तित्राको वैरी आफ्नै मुख
तित्रो घाँसमा बस्छ । खरघारीमा लुक्छ । उ हत्त पत्त उड्दैन, दगुर्छ बुर्कुसी मारेर । त्यसैले लामा लामा घाँस र बुट्यानमा उसलाई कसैले देख्न सक्दैन। उसका वैरीनै कम हुन्छन् । तर के गर्ने ? उसको आफ्नै मुख नै वैरी भैदिन्छ। किनभने उसले एकाबिहानै उठ्नासाथ “तिन तारे तित्रिक्” भन्दै कराउन थाल्छ । अनि मान्छे देखि अन्य मांशहारी जिवसम्मले थाह पाउँछन् उ कहाँ छ भनेर। अनि कराएको ठाउँ खोज्दै गएर खुत्रुक्क पार्छन् । संबिधान सभाको निर्वाचन भएदेखि बल्झिएका देशका यावत समस्या हल गर्नको लागि बल्लतल्ल सहमती गरिएको निर्णय भाँड्न लागेर नेपाली कांग्रेसका केहि नेताले आफैं बिरुद्द, आफ्नै जनता बिरुद्द र राष्ट्रबिरुद्द आफैले वैरी कमाउन लागिरहेका छन् तित्राले झैं ।
पालै पालो सरकारमा गए हाम्रा सबै दल । संबिधान सभाको निर्वाचन भएपछिको यो छोटो समयमापनि कुनै दल सरकारमा नगएको छैन करिब करिब। तर सरकार गतिलोसित कसैले चलाउन सकेको देखिँदैन। छैन नै । जुन जुन दल सरकारमा गए ति सबैले संबिधान बनाउने, राज्य पूनर्संरचना गर्ने, जनसेना समायोजन गर्ने, सबै जाति र वर्गको उत्थान गर्ने मुख्य उद्देश्य भन्ने गरेका छन् । तर यो कामबाट भने सबै बिचलित भएको देखिन्छ।
त्यसको मुख्य कारणनै सबै दलका आआफ्नै घेरा छन् । दलहरु छरिएका छन् । कुनैपनि दल एक्लैले यि यावत समस्या समधान गर्न सक्ने देखिँदैन । त्यसको लागि सबै दल मिल्नुपर्छ साझा सहमती बनाएर । देशका सबै समस्या एकमुष्टरुपले समाधान गर्न संभव भए सबै दलको, नभए कम्तिमा प्रमुख ठुला दलको साझा संयन्त्र बन्नुपर्छ । र त्यहि साझा संयन्त्रले देशका सबै समस्याको समाधान गर्नुपर्छ । त्यसैकालागि नेपाली कांग्रेसका सभापती गिरिजा कोइराला र एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डबिच साझा राजनितिक संयन्त्र बनाएर जाने सहमती सिंगापुर वार्तामा भएको थियो। तर के गर्ने अहिले नेपाली कांग्रेसका संसदिय दलका नेता रामचन्द्र पौडेल र अर्का वरिष्ठ नेता शेरबहादुर देउवानै यो संयन्त्र भाँड्ने काममा लागेको कांग्रेस नेत्रि अनि उपप्रधानमन्त्री सुजाता कोइरालाले हाकै बताएकि छन् ।
हुनत सुजाता कोइराला जे पनि बोल्ने नेत्रि हुन् भनेर चिनिन्छ । तर देशको उपप्रधानमन्त्री, परराष्ट्रमन्त्रीबाट गरिएको दाबी पक्कै नकार्न सकिन्न । उनले त्यो सार्वजनिक गरेपछि त्यसलाई भरपर्दो ढंगले खण्डन गर्न नसकेकालेपनि उनको भनाई असत्य हो भन्ने आधार छैन । रामचन्द्र पौडेल त झन् कांग्रेस संसदिय दलका नेता पनि हुन् । उनी जस्ता जिम्मेवार पदमा बसेकै नेताबाट सहमती बिरोधी गतिबिधि हुनु झन निन्दनिय हो । किनभने संसदिय व्यवस्थालाई बढि जिम्मेवार बनाउने, फलाउने, फुलाउने महत्वपूर्ण पदमा छन् उनी ।
जुनसुकैपनि दलका नेताहरुले बुझ्नुपर्ने तथ्य के हो भने कुनैपनि दल एक्लैले अहिलेको देशको समस्या समाधान गर्न सक्ने अवस्थै छैन । सबै दल नमिली सुखै छैन । कि त देशलाई भड्खालामा हुत्याए मात्रै हो । त्यसको लागि कुनै न कुनै खालको साझा संयन्त्र र सहमती बनाउनु नितान्त आवश्यक छ। र बन्न लागेको संयन्त्र भाँड्नु भनेको देश भाँड्ने मेसो हो । त्यस्तो साझा सहमतीलाई कुनैपनि निहुँ र कारण देखाएर भाँड्नु उहि तित्राको मुख वैरी भने झैं आफ्नै देश र जनताबिरुद्द वैरी खोज्नु हो ।


कांग्रेसले गर्ने नै त्यहि हो, देशको होइन सधै कुर्सीको चिन्ता भएरै कांग्रेस बिग्रेको।
मन परो वा परेन:
0
0
[Reply]