संविधान निर्माण, राजनैतिक सहमति र शान्तिका लागि कविता वाचन

-स्नेह सायमी

यतिखेर मुलुकको राजनीतिले कतातिर कोल्टे फेर्ने हो भन्ने कुराले जनमानस अत्यन्तै चिन्तित छन् । २ वर्ष अघि घोषणा गरिएको संघिय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गर्न संविधान सभाको निर्वाचनले उत्साहित जनताहरू, बारीमा मकै रोपेर, मलजल गरेर उम्रेको लामो बोट र घोगा अनि घोगाभित्र मकै नउम्रेको देखेर विचलित भएका किसान जस्तै भएका छन् । संविधान निर्माणको तिथि डेढ महिना पनि बाँकी नरहेको स्थितिमा जनताहरू आक्रोशित त छन् नै । यही बीचमा दण्डहिनताले गर्दा डाँकाहरूलाई शहीद घोषणा गर्नु, टायर बाल्न सक्नेको मात्र माग पूरा हुनु, भष्ट्राचारले खुलेआम प्रश्रय पाउनुले मुलुकलाई जटिलताको स्थितिमा पुर्याएको छ । बौद्धिक विचार-विमर्श, तार्किक छलफल भन्दा पनि पाखुरी र हतियारको धाकले इज्जत पाएको छ । मुलुकको अर्थतन्त्र तीव्र रूपमा ओरालो लागिरहेको छ । हतियारधारी दस्ताहरुको निर्माण, हत्या र अपहरणको सिलसिला बढ्दो छ । तर पार्टीहरू यस्ता वैचारिक, आर्थिक र सांस्कृतिक विचलनबाट बेखवर झैँ आ-आफ्ना कार्यालयमा उन्मुक्त हाँस्दै रहेको देखिन्छन् टेलिभिजनको पर्दामा ।

निर्धारित समयमा संविधान बनाउने प्रण गरेका दलहरूले संविधान बनाउने भन्दा पनि सत्ता ओगटी रहने प्रयत्नमा लागिरहे । यी सबै कुरा देखेपछि केही श्रष्टाहरुबिच छलफल भयो- यसमा हाम्रो के भूमिका हुन्छ ? मेरो प्रस्ताव रह्यो- नेताहरूको घर-घरमा गएर खबरदारी कविता वाचन गर्ने । त्यसपछि कविहरूलाई अनुरोध गरियो, धेरैजसो तुरुन्तै तयार हुनुभयो र केही साथीहरूले घरमै गएर कविता वाचन गर्नु राम्रो होइन भन्ने तर्क राख्नुभयो ।

यो विषयमा फेरि छलफल भयो । धेरै साथीहरूको मन रह्यो- घरमै गएर कविता वाचन गर्ने । नेताहरूलाई उहाँहरुको निर्णयमा प्रभाव पार्ने व्यक्तिहरू त निवासमै हुन्छन्, त्यसैले निवासमै गएर कविता वाचन गर्नु राम्रो ।

बिहान ७ बजे नै शुरु गर्ने र ८ बजे सम्ममा कविता पाठ गरिसकेर नेताको प्रतिक्रिया समेत सुनिसक्ने कुरा निधो भयो । अत्यन्तै छोटो समयमा निर्णय भएको यो कार्य सम्पन्न गर्न कविहरूलाई फोन गरियो । दुरसंचारको समस्याका कारण कतिलाई सम्पर्क गर्न सकियो त कतिलाई सकिएन । कतिपयको फोन उठेन, नयाँ वर्षको लागि बाहिर जानुभएको पनि हुन सक्छ, तर भेटे जति कविहरूलाई वाचन गर्न आउने पक्कापक्की गरिसकेपछि शुरु भयो ‘संविधान निर्माण, राजनैतिक सहमति र शान्तिका लागि कविता वाचन ।’

पहिलो कार्यक्रम थियो एनेकपा माओवादीका अक्ष्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास नयाँ बजारमा । साधारणतया नेपालीहरूको कार्यक्रम शुरु हुने समय त निश्चित हुने तर अन्त्य हुने समय भने थाहा नहुने । यो कार्यक्रममा आमन्त्रित सबै कविहरुले कविता पढ्न भ्याइकन पनि नेताको टिप्पणी सुन्ने समय राखिएको थियो बढीमा एक घण्टा ।

प्रचण्ड निवासमा ढोकाभित्र आँगनमा हरिया र राता कार्पेट ओछ्याइएको थियो र दुईवटा होचो खाटका आसन पनि बनाइएको थियो । ठीक सात बजेको समय तोकिएका पनि सात बजेर पाँच मिनेटमा प्रचण्डजी तल झर्नुभयो र होचो खाटमा बस्नुभयो । बसेर हेर्नुभयो सबै कविहरू कार्पेटमा प्रचण्डजी खाटमा, अनि भन्नुभयो- होइन यो के गरेको मलाई मात्रै खाट अनि साथीहरू कार्पेटमा ? म पनि तलै बस्छु । यसो भन्दै उहाँ तल कार्पेटमा बस्नुभयो र शुरु भयो कविता वाचन ।

कविहरुले ब्यंग्यात्मक र खबरदारी कविता पढ्नुभयो । प्रचण्ड निवासमा कविता पढ्नुहुने कविहरू हुनुहुन्थ्यो- श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्षी, लक्ष्मी माली, केशव सिलवाल, संगित श्रोता, वासुदेव अधिकारी, हरिमाया भेटवाल, विमला तुम्खेवा, प्रतिसरा सायमि, मित्रलाल पंज्ञेनी, कुसुम ज्ञवाली, भागवत आचार्य, अशोक सुवेदी र थिएँ म आफैँ ।

करिब ३५ मिनेटमा १४ जना कविहरुले कविता वाचन गर्न भ्याए । कविताहरूले गरे खबरदारी । एनेकपा माओवादी अध्यक्ष प्रचण्ड कविता सुनेपछि भावुक भए र संक्षेपमा भने- ‘संविधान बन्नुपर्छ भन्ने पक्षमा म र मेरो पार्टी प्रतिबद्ध छौं । तर संविधान कागजको खोस्टो मात्र नहोस् भन्ने हाम्रो धारणा हो ।’

नयाँ बजारको व्यवस्थापन राम्रो थियो । कविता वाचनको सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न एक घण्टा लागेन । उहाँहरुले बाँडेको एक कप चिया खाएर कविहरू फर्कनै के लागेका थिए आइपुगे भारतीय राजदूत राकेश सुद । त्यस दिन कविता वाचन भन्दा पनि राकेश सुदको समाचार वलवान भयो ।

भोलिपल्ट अर्थात् वैशाख २ गते पालो थियो नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको निवासमा । झलनाथजीको घरमा मेचहरू राखिएका थिए । उहाँले आफ्ना केही नेता र सहयोगीहरू पनि डाक्नु भएको रहेछ । अमृत बोहरा, राजेन्द्र श्रेष्ठ, जीवनराम श्रेष्ठ लगायतका नेताहरू हुनुहुन्थ्यो ।

झलनाथजी ७ :१० मा ढोकाबाट निस्कनुभयो । अघिल्लो दिन झैँ कविता वाचन शुरु भयो । कवि प्रतिसरा सायमि, केशव सिलवाल, संगीत श्रोता, वासुदेव अधिकारी, मित्रलाल पंज्ञेनी, जय गौडेल, लक्ष्मी माली, भूपाल राई, भावना पोखरेल, देवी नेपाल, गोपाल कुमार मैनाली, धिरेन्द्र प्रेमर्षी र मैंले कविता वाचन गर्यौ ।

कविता अत्यन्तै व्यंग्यात्मक र काव्य-कोर्रा लगाउने खालका थिए । कविता सुनिसकेपछि झलनाथ खनालले आफ्नो एउटा कविता सुनाए ‘अप्रिल क्रान्ति’ र त्यसपछि भने ‘अनुमति पाए म एउटा अर्को कविता सुनाउन चाहन्छु ।’ त्यसपछि वहाँको कविता संग्रहबाट ‘मस्को’ शीर्षकको कविता सुनाए । कविता वाचनपछि वहाँको प्रतिक्रिया दिने पालो आयो र भन्नुभयो-’संविधान निर्माणका लागि नयाँ सहमतिको निर्माण आवश्यक छ, म ढाँट्न चाहन्न जेठ १४ गतेभित्र संविधान बन्दैन ।’

यो समाचार मिडियाकर्मीका लागि स्कूप जस्तै भयो र फेरि झलनाथजीको संविधान नबन्ने कुराको अगाडि कविता वाचनको समाचार ओझेल पर्यो । दुवै नेताहरूको निवासमा कविता पढ्नु अघि हामीले आफ्ना कुरा यसरी राख्यौं- ‘आज २०६७ सालको घामसँगै हामी यहाँ उपस्थित भएका छौं । यो उपस्थिति नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्नका निम्ति नभइ नयाँ वर्षलाई शुभकामनायोग्य बनाउनका लगि साझा प्रयत्न होस् भन्ने अनुरोध गर्नका निम्ति हो ।

२०६७ सालको नयाँ वर्षको घामले मकै होइन मुलुक डढाउने हो कि ? यो वर्षको वर्षातले घर होइन स्वाधीनता बगाउने हो कि ? हिउँद आइपुगुन्जेलसम्म चिसोले एकाध व्यक्ति होइन संपूर्ण नेपाली जनता आफ्नै घरमा कैदी भएर कठ्यांग्रिनु पर्ने हो कि ? भनेर आतकिंत छन् । संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न निर्वाचित प्रतिनिधिहरू ढुङ्गाका मानिस झैँ निर्जीव छन् । जिम्मेवार नेताहरू गुच्चा खेल्न बसेका केटाकेटीहरू जस्ता भइदिएका छन् । बाढीमा बगेको प्वाल परेको डुङ्गामा बसेर कुस्ती खेलिरहेका पहलमानहरू जस्ता भएका छन् ।

स्वाधीन राष्ट्रको परिचय टिकिरहने गरी, जनताले आफ्नो अधिकार र दायित्वको साथै परिवर्तनको महसुस गर्न सक्ने गरी संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण निर्धारित समय भित्रै सम्पन्न गर्नका लागि तयार हुनुहोस् भन्ने तीव्र आग्रह र दबाबका निम्ति राजनैतिक पार्टीका नेताहरूको निवासमा पुगेर कविता वाचन गर्ने अभियान अन्तर्गत आज हामी यहाँ उपस्थित भएका छौं । हामीले निर्वाचित गरेर, विजय जुलुस गरेर पठाएका जननेताहरू किन केटाकेटीलाई मारेर आफैँ आत्महत्या गर्ने आमाको भूमिका निभाउन आतुर छन् ? यस्तो नगर्नुहोस् भन्ने खबरदारी गर्न हामी यहाँ उपस्थित छौं ।

 हाम्रो आग्रह छ । कछाड कि कट्टु, खटिया कि खाट जस्ता कुरामा झगडा नगरिदिनुहोस् र साझा घरको निर्माण गर्नुहोस् । २०६७ सालको घाम र पानीसँग असंख्य स्वाधीनताका, स्थिरता, निश्चितताका बीजहरू अंकुरित गर्दै हिउँद सम्ममा संघिय लोकतान्त्रिक गणतन्त्रको रापिलो घामबाट आनन्दित हुन पाइयोस् ।

 त्यसका लागि अरूले मिलाइदिए मात्र मिल्ने, अरूले पुर्याइदिए मात्र गन्तव्यमा पुग्ने नगरीदिनुहोस् । अर्थात् शीघ्र राजनैतिक सहमति जुटाउनुहोस्, निर्धारित समयभित्र संविधान निर्माण गर्नुहोस् ।

हामी यही कुरा कविता मार्फत अभिव्यक्त गर्न उपस्थित भएका हौं ।’ दुवै कार्यक्रममा पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. महेश मास्केले कार्यक्रमको औचित्यताबारे बोल्नुभयो भने केन्द्रका सदस्य रायन र सुकन्या पनि कविता सुन्न पुग्नुभयो ।

  • rewanta

    असाध्यै मन पर्र्यो तर के गर्ने जनताले कवीहरुले जति गरेपनि यी नेताको बुद्दी आउने होइन रैछ अब पनि संबिधान बनाउन लागेका छैनन् के गर्ने सायमी जी ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    dipendra Reply:

    देस र जनताको माया नै छैन, जिम्मेवारीबोध नै छैन नेतालाई
    अनि के सुन्थे तपाई स्रस्टा हरुका कुरा ? उनीहरु त भारतीय, अ मेरिकी र बेलायातीका कुरा पो सुन्छन त ! किनभने जनताको भोटले सरकार बन्न छाड्यो र विदेशीले सरकार बनाइदिन थाले

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हेर हेर यो प्रचंडे कति पदीय लोलुपता कति रहेछ भने बाबुरामलाई प्रधानमन्त्री दिए सर्बसम्मतले चुन्ने भन्दा पनि नमान्ने । यस्ता नेताहरुलाई के नेता भन्ने जनभावनालाई बुझ्न नसक्ने पनि के को अध्यक्ष यिनलाई त सुंगुरको आची खुवाउनु पर्ने के भन्ने धोकादिनेलाई के भनौ र खोई ??

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सहविर

    तपाईहरुको प्रयास राम्रो हो तर देख्नु भयो त हिजोको चुनावमा के भयो ? खोइ त नेताले महसुस गरेको ? तपाइहरुले जति गरेपनि यी नेता कहिल्यै सुद्रिदैनन के गर्ने ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balaram Thapa

    यी फ़ोटाहरु हेर्दा कविहरुले यी नेताहरुको अगाडि कविता भट्याउनु र भैंसीको पछाडि बाँसुरी बजाउनु उस्तै उस्तै लाग्यो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हे भगवान हे प्रभु यिनीहरुलाई किन काल आएन किन नेपालले राम्रो नेता कहिल्यै पाएन सति हो कि पतिले सरापेको रे त्यो सराप दिनेलाइपनि कहिल्यै खान लाउन नहोस भनेर हरि बंसले झैँ भन्न मन लाग्यो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • अनुराधा

    दाइ राम्रो प्रयास । सराहनिय छ । तर के गर्नु नेताहरु बुझेर बुझ पचाउँछन् । यसले गर्दा पो दुख लाग्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree