बिआईसीसी टु सिसिडी एक्स्प्रेस र ढाँट सभासद्हरु

-सरोजदिलु विश्वकर्मा

संवैधानिक सम्वाद केन्द्र (सिसिडी) नेपालस्थित राष्ट्रसंघको नेपालको संविधान निर्माण प्रकृयालाई सघाउने एउटा परियोजना हो, जसले संविधानसभाका सभाषद्हरु र नागरिकवीचमा प्रत्यक्ष भेटघाट गर्राई जनताका समस्याहरुप्रति सजग गराउने कार्य गर्दैआएको छ । यो कार्यक्रम परियोजना भित्रकै भएपनि संविधान निर्माण प्रकृयाका लागि सहायकसिद्ध नै हो भन्न सकिन्छ । यसवाहेक सिंगो संविधानसभालाई सहयोग पुर्याउन अरवौंको भौतिक सामग्रीहरु सहयोग गरिरहेको रहेछ भने र्सवसाधारण जनताका लागि अत्याधुनिक सूचना केन्द्रको विकास गरेको कार्यलाई सह्रानीय नै मान्नु पर्दछ । जहाँ मेरो संयोजकत्वमा पनि केही कार्यक्रमहरु भए ।

सन् २००९ सम्मको अवधिलाई हेर्दा करीव ९५ प्रतिशत सभाषदहरुसंग जनताको प्रत्यक्ष भेटघाट र अन्तरकृया भएको देखिन्छ । तर शुरुका दिनमा यस संस्थाहरुलाई पवित्र मानेर आउने-धाउने सभाषद्हरु पछिल्ला दिनहरुमा धेरै पातलिन थाले । सभाषदहरुलाई सुनाउनै गरिएका कुनैकुनै कार्यक्रमहरुमा त एकजना पनि सभाषद् आउँदैनन् आजकाल भने कोही भने आफूले भाषण गर्ने विशेष नपाएपछि वा आफूले विशेष सम्मान नपाउने भएपछि अर्को महत्वपूर्ण कार्यक्रम छ भन्ने दाँत ङिच्याएर लुसुक्क बाहिरिन्छन् । कतिपयले त निमन्त्रणामै आतेजातेको ब्यवस्था के कति छ ? भनेर सोध्ने गर्दछन् त कतिले अरुलाई प्रतिकार्यक्रम १०० डलर दिने हामी चैं सित्तैमा ? भनेर आरोप पनि नलगाएका होईनन् ।

हुन त जागीरे मनस्थितीका सभाषद्ज्यूहरु आफ्नो दायित्वभन्दा आआफ्नो दल र त्यो भित्रका गुटप्रति बढी जवाफदेही हुनाले पनि यसो भईरहेको हो । कतिपय मान्यहरुको मनस्थितीमा ‘जसोतसो मान्या भइहालियो, संविधान लेखियोस् या नलेखियोस्, अर्कोपल्ट देखाजाला’ भन्ने पञ्चायती स्वार्थले अझपनि बास गरिरहेको छ । तर्सथ जनसमक्ष जतिसुकै प्रतिवद्धता जाहेर गरेतापनि बिआइसीसीको गेटभित्र एक्सपे्रस छिरेपछि, यी सवै गोलीमार- जसोजसो हली, त्यसैत्यसै गोरु झैं दलका नेता जताजता उफ्रिन्छन् बम्किन्छन्, त्यतैत्यतै दौडिने मनोवृतिका कारणले नै परिणामतः संविधान समयमा नबन्ने, बनेतापनि त्यो संविधान जनताको नभई सभाषद् र नेताको मात्र हुने स्थिती देखापरेको छ । अन्ततः जनताले अनुमोदन गरेका यस्ता सभाषद्हरु आफ्नो अभिभाराभन्दा जनताले वहिस्कार गरेका पर्दा पछाडिका गन्यमान्याहरुद्धारा संचालित भएको सत्य हो ।

यी सभाषदहरु कार्यक्रममा निमन्त्रणा गर्दा ‘आउदिन’, ‘सरी, यसपाली आउन सकिन’ भन्नेहरु एकादुयक भएपनि प्रायजसो एकघण्टा पछि हुने कार्यक्रममा पश्चिम दोधारामा भएपनि ‘आउँछु’ नै भनेर विश्वास दिलाउँछन् । कतिलाई त उपस्थित भईदिनका लागि दुलही फकाएजस्तो फकाउनु पर्दछ । तरपनि ब्यवहारतः यिनीहरु आउँदै आउँदैनन् । जुन प्रवृती पञ्चायती नेता तथा त्यसपछि गोरु ब्याउने प्रजातान्त्रिक कालका नेताहरुकै हो । यसले समय र सर्न्दर्भ एवं जनताको मनोभावनालाई सम्मान नगरीकन ‘हुन्छ’ मात्र भन्ने यी निर्लज्ज हुन्छवहादुर र हुन्छमायाहरु गणतन्त्रमा पनि परम्परागत धर्म निभाईरहेका छन् । सामन्ती वंशजबाट आएका त छँदैछन्, यी वाहेक अर्काथरी उम्रदै तीनपातका गणतन्त्र सभाषद्ज्यूहरु पनि नभएका होईनन्, जो हिजो गोरु चराउँदै थिए, बाख्रा हेर्दै थिए, चौतारोमा बसेर गट्टा खेल्दै थिए, म्यारीज पत्ति हान्दै थिए, आज सभाषद हुनासाथ अव हामीभन्दा माथि त आकाश पनि छैन भन्ने मनोवृति पाल्दछन् ।

रंग र रगत उही भएकाहरुलाई छोडेर हेर्दा यसरी ‘हुन्छ’ भन्ने र ज्यादा सम्मान खोज्ने, सम्मान नपाए यस्ता कार्यक्रमलाई छोड्भाई भन्ने नयाँ मान्यज्यूहरु बढीजसो र्सवहारा जनताको प्रतिनिधित्व गर्र्छौ भन्ने पार्टीबाट आएकाहरु नै देखिएका छन् । जो आईहाले भने पनि सकेसम्म जुंगा ठाडा पारेर, नसके दाँत खिस्स ङिच्याएर विभिन्न जात र समुहका जायज-नाजायज जुन मागमा पनि बकम्फुसे भाषण गर्दै प्रतिवद्धता जनाइहाल्छन् । तर दलमा अथवा आफ्ना तालुकदार नेताका पुगेपछि भने यिनका ठाडा कान पनि चिसिहाल्छन्, यिनको मुखका र्‍यालहरु पनि सवै ओभाउँछन् । के बोलियो, कहाँ बोलियो, यी सव गोलीमार, अनि सत्ता कसरी बचाउने र कसरी गिराउने भन्नेमा यिनका टाउका हल्लिन थाल्छन् । त्यसपछि आआफ्ना मन्त्रीका चाकडी, विन्ती-नमस्तेमा यिनको दिनचर्या बित्दछ । अनि कसरी बन्छ संविधान ? अनि किन आउने नागरिकको सराकेारको विषयमा ? त्यसैले पछिल्ला दिनमा आफ्नो प्रतिवद्धतादेखि आफैलाई लाज लाग्न थालेपछि यिनीहरु सिसिडीको लिफ्टदेखि तर्सिन थालेका छन् ।

कार्यक्रम आयोजना गर्ने आयोजकहरु पनि यी सभाषदभन्दा केही फरक छैनन् भन्दा अत्युक्ति नहोला । जवकि यस्ता आयोजकहरुका विषयहरु वस्तुगत भन्दा पनि प्रायोजित मात्रै हुन्छन् । हरेकले ‘संविधान निर्माण प्रकृयामा फलानो-फलानोको भूमिका…’ अथवा ‘संविधानमा फलानो-फलानो जातिको अधिकार….’ आदि शिर्ष राखेर सभाषदहरुको हाजिरी देखाई परियोजना लम्ब्याउने धन्दा नचलाईरहेका होईनन् । राजनीतिक नेताहरुवीचमा असम्झदारी भइरहेको छ, दलहरुवीचमा असहमति उपन्न भइरहेका छन् । सभाषद्हरु सत्ता र भत्ताको खोजीमा केन्द्रित छन् । प्रशासनको प्रभावकारीता देखिएको छैन । राष्ट्रको अर्थतन्त्र चौपट् भइरहेको छ । जुनविना अन्य पाटोमा निकास सम्भव छैन । यस वस्तुस्थितीमा ‘असमझ्दारीको निकास के ….. ?’ राजनीतिक दलहरुवीच सहमति निर्माणको बाटो के…. ?’, सहमति निर्माणमा नेताहरुको भूमिका के ?, सभाषदहरुको भूमिका के….. ?’, ‘माननीयहरु सत्ता र भत्ता खाने कि जनताकेा अभिभारा पुरा गर्ने… ?’, संविधान बनेन भने अवको मुलुक के होला…. ?’,  ‘त्यसवेला नागरिकको भूमिका के… ?’, ‘अधिकार माग्ने नागरिकको मुलुक बनाउने भूमिका के… ?’ अथवा अर्थतन्त्र सुधारमा जनताको नेता र जनताको भूमिका के हुने ?’ आदि समसामयिक विषयमा कार्यक्रम राख्ने विवेक पलाएको पाईदैन, यी आयोजक र प्रायोजकहरुमा । यसकारण एउटै विषयका कार्यक्रम त्यो पनि आफ्नो जागीर टिकाउने चरित्रका कार्यक्रममा सभाषदहरु आउनुभन्दा नआउनु स्वभाविक हो ।

यद्यपि, केही कार्यक्रमहरु परियोजनाकै भएपनि जनता र मुलुक निर्माणसंग प्ररोक्ष सरोकार राख्ने विषयका छन् त केही आयोजकहरु यो मुलुकको भविश्यप्रति वास्तवमै चिन्तीत होलान् । तिनका कार्यक्रमहरुमा पनि सभाषदज्यूहरुको वचन उड्छ, सीसीडी वा अन्य कार्यक्रम स्थलसम्म गाडी गुड्दैन । कतिले गाँसभन्दा अगाडि आइदिने वचन दिन्छन्, गाँस निलेपछि वचन पनि निल्छन् । यस मानेमा सिसिडीको टुप्पोबाट विआईसीसीलाई नियाल्दा भने आयोजकभन्दा यी अतिथिज्यूहरु एक कदम अगाडि छली र ढाँट भएको यथार्थ हो ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree