भारतीय नेतासित हारगुहार गरेर कुर्सी टिकाउने ?
भूटानमा सार्क सम्मेलन भैरहेको छ । द्विपक्षिय हितका बारेमा कुरा गर्नुपर्ने विषय धेरै छन् । वर्षौं लामो भूटानी समस्या यथावत छ । भारतसित सहमती गर्नुपर्ने विषय उत्तिकै छन् । तर नेपालका प्रधानमन्त्री भने भारतीय नेताका अगाडि लम्पसार परेर प्रधानमन्त्रीको कुर्सी टिकाउनमै तल्लिन देखिए । सार्क राष्ट्रका अरु नेतालाई देशको हितकालागि कसरि बढि भन्दा बढि फाईदा लिने, आपसी हितमा समझदारी गर्ने भन्ने पिरलो रह्यो । तर हाम्रा प्रधानमन्त्री माधवकुमार नेपाललाई भने आफ्नै देशको अरु दलका नेताको कुरा लगाएर, गोप्यता खोलेर कुर्सी टिकाउने पिरलो !
साक्षी समाचारहरु भन्छन्, प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री मनमोहन सिंसित भेटघाट गरे। भेटघाटमा रहने भइन् परराष्ट्र मन्त्री सुजाता कोइराला । साथमा रहने भए प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार राजन भट्टराई । सुजाताका प्रवक्ताका रुपमा पत्रकार ऋषी धमला छुट्ने कुरै भएन । भन्नलाई दुई देशको आपसी हितका विषयमा छलफल भएको भनिएपनि त्यसो भएन । माधव नेपालले बरु मधेशी जनअधिकार फोरम माओवादी निकट भयो भनेर दुखेसो पोखेछन् । अनि सरिता गिरीको सद्भावना पार्टी लगायतका मधेशका केहि दलले सरकारलाई धम्क्याउने गरेको गुनासोपनि । माओवादीलाई यो यो यति यस्ताखाले शर्त राखेका छौं भनेर पनि सुनाएछन् । यो प्रस्तुतीले देखायो-यि तराईका दल तिमीलेनै बनाएका हौ, तिमीहरुकै निर्देशनमा चल्छन् । मलाई प्रधानमन्त्री बनाउने पनि तिम्रै आशिवार्द हो । जसलाई आफैंले प्रधानमन्त्री बनायो उहि बिरुद्द अरु दललाई किन उचालेको ? तिनलाई ठिक पार ।
उनले भारतीय प्रधानमन्त्रीसित त्यति मात्रै गुनासो गरेनन् । आफ्नो सरकार र प्रधानमन्त्रीको कुर्सी जोगाइदिन उनले आग्रह पनि गरेछन् । आफ्नो देशको मामिला, आफ्नै दलहरु, आफ्नो देशको राजनितिक स्थिति र देशको खाँचो अनि जनताको मत अनुसार कस्तो सरकार बनाउने भन्ने हाम्रो आन्तरिक मामिला हो । तर जनमत नभएको, जनविश्वास गुमाएको र अर्काको आशिर्वादमा पद ओगट्नेलाई त्यसको के हेक्का ? सधैं आशिर्वादबाटै टिकिन्छ भने लागे होला । त्यसैले माधव नेपालले फेरीपनि आफ्नो कुर्सी टिकाइदिन बिनय गरे।
तर हाम्रा प्रधानमन्त्री भन्दा भारतीय प्रधानमन्त्री धेरै सचेत रहेछन् । उनले माधव नेपाललाई ‘यहि सरकारलाई हाम्रो पूर्ण समर्थन छ, जे गरेपनि भारत तयार छ साथ दिन । जसरि हुन्छ यहि सरकार टिक्नुपर्छ’ भनेनन् जुन माधव नेपालको आशा थियो । बरु संबिधान लेखन र स्थायी शान्तिकोलागि आपसी समझदारीबाट काम गर्न सल्लाह दिएछन् । उनले संबिधान सभामा सबैभन्दा ठुलो दलको रुपमा रहेको माओवादीलगायतका दलहरुलाई मिलाएर समझदारीमा काम गर्न सल्लाह दिएछन् ।

