कमरेड र श्यामशरणबीचका कुरा

नेपाल भ्रमणमा आएका भारतीय दूत श्यामशरणले नयाँबजारस्थित प्रचण्डनिवासमा पदाधिकारीलाई भेटिसकेपछि डा. बाबुराम भट्टराईसित किन फेरि छुट्टै भेटघाट गरे ? यसबारे जनआस्थाले केही गुहृय कुरो पत्ता लगाउने प्रयास गरेको छ । साथै, श्यामशरणले माओवादीसित के-कस्तो कुरा गरेर गए ? त्यो पनि यतिवेला निकै ठूलो खुल्दुलीको विषय भएको छ ।

हाल कुनै पनि सरकारी ओहोदामा नरहेका पूर्वराजदूत एवं पूर्वविदेशसचिव श्यामशरणलाई नै भारतीय प्रम मनमोहन सिंहले किन नेपाल पठाए ? अनि गत जनआन्दोलनका वेला कर्ण सिंहलाई प्रमुख दूत र श्यामशरणलाई सेकेन्डम्यान बनाएर किन नेपाल पठाइएको थियो ? यसबारे विश्लेषण नगरीकन एकोहोरो श्यामशरण भारतीय हस्तक्षेपका लागि नेपाल आएको प्रचारबाजी विशेषगरी माओवादीका केही नेताले गरिराखेका छन् । तर, थाहा भएअनुसार, उनी माओवादीकै हितका लागि नेपाल आएका थिए । उनको भ्रमणबाट माओवादी हेडक्वार्टरलाई निकै ठूलो फाइदा पुगेको स्रोत बताउँछ ।

स्रोतका अनुसार, प्रधानमन्त्री मनमोहनलाई नेकपा एकीकृत (माओवादी) को भित्री आशय बुझ्न मन लागेपछि उनले खाली नेपालको स्थिति र माओवादीको मनपेट बुझ्न श्यामशरणलाई पठाएका हुन् । श्यामशरण नेपाल मामिला बुझ्ने सीमित भारतीय कूटनीतिज्ञका रूपमा चर्चित छन् । फेरि उनी विदेशसचिव भएकै वेला दसवर्षे सशस्त्र युद्धमा रहेको माओवादी पार्टीलाई भारतले मान्यता दिएर बाह्रबुँदे समझदारीमार्फत राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको थियो । बाह्रबुँदे समझदारीका सूत्रधारलाई नेपाल पठाइनुले भारतले माओवादीलाई एक्ल्याउन होइन, बुझ्न प्रयत्न गरेको स्रोतको दाबी छ ।

यतिवेला माओवादीका केही नेताले डा. बाबुरामलाई खुइल्याउनका लागि श्यामशरणसितको एकल भेटप्रति आपत्ति जनाइरहेका छन् । तर, उनी नेपाल आउनुपूर्व प्रचण्ड स्वयंले पनि श्यामशरणसित नियमित सम्पर्क गर्दै आएका छन् । उनीहरूबीच पटक-पटक टेलिफोन सम्पर्क हुने गरेको स्रोत बताउँछ । त्यसो त डा. भट्टराई नर्बे भ्रमणमा गएका वेला त्यहिँ पनि डा. भट्टराई र श्यामशरणबीच लामो वार्ता भएको थियो । त्यही भेटवार्तापछि उनीहरूबीच कूटनीतिक मित्रता कायम भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईको व्यक्तिगत सम्बन्धलाई नै प्रयोग गरेर भारतसित सम्बन्ध विस्तार गरेका हुन् । बाह्रबुँदे समझदारीका वेला श्यामशरण प्रत्यक्ष संलग्न त थिएनन्, तर माओवादीले ‘बाह्रबुँदे सम्झौता’ भन्ने पदावली प्रयोग गरेकोमा ‘सहमति’ शब्द राख्न सम्भवतः उनैले सल्लाह दिएको बताइन्छ । त्यसवेला बाह्रबुँदे समझदारीको ड्राफ्ट तयार पारेर ‘भारतीय पक्ष’लाई देखाउन लगिएको थियो । साथै संसद्वादी दल र माओवादीबीच छुट्टाछुट्टै हस्ताक्षर गर्न श्यामशरणको नेतृत्वले नै सल्लाह दिएको बताइन्छ । यस अर्थमा श्यामशरणलाई माओवादी नेताहरूले राकेश सुदलाई भन्दा अलि असल कूटनीतिज्ञका रूपमा हेर्ने गरेका छन् । स्वयं प्रचण्डसमेत श्यामशरणको नेपाल भ्रमणबाट निकै उत्साही भएको बताइन्छ ।

स्रोतका अनुसार, श्यामशरणले बिहीबार जसरी नयााबजारमा माओवादी नेताहरूसित सामूहिक रूपमा भेट गरे, उनी त्यस्तो सामूहिक भेटको पक्षमा थिएनन् । सामान्यतः कूटनीतिज्ञले त्यसरी सामूहिक रूपमा नभएर व्यक्तिगत रूपमै शीर्ष नेतासित भेट्ने गर्छन् । माओवादीभित्र विदेश विभाग प्रमुख कृष्णबहादुर महरा भए पनि बढीजसो कूटनीतिज्ञले डा. बाबुराम भट्टराईसितै कुरा गर्ने गरेका छन् । यसका पछाडि भाषाको प्रश्न पनि छ । महरा, मोहन वैद्य वा प्रचण्डले भन्दा डा. भट्टराईले राम्रोसित विदेशीलाई डिल गर्ने हुँदा विदेशीहरू उनीसित बढी आकषिर्त हुने गरेको स्रोत बताउँछ ।

सामूहिक भेटमा श्यामशरणले खुलेर कुरा गर्न अप्ठ्यारो महसुस गरेपछि उनले डा. बाबुराम भट्टराईलाई सम्पर्क गरी छुट्टै कुराकानी गर्न प्रस्ताव राखे । त्यसपछि डा. भट्टराई र श्यामशरणबीच कुराकानी भयो । सो कुराकानीमा श्यामशरणले माओवादी पार्टी लोकतन्त्र र शान्तिप्रक्रियाप्रति इमानदार छ या पुनः जनवादी क्रान्तितर्फ अघि बढ्न चाहन्छ भन्ने जान्न चाहेका थिए । यतिवेला सिंगो दिल्लीले यही विषयमा आश्वस्त हुन खोजिरहेको श्यामशरणको कथन थियो । डा. भट्टराईले उनलाई एकीकृत माओवादी पार्टी शान्तिप्रक्रियालाई छाडेर हिंसात्मक बाटोमा नलाग्ने बताएका थिए । त्यसो हो भने माओवादी वा अरू जुनसुकै दल सरकारमा गए पनि भारतलाई केही फरक नपर्ने श्यामशरणको कथन थियो । माओवादी उच्च स्रोत भन्छ- श्यामशरण नेपालमा सरकार गठन-विघटनका लागि आएकै होइनन्, उनी त यहाँको स्थिति अध्ययन गर्न मात्रै आएका हुन्, अध्ययन गरे, गए । माओवादीकै नेतृत्वमा सरकार बने पनि भारतलाई कुनै आपत्ति नहुने उनले बताएका छन् । सबै दलका प्रतिनिधिसित भेटिसकेपछि अन्तिममा पुनः ठूलो दलका नेतालाई भेटेर आफ्ना कुरा राख्ने कूटनीतिक मर्यादाअनुरूप नै श्यामशरणले अन्तिममा पुनः प्रचण्डलाई भेट्ने प्रयास गरेका थिए । तर, कुकुरलाई घ्यू नपचेको भनेझैा भारतीय अधिकारीले दिएको त्यो महत्त्व यतिवेला केही हार्डलाइनरलाई पचेन । त्यही भएर द्वारिका होटलमा बोलाउँदा हाम्रो अध्यक्ष जानुभएन भन्दै उनीहरू शंखनाद गरिरहेका छन् ।

मर्यादाहीन माओवादी

त्यसो त माओवादीभित्र डिप्लोम्यासीको निकै ठूलो खडेरी छ । उनीहरू कूटनीतिमा छिमेकीप्रति सन्तुलित व्यवहार गर्ने भन्छन्, तर व्यवहारमा छुद्रता देखाइहाल्छन् । प्रचण्डले चीन भ्रमणमा गएका वेला माधव नेपाल सरकार भारतको कठपुतली हो भन्दा चिनियाँ अधिकारीको खप्की खाएर र्फकनुपरेको थियो । आफ्नो घरभित्रको कुरा आफैं मिलाउनोस् र भारतसित असल सम्बन्ध विकास गर्नुहोस् भनेर चीनले प्रचण्डलाई सम्झाएर पठाएको थियो । तर, प्रचण्डले त्यसको केही साता नबित्दै दिल्लीलाई सरापेपछि माओवादी र भारतबीचको सम्बन्ध अरू बिग्रिएको हो । अहिले पनि श्यामशरणको भ्रमणलाई कूटनीतिक अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा माओवादीका केही नेता भारतलाई गाली गर्नमै लागिपरेका छन् । आफ्नो छिमेकीसितको सम्बन्धमा मर्यादित, सभ्य, डिप्लोम्याटिक एवं सन्तुलित बनाउनुको साटो माओवादी नेताहरू पाधेरे गालीमा उत्रने गरेका छन् ।

रामकुमार शर्मा प्रकरण

तमलोपाबाट माओवादीमा प्रवेश गरेका सभासद् रामकुमार शर्मालाई भारतीय दूतावासबाट आएको धम्कीबारे पनि माओवादीभित्र दुई खेमा देखापरेको छ । यदि त्यस्तो नै हो भने पनि त्यसलाई कूटनीतिक ढंगबाट हल गरिनुपर्ने एक पक्षको तर्क छ ।

(आज बुधवार, २६ साउन २०६७ को जन आस्था साप्ताहिकबाट साभार)

  • sagar sharma

    see this also

    “… पार्टी हाइकमान्डको आदेश नमागेरै एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले शरणलाई भेटेपछि अन्य पार्टीमा भुइँचालो ल्याउने माओवादीमा नै तुफान आएको छ। पछिल्लो तरंगले माओवादीमा भारतीय हस्तक्षेप सुपाच्य हुने वा डा. बाबुराम भट्टराईमाथि कारवाही हुनेमध्ये एक विकल्पले काम पाउने भएको छ। यसले कम्तिमा ४० प्रतिशत सभासद् आफ्नो पक्षमा डा. बाबुराम भट्टराईले पार्न सकेमा माओवादीमै रहेर वा विद्रोह गरेरआएमा भारतले लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरी प्रधानमन्त्री बनाउने आश्वासन दिएको अपुष्ट आरोपका साथ माओवादीमा हंगामा चलेको छ।…”
    Dristi weekly

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree