बेल्जियमका गल्ली गल्लीमा ठोक्किन्छन् नेपाली
बेल्जियमका नेपालीबारे प्रसंग निकाल्नासाथ नेपालीहरू भन्ने गर्थे- बेल्जियममा त यति धेरै नेपाली छन् कि बाटोघाटोमै ठोक्किन्छन् । नभन्दै मैलेपनि त्यसको प्रत्यक्ष अनुभव गरेँ । गत आइतवार शेरबहादुर छन्त्याल र म इपेर भन्ने ठाउँमा दोस्रो विश्व युद्दमा लडेका नेपालीको कथा व्यथा थोरै भएपनि हेरेर बुझेर आएका थियौँ । सहयोग गरे महेश थापाजीले । आफ्नै गाडीमा रेल स्टेसनसम्म लिन र पुर्याउन आएका थिए उनी । त्यस दिन साँझ बेल्जियम आउँदा खानेकुरो केही नभएपछि घाँस खानु परेको व्यथा बोकेका एक नेपालीसित बातचित गर्ने मेसो मिलाएका थिए साथी छन्त्यालले । इपेरबाट हामी आन्तरपेन शहर झरियो । त्यहाँ छन्त्यालजीले ‘लौ ददिजी मेरी बहिनी यतै नजिकै छन् भेट्न जाम’ भने । बहिनीको ठेगाना माग्दै, हेर्दै थिए उनी । बाटोमा दुई जना ‘त्यही त यार । क्या झुर रैछ भन्या’ भन्दै हाफ प्यान्टमा लफ्रङ लफ्रङ हिँडिरहेको देखियो । ति बेलुकाको हावा खान निस्केका रहेछन् ।
उनकी बहिनी कहाँ पुग्दा नपुग्दै बाटोमा अरू चार जना नेपाली देखिए । त्यसपछि हामी एन आर एन बेल्जियमका पूर्व अध्यक्ष तथा नेपाली व्यापारी युवराज गुरुङलाई भेट्न भनेर उनको पसलतिर जाँदै थियौँ । बाटोमा एक्कासी ‘बुद्ध शप’ लेखेको एक पसल देखियो । मैले आँखा लगाइहालें । बुद्ध नाम राख्ने कतै नेपाली त होइन भनेर । हामी अगाडि बढिसकेका थियौँ तरपनि म भने फर्की फर्की त्यही बुद्ध शपतिर आँखा लगाइरहेको थिएँ । छन्त्यालजीलाई भनेँ- यार त्यो त नेपालीको पसल हो की क्या हो ?
त्यसो भनेपछि उनीपनि ‘जाऊँ न त जाऊँ एक बोत्तल पानी भएपनि किनौं, के रहेछ हेरौं’ भन्दै फर्किए । ढोकामा एक जना राई, गुरुङ अनुहारका युवा थिए । यस्सो अकमकिए झैँ गरे उनी । ओखलढुंगाका लामा रहेछन् । नाम भुलेँ । ‘सोधियो- तपाई नेपाली हो ? उनले जवाफ दिए- हो,
तपाइहरू कहाँ जान लाग्नु भएको ? ‘
‘युवराजजीलाई भेट्न’ हामीले जवाफ दियौं ।
अनि एक्कैछिनमा एक जना अर्ध बैँसे निस्किए ‘नमस्कार है नमस्कार’ भन्दै । उनी रहेछन् राजेन्द्र बस्नेत । पसलका मालिक । रहेछन् राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा समूहका बेल्जियम अध्यक्ष । साह्रै सद्भाव देखाए । ‘बसौं, दालभात, चाउमेन केही खाएर जाऊँ’ भन्दै थिए । १७, १८ वर्षै भो’नी म त बेल्जियम आएको भनेर सुनाए ।
त्यसभन्दा अगाडिपनि पसल, बाटोघाटो र रेल स्टेसनमा हामीले थुप्रै नेपाली देखिसकेका थियौँ । त्यहाँ नेपाली यति धेरै भेट हुने रहेछन् की विदेशका अन्य ठाउँमा नेपाली बोलेको सुन्दा खुशिले बोलाउने चलनपनि हराउँदै रहेछ ।
अर्को दिन हाम्रो योजना थियो, नेपाली कांग्रेस, नेकपा एमाले बेल्जियमका नेता र व्यापारीसित यस्सो गफगाफ गर्ने । त्यहाँको व्यापारिक, राजनीतिक र अन्य वस्तुस्थिति बुझ्ने । आन्तरपेन शहरको प्रमुख व्यापारिक केन्द्रमा छन्त्यालजी र म हिँड्दै थियौँ । छन्त्यालजीले भने- उ उ ल हेर हेर बुढा त !
को रहेछन् हँ ?
राम बहादुर गुरुङ, उनले भने । निकै वर्षदेखि बेल्जियम बस्दै आएका गुरुङ पत्नीसित रहेछन् । उनलाई यस्सो भेटौं न भनेर बोलाउन गए छन्त्यालजी । परिचय गरियो । परिचय गरेपछि ‘ए ए तपाइको नेपालप्लस हेर्छौं हामी’ भने मलाई । थपेपनि- हामीले सोचे जस्तो त छैन नै तरपनि ठिकै छ ।
मैले जवाफ दिएँ- आफैँले सोचे जस्तो त हुँदै हुँदैन सर । तरपनि आफैँले सोचेको जस्तो खोज्नुहुन्छ भने यस्सो आफ्ना बिचारहरू लेख्ने गरौं न । मैले प्लेटफर्म बनाइदिएको छु त्यसलाई प्रयोग गरेर आफ्ना बिचार लान सक्नुहुन्छ । त्यसपछि उनले कुनै प्रतिक्रिया दिएनन् । ‘हिजो मात्रै यस्सो एक कल फोन हानेको भएपनि गफ सफ गर्न हुन्थ्यो । म फुर्सद मै थिएँ । आज त यी बुढीलाई यस्सो बजार गराउन लिएर हिँडेको’ भन्दै समय निकाल्न असमर्थता जनाए ।
सोमवार अपरान्ह नेकपा एमाले बेल्जियमका प्रतिनिधि शिव बरुवालजीसित भेट्ने योजना थियो । आन्तरपेन शहरको एउटा भिडियो, सिडि पसलमा थियौँ हामी जहाँ मेरा पुराना मित्र श्याम श्रेष्ठ व्यवस्थापक रहेछन् । त्यहीँ बसेर एमालेका प्रतिनिधिको प्रतिक्षा गर्दै थियौँ । शिवजी गाडी लिएर हामीलाई लीन आइपुगेका थिए । बाहिर निस्किनासाथ एक्कासी ‘उ उ’ भने छन्त्यालजीले । शारीरिक रूपमा अपांग भए पनि सबलाङ्गहरुलाई चुनौती दिँदै गीत संगितका क्षेत्रमा लोकप्रिय खड्ग गर्बुजा र उनका मित्र पारी पट्टी सडक पेटीमा टहलाउँदै रहेछन् । एक्कैछिन गफगाफ भयो ।
शिवजीको बसाईतिर लागियो । केही बेर राजनीतिक गफ भए । सांस्क्रितिक पाटोपनि छोइयो । उनले फेरी युवराज गुरुङजीको हिमालयन यती हाउसमा ल्याएर छोडिदिए । उनीसित गफ गर्दै थियौँ । ओ हो हो नेपाली त गुरुरु आको आयै । अचम्म लाग्यो । पालै पालो आउँछन्, खासगरी युवराजजीसित हात मिलाउँछन् । नेपालकै कुनै भोजनालय जस्तो लाग्ने । खास त्यस दिन नेपाली कांग्रेस बेल्जियम शाखामा भएको विवाद मिलाउन संस्थापन र विद्रोही पक्षको बैठक रहेछ । त्यो कारणले पनि निकै देखिएका रहेछन् नेपाली । हिमालयन यती हाउस नेपालीबिच लोकप्रिय रहेछ ।
किन भेट हुने रहेछन् त्यस्तरी नेपाली गल्ली गल्लीमा ? त्यहीँ गफ गाफ हुँदा थप जानकारी भयो- बेल्जियम सानो देश । ब्रसेल्स, आन्तरपेन, लुभेन र गेन्ट यहाँका प्रमुख शहर । करिब एक घण्टामा यी सबै शहर पुग्न सकिने एकबाट अर्कोमा । आन्तरपेन सबै भन्दा बढि नेपाली वस्ति भएको शहर । पुरानो राजधानी पनि रहेछ । सानो छ यो शहर तर चार हजार छन् नेपाली भन्छन् । हुन त बेल्जियममा सबै जसो नेपालीले आआफ्नै तथ्यांक दिन्छन् कति नेपाली छन् भन्ने । जे होस सानो शहरमा धेरै नेपाली हुँदा बाटो घाटो, रेल स्टेसन, बस पार्क, पसल र गल्ली गल्लीमा नेपालीहरू ठोक्किने रहेछन् । भारतमा लाखौँ नेपाली छन् । बरु दिल्ली शहरमा त्यसरी नेपाली भेटिँदैनन्, नेपाली बोलेको सुनिँदैन । तर बेल्जियममा भने यस्सो केही बेर कतै शहरको गल्लीमा सुस्ताउनुपर्छ नेपाली स्वर कानमा ठोक्किन आउँछ ।
बेल्जियमका नेपालीको राजनीतिक गतिविधि, सांस्क्रितिक चहलपहल, व्यापारिक सफलता र असफलता, बिग्रँदै सांस्क्रितिक बिचलन, बेल्जियम बाट सिक्ने सकिने कुरा आदि विविध पक्षबारे थप सामाग्री लगातार आउने छन् हेर्दै गर्नुहोला नेपालप्लस ।



ददिजी धेरै धन्याबाद
कस्तो नया कुर पढ्न पाइयो
साच्चै अनौठो पो रहेछा
मन परो वा परेन:
0
0
[Reply]
कस्तो रमाइलो खबर
मजा लाग्यो
मन परो वा परेन:
0
0
[Reply]
very very interesting
thanks Dadiji, waiting for more reports
मन परो वा परेन:
0
0
[Reply]
कतै मिठो कतै नमिठो लाग्ने, तर नेपालीहरुको बास्तविकतामा आधारित, धन्यबाद ददि र छन्त्याल जी लाई
मन परो वा परेन:
0
0
[Reply]