विदेशमा सुजातालाई क्या बबाल !

परराष्ट्र तथा उपप्रधानमन्त्री सुजाता कोइराला युरोप भ्रमणमा आइन् । गइन् । बेल्जियममा गत शनिबार महिला सम्मेलनमा उपस्थित थिइन् । सुनियो, जहाँ जहाँ  गइन्, त्यहाँ त्यहाँ उनले नेपाली कांग्रेसका कार्यकर्ता पनि भेटिन् । त्यसको मेसो मिलाउने भयो, कांग्रेसकै भगिनी संगठन नेपाली कांग्रेस जनसर्म्पर्क समितिले । त्यत्तिमै के सीमित रहन्थिन् उनी ? भ्रमणका क्रममा विदेशमा रहेका नेपालप्रेमी र खासगरी विदेशी कूटनीतिज्ञसित नेपाललाई सहयोग गर्न आग्रह गर्थिन् । तर, के विदेशीहरू उनलाई सहयोग गर्न तम्सिए होलान् ? केको सहयोग गर्नु ? बरु कूटनीतिक भाषामा खप्की खाइन् उनले । उनी विदेशीका तीता जवाफबाट हिस्स परेर फर्किनुपर्‍यो ।

परराष्ट्रमन्त्रीको भ्रमण कस्तो रह्यो होला भनेर यसो बुझन खोज्दा थाहा पाइयो- गत शुक्रबार सुजाता कोइरालालाई लक्जेर्म्बर्गका लागि नेपाली महावाणिज्यदूत गी आकले मध्याह्नको खानाको निम्तो दिएछन् । त्यहाँ करिब २०-२५ जनाको उपस्थिति थियो । तीमध्ये अधिकांश उच्च ओहोदाका व्यक्ति थिए । नेपाली भने जम्मा दुई जनालाई निम्त्याइएको थियो । लन्च हुँदै गर्दा त्यहाँ नेपालको राजनीतिक स्थिति, नया“ संविधान निर्माण, शान्ति-सम्झौता के हुनेलगायतका विषयमा छलफल चल्यो । अधिकांशले नेपालको राजनीतिक परिस्थितिबारे गहिरो चिन्ता व्यक्त गरे ।

स्रोतका अनुसार, सुजाताले अन्त्यमा महावाणिज्यदूत गी आकसित नेपालले पर्यटन वर्ष २०११ घोषणा गरेकाले त्यसमा सहयोग गर्न आग्रह गरिन् । उनी प्रचार-प्रसार गर्न र नेपालमा धेरै पर्यटक पठाउन जोड गर्दै थिइन् । तर, परराष्ट्रमन्त्रीको प्रस्तावमा गी आक सहमत देखिएनन् । उनले सुजातालाई सीधै भने, ‘नेपालमा अहिले सबैभन्दा महत्वपूर्ण भनेको शान्ति । शान्ति-सम्झौतालाई टुंगोमा पुर्‍याउनु र देशमा शान्ति कायम गर्नु । तपाईंको देशमा शान्ति छैन । शान्ति नभएको ठाउँमा को जान्छ पर्यटक ? पहिले शान्ति कायम गर्नूस् अनि जे पनि गर्न सकिन्छ । शान्ति कायम नभएसम्म केही गर्न सकिन्न ।’ उनको यस्तो भनाइ सुनेपछि सुजाता हिस्स परेकी थिइन् ।

तपाईंको एउटा पजेरो बेचे कति स्कुल बन्थे मन्त्रीज्यू ?

त्यसैगरी, केही महिनाअघि नेपाली कांग्रेसकै अर्का नेता शेरबहादुर देउवा पनि लक्जर्म्बर्ग पुगेका थिए । लक्जर्म्बर्गको सेरोफेरो लगाएपछि उनले पनि नेपाली कांग्रेस जनसर्म्पर्क समितिको पहलमा राजनीतिक छलफल आयोजना गरे । देउवाले नेपालको राजनीतिक अवस्थाबारे छलफल चलाउँदै थिए । बालबालिकालाई शिक्षित बनाउनुपर्ने प्रसंग उठ्यो । त्यहीवेला उनै दुब्ला, पातला कदका नेपाली जुरुक्क उठेर आफ्नो परिचय उही नपढेको, नजानेको र सामान्य लाटो हिसाबले जिज्ञासा राख्न खोजेको भन्दै तेर्स्याए- होइन सर, यो पजेरोकाण्ड भित्र्याउने त तपाईं नै होइन र ? तपाईं एकजनाको मात्रै पजेरो बेच्ने हो भने पनि सा“च्चै एउटा जिल्लामा कतिवटा स्कुल बन्थे होलान् त्यो पैसाले ?

देउवा नाजवाफ बने । मन्त्रीजस्तो पदमा पुगेको व्यक्तिलाई जनताकै कामका लागि पनि सवारीसाधन आवश्यक हुने भनेर बचाउ गर्न खोज्दा तिनै गुरुङले थपे- गाडी चाहिन्छ सर, जनताको नेतालाई । ठीक हो । तर, हाम्रोजस्तो गरिब देशका मन्त्रीले के अलि सस्तो मारुती-सारुती चढे हुन्न ? पजेरो नै चाहिन्छ र ? उनका कडा कुरा सुनेपछि देउवापत्नी आरजु राणा उनको छेउमा आइन् र पजेरोबारे स्पष्टीकरण दिने अनि उनलाई सम्झाउने कोसिस गर्दै थिइन् ।

(वर्ष १६, अंक दुई ४ चैत्र २०६६ मा जन आस्था साप्ताहिकमा मेरै नाममा प्रकाशित समाचार)


  • थुक्क सुजाता त्यो गिन्दगी

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree