साझा चाड : साउने सङ्क्रान्ति अर्थात् सिसेःक्पा तङ्नाम
-डी बी आङ्बुङ लिम्बू
सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्ति प्रतिको बुझाई ‘काण्डरक’ नामक राक्षसको पूजा गरी असारे हिला मेलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड हो । तर, नेपालमा आदिम कालदेखि बसिआएका विभिन्न आदिवासी र जनजातिहरू पूर्वका किरात लिम्बू, खम्बु तराइका थारू र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र मान्दैनन् ।
साउन १ गते साउने सङ्क्रान्ति पर्व । यो पर्व प्रायजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै सांस्कृतिक मान्यता र परिस्थिति अनुसार मनाउने गर्छन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक-सांस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर तरिकाहरू पनि केही भिन्न छन् । ती भिन्नताले भिन्नाभिन्नै किसिमका सांस्कृतिक सन्देशहरू दिन्छन् । यस्ता भिन्नता र समानताहरूलाई सही तवरले बुझ्न नसक्दा चाडपर्वहरू र यस प्रतिका सकारात्मक सन्देश वा प्रभावहरू पनि एकापसमा बाझिएर खप्टिन गई विरोधाभास पूर्ण तरिकाले अलमल्लमा परे जस्तो लाग्न सक्छन् । यसर्थ, अबदेखि यस्ता धार्मिक-सांस्कृतिक महत्व राख्ने चाडपर्वहरू प्रतिको हेराइ बुझाइ विश्लेषण वा सम्प्रेषण गराईमा पनि पुनर्संरचना हुन आवश्यक छ ।
आजसम्म, राष्ट्रव्यापीरुपमा आएका साउने सङ्क्रान्ति पर्व प्रतिका अभिलेख तथा सम्प्रेषणहरू केवल एउटै जाति वर्ग र धार्मिक-सांस्कृतिक समुदायको मान्यता एवम् चिन्तन विशेषमा मात्र केन्द्रित छन् । अब यी र यस्ता चाडपर्वहरूलाई सबै नेपालीको साझा चाडको रूपमा विकसित गरी धार्मिक-सांस्कृतिक सहिष्णुता कायम गराउने हो भने राष्ट्रिय तहका विभिन्न सञ्चार माध्यमहरूले विशेष अभियानको रूपमा विभिन्न जाति, वर्ग र समुदायमा गई कुन मूल्य-मान्यताको आधारमा कसरी मानी-बुझिल्याएका रहेछन् भनेर खोजी गरी प्रकाशमा ल्याउनु अपरिहार्य छ ।
सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्ति प्रतिको बुझाई ‘काण्डरक’ नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड हो । तर, नेपालमा आदिम कालदेखि बसिआएका विभिन्न आदिवासी र जनजातिहरू पूर्वका किरात लिम्बू, खम्बु तराइका थारू र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र मान्दैनन् । किरात समुदायमा ‘काण्डरक’ राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक आदिम पुर्खा वा राजनेता र उनको जनतामा आइ परेको दैवी प्रकोप तथा सामना गर्नु परेको अनिकालको कारुणिक कहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यसर्थ, यो चाडलाई प्रकृतिको पूजा पुर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ ।
नेपालको पूर्वमा लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल र पात (च्योङ्हरु) सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानपिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझ पख गाउँघरमा मीठो-मसिनो खानपिन खाइ पिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुकहरू पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घर भित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् ।
यसरी खराब कुरालाई खेदाइरहेको बेला कुनै भूतप्रेत वा भौतिक शत्रु चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । विचरा किसानका छोराछोरोहरूले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ मङ्ग्रान्ति आऊ अनिकाल जाऊ सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख-पीडा’ लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी, उनीहरूले घर परिवारमा रहेको बाझोजुझो गाउँघरमा रहेको सामाजिक-सांस्कृतिक विकृति-विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरुले आग्रह गरेका हुन्छन् । अर्थात् अब त नयाँ अन्न बाली र फलफूलहरू पाके । यस कारण, अब हामी कम्तीमा ६ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाएका हुन् रे उनीहरू । त्यस्तै संयोगवस नेपालमा पुरानो आर्थिक वर्षको समाप्ती र नयाँ आर्थिक वर्षको शुभारम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-सांस्कृतिक रूपमै कहाँ के कति राजनीतिक रूपमा राम्रा काम र नराम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रूपमा पनि यो चाडलाई विकसित गरेर लीन सकिन्छ ।
वैज्ञानिक मतमा साउने संक्रान्तिको दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति र सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यही कारण यो दिनमा वर्षको सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ । परम्परागत रूपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षा यामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ ।
विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नास्पाती कागती, निबुवा, अम्बा, अनार फलफूल आदि चढाई काण्डरक राक्षसको पूजा गरेमा दाद लुतो खटिरा जस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ । यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको बर्त बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन ।
कृषिप्रधान राष्ट्र नेपालमा कृषकहरू दिनरात माना खाएर मुरी उब्जाउने काममा लागिरहेको बेला सरकारले कुनै सहयोग वा राहतहरू त दिएको पाइँदैन । तर, यही बीचमा पनि हिमाल पहाड र तराई सबैतिरका किसानहरूले यो साउने सङ्क्रान्तिलाई एकदिन भए पनि पर्वको रूपमा मनाई अलिक सुबिस्तामा सबै परिवार एकसाथ भई मीठा खानेपिन खाएर रमाइलो गर्ने गर्दछन् । त्यसैले यो साउने सङ्क्रान्ति नेपाली किसानहरूको महान चाड हो पनि भन्न सकिन्छ ।
यो साउने सङ्क्रान्ति पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेश हङकङ, युके, यु एस ए, अष्टेलिया र खाडी मुलुक आदि ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरू एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षोल्लासकासाथ आफ्नो संस्कृति र मातृ भूमि नेपालको सम्झना गर्दै मनाउने गर्दछन् । नेपालभित्र मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई हिउँद लाग्यो अब बाँचिन्छ र राम्रो हुन्छु भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छु भनी मनाउने गर्दछन् । अर्थात् माघे सङ्क्रान्ति ‘मरिन्छ कि’ भनेर मनाउने हो भने साउने सङ्क्रान्ति ‘लौ बाँचियो’ भनेर मनाउने हो ।
थकाली आदिवासी जनजातिको परम्परागत धर्म-सङ्गठन मुखिया प्रणाली हो । यो सामाजीकी संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवा तास खेल्न समेत छुट दिने गरेको छ । तर अरू दिनमा पनि जूवा तास खेलिएमा त्यही संस्थाले नै दण्ड वा जरिबाना गर्ने चलनसमेत रहेको छ । त्यसैगरी तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् ।
पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानि ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको हुम्ला जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरुले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरु सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।
पृथ्वीको निश्चित भूभागमा प्राकृतिक तथा मौसमी परिवर्तनका विशेष समय वा दिनलाई त्यहाँका सबै मानव समुदायले आ-आफ्नै तरिकाले बुझेर ग्रहण गरिल्याएका हुन्छन् । त्यही मौलिक बुझाइ र ग्रहण गराइअनुसार नै त्यस घटना वा विशेष समय प्रतिको मान्यताहरू विकसित गरी ल्याएका हुन्छन् । कतिपय तीनै मान्यताहरूले नै सामूहिक मान्यताको रुपधारण गर्दै विशेष चाड वा पर्वको मान्यता पाउँछन् । यसमा सापेक्ष वैज्ञानिकता र सत्यताको खोजीसँगै एकापसमा राम्रो वा नराम्रो जे जस्तो लागे पनि सबैलाई समान मान्यता र अवसर दिएर संरक्षण गर्दै लैजाने कर्तव्य र जिम्मेवारी सम्बद्ध जाति धार्मिक वा सांस्कृतिक समुदाय र सरकारको समेत हुन्छ । साउने सङ्क्रान्तिको हकमा यो सबै जाति वर्ग समुदाय र क्षेत्रको साझा चाड भएकोले यसलाई सबै नेपालीको साझा पर्वको रूपमा स्वीकार गरी नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेर यसको सम्मान र सम्बोधन गर्नुपर्छ ।

![Saune Sanghkrati or Sisekpa Tangnam's Photo[1]](http://www.nepalplus.com/wp-content/Saune-Sanghkrati-or-Sisekpa-Tangnams-Photo1.jpg)
