सिक्न सकिने कुरा त धेरै पो रहेछन् लक्जमवर्गबाट
लक्जमबर्ग पुगेको धेरै नै भयो । यो मुलुक घुमेपछि आफुलाई चाख लागेका केहि पक्षबारे लेख्छु भन्दा भन्दै बल्ल संयोग मिल्यो। यो फुच्चे मुलुक, हाम्रो काठमाडौं शहर भन्दापनि फुच्चे । यो एउटा गाउँ जत्रो देश पुग्दापनि म अति प्रभावित भएँ । म मात्रै होइन, यो मुलुक देखेर हाम्रा निकै नेता, कलाकार र अरु नेपालीपनि प्रभावित हुने रहेछन् । त्यसैले छोटो भ्रमण भन्दा भन्दैपनि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा देखि वर्तमान प्रधानमन्त्री माधव नेपाल, माओवादीका नेता सुरेश आले मगर अनि दिनानाथ शर्मा देखि कलाकार राजेश हमाललगायतका थुप्रै नेता र कलाकार पुगेका रहेछन् । अरु देशसित तुलना गर्दा गोजिमा अटाउने गुच्चा जत्रो मुलुकसँग अरुलाई प्रभावित पार्ने कुरा धेरै नै रहेछन् ।
सबैभन्दा ठुलो प्रभाव त मलाई यहाँको राजसंस्था देखेर पर्यो । यो मुलुकमा अहिलेपनि राजतन्त्र छ । नेपालको दरबार हेर्दा हेर्दा अभ्यस्त भएका हाम्रा आँखालाई दरबार भन्न असजिलो लाग्छ । दरबारमा कहिँ कतै तडक र भडक देखिँदैन । कसैले “यो दरबार हो” भनेर नचिनाईदिए त्यो दरबार हो भनेर चिनिने कुनै आधार र संकेत देखिँदैन । दरबार वरिपरि कतै फलामे बार छैनन् । कतै बिद्युतिय तार लगाइएको छैन । एक जना सामान्य सेना सेन्ट्रिमा बसेको देखिन्छ त्यत्ति हो । बरु राजाको दरबार अगाडि रेस्टुरेन्ट छ, भट्टि छ। मानिस ओहोर दोहोर गर्छन् । खान्छन् । आफ्नो बाटो लाग्छन् । नत राजा बाहिर निस्कँदा साईरन बजाउँदै शहर थर्काइन्छ । न रानीका लागि बाटो छेकेर नागरिकलाई दुख दिइन्छ । न त राजा रानीका सैनिकले दिन दहाडै बटुवालाई बन्दुक ताकेर हुर्मत लिन्छन् ।
बरु अचम्म त के रहेछ भने राजा रानीको लागि किनमेल गर्ने छुट्टै त्यस्तो विशेष केहि सुबिधापनि रहेनछ । राजकुमार सामान्य नागरिकले किनमेल गर्ने सुपरमार्केटमै जाने रहेछन् । अनि अरु नागरिकसँगै सामानको ट्रली घिस्याउँदै पंक्तिमा उभिने रहेछन्। न त राजकुमार आए भन्दै उनलाई अरुले पालो अगाडिनै छोडिदिन्छ नत दरबारिया धमास देखाएरै पालो मिच्छन् राजकुमारले । त्यहि कारणले यहाँको राजसंस्था जनताको मन मनमा बसेको रहेछ । आत्म आत्माले सम्मान गर्ने रहेछन् ।
यहाँका नेता कतिसम्म ईमान्दार छन् भने यि बिदाको दिनमा कहिल्यै सराकारी धनमा सवारी साधन चलाउँदैनन् । शनिबार र आइतबार नेताहरु बरु साईकलमा सरर हिँडेर जनतालाई उत्साहित गराउने रहेछन् वातावरणिय हिसाबले उत्तम, स्वास्थ्यका लागि लाभदायक र कम खर्चिलो साधन प्रयोग गर्न । सत्तामा छन् तर प्रहरीको बगाल र सैनिकको पल्टन नचाहिने रहेछ । ति एक्लै यताउति गर्ने रहेछन्। जनताको मन कति जितेका यहाँका नेताले ?
यहाँका नेता हत्त पत्त नहुने, दिन नसक्ने, गर्न नसक्ने काम जनतालाई ढाँटेर आश्वासन दिने गर्दा रहेनछन् । यूरोपमै बरु जर्मनी, फ्रान्स, ईटाली, पोर्चुगल लगायतका थुप्रै मुलुकमा त्यस्तो प्रशस्त हुने रहेछ । तर यहाँ बिरलै हुने रहेछ त्यस्तो फोस्रो आश्वासन । यति सानो मुलुक छ । एकातिर त्यत्रो विशाल देश जर्मनी छ । अर्कोतिर फ्रान्स छ यूरोपको अर्को विशाल मुलुक । सत्तामा पुग्दा छिमेकिको पाउमा तुर्लुंग झुण्डिने र सत्ता बाहिर हुँदा उसैलाई गाली गर्दै बुर्लुंग उफ्रिने हो भने यो देशको केहि भाग खोस्रेरै भ्याउने थिए । तर अहँ यहाँका नेतामा राष्ट्रप्रतिको माया गढेको छ ।
कूटनितिमा उत्तिकै चलाख छन् । नत्र यूरोपेली यूनियन बनाउँदा फ्रान्स र जर्मनी जस्ता विशाल र शक्तिशाली मुलुकलाई विश्वासमा लिएर त्यो यूरोपेली मुलुकभरिको एउटै भिसा प्रणाली बनाउने सेङगेन जस्तो ऐतिहासिक हस्ताक्षर (तिन तारा भएको तस्बिर) आफ्नो मुलुकमा गराउन सक्ने थिए ? यूरोपको त्यत्रो ऐतिहासिक अवसर आफैंले हात पारेछ्न् ।
नेताहरु सत्ताबाट बाहिरिँदा बरु भएकोपनि गुमाउने रहेछन् । सत्ताबाट बाहिरिँदा कसैले विशाल विशाल भवन र महँगा गाडी जोड्दैन । नागरिकलेपनि राष्ट्र लुटेर, झुक्क्याएर, छलेर रातारात कमाएको धनलाई यहाँ सम्मान गर्दैन । त्यस्तो देखिनासाथ कानुनले न त दरबारको फोन टेर्छ, नत प्रधानमन्त्रीकै बोली सुन्छ । त्यसैले गर्दा जनता कानुन भन्नासाथ थरर हुन्छन् । कानुनको पालना गर्छन् । जनताका लागि के कस्तो कानुन बन्दै छ भन्ने प्रशस्त बहस र छलफल बिना, जनतालाई पूर्ण जानकारि नभै बनाउने गरिन्न र त जनताले सरकारले बनाएको होइन आफैंले चाहेको ठानेर आदर गर्छन् ।
त्यत्रा ठुला ठुला देशको बिचमा रहेरपनि यो मुलुक कस्तो धनी रहेछ । यूरोपकै सर्वाधिक धनी पो रहेछ त । यूरोपमा अरु देशमा २५ देखि ४० प्रतिशतसम्म कर तिर्नुपर्छ । तर यहाँ करिब १७ प्रतिशत मात्रै लगाउँदापनि सरकार यति बिघ्न धनी । त्यहि कर कम लाग्ने हुनाले यहाँ बस्न यूरोप र अन्य मुलुकका मानिसहरु मरिमेट्ने रहेछन् ।
भूपरिवेष्ठित रहेछ यो देशपनि । कतै समुद्रले छुँदैन । हाम्रो देश भूपरिवेष्ठित हुनुको पीडा भोगिरहेको छ भने यो देशले चाहिँ त्यहि भूपरिवेष्ठित हुनुको मज्जाले फाइदा उठाइरहेको रहेछ । त्यो किनभने भूपरिवेष्ठित राज्यले पाउने सुबिधा रहेछ यहाँ । आफुले पाउने अधिकारपनि यहाँको सरकारले एक चिम्टी छोड्दैन। हामी साना छौं भन्ने ग्लानी छैन ।
त्यसो त छिमेकीहरुलेपनि यो मुलुकलाई असल छिमेकिको ब्यवहार गर्दै आएका हुन् । अहिले यूरोपेली परिषदको अवधारणापछि त झन सकारात्मक हुने नै भयो । कतिपय वस्तु त चालिस प्रतिशतसम्म छुटमा छिमेकि देशबाट पाउने हुनाले जर्मनी र फ्रान्सबाटसमेत यहाँ सामान खरिद गर्न आउने रहेछन् । त्यहि कारणले गर्दा यहाँ अन्य देशमा भन्दा ब्यापार राम्रो हुने रहेछ । यस्तो आर्थिक मन्दीका बेलापनि यो देशमा रहेका करिब एक दर्जन नेपाली रेस्टुरेन्ट मध्ये कुनैपनि घाटामा गएर टाउको कन्याउँदै बस्नु परेको रहेनछ ।
यहाँका नेता कति सम्म चलाख र दूरदर्शी रहेछन् भने स्विजरल्याडले यूरोपेली परिषदमा आउन नमानेपछि यूरोपेली मुलुकका बैंकहरु धमाधम यहि मुलुकले तान्दै रहेछ । यहाँ अहिलेनै सय भन्दा बढि बैंकका कार्यालय स्थापना भैसकेका रहेछन् । यूरोपेली परिषदको कार्यालय तान्न पनि यहि देशले भ्याएको रहेछ । के हाम्रा जस्तै लुते नेता भएको भए यत्रा ठुला ठुला मुलुक भएको यूरोपमा आर्थिक फाइदा लिने यस्तो अवसर लिन सक्थ्यो ?
राष्ट्रप्रति नागरिक उत्तिकै सचेत, चिन्तनशिल र जिम्मेवार छन् । सानो मुलुक अब धेरै विकासका संरचना बनाउनुपर्ने नै देखिँदैन । भएकापनि भनेकै समयमा तयार पार्छन् । नागरिकहरु कतिसम्म माया गर्छन् आफ्नो देशलाई भने म लक्जमबर्ग पुगेकै साँझ सडकमा साइवर क्याफे खोज्दै हिँडेका बेला एक जोडी सडकमा देखिएको कागज टिपेर फोहोरको प्लाष्टिकमा राख्दै थियो । आफ्नो फोहोर आफैंले थान्को पान्को लगाउने त समग्र यूरोपकै एक संस्क्रिति जस्तो भैसक्यो । सरकारी ढुकुटीमा नेता, कर्मचारी र कार्यकर्तासम्मले मोज गर्ने परिपाटी त झन यूरोपकै नागरिकले कल्पनासम्म गर्ने कुरै भएन ।
राष्ट्रले सम्मान गरेका, राष्ट्रकालागि योगदान गरेका पूर्वजहरुको सालिक फोड्ने, भत्काउने र कालोमोसो दलेर अपमानित गरेर आफ्ना सन्ततीहरुलाईपनि त्यस्तै संस्क्रिति सिकाउने परिपाटी यहाँ छैन । बरु बाँचुन्जेल सारा मुलुकलाईनै दुख दिएको, शान्तिले बाँच्न नदिएको, आफ्ना पूर्खाको रगत बगाएको हिटलर जस्ता ब्यक्तिले बम हानेर बनाएका जमिनका भ्वाङसमेत जोगाएर राखेका छन् । उनिहरुले ईतिहाँसका हरेक घटनालाई संरक्षण गरेर राखेका छन् ।
यात्राका सहयोगि थिए दाई नारायण गुरुङ। उनी त्यहाँका हरेक वस्तु नेपालसित तुलना गरि गरि सुनाउँथे, देखाउँथे । “अहिलेपनि नानीहरु हो हिटलरका फौजले हामीमाथि आक्रमण गर्न आउँदा हामी उ ति सुरुङमा लुक्थ्यौं भन्दै देखाउँछन् आफ्ना नानीहरुलाई । त्यस्ता सुरुङ र दुल्का समेत जोगाएर राखेका लक्जमबुर्जुवाहरुले । कति संरक्षण गरेका ऐतिहासिक सम्पदा” नारायण दाई सुनाउँथे । शहरकै बिचबाट बग्ने कुलोको पानी कति कञ्चन छ भने फोहोरको नाम कतै देखिँदैन । घरका बिच बिच हुँदै दगुर्ने कुलाका पानी देख्दै पिउँ पिउँ लाग्छ । सभ्यता भन्ने असाध्यै जानेका रहेछन् यिनले ।
सरकारपनि कति ईमन्दार र जिम्मेवार रहेछ भने लक्जमबर्ग नपुग्दै म रेलभित्रै हुँदा अचम्म लागेको थियो । रेल करिब ५० मिनेट ढिला भयो रेलको मार्गमा अकस्मात कुनै अवरोध भएकाले । अनि पटक पटक क्षमा मागियो यात्रुहरुसित । र रेलका परिचारिका हाँस्दै आएर प्रस्ताब गरे-हाम्रो रेल सेवा ढिलो भएको यो ५० मिनेट भित्रमा यदि तपाईको कतै जाने अर्को रेल, बस सेवा वा अन्य यातायातको टिकट थियो र त्यो छुटेको छ भने त्यो सबै हामी ब्यहोर्छौं । यस्तो सुबिधा यूरोपकैपनि अरु मुलुकमा हत्त पत्त पाइँदैन ।
सरकारले लिने मात्रै होइन नागरिकलाई सहयोगका लागिपनि उत्तिकै सजक र सहयोगपनि गरेको छ । त्यसैले यूरोपका फ्रान्स, जर्मनी, बेलायत, ईटाली, स्पेन जस्ता मुलुकमा भन्दा यहाँ नागरिक बढि खुशि रहेछन् । सरकार प्रतिको गुनासा कम रहेछन्, गर्व बढि रहेछ । आफ्नो भाषा, रहनसहन, शैली प्रति समग्रमा यहाँका नागरिक बढि खुशि रहेछन् । तुलनात्मक रुपमा यो देशमा बस्ने नेपालीपनि बढि खुशि रहेछन् । यहाँका करिब १३० जना नेपाली मध्ये अहिलेसम्म खासै कोहिपनि बेरोजगारै चाहिँ हुनु परेको छैन भनेर सुनाए दाई नारायण गुरुङले। ।
आफ्ना वालवालिकालाई तगडा बनाउन, गतिलो शिक्षा दिन हाम्रो देशमा जस्तो निजि बिद्यालयमा पुर्याइँदैन। सरकारी बिद्यालय यहाँका कति तगडा, सुबिधा सम्पन्न र स्तरिय छन् भने लुते, परिवारले तह लगाउन नसकेका र पढाईमा मन्द बुद्दिकालाई लगिन्छ निजिमा । सरकारी बिद्यालयमा पढ्नेले धेरै मान्यता पाउँछ । रोजगारी खोज्ने बेला त्यस्तै सरकारीमा पढेकाले प्राथमिकता पाउँछन् ।
-संबन्धित ब्लग-


kasto raamro article lekheko Dadiji
[Reply]
yastai hamra netalaaii ghaitomaa ghaam ddekhine kuraa lekhne garnu parryo dadiji
[Reply]
Malai ta Manoj gajurel ko Kalpanik “Naya Nepal” jasto po lagyo ta…
[Reply]
आहा कस्तो राम्रो article लेख्नु भएको रहेछ,शान्ती को दुत हाम्रो देशमा जन्मियेर हाम्रा देस चलाऊनेहरुले किही सिक्न नसकेपनी त्यहका सम्पूर्ण बसिन्दा हरुले कतिराम्रो शान्तानियामुलुक बनएको र अरुलाई पनि पाथ सिकाउनेखाल्को………….. उनिहरुको देश युग युग त्यसरीनै चलोस।
[Reply]
काष मेरो देश नेपाल र यहाँ का हर नागरिक अनि शासक वर्ग पनि त्येस्तै भै दिए त ………….लक्जमवर्ग
dherai राम्रो र जानकारी मुलक लेख र अनुभब रहेछा हजुर को, ज्यद्दै prabhabshali ………sabai नेपाली हरु मा हुन अत्यन्तै आबश्यकता छ…..!!!
[Reply]