मुस्ताङमा गाडी गुड्दा फ्रान्सेली दुखी

[यो कार्यक्रमबारे कान्तिपुर टेलिभिजनमा आएको समचार यहाँ क्लिक गरेर हेर्नुहोस। ३८ औं मिनेटमा छ]

               (मुस्ताङको चासोले भरिएका फ्रान्सेली)

उपल्लोले मुस्ताङको जन जीवन, दुख र कष्ट समेटेर पत्रकार मित्र प्रवेश सुवेदीले डकुमेन्ट्री बनाए । मेसो मिल्यो-त्यसलाई फ्रान्सको चार ठाउँमा देखाउने । दुई ठाउँमा उनले मुस्ताङको डकुमेन्ट्री देखाउँदा मैले चरा बारे प्रवचन दिएँ । चरा र मुस्ताङ दुई अत्यन्तै फरक विषय भए । लियोंको नेपाली साँझ हामी आफैँले आयोजना गरेका थियौँ फ्रान्सेली मित्रहरूसित मिलेर । कार्यक्रम दुई भागमा बाँडियो । पहिलो भागमै मुस्ताङको डकुमेन्ट्री देखाउने थियो ।  डकुमेन्ट्री देखाउने समय आइपुग्नै लाग्दापनि दर्शक पातलै देखिए ।

हिस्स परिने भो जस्तो लाग्यो । त्यही देखाउने भनेर हामी साथी भाईकै सल्लाहमा आफ्नै खर्चमा आएका उनी । लौ, दर्शक नभएर हतोत्साहित भएर फर्किने त होइनन् साथी ? तर एक्कै छिनमा माहुरीका गोला झैँ हुरुरु आए दर्शक । सोध्न थाले- कति बेरमा शुरु हुन्छ ? भटाभट एकैछिनमा हल नै खचाखच भरियो । मुस्ताङ भनेपछि निक्कै चासो रहेछ फ्रान्सेलीहरू बीचमा ।

उपल्लो मुस्ताङ सहज छैन । नांगा पहाडको सुन्दरता कति दिन टिक्छ ? सेता चम्केका हिमालले केही दिन त आकर्षण गर्छन् । तर दिमाग चिस्याउने, गोडा फुटाल्ने, थरथरी कपाउने, भौगोलिक बिकटतासँगै मिसिएर अनेक कष्ट थपेपछि कति दिन प्रिय लाग्छन् ती हिमाल ? काठमाडौंमा बसेर पत्रकारिता गरिरहेको आधुनिक ठिटो मुस्ताङका तीनै परिचय खोज्दै जान्छ । एउटा ठूलो उद्देश्य बोकेर साथमा चर्चित हास्य कलाकार मनोज गजुरेल हुन्छन् । बाटामा काली गण्डकीको शालीग्राम, हरियो फाँट र गह्रुँगो भारी पिठ्यूँमा बोकेर फिस्स हाँस्दै जीवन गाँसेका स्थानीय सँगै रमाउँदै जान्छन् ।

तर करिब पाँच हजार मिटर पुगेपछि त्यस अघि हाँसेका क्षणमा एक्कासि तगारो ठडिन्छ । कारण ? सँगैको साथी, प्रवेशको यात्राको आधा आशा, भर र भरोसा मनोज गजुरेललाई लेक लाग्छ । अझ अगाडि बढे झन उकालो ।  जिवन जोखिममा । के गर्ने ? दुबैले अँगालो हालेर छुट्टिन्छन् । गजुरेल फर्किएपनि प्रवेश एक्लै लाग्छन् माथि । मनोज गजुरेलले प्रवेशलाई एक्लै छोडेर आँसु रुमालले पुच्छ्दै फर्केको द्रिष्यले मन छुन्छ ।

माथि हिँडि साध्य छैन । बाटोमा पानी पिउन कतै पाँच घण्टा हिँड्नुपर्छ । कोकाकोलाको बोत्तलमा लगेको पानी तिर्खा मेट्न होइन सकिएला भनेर अड्कली अड्कली उनी घाँटी मात्रै भिजाउन प्रयोग गर्छन् । न उनले हिमाल बुझेका । न हिमालले उनलाई त्यस पहिले देखेको, जाने बुझेको । न त त्यहाँका जनता सित सामिप्यता । यात्रामा सहज हुन्छ भनेर उनले मित लगाउँछन् त्यहीँका एक मुस्ताङीसित । मितज्युकै घोडा भाडामा लिन्छन् । यात्रा क्रममा हिउँ खोस्रेर अगेनो बनाउँछन् । उनैसित बुट्यान जम्मा पारेर ढिँडो पकाउँछन् । त्यहीँ आगो फुकेर ढिँडो ओडाल्छन् । हिउँ पगालेर जुट्छ ढिँडो ओडाल्ने पानी । त्यसगरि टर्छ । प्रवेशका लागि केहि दिनको दुखसुख, नौलो अनुभव । तर उनका मितका लागि ? दैनिक जिवनको वास्तबिकता । यात्रामा सधै त्यति जुरिदिए धन्न ।

एउटा सिंगो गाउँ जत्रो एउटै घर । त्यहाँबाट छिरेपछि भित्र भित्रै अनेक ढोकै ढोका । जुवा खेल्ने, रमाउने आफ्नै पारा । तिब्बती संस्क्रिति । हिउँ, हिमाल, चौँरी, घोडा, नांगा पहाड, बाह्रै काल ठन्डी हावापानी । सिंगै वस्ती एक अर्कामा परिचित । सताब्दियौं पुरानो सभ्यता । यता राजतन्त्र सकिएपनि उता मुस्ताङी राजाको प्रभाव ।  त्यही हो पहिचान ।

प्रवेशले मित लगाएपछि त्यसको उपलक्ष्यमा पार्टी गर्छन् उनका मित । साथी भाई वरिपरि राखेर साँझ खाँदै गर्दा उनका मीतज्यू भन्छन्- आज असाध्यै खुशि लाग्यो मीतज्यू । यहाँ त चामल पाइन्न क्यारे । मित ज्यू खाने त पार्टी गरे पनि ढिँडो नै हो । त्यो द्रिष्यले हाँसो मात्रै लगाउँदैन, त्यहाँको जनजीवनको वास्तविकता पनि बोल्छ । 

(दोभाषेको सहयोगमा फ्रान्सेलीका जिज्ञासाको जवाफ दिँदै प्रवेश)

करिब २५ मिनेटको डकुमेन्ट्री असाध्यै चाख र चासो दिएर हेर्छन् फ्रान्सेलीहरू । डकुमेन्ट्री सकिनासाथ उनीहरूले जिज्ञासा राख्छन्- अहिले पनि मुस्ताङ जाने प्रवेशाज्ञा पाउन उस्तै गाह्रो छ कि छैन ? जाडोमा के गर्छन्, कहाँ बस्छन् ? कसरी बस्छन् ? पानी लीन पाँच घण्टा जानु पर्ने भए के खायौ तिमीले त्यत्रा दिन ?  फ्रान्सेलीहरू मुस्ताङ भनेपछि हुरुक्कै हुने रहेछन् । दाजु भाइले एउटै महिला बिहे गर्छन् साझेदारीका रूपमा भन्ने जानकारीले फ्रान्सेलीलाई चमत्कार पार्छ । प्रवेशले मितसित बाटोमा झ्याँस जम्मा पार्दै फु फु गर्दै आगो बालेर ढिँडो खाएको द्रिष्यले फ्रान्सेलीहरूलाई अचम्मित पारेको थियो ।

पछि पेरिसमा देखाइयो उनको डकुमेन्ट्री । त्यहाँ निकै कम भए फ्रान्सेली । अनि केही सीमित नेपाली भए । तर फ्रान्सेली जति थिए निकै चाख दिए । उनीहरूको चिन्ता थियो- अब मुस्ताङमा सडक जाँडै छ । सडक गएपछि गाडी गुड्छन् । विकास र प्रविधि भित्रिन्छ । अनि मुस्ताङी कला र संस्क्रिति, मुस्ताङी जन जीवन सबै फेरिन्छ । मुस्ताङको अहिलेको स्वरूप बिग्रिन्छ । दैनिक जीवन बदलिन्छ । आधुनिकताको नामले धेरै चीजलाई गाँज्छ । अहिलेको बिकट, पैदलै पैदल हिँडिने शान्त स्वच्छ मुस्ताङमा गाडी गुड्न थालेपछि के मजा ? त्यसपछि मुस्ताङ अहिलेको मुस्ताङ रहन्न । फ्रान्सेलीहरूले चिन्ता गरेका थिए ।

तर हामीले कस्तो तर्क गर्‍यौं भने, हाम्रो, सीमित पर्यटकको वा अन्य बाहिरका व्यक्तिको खुशि, रमाइलो र आनन्दका लागि मुस्ताङीहरुलाई सधैँ सडक, यातायात र प्रविधिबाट टाढा राख्नु हुन्न । हाम्रो रमाइलो र आनन्दले अरूलाई विकास र सुविधाबाट वञ्चित गराउनु हुन्न र त्यो अधिकार कसैलाई छैन । मुस्ताङीहरु कस्तो चाहन्छन् । उनीहरु आफ्नो जन्मथलोलाई कस्तो बनाउन चाहन्छन् । कसरि बस्न चाहन्छन् भन्ने कुरो सात समुद्र पारीबाट निर्णय गरेर, मुस्ताङलाई यथा अवस्थामा राख्न खोजेर चल्दैन । आधुनिक प्रविधी, सेवा र सुबिधाको उपयोग गर्ने हामी सबैलाई समान अधिकार छ, हुनुपर्छ । बरु मुस्ताङका कलाक्रिति, धर्म र संस्क्रिति अनि सम्पदाहरूलाई कसरी संरक्षण गर्ने त्यसलाई बेलैमा सोच्नुपर्छ ।

मुस्ताङको आकर्षण देखेर त्यो बेलाका कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठपनि छक्कै परे । मुस्ताङ र त्यहाँको जनजीवनलाई प्रवर्धन गर्ने हो भने अझ धेरै फ्रान्सेलीको मन नेपालतिर  तान्न सकिन्छ भन्ने उनको बुझाइ थियो । खासगरी लियों शहरको कार्यक्रमपछि उनी निकै हौसिएका थिए सबै मिलेर केही गर्नुपर्छ, अझ धेरै गर्नुपर्छ, सकिन्छ भन्दै ।

  • Sagar Sharma

    “…हाम्रो रमाइलो र आनन्दले अरूलाई विकास र सुविधाबाट वञ्चित गराउनु हुन्न र त्यो अधिकार कसैलाई छैन…”
    Absolutely right.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    शमशेर जीसी Reply:

    तपाईको कुरा सित मा पनि सहमत

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -राम गुरुङ

    त्यस्तै छ ददि जी, कसैको दुख , पिर र पीडा कसैलाई हेर्दा, भोग्दा मजा लाग्छ । हो मुस्ताङको विकास गरेर सुबिधा भोग्ने अधिकार मुस्ताङीलाईपनि छ भन्ने तपाईको तर्क सोरै आना ठिक छ मेरो बुझाईमा पनि ।नयाँ ठाउँ मा राम्रो कार्यक्रम गर्नुभएछ तपाईहरु सबैलाई बधाई ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree