म चिनी

  • गोपीचन्द्र कार्की

जहाँ गुलियो त्यहाँ भुलियो भन्ने उखानै छ । गुलियो बनेर सबैलाई भुलाउने म चिनी हुँ । मलाई मन नपराउने यो संसारमा को होलान् ? बुढावुढी युवायुवति, अझ केटाकेटीहरू त म भने पछि हुरूक्कै हुन्छन् । म विना चाडपर्व, भोजभत्तेर खल्लो हुन सक्छ । मैले राज नगरेकोे भान्छा तपाइले बिरलै देख्नु भएको होला । सबैको भान्छामा गृहिनीको प्यारो भएर म र मेरो साथी नुन सिसी, वटृा जस्ता भाँडामा आनन्दसँग बसेका हुन्छौँ ।

मलाई दिनमै तीन चार पटक बिहान, दिउँसो बेलुका अझ साथीभाइ पाहुनापासा आउँदा मेरै खोजी हुन्छु । म बिना पाहुनाको स्वागत गर्ने सेतो कालो चिया कफी नै बन्दैन । नेपालीको चिया खाने बानी औधी छ । त्यसैले हिजोआज जसलाई भेटेपनि हामी सोधीहाल्छौ ‘चिया खानु भयो ?’ चियामा ट्वाक्क म मिल्न पाइन भने तपाइलाई चिया खाएजस्तै लाग्दैन । मलाई कति मन पराउँछन् भन्ने कुरा तपाई यसैवाट पनि थाहा पाउनु हुन्छ। सरदर नेपालीले १ वर्षमा ११ किलो जति मलाई उपभोग गर्छन् (५ किलो विशुद्ध म र ६ किलो अन्य गुलियो पदार्थबाट) । प्रत्येक नेपालीले १ दिनमा ३० ग्राम भन्दा वढी मलाई खाएकै हुन्छन् । तर जान्ने बुझ्नेहरु भन्छन् मलाई दैनिक २ वा ३ ग्राम भन्दा वढी नखानु (डब्लुएचओ को भनाइमा) बेस ।

तपाइलाई थाहा नै छ तपाइले खाएका सबै कुराबाट शरीरमा म ग्लुकोज बन्छु र शरीरका हरेक पार्ट पुर्जालाई चलाउँछु । तपाइले खानु भएको छिटो पच्ने खानाले मलाई ह्वात्तै बढ्न मद्त गर्दछ । यदि तपाई ढिलो पच्ने जस्तै कोदो मकै फापर आदि खानु भयो भने मेरो मात्रा पनि अलि कमै हुन्छ । अझ जति धेरै जङकफुडहरू खानुहुन्छ म र मेरो साथी नुन नै वढी लिनु भएको हुन्छ । म भान्छा देखि होटेल, मिठाइ पसलहरूमा सजिने बस्तु भित्र अन्तरनिहित छु । सबैको मनपर्ने प्यारो भए पनि म र मेरो साथीलाई आवश्यकता भन्दा वढी खानेवानी बसाल्नु भयो भने तपाइलाई हानी पुग्छ । तपाइलाई हानि पुगेको मलाई राम्रो लाग्दैन ।

जुनसुकै भोजभतेर, पार्टीमा जानुस् मेरो साथी नुन र अर्को साथी चिल्लोको परिकार तपाइले टन्न खाएपछि पनि अन्तमा सलाद खाने भनेर मलाई नै तपाई खोजी खोजी खाइदिनु हुन्छ । अझ पार्टीमा गएका बेला आफनो स्वास्थको ख्यालै नगरी कोक जस्ता पेय पदार्थ मौका यही हो भनेर पटक पटक खाइदिनु हुन्छ । भोज भत्तेरमा पुग्नुस् वा होटलहरुमा खाजा खान पस्नुस् म त्यहाँ कोही न कोहीसँग मिसिएरै वसेको हुन्छु । होटेल, रेष्टुराँबाट निस्कदा पनि तपाई मलाई सुपसँग ,पानसँग स्वाद मानिमानि खाइदिनु हुन्छ । पहिले मिठाई भनेको जेरी, हलुवा, पेँडा यस्तै हुन्थे । अहिले त मिठाइका नाममा हजारौ परिकार बन्न थाले । म त्यहाँ वस्न पाउँदा आफैलाई वडो भाग्यमानि सँझन्छु । सबैका खुसियालीमा मुख मिठा गर्ने भनेर म नै अगाडि सर्न पाउँदा म आफना पिता पुर्खालाई पनि धन्य ठान्छु । चाडपर्वमा तपाई मबाटै धेरै परिकार बनाउनु हुन्छ अनि स्वाद मानिमानि चाख्न थाल्दा मेरो उपस्थिति तपाइको शरीरमा धेरै हुन्छ ।

पहिले पहिले ठूला चाडमामात्र मिठाइ प्रयोग हुन्थ्यो । अचेल त जुनसुकै खुसियालीमा पनि म लुकेको मिठाइ बाँडिन्छ । दूध दही, फलफूलमा प्रकृतिलेनै मानिसलाई पुग्ने गुलियो दिएको छ, तर तपाई एक दुइ चम्चा मलाई नहाली खानु हुन्न । त्यतिवेला मेरो नाक पनि घिरौला जत्रो हुन्छ । मेरो उपस्थितिमा स्वाद मानी मानी खाइदिनु भएको, मलाई मनपराइ दिनु भएकोमा म पनि दंग पर्छु । अझ नानी बाबुहरुले दुध, खाना नखाँदा मलाई हालेर खुवाउने बानी तपाइले नै सानै देखि लगाउनु भएको हो । अनि मेरो स्वाद पाएपछि नानी बाबुहरू मलाइनै खोज्नु स्वभाविकै हो ।

मेरो जन्म इशापूर्व ५०० तिर भारतमा भएको भनिन्छ । पहिले पहिले म अहिलेको जस्तो यति सफा सुग्घरी थिइन रे । मेरा पिता पुर्खा त उखु वा गन्नानै त हुन् । उखुका लाँक्रा पेलेर मलाई खुदो निकाल्थे । खुदो जमाएर सखर वनाउँथे । त्यतिवेला म अलि कालो कालो पहेलो वर्णको हुन्थे । तर अहिले त म निकै सफा सुकिलो र ज्यादै गोरो भएको छु तर प्रशोधित भएपछि म मा कुनै पोषकतत्व बाँकि रहेन । समय अनुसार मेरो साथी नून पनि अहिले माझिदै खारिदै हामी दुवै टकटकउँदा सेता भएका छौं ।

मेरो साथी नुन त जता पनि वस्थ्यो । उसलाई कसैले छुँदैनथे, चोर्दैनथे, तर मलाई भने पहिले देखिनै अतिनै हिफाजत साथ मानिसले राख्थे । म देवताका प्रसादको रुपमा चढ्थे । मानिस गुलियोमा भुले झै देवताहरुको पनि म प्यारो छु । त्यसैले त पित्रि कार्यमा धार्मिक कार्यमा म नभै देवगणहरु पनि खुसि हँंदैनन् भन्छन् ।

आजभोली म अलि अब्जस्या पनि भएको छु । तपाइले मलाई खान नजान्दा म मधुमेहको बेथा वल्झाउने भनेर दोषि भएको छु । यस्मा मेरो कतिपनि दोष छैन । मलाई ठिक्कसँग तपाइले प्रयोग गरिदिनु भयो भने म तपाइको हितैसीनै हुन्थे । त्यसैले म के भन्छु भने तपाइकै खाने वानीसँग पनि सम्वन्धित छ मधुमेह रोग । धेरै खाने तर थोरै परिश्रम गर्ने, ब्यायाम पटक्कै नगर्ने भएपछि मोटो भइन्छ । मोटो शरीर हुनु मधुमेहको शिकारी पासोमा पर्नु हो । तर मधुमेहको शिकार भैसक्नु भएको छ भने मलाई नखानु,नसक्दा कम खानुनैै बुद्धिमानी हो है । मैले मात्र अवजस पाएको होइन मेरो साथी नून पनि भान्छामा सँगै बस्दा मलाई भन्थ्यो । ‘मानिसहरु आफना जिब्राका लहै लहैमा लागेर विभिन्न परिकार बनाएर मलाई खाइदिन्छन्, अनि नुनले उच्चरक्तचाप बढाउँछ भन्छन्, बेलै देखि मेरो प्रयोग ठिक्कसँग गरिदिएको भए, आरामसँगै परिश्रम पनि गरिदिएको भए मैले कहाँ रक्तचाप वढाउँथे र’ ।

मेरो साथी नुनले हाम्रो तन्तु र स्नायुको क्रिया नियन्त्रण गर्ने भएकोले शरीरको लागि उस्को ज्यादै आवश्यक छ । तर बढी हुँदा उच्चरक्तचाप हुनसक्छ । प्रतिदिन ५ ग्राम भन्दा वढी मेरो साथी नुनलाई पनि नखानुस् । ‘मधुमेहका रोगीका रगतमा बढेको चिनी हटाउन चिराइतो, दालचिनी, करेला, बेसार, लसुन र तुलसी जस्ता पदार्थको महत्वपूर्ण भूमिका रहने कुरा मैले भान्छामा बस्दा धेरैबाट सुनेकोले तपाइलाई पनि आज सुनाएँ । मापदण्ड आफैंलाई बनाएर प्रयोग गरी हेर्नुस् न है ।

कुनैपनि रोग लाग्नुमा पहिलो कारण तपाइले खानपान तथा आफनो जीवनशैलीमा ध्यान नपुर्‍याउनु नै हो । रोग लागिसकेपछि उपचार गर्नेभन्दा रोग नै लाग्न नदिन हाम्रा बानी ब्यहोरामा सुधार गर्नु र आहार बिहार र बिचारमा हरेक मानिसले ध्यान दिनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing