आँशुको २० वर्ष

  • ईश्वर देवकोटा

          (लेखकका पिता गुणनिधि देवकोटा)

आजभन्दा ठीक २० वर्ष अगाडि, २०५५ साल असार २४ गते तत्कालीन गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारी, डी एस पी पशुपति उपाध्याय (उनी अहिले एआइजी पदमा छन्) घ्याम्पेसाल प्रहरी चौकीका इन्चार्ज आनन्द मरहट्टा थिए । राज्यको नेतृत्वमा नेपाली कांग्रेस नेता (स्व.) गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । राज्यविरुद्ध युद्धको घोषणा गर्ने तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थिए ।

बुबा गुणनिधि देवकोटा सूर्यज्योति माध्यमिक विद्यालय, ताकु(कोट),पाल्खुमा स्थायी शिक्षक हुनुहुन्थ्यो । दिउँसो हामी सपरिवार रोपाईमा थियौं । बेलुकीको खाना खाएर करिब नौ बजे हामी सबै सुतिसकेका थियौं । ९:३० बजे घरको मुलढोका तोडेर २०५५ साल असार २४ गते राती एक हुल साक्षात सरकारी बर्दीधारी प्रहरी घरभित्र एकतला माथि सपरिवार सुतिरहेको ओच्छ्यानमा पुग्यो । केहीबेर कुरा गर्नु छ भनेर बुबालाई ओछ्यानबाट उठाए । आमाले सलाई कोरेर बत्ति बाल्ने प्रायस गरिरहदा फु गरेर पटक पटक प्रहरीले बत्ति निभायो । प्रहरीले मधुरो टर्च बुबाको अनुहारमा पर्नेगरि बाल्यो ।

एकदमै हतार गरि बुवालाई हातमा समातेर ओछ्यानबाट भर्यांङ्ग तर्फ डोर्यायो । आमाले “कहाँ लागेको ? भनेर सोध्नु भयो । “केहिबेर कुरा गर्नुछ, एकछिन हामीसँग हिँड” भन्ने घ्याम्पेसाल प्रहरी चौकीका इन्चार्ज आनन्द मरहट्टा थिए । बुबाले सायद अब छोड्दैन भन्ने सम्झिनु भएको हुनपर्छ “मलाई कपडा फेर्न दिनुस्” भन्नुभयो । भर्‍याङ नओर्ली बुबा आफ्नो कपडा झुन्डिएको दलान तर्फ लाग्न्नुभयो । आमालाई दलान तर्फ जान रोक्यो । म बुबाको पछि पछी थिएँ ।

पूर्णिमाको जुन मधुरो थियो । दलानबाट आगनमा काला मान्छेहरुको ओहोरोदोहोर थियो । घरको पूर्वपट्टी नजिकै रहेको धन्सारको बरन्डामा उक्लने सिढीमा २ जना काला मान्छे थिए । बरण्डाको छेवैमा सेतो देखिने पोशाकमा एउटा अर्को मान्छे थियो । सेतो मान्छे बरण्डाबाट हामफाल्यो र ओझेल पर्यो । पानी रोकिएको थिएन । बुबाले सेतो चेक सर्ट, ढाकाको टोपी र कालो पाइन्ट लगाउनु भयो । बुबा भर्यांग झर्दै गर्दा समेत सर्टको टाँक लगाइसक्नु भएकै थिएन । बुबालाई घरबाट निकालेर लैजाँदा बिरामी हजुरबुवा, बहिनि सुनिता र भाई दिवस निदाईनैरहेका थिए ।

आमाले बुबालाई आँगनमा झारेपछी छाता दिनुभयो । छाता एउटा पुलिसले खोसेर आफैं लियो । आमा बुबालाई लगेको बाटो तिर पछिपछि जानुभयो । केहीबेरमा नै आमा हतासिँदै घर फर्किनुभयो । “मलाई बाटो छेक्यो । जान दिएन । बुबालाई कुन बाटो लग्यो मैले देखिन” भन्दै हजुरबुवा र म बसिरहेको ओछ्यानमा पुग्नुभयो । तत्कालै आमाले बुवाको केहि कपडा झोलामा हालेर घरबाट फेरी निस्कनु भयो । हप्तौंदेखि बिरामी पर्नुभएको हजुरबुवा रुनु भएको पहिलो पटक देखें । त्योपनि निकै बेर । बुबालाई घरबाट लगिएको आधा घण्टा नबित्दै तीन पटक बन्दुक पड्किएको आवाज आयो ।

बन्दुक पड्किएको आवाजलाई हामीले वास्ता गरेनौं । झमझम पानी परिरहेको थियो । आमा बुबालाई खोज्दै तिनको बधशाला घ्याम्पेसाल पुग्नु भयो । ‘मेरो श्रीमान कहाँ लगिस’ भनेर प्रश्न गर्दा उत्तर दिएनन् । दिउन पनि कसरी !! बुवालाई बाटोमानै ति राक्षेसहरुले खाइसकेका रहेछन । भोलिपल्ट आसर २५ गते मध्य दिनमा बुवाको निस्प्राण शरीर खोलामा भेटियो । प्रहरीले हतियारधारी जत्थाले गोलिहानी मारेको भन्ने कागज तयार पार्यो । शव पोस्टमार्टम गर्न समेत रोक्यो ।

रगतले लतपतिएका तिनका घृणित अनुहारमा छर्लंग दानव स्वरूप अझै पनि देख्छु म । पिपासुहरुले ०५२ सालदेखि हजारौंको रगत पिए फरक फरक स्वरूप अवतारमा । रगतले अघाएका पिपासुहरु ढाडीँदै गएपछि विचार, सिद्दान्त अनि न्यायका ढोका साँघुरो हुँदै गयो । अहिले पूर्णत: कथित न्यायका ढोकाहरु बन्द गरिएका छन् । उनका दरबार ठडिँदा हामी उजाडीसकेका थियौं । दुनियाँले सहिदका सपना भजाउन जानेका छन् त्यत्ति हो । कयौं “गुणनिधि देवकोटा” हरुका सन्तानलाई जघन्य हत्यामा प्रत्यक्ष मुछिएका यिनीहरुले जवाफ दिनु पर्दैन ?? हामी युगौंयुग जवाफ खोजिरहने छौं न्यायका निम्ति ।

(स्रोत – इश्वर देवकोटाको फेसबूक)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing