कसरि डा गोविन्द केसीनै माफियाका एजेन्ट ?

  • सुमन बराल

डा. गोबिन्द केसीमाथिका टिप्पणी अनेक छन् । कतिपयले डा केसी कांग्रेसी हुन । उनी सत्तारुण दल नेकपा बिरोधी हुन् । सिन्डिकेटधारी माफियाहरुको एजेन्ट हुन् । नेपालबाट चिकित्सा शास्त्र पढ्न बिधार्थी पठाएर अर्बौ रकम बिदेश पठाउने गिरोहसँग उनको मिलेमतो छ भन्ने जस्ता आरोप लगाउने गरेका छन् । कतिपयले त उनलाई पागलसम्म भनेका छन । को हुन् त केसी ?

डा. केसी कांग्रेस, एमाले, माओबादी, राजावादी, विवेकशील अथवा जे सुकै हुउन्, त्यो आम चासोको विषय भएन । उनले उठाएको मुद्दा ठीक छ कि छैन भन्ने मुख्य प्रश्न हो । कुनैपनि देशले आफ्नो नागरिकको मौलिक हक, त्यसमाथि पनि स्वास्थ्य सेवाको त सुनिस्चितता गर्नैपर्छ । नागरिकले दुई छाक भात दुःख गरेर वा मागेर पनि खालान् । पढ्नपनि दुःख सुख पढ्लान् । वा अनपढ्नै बस्लान् । तर रोगको उपचार त आफैं गर्न सक्दैनन् । कि त गरिवलाई महँगो रोग लाग्ने बित्तिकै गोली ठोक्ने कानुन बनाउनु पर्यो सरकारले ।

नेपालको संविधानले नेता र तिनकी श्रीमतिको मात्रै स्वास्थ्य सेवा त्यो पनि विदेशमा पाउने अधिकारको ग्यारेन्टी गरेको होइन । की त सरकारले सबै नागरिकलाई लाखौं खर्चेर उपचार गराउन सक्नेगरी सम्पन्न बनाउनुपर्यो । अथवा कम शुल्कमा स्वास्थ्य सेवा दिनुपर्यो । राजधर्म निभाउन समेत सक्दैनन् भने राजनीतिबाट सन्यास लिएर आफ्नो योग्यता बमोजिमको काम गर्नुपर्छ सरकार सन्चालकहरुले ।

केसीको “सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ” भन्ने मुख्य मागमा मेरो पूर्ण समर्थन छ । बाँकी केही कुरा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएपनि मेरो पूर्ण सहमति छैन । जस्तै, कहाँ अनि कति मेडिकल कलेज खोल्ने । कति विद्यार्थी पढाउने, कसरी र कहाँ पढाउने । कसलाई न्यायधिस बनाउने । कसलाई संस्थान प्रमुख बनाउने । कस्तो स्वास्थ्य नीति बनाउने लगायतको कुरा निर्वािर्चत सरकार र उनीहरूले खडा गरेको संयन्त्रले गर्ने हो । अर्थात, नेपाल वा विदेशमा, गाउँ वा सहर ल्याएर, नेपाली वा विदेशी चिकित्सकबाट उपचार गराउने भन्ने सरकारको कुरा हो । उपचार विहिन बनाएर कुनैपनि नागरिक मार्न पाइँदैन । सरकारले गलत निर्णय गर्यो भने जनता संग सधै तीन विकल्प रहन्छन् ।

१- चुनावबाट दण्डित गर्ने अनि इमान्दार नेतृत्वलाई सत्तामा पुर्याउने

२- लाखौं जनता सडकमा ओर्लिने, नयाँ सरकार र नयाँ चुनावका लागि ।

३- मृत समान जनता भएर भ्रष्ट र नालायकहरुको ताण्डव नृत्यको मनोरञ्जन लिने, चुनाव अघिसम्म तिनैलाई सराप्ने अनि चुनावमा आँखा चिम्लेर तिनकै झण्डा बोकेर कुद्ने ।

गृहमन्त्री बादलले डा. केसीलाई भनेछन् , “ के यो अनसन बस्ने बेला हो ? के यो सरकार दलाल र राष्ट्रघाती हरुको हो ?” यो प्रश्न आफैमाथि बादलले सोध्नु पर्छ । के तपाइको ‘१७ हजार भन्दाबढिले ज्यान गुमाएको १० वर्षको द्वन्द’ नेता र उनीहरूको श्रीमतीलाई राष्ट्रको ढुकुटी दोहन गरेर विदेशमा उपचार गराउन अनि गरीब जनता मृत्यु कुरेर, आत्माहत्या गरेर बस्ने स्थिति कायम राख्नकै लागि थियो ? तपाइ गरिबकालागि लड्नु भयो की माफियाहरुको लागि ? यो प्रश्नको जवाफ खोज्नुस गृहमन्त्री ज्यु । बेइमान हुनुहुन्छ भने कसैको केही लाग्दैन । इमानदार हुनुहुन्छ भने लज्जित हुनुहुने छ ।

राज्यले स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने संबैधानिक हकनै गलत छ । पैसा हुनेले उपचार गर्छन् र नहुने मर्छन भन्ने गृहमन्त्रीको मान्यता हो भने त केहि भन्न सकिँदैन । केवल कामना गर्छु, हजुर अनि हजुरको घर, परिवार, आफन्तमा कसैलाई पनि उपचार गर्दा महँगो खर्च लाग्ने रोग नलागोस । लागिहालेपनि हजुर सदस्य भएको नाताले, पार्टीले उपचार गरिदियोस ।

कि केसीले अब भ्रष्ट र नालायक नेता बिरुद्द हतियार उठाउनुपर्छ, शान्तिपूर्ण आन्दोलनले दुई तिहाई बहुमतको सरकार गल्दैन भन्ने आशय हो ? प्रश्न नेपालमा किन द्वन्द भयो भन्ने होइन । प्रश्न जसका लागि द्वन्द गरियो भनियो । तिनको अवस्था र अहिले नेताको अवस्था समान छ ? हिजो झापा आन्दोलानको नाममा सामन्ती भन्दै टाउको काटेर हिढ्नेहरु आज नवसामन्ती बनेका छन् कि छैनन् ? हिजो गरिवको लागि जनयुद्ध भन्नेहरुनै गरिवको रगत पसिना चुसेर विदेश उपचार गराउन, बिशिष्ठका नाममा तलब सुबिधा लिदै छन् कि छैनन् ? नेताहरु राजनीतिमा आउनु अघि र अहिलेको सम्पत्तिमा तालमेल छ कि छैन ? उनीहरुको जीवन स्तरको बैधानिक स्रोत के हो ?  जबाफ कसले दिने ?

कतिपयले ‘यसरी एउटा ब्याक्तिले अन्सन बस्दैमा सरकारले सबै कुरा मान्दै गए देश कहाँ पुग्ला ? सबै जना बिधिको सासनले चल्नु पर्दैन ?’ भन्ने गरेका छन । बिडम्बना उनीहरुको विधिको सासनमा सरकारले स्वास्थ्य सेवाको ग्यारेन्टी पर्दैन । बन्दुक उठाउनुभन्दा शान्तिपूर्ण आन्दोलन सही विकल्प हो भन्ने उनीहरुको मस्तिस्कले सोच्न समेत सक्दैन । घर गृहस्थ, बैंक ब्यालेन्स नभएका अनि दुखी र बिपन्नको सेवामा अहोरात्र खट्ने अविवाहित केसीको सबै ‘जनताको स्वास्थ्य सेवा पाउनुपर्ने’ मागमा अलिकति पनि बेइमानी, स्वार्थ छैन । डाक्टर केसी जस्ता इमान र नैतिक बल भएको मानिस बिरलै जन्मिन्छन । के हामीले त्यो कुरा मनन गरेका छौ ? कि तपाइ हामीलाई रोग लाग्दैन ?

सर्वहारा जनताका कथित कम्निस्ट नेताहरु । तिनीहरू राष्ट्रको ढुकुटी दोहन गरेर विदेश उपचार गर्न जान्छौ । दुतावासमा लम्पसार परेर सन्तानलाई छात्रवृत्ति दिलाउँछौ । हुँदा खाने नागरिकले के गर्ने ? महँगो रोग लागे के गर्ने भन्ने प्रश्न मनन गरौं !  निरिह, लाचार महसुस हुन्छ कहिलेकाहीँ । खै यो कुरा हामी नेपाली जनतासँग मनन गर्नसक्ने चेतना स्तर नभएको हो वा गरिबीका कारण यतातिर सोच्ने फुर्सद नैं नभएको हो । की साँच्चै नेपाली जनता भन्दा विवेक बेचेका कार्यकर्ता धेरै नै छन् ? एक दिनदेखि एक महिनामा हाम्रो देशमा धेरै थोक गर्न सकिन्छ, इमान हुने नेता सत्तामा हुने हो भने । जाबो स्वास्थ्य सेवाको ग्यारेन्टी गर्नु भनेको आणबिक हतियार बनाउनु जस्तो कठिन काम होइन । आम्दानी अनुशुन्य देखि ६० प्रतिशतसम्म आयकर लिने अनि स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न इमान भएको सरकारलाइ दुइ दिन पनि लाग्दैन । तर खै कहिले ?

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले केहि दिन अघि डा. गोविन्द केसी र नागरिकको गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवामा पहुँचबारे मार्मिक कुरा राख्नुभएको थियो । स्वास्थ्य क्षेत्र मात्रै होइन, सबैतिर भ्रष्ट र माफियाको दबदबा छ । यो तोड्न अनसन, भाषण पर्याप्त छैन । नागरिक सचेत बनाउन र राजनीतिबाटै सत्तासम्म पुग्ने निर्विकल्प बाटो रोज्न अब ढिला गर्नुहुँदैन । डा. केसी, सुशीला कार्की लगायतले अब गुमाउनु केही पनि छैन । तसर्थ वहाँहरुसँग राजनीतिमा होमिनुको विकल्प छैन ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing