मान्छेमात्र होइन, देशै विरामी

-रमेश गौतमपाल्पाली“/काठमाडौ

Ramesh-Gautam-palpali-0231धुम्बाराही, शिवस्थलीमा क्रियापुत्रीहरूको सुविधाकोलागि शौचालय र स्नानगृह निर्माणको काम भइरहेको छ । कामदारहरूले के कसरी काम गरिरहेका छन् ! भनेर हेर्नको लागि घरबाट निस्केको थिएँ । बाटोमा एकजना पूर्व परिचित गफाडी मित्र भेटिए । हाम्रो रीतिरिवाज, धर्म संस्कृति र परम्परा अनुसार बन्धुबान्धव, इष्टमित्रहरू भेट भएपछि बोलिने पहिलो वाक्य हो-”के छ ?, यहाँलाई आरामै छ ?, घरपरिवार सबैमा सुखशान्ति छ होला के रे !” मैले पनि रेडिमेट त्यही वाक्य दोहोर्‍याएँ र आफ्नो कर्तव्य पूरा गरेँ । मित्रबाट पनि त्यस्तै प्रश्न आउँछ होला भनेर उत्तर दिनको लागि तयार भएर उनको मुखमण्डलमा हेरेर बसेँ । मित्रबाट आज त्यस्तो बनिबनाउ उत्तर होइन कि अर्कै उत्तर आयो । “कहाँ आराम हुनु ! देशै विरामी भएको बेलामा हामी नेपालीलाई कसरी आराम हुने ? आराम हुन त तनमात्र स्वस्थ भएर कहाँ हुन्छ र ? मन पनि स्वस्थ हुनुपर्छ ।” भनेर उनी आफ्नो बाटो लागे म शिवस्थलीतिर झरेँ ।

मित्रको भनाईले मलाई शल्यक्रियाका विशेषज्ञ सुश्रुतको तलको स्लोकको संझना भयो-

“समदोषः समाग्निश्च समधातुमलक्रियाः ।

प्रसन्नात्मेन्द्रियमनः स्वस्थ इत्यभिधीयते ।।”

यसको आसय के भने जसका दोष -आयुर्वेदमा दोष भनेर वात, पित्त र कफ यी तीनलाई भनिन्छ (सम -ठीक) हालतमा छन्, जसको अग्नि (खाएको पचाउने जठराग्नि) ठीक छ, रस रक्तादि आठ धातुहरूको निर्माण र पोषणका साथ मलमूत्रादिको निष्कासन प्रक्रिया जसका ठीक समयमा र मात्रामा हुन्छन्, अनि आत्मा, इन्द्रिय र मन जसको स्वस्थ छ त्यही व्यक्ति स्वस्थ हो । अर्थात् त्यही व्यक्तिलाई आराम भएको मान्न सकिन्छ । तर आज हाम्रो अवस्था हेर्दा शारीरिक सञ्चो भए पनि आत्मा र मन स्वस्थ भएको व्यक्ति त ०.००१ प्रतिशत पनि पाउन सकिन्न होला । मित्रको भनाइमा शतप्रतिशत होइन कि एक सय एक प्रतिशत सहमत हुन करैलाग्यो ।

आज साँच्चै देश विरामी छ । देशलाई दुःखीरहेको छ । देशका हरेक अङ्गप्रत्यङ्ग पीडित छन् । थिल्थिलिएका छन् । न त यहाँ सही राजनीति छ । न त प्रशासन ठीक छ । यहाँ महिनौँ महिनौँ संसद् चल्दैन । तर ६०१ को तलब, भत्ता र आतेजाते भाडामा कमी हुँदैन । संविधान समयमा बन्ला भन्ने आशा जनताले कम लिएका छन् । त्यति भएर पनि चित्त दुःखाई भने र्सवसाधारण निमुखा जनताले नै गर्नुपर्छ । न त नेताको चित्त दुख्छ । न त नेताका झोले, हुक्के र सुसारेहरूको । आफ्नो कर्तव्य पालन नगर्ने मन्त्रीज्यूहरू आफ्नो भनाई राख्न जानुपर्‍यो भने दलबल सहित नारा जुलुस लिएर वैठकमा जानुहुन्छ । हुन त अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिन जाँदा त दलबल लिएर नारा लगाउँदै झण्डा हल्लाएर जानसक्ने मन्त्री नेताहरू भएको देशमा आफ्नै संसदीय दलको वैठकमा जाँदा नारा लगाउनु ठूलो कुरा भएन । तर ‘के जातेलाई भन्दा के जातेलाई लाज’ भनेजस्तै लाज मान्नुपर्ने भने यिनै निमुखा जनतालाई हुँदो रहेछ ।

यो देशले स्थायी सरकार कहिल्यै पाउन सकेन । दश वर्ष बाह्र थरी सरकारको अनुभव पनि यही देशले गर्नुपर्‍यो । आफ्नै दलको अत्यधिक बहुमत हुँदासमेत पूरा कार्यकाल सरकार नचलाउने नेता भएको देशमा सहमतिको सरकारबाट राजिनामा गरेर पुर्पुरो समाउने नेताको बारेमा के भन्ने ? जस्तो सरकार त्यस्तै प्रशासन । प्रशासकलाई राजनीतिको झोला बोक्न विवस गराउने सरकार सञ्चालकहरू भएपछि स्वच्छ एवं सुशासन खोज्ने जनतालाई नै वेबकुफ भन्ने हो कि ? जहाँ अस्थिर सरकार हुन्छ र कर्मचारीलाई राजनीतिको मुख ताक्नुपर्ने गराइन्छ त्यहाँ यस्तो हुनु स्वाभाविकै पनि हो । त्यसैले सरकारलाई राजस्व बुझाउन जाँदा पनि मुख्य रीत पुर्र्याउनुपर्छ । होइन भने लाइनमा बस्नुपर्छ, पालो कहिले आउँछ वा हाकिम साहबको दया कहिले आउँछ र काम बन्छ । चाहे लाइसेन्स नवीकरण गर्न जानुस्, चाहे कर बुझाउन जानुस् । हालत उही हो । नामसारी गर्ने, मोठ भिड्याउने आदि काम त जनताका आफ्नै हुन्, यस्तो कामको त कुरै भएन । या त आफ्नो मान्छे हुनुपर्छ या त चलनचल्तिको काम गर्नुपर्छ । अन्यथा काम गर्न मुस्किलै पर्छ । यदि समय अनुसार चल्नसक्ने हो भने घरै बसेर लाइसेन्स लिन पनि सक्नुहुन्छ । लिएकै छन् धेरैले । भन्न खोजेको कुरा सबैले बुझनुभए नै होला । यसो हुनुमा कर्मचारीको मात्र दोष छैन । राजनैतिक चरित्रको हात बढी हुन्छ यस्ता कुरामा । फेरि यस्तो अवस्था वर्तमान सरकारको पालामा मात्र भएको भने होइन, पूर्ववर्ती सरकारहरूका पालामा पनि यस्तै थियो । साथै राजनैतिक नेतृत्वको मनोवृत्तिमा सुधार नभएसम्म प्रशासनिक सुधार हुन पनि सक्दैन ।

हामीकहाँ ‘महानगरपालिका’ छ । यसको काम कार्यवाही वा प्रशासनिक व्यवस्था अझ भिन्न किसिमको छ । त्यहाँको व्यवस्था र अवस्था जान्न समाज सेवी भएर जानुपर्छ ठेकेदार भएर होइन । त्यहाँका हाकिमदेखि कार्यालय सहकारीहरूसम्मको हप्कीदप्की र अपमान सहन नसक्ने व्यक्ति समाजसेवी हुन सक्दैन । आफ्नो पैँतीस वर्षो प्रशासनिक जीवनमा यहाँको प्रशासनिक व्यवस्था नौलो भएको लेखकलाई लागेको छ । त्यही कार्यालयमा ठेकेदारसित गरिने व्यवहार भने फरक देखिन्छ । यो कुरा पनि पाठकलाई बुझन गाहारो पर्दैन होला ?

नेपालमा सुशासन लागू गर्ने भाषणमात्र होइन अठोटसमेत प्रत्येक सरकारका प्रधानमन्त्री र मन्त्रीहरूबाट सुनिन्छ । प्रशासन सुधारका नाममा करोडौँको बजेट पनि छुट्याइन्छ । तर व्यवहारमा फरकपन भने जनताले पाएको छैन । जनताले कर तिर्छन्, त्यही करबाट मन्त्री, सांसद् र कर्मचारीको जिविका चलेको छ । सुशासनको कुरा धेरै टाडा छ । जनताले त सरकारबाट पाउनुपर्ने जिउधनको सुरक्षा समेत पाउन सकेका छैनन् । यसो हुनुमा हामीकहाँ नैतिकता र इमानदारिताको मूल्याङ्कन गर्ने परिपाटि छैन । आचार संहिता, सामुदायिक जबाफदेही र कर्तव्यप्रतिको लेखाजोखा हुने गरेको छैन । कर्मचारीले राजनैतिक नेतृत्वको दोष देखाउने राजनैतिक नेतृत्वले कर्मचारीलाई दोषी मान्ने । यी दुईको सहयोगमा प्रशासन चल्नुपथ्र्यो । तर आपसी खिचातानी, काखा र पाखा, फुट र छुटजस्ता अराजक व्यवस्थापनले प्रशासन लथालिङ्ख छ । राजनैतिक दलहरूको आपसी वैमनश्यले देशको हालत झन् खस्किँदो छ । जनताप्रति सरकारको जिम्मेवारी के हो ? र कर्मचारीको कर्तव्य के हो ? विपक्षी दलले कसका लागि काम गरिरहेको छ ? यस्ता कुरा कागजमा सीमित हुन्छन् । मूल्याङ्कन गर्ने फुर्सद कसैलाई छैन । हत्या हिंसा, लुटपाट, अपहरण, फिरौती, चन्दा सङ्कलन, सम्पत्ति जफतजस्ता क्रियाकलाप आम रूपमा हुने गरेका छन् । यस्ता अपराधहरूमा अधिकांशले राजनैतिक संरक्षण पाउने गरेको हुँदा दण्डहीनताले सीमा नाघेको छ । मान्छेको मन रोइरहेको हुन्छ र आत्माले चित्कार गरेको हुन्छ । लथालिङ्ग देशको भताभुङ्ग चाला देखेर देश साँच्चै विरामी परेको छ । यस अवस्थामा मान्छे कसरी स्वस्थ हुने ?

राजनैतिक नेतृत्व, शासक वर्ग र बुद्धिजीवीहरूले सोच्नुपर्ने भएको छ । यसरी कति दिन चलाउने हो देशलाई ? “भाइ फुटे गँवार लुटे” । भित्रबाट हामीले लुटिरहेका छौँ । बाहिरबाट अरुले लुटिरहेको छ । र्सार्वजनिक ओहदामा बस्ने र राजनैतिक नेतृत्वबाट निष्पक्ष र प्रभावकारी सेवाको अपेक्षा जनताले गरेका हुन्छन् । नेतृत्व वर्गमा मानसिक परिवर्तन नभएसम्म नयाँ नेपाल नाराले मात्र बन्दैन । जनताको न्यूनतम सेवासुविधा पनि दिन नसक्ने नेतृत्वबाट नयाँ नेपालको कल्पना असम्भव हुन्छ । राज्यको सफलताको आधार भनेको प्रशासनिक संयन्त्रको सबलीकरण र क्रियाशीलता हो । शासन प्रणालीलाई सुशासित बनाउन र्सार्वजनिक सेवालाई जनमुखी एवं सेवामुखी बनाउनु जुरुरी छ । यसको लागि दलहरूले राम्रो काम गर्न खोज्नेको खुट्टा तान्ने काम नगरौँ । नेतृत्वमा मेलमिलाप र परिवर्तनकारी सोच ल्याउँ । देशलाई अरु विरामी नगराउँ ।

 rameshgautampalpali@yahoo.com

  • som

    Ekdamai samaya saandarbhik lekh

    raamro laagyo

    [Reply]

  • Gita

    Lekh ekdam ramro lagyo tara desh birami chha tyo tapaie hami sabai lie thaha chha yesko upachar ni sabai mili garnu parcha aab yesko upachar tira lagne ho ki………………….. naya sakti ko aabsayekta mahasus bha ho ki janata lie……………. aab sochne bela sakiyo k hi garne bela aayo bhanne malie lagcha.

    Tapaie ko lekha kabita ekdam manparcha. Kirpaya bhabhisye ma ni lekhdai garnu hola.

    Dhaynebad

    [Reply]

  • -Nawaraj timsina, Rukum (haal kathmandu)

    ekdam raamro lekh

    kasto byawahaarik kuraa lekhnu bho sir le

    [Reply]

  • Rohit

    samaya saandarbhik lekh
    asaadhyai man paryo

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree