प्यारी तिमी सूर्यमुखि कि ज्वालामुखि ?

‘प्यारी तिम्रो लागि म के गर्दिन ? आकाशको जून र तारापनि झारेर हातमा राखिँदिन तयार छु’ बिहे नगर्दा सम्म प्रेमीकालाई केटोले भन्छ रे ।

तर बिहे गरिसकेपछि ?

‘ बढि बोलिस् भने बङ्गारा झारेर हातमा राखि दिउँला’ ।फ्रान्सको लियों शहरमा नेपाली साँझ सकिएपछि अर्को दिन घुमघाममा निस्किएका थियौँ हामी । हाम्रा राजदूत दम्पतीको घर धनकुटा भएकोले सोधेँ- धनकुटा असाध्यै सुन्दर छ । त्यता तिरको फोटो त बेस्सरी खिच्नु भएको होलानी सर ?

उनले जवाफ दिए ‘छैन । म धनकुटा नै राम्रोसित घुमेको छैन’

मेडम नीताले भनिन्-पहिले पहिले त घुमाउनुहुन्थ्यो, अहिले त घुमाउन मन नै गर्नुहुन्न’

अनि मैले माथिको जुन र तारा टिपेर हातमा राखि दिने प्रसंग सुनाएँ

त्यसको लगत्तै हाम्रा राजदूत जिवनप्रकाश श्रेष्ठले सुनाए-

‘पहिले त तिमी चन्द्रमुखी थियौ ।

पछि सूर्यमुखी भयौ ।

अहिले त ज्वालामुखी जस्ति छौ’।’

हत्त पत्त जे पायो त्यो नबोल्ने, एकदम अड्कलेर आवश्यक कुरा मात्रै गर्ने र काममा बढि खटिन रुचाउने भनेर चिनिएका राजदूतको यो भनाइले सबैलाई बेस्सरी हँसायो । कार्यक्रम र कार्य थलोमा बाहेक बोल्दै नबोल्ने जस्तो लाग्ने उनी यात्रामा खुल्ने रहेछन् । राजदूत पत्नी नीता श्रेष्ठ त के जान्दिनन् ? जोक सुनाउन । साहित्यिक बहस गर्न । गीत र कविता सुनाउन । हाईकुका त ठेलीनै हुन्छन् जहाँ गयो उही उनीसित ।

प्रवेश र म भने अनेक प्रसंग कोट्याउँथ्यौं । छड्के छड्के गफ गर्‍यो अनि हँसायो । तिन वटा गाडीमा थियौँ हामी । दिउँसो खाना खाने रेस्टुरेन्टको खोजी गर्दा गर्दै एउटा गाडीबाट हुरुरु धुवाँ आयो । किनारा लगाए । यता र उति कोसिस गर्दा गाडी नचल्ने भयो । अनि हामी सोन नदीको किनार किनारै हिँड्दै अगाडि बढ्यौं । गाडी बनाएर आउँछौं भनेर गाडी हुनेहरू पछाडि बसे ।

एक्कै छिनमा पानी पर्न थाल्यो । कतै टाढै जाऊँ त गाडी बनाउन बसेकाबाट छुट्टिउँला । कतै नजाउँ पानीले भिजाउने हो की ! नदी किनारको एउटा विशाल रूखमुनि बसियो गफ गर्दै ।

हाँसो मजा गरिरहेका बेलापनि राजदूत भने बेला बेला ‘लौ है यो शहरमा त केही न केही अर्को ठूलो कार्यक्रम गर्न पर्छ’ भन्दै सुनाउँथे ।

पानी पर्न थालेपछि घुमाउने जिम्मेवारी लिएका फ्रान्सेली साथीहरू डराएछन् । राजदूत जस्तो मान्छेलाई बेलामा उचित ठाउँमा राख्न सकिएन । खाना खान ढिलो भो । भिजायो भने त बर्बादै हुन्छ झन भनेर मेरो मोबाईलामा घण्टी बजाउँथे अनि सोध्थे- ददि, मिस्टर एम्ब्यास्डर रिसाउनु भाको त छैन ? सरी भनिदिनु है, बर्बादै हुने भयो उफ् ‘।

‘सर यसो भनेका छन्’ भन्नै पर्‍यो । राजदूत पत्नी चाहिँ हामी सितै भएकी जो (फ्रान्सेली महिला) लाई ‘नो प्रोब्लम, आइ एम फीलिङ लाईक माइ चाइल्डहुड व्हेन आई वाज ईन माई भिलेज’ भन्थिन् ।

राजदूतलाई फ्रान्सेली पुरस्कार- साईकलको पम्प

घुम्दा घुम्दै त्यहाँको विशाल गिर्जा घरमा पुगियो । त्यहाँबाट तल लियों शहरको द्रिष्य बडो मनमोहक देखिने रहेछ । फ्रान्सेली साथीहरूलाई थाहपनि रहेछ कि हामीसित लियों शहरका मेयरसित भेट हुँदै छ भनेर । अहिले भेलिब (भेलो लिव्र= स्वच्छन्द साईकल भन्न खोजिएको) भनेर फ्रान्सका विभिन्न शहरमा नगरपालिकाले बाटा बाटामा राख्ने गरेको साईकल बनेको त्यही लियों शहरमा रहेछ । अनि यो साइकले संस्क्रिति शुरु गरेको जुन ०६ मा पाँचौं वर्ष पुगेको रहेछ । उनीहरूले त्यसैको खुशियालीमा साईकल र्‍याली गर्दै रहेछन् । मेयरसित त्यहीँ भेट भयो । हाम्रा कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठ र मेयर (फोटोमा देब्रेतिरका हाम्रा राजदूत र दाहिनेतिरका मेयर) को गफगाफ हुन लाग्यो । फ्रान्स ३ भन्ने टिभीले त्यो गफगाफ र त्यहाँ भएका नेपालीको क्रियाकलाप खिचिरहेको पनि थियो । मेयरले साइकलको बखान लगाए ।

उनी अंग्रेजी त बोलिरहेका थिए कनी कनी । तर राजदूतलाई बुझ्न मुस्किल परिरहेको थियो । किनभने फ्रान्सेली लवजको अंग्रेजी बुझ्न सजिलो हुन्न । किनभने ज भन्नु पर्दा च मिसाउँछन्, द भन्नु पर्दा ज अलिकति मिसाउँछन् । आफ्टर (after) भन्नु पर्‍यो भने आफ्तअ गर्छन् ।

मेयर हातमा हावा हाल्ने पम्प लिएर हाम्रा राजदूतलाई यु सुड राईड द बाईक भन्न खोजिरहेका थिए । तर उनले भनेका चाहिँ यु सुज् राइज् ज्व बाईक’ । साईकल चढ्यो भने स्वास्थ्य राम्रो हुन्छ, कम खर्चिलो हुन्छ, पार्किङ थोरै भए पुग्छ, प्रदूषण फैलाउँदैन भनेर उनलाई पनि साईकल चढ्न राम्रो हुन्छ भन्दै साइकलमा हावा हाल्ने पम्प दिए । उपहार न हो हाम्रा राजदूतले हाँस्दै स्विकारे । अनि मैले भने- लौ सर अब गाडी चढ्न नहुने भो । साइकलको पम्प उपहारपनि पाइयो । अब त दूतावासको गाडी थन्क्याएर साइकलमा पो हिँड्न पर्ने भो नी त ! राजदूत मुस्कुराए ।

(बाँकि प्रसंग अर्को ब्लगमा)

  • राम गुरुङ

    चाख लाग्दो । राम्रो सुझाव दिएछन् मेयरले । नेपालमा साईकल चढ्नेलाई गरिब भनेर हेपिन्छ । साइकल चढ्ने संस्क्रितिको विकास गर्नै पर्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • रामप्रसाद घिमिरे क्यालिफोनिया

    जे गरे राम्रै गरे
    धन्यवाद​

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree