्षले विपक्षलाई उकालो चढ्दाको गाडीको ब्रेक संझन्छ रे । र विपक्षीले भने सो गाडी ओरालो लागेको सोच्छ रे । बेलायती सांसद क्विन्टिन हगले एक पटक भनेका थिए– विपक्षी संगठित रुपमा अघि बढेन भने मुलुक चलाउन गाह्रो हुन्छ । विपक्षीको अनुपस्थिति भयो भने त्यहाँ तानाशाहीतन्त्र आउन धेरै लामो खुड्किलो पार गर्नु पर्दैन । विपक्षीले कुनै कुराको विरोध कारण बिना गर्न सक्दैन ।

अनि अर्को भनाई पनि छ –बलियो विपक्षीले जनतालाई चंगा बनाउँछ रे । जो हावाको दवाव र छेकावटका बावजुद माथि उड्न सक्छ अर्थात् जनतालाई बलियो बनाउँछ । कांग्रेस अब त्यतातर्फ लागौं । सातो गएको बिरामी जस्तो नगरौं । केही बिग्रेको छैन । चुनावमा हारजीत ठूलो कुरा होइन । संविधानसभाको पहिलो निर्वाचनमा नसोचेको विजय पाएका एक नेताले हौसिएर अरुलाई होच्याउँदै हरुवा पनि भनेकै हुन् । दोस्रो निर्वाचनमा लज्जाजनक अवस्था भएपछि उनले रियलाइज गरेको हामीले देखेकै हौं । त्यसैले कांग्रेस आत्तिहाल्नुपर्ने अवस्था होइन । तर, शैली बदल्नु जरुरी छ ।

अब खराब अनुभवलाई छोड ।  राम्रा अनुभव लेऊ, नराम्रा डस्टबीनमा फाल । अनि सत्तापक्षलाई खबरदारी गर्दै देशको समृद्धिमा योगदान पुर्याऊ ।

मुलुकले स्थिरता खोजेको छ । त्यसका लागि स्थिर सरकार बनेको छ । त्यो राम्रो हो । जसको भएपनि स्थिर सरकार जनताको चाहना हो । तर, प्रारम्भमा सत्तापक्षमा केही अहम् देखिएको छ । अहिलेलाई आशा गरौं त्यसमा सुधार हुनेछ । सत्तापक्ष बलियो भएजस्तै विपक्ष पनि संख्या सानै किन नहोस् परिपक्व र नीतिगत रुपमा बलियो रुपमा प्रस्तुत हुन जरुरी छ । जनताले आफ्नो आवाज मुखरित गर्न सत्तापक्षको भन्दा बढी विपक्षीको मुख ताकेका हुन्छन् । सत्तापक्ष मुलुकको समृद्धिका लागि बलियो ढंगले लाग्ने र विपक्षीपनि बलियो ढंगले प्रस्तुत हुने हो र ती दुवै बलियाबीचको सकारात्मक प्रतिस्पर्धा मुलुक निर्माणको पक्षमा रुपान्तरित हुने हो भने हाम्रो देशलाई काँचुली फेर्न धेरै समय पर्खनु पर्दैन । सच्चिन र कार्यशैली फेर्न अब ढीला नगरौं ।

  • sabai laai vnne, chetana vyo vhne

    अरुलाई बिगार्न भनेर , प्याच नबोल। पहिला हामीले पनि भन्ने , ‘ उमेर नपुगे कपाल फुल्छ ” ? भन्नि। अहिले मेरो भतिजो 28 बर्ष लागेयो , कपाल फुलेर ” तिल चामल जस्तो ” भइसकेछ। तेहि भएर नराम्रो नभन्ने। कपाल फुलेयो त फुलेयो , सबैले देखेकै हो , के नौलो हो र ? कपाल फूलने , सरुवा पनि हैना खतरनाक पनि हैना .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Paisaa Samvav cha

    पत्रकार मित्रहरु , कत्ति कुरोहरु भन्नै पर्छ , नभनी हुदैन। यो सबैतिर भन्नु होला :- नेपालमा अझै पनि दुध नपुगेको भन्नि सुनियो। के नेपालको सबै तीर ( पूर्व पश्चिम उत्तर दक्षिण ) दुधले पुग्छ त ? त्यसैले अझै पनि गाई पालनमा सुन्दर भबिस्य छ । (१) गाईपालन भैसिपालन , हामी नेपालीले गरी आएको , चिने जानेको काम पनि हो। सिकन चाहि पर्छ , तर , धेरै सिकन पनि पर्दैन। (२) भैईपरी आउदा , सबैले गर्न सकिने। तेहि भएर , दुधको लागि गाईपालन ,भैसिपालन ब्यबसाय गरौ , पैसा पनि हुने। ( 3) गाईपालन ,भैसिपालन ब्यबसाय गरौ , पैसा पनि हुने :- गाउँ , शहर , सबैलाई चाहिने। (४) हिमाल पहाड़ तराई सबै तीर सम्भब :- देश नर्वे, नेपालको हिमाली एरिया भन्दा चिसो ठाउँ हो तर त्यहां पनि दुधको लागि गाईपालन , मासुको लागि भेडा पालन गरिन्छ। नेपालको सबै ठाउमा सम्भब छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing