सास्तीको खोजी

● ददि सापकोटा

काठमाडौ, जेष्ठ १६ –
dukho-europ-final_20140531114958सम्झना छैन, मिति त ठयाक्कै । तर, पेरिसको एक कार्यक्रममा एकजना मित्रले अर्का एकजनाका बारे सुनाए, ‘उहाँ पाँच-छ महिना लगाएर रुस हुँदै आउनुभएको । बाटैमा मर्‍यो भन्ने खबर घर पुगेको रहेछ । जङ्गली जनावर र डाँकाबाट छलिएर धन्न-धन्न बाँचेर आइपुग्नुभयो ।’ दिनभरिको कामले थकित हलीझैं ती किशोर मेरैअगाडि उभिएका थिए । अचम्म लाग्यो- के यस्तरी पनि नेपालीहरू युरोप आउँछन् र !

रहँदै बस्दै जाँदा यस्ता अनेक कहानीहरू भुक्तभोगीकै मुखबाट सुनें । अन्य नेपालीले पनि सुनाउँदै गए । अफ्रिकाबाट भू-मध्यसागरको करिब १६ किमि दूरी पौडी खेलेरै युरोप छिर्न जोखिम लिने अफ्रिकीबारे केही कहानी त फ्रान्सेलीले पनि सुनाएकै थिए । पछि थाहा भयो, यस्तो अनेक कष्ट भोगेर युरोप मात्रै होइन ! जापान, अमेरिकालगायत धेरै मुलुक टेकिसकेका रहेछन् नेपालीले ।

दलालले लाखौं ठगेका । कुखुरा, खसी-बोकासितै ट्रकमा लुकेर युरोप पसेका । आवासीय र काम गर्ने वैधानिक भिसा नहुनाले लुकेर काम गर्दा साहुले तलब नदिईकनै लघारेका । यता कागज कुर्दाकुर्दै उता नेपालमा श्रीमतीले अर्को विवाह गरेका । उता आफ्नी श्रीमती, छोराछोरीको बेवास्ता गरेर यतै विदेशीसित घरजम गरेका । खाने पैसो नभएर केही दिनदेखि भोकै युरोपका सडकमा भौंतारिएका । काग पनि काम्ने पुस-माघको जाडोमा सुत्ने र बस्ने थलो नपाएर रेल स्टेसनमा उङ्दै रात कटाएका । पार्कमा स्याउला ओढेर सुतेका । यसो हुँदाहुँदै पनि उता नेपालबाट ‘युरोप त स्वर्गै हो, बाटैमा टप्प टप्प पैसा टिप्न पाइन्छ,’ भन्दै घरबारी बन्धकी राखेर, भएको पसल बेचेर, पत्नीका गरगहना बाँडालाई दिएर युरोप आउने नेपालीलाई युरोपको सास्तीबारे पटक्कै हेक्का नभएको ।

++++++++++++

मैले अन्तर्वार्ता गरेकामध्ये केही नेपालीले यहाँको स्थायी बसोबासको अनुमति पाएको वर्षौं भइसकेको थियो । उनीहरू विगत कोटयाउन चाहन्नथे । दुःखको वास्तविकता खोल्दा प्रतिष्ठामा आँच आउला, शत्रु हाँस्लान्, अरूले खुच्चिङ् गर्लान् भनेर तर्किने पनि उत्तिकै भेटिए । धेरै त ‘त्यो सुनाएर मैले के पाउँछु ?’ भन्ने भेटिए । सम्बन्धित देशको वैधानिक कागज नपाउनेहरूले भने कागजका लागि ढाँटेर आवेदन दिएका हुने हुनाले सत्य कुरो पुस्तकमा आयो भने यहाँको सरकारले थाहा पाउला र कागज बनाउन प्रक्रिया बिग्रेला भनेर पनि तर्सिन्थे । सकभर आफ्ना कठिनाइ, दुःख र व्यथा लुकाउने मानसिकताले गर्दा पनि नेपालीले भोगेका यस्ता दुःख र पीडाका कहानी बटुल्न सहज भएन ।

कतिपय नेपालीले त जानीजानी धोका दिए । प्रसङ्ग बेल्जियमको हो । त्यहाँका मित्र विष्णु भुजेलले त्यहाँ यस्तै दुःखका अनुभव सँगालेका दुई नेपालीसित भेटघाट निश्चित गरेको खबर दिए । म बेल्जियमको आन्तर्पेन सहरको बस बिसौनीमा पुगें । तर, अन्तर्वार्ता गर्ने भनिएकै बिहान उनीहरुले नबोल्ने भनेछन् । बेल्जियममा मैले धोका पाउनु त्यति मात्रै रहेनछ । अर्कोपटक साथी शेरबहादुर छन्त्यालले अर्का एक नेपालीसित भेटघाट मिलाए । युरोप छिर्ने क्रममा प्रहरी प्रशासन र सीमारक्षकका आँखा छल्दै हिमालको बाटो भएर आएका र बाटो बिराएर खानेकुरो केही नपाएपछि घाँस खाएको कथा चर्चा रहेछ, ती नेपालीसित । साँझ ६ बजे भेट्ने समय दिए । हामी आन्तर्पेन सहरमा पर्खेर बस्यौं । उनी आइपुगेनन् । फोन गर्‍यौं । ७ बजे आउने बताए । ७ पछि ८, ९ गर्दै मध्यरात भयो । कुरिराख्यौं । ‘म आउँछु, धन्दा नमान्नुस्’ भन्दै थिए । राति साढे १२ बजेपछि उनले फोन अफ गरे । आएनन् । मेरो बेल्जियम यात्रा त्यसपटक पनि बेफ्वाँकमा बित्यो ।

हिम्मत हार्न मन लागेन । युरोपमा बेलायतपछि धेरै नेपाली बस्ने देश भएकाले यो देशलाई समेट्न नसके त असफल नै भइन्छ भन्ने लाग्यो । दिक्क लागेपछि पत्रकार मित्र सन्तोष न्यौपानेलाई फोन गरेर सुनाएँ । सन्तोषले ‘एक्कैछिनमा कल गर्छु है’ भन्दै फोन राखे । नभन्दै केहीबेरमै भने, ‘ददिजी, ल एकजना मेरा हजुर बा पर्ने छन् । उनले असाध्यै दुःख भोगेका छन् । राजालाई बिन्तीपत्र हाल्ने भनेर पनि चिनिन्छन् । उहाँ टाढा बस्नुहुन्छ । जाउँ ।’ सन्तोषसँग उहाँको घरमा पुग्दा झन्डै सुत्ने बेला हुन लागिसकेको थियो । तैपनि तुरुन्तै कुरा गर्न बसियो । कहानी सुन्दा सुन्दै राति १२ बज्न लाग्यो । उहाँकी पत्नी ‘बेलैमा सुत्नुहोला है, भोलि बिहानै काममा जानु छ’ भन्दै सुत्न गइन् । हामी बोलेको सुनेर केही बेरमा आएर फेरि भनिन्, ‘अब सुत्नुस्, नत्र भोलि उठ्न सकिन्न ।’ त्यतिबेला हाम्रो कुराकानी बल्ल जम्दै थियो । मैले सन्तोषलाई भित्ताको घडीको सुई दुई घन्टापछाडि घुमाइदिन इसारा गरें । बूढा चर्पी हानिएको बेला सन्तोषले घडी घुमाइदिए । पछि हामीले नै भन्यौं, ‘किन आत्तिनुभाको ? १२ पनि बज्या छैन, सुतौंला नि !’ अनि उनी कस्सिएर बोल्न थाले । उनका रोचक र मन छुने कहानी सुनिसकेर सन्तोष र म एउटा बिस्तारामा पल्टियौं । निद्रा परेन । बिहान घडीको अलार्म सुनियो । हामी पनि उठयौं र चिया पिएर बाटो लाग्यौं । हामीले घडी उल्टो घुमाइदिएको उनीहरूले पत्तै पाएनन् ।

++++++++++++++++

बिेल्जियम जाँदा बसभित्रै रगत र पानी छादेर दुइटा झोला भरिए । बसपार्कमा ओर्लनासाथ साथी शेरबहादुरले मेरो हालत देखेर डराउँदै क्लिनिक पुर्‍याए । औषधि मगाएर मेरा झोला बोक्दै घरमा पुर्‍याए । बेल्जियममा अन्तर्वार्ता गर्न गएकै अघिल्लो दिन भिसा काडर् , बसको टिकट, बिमा कार्ड सबै चोरिएर म बेखर्ची बनेको थिएँ । उनै शेरबहादुरले खर्च बेहोरिदिएपछि पेरिस र्फकन पाएँ ।

डेनमार्कमा अन्तर्वार्ता सकिएपछि सोम सापकोटाले विमानस्थल आउने रेल चढाइदिए । अब घर पुगिहालिन्छ नि भनेर भए भरको सबै पैसा खर्च गरिसकिएको थियो तर पेरिसको विमानस्थलका कर्मचारीको हड्ताल रहेछ । कुनै पनि विमान उड्न र अवतरण गर्न नदिएकाले सबै उडान रद्द भएका रहेछन् । मेरो टिकट नन रिफन्डेबल, नन चेन्जेबल -मिति सार्न पनि नमिल्ने र पैसो फिर्ता पनि नपाइने) खालको भएकाले हजारौं अरू यात्रुसँगै म पनि अलपत्र परें । सोम त्यसै दिन स्विडेन हिँडे । उनीसित सम्पर्क हुने कुरै भएन । मेरा अर्का सहयोगी हेम अर्याल जागिरमा गइसकेका रहेछन् । फोन गर्दा दुवैजनासित सम्पर्क भएन । मैले सहयोग पाउने अरू कसैसित सम्पर्क थिएन । अर्को टिकट काट्ने पैसो थिएन । कहाँ बस्ने ? कसरी अर्को टिकट किनेर फर्किने ? आपत पर्‍यो । अबेरसम्म विमानस्थलमै बसें । मानिस पातलिएपछि एयर फँस (फ्रान्सेली विमान कम्पनी) को डेस्कमा गएर विलौना पोखें । त्यहाँ फ्रान्सेली भाषा जान्नुको फाइदा भयो । मलाई कसो-कसो चार तारेहोटलमा बस्ने, खाने र भोलिपल्ट विमानस्थलसम्म आउने टयाक्सीको समेत व्यवस्था गरिदिए ।

त्यस्तै बिर्सिनसक्नुको यात्रा भयो- पोर्चुगलको । जाँदा विमानका कर्मचारीले राम्रोसित परिचयपत्र नै हेरेनछन् । त्यसको म्याद सकिइसकेको रहेछ । काम सकेर फर्किन लाग्दा विमानस्थलका कर्मचारीले ‘परिचयपत्रको म्याद सकिएको छ, उड्न मिल्दैन’ भनिदिए । तत्कालै त्यहाँ आवासीय कार्ड नवीकरण गर्न मिल्ने कुरै भएन । विमानको टिकट माया मारेर म करिब ३६ घन्टाको बस यात्रा गरेर स्पेनको बाटो हुँदै फ्रान्स फर्किएँ ।

लक्जम्बर्गमा अन्तर्वार्ता गर्न जाँदा फोन लिएको थिइनँ । ४ बजे रेल स्टेसनमा नारायण गुरुङ दाइले लिन आउँछु भने । तर, रेलको लिकमा प्राविधिक समस्या भएर मेरो रेल करिब एक घन्टा ढिलो भयो । उनी केही बेर पर्खिएर ‘अरू कसैसित गएको होला’ भन्ने सोच्दै बाटो लागेछन् । रेल स्टेसनमा उत्रिएँ । जाने कता हो थाहा थिएन, न त सम्पर्क गर्नका लागि मोबाइल नै थियो । उनको रेस्टुरेन्ट छ भन्ने जानकारी थियो तर ठेगानाको पत्तो थिएन । सम्पर्क गर्न साइबर क्याफे पनि हत्तपत्त नपाइने रहेछ- लक्जमबर्गमा । कोठा भाडा महंगो भएकोले साइबरक्याफे खोलेर चलाउनै नसक्ने रहेछन् । वैधानिक कागज नभएका मानिस र आप्रवासीहरू कम भएकाले साइबर क्याफे पनि त्यत्ति नचल्ने रहेछन् । झमझम परिरहेको पानीमा करिब एक दर्जन गल्ली हिँडें- नेपाली रेस्टुरेन्ट पत्ता लगाउन भनेर । अन्तिममा एउटा रेस्टुरेन्ट फेला परेपछि ठुकठुक काम्दै पक्कै यही हुनुपर्छ भन्ने अनुमानले त्यसैको अगाडि कुरें । हो रहेछ । केहीबेरमा रेस्टुरेन्ट खोल्न एकजना कर्मचारी आइपुगे । तर, दुःख खेर गयो किनकि त्यहाँ मेरो कामका लागि कुनै नेपाली फेला परेन ।

जर्मनीमा त झन् लाइपजिख भन्ने ठाउँमा जानु थियो । अनेक कोसिस गर्दा अन्यत्र नमिलेपछि त्यहाँ अध्ययन गर्दै रहेका मित्र नेत्रप्रसाद पौडेलले एकजना नेपालीसित भेटघाटको व्यवस्था मिलाएका थिए । छोटो समयमा यात्रा तय गर्नुपर्ने भएकोले बर्लिनसम्म जाने बसको टिकट लिएँ । त्यहाँबाट लाइपजिखका लागि फेरि अर्को डेढ सय किलोमिटर जति उत्तर जानुपथ्र्यो । जाडो बेजोड थियो । बर्लिनमा उत्रिएर फेरि अर्को रेल चढ्न मेट्रो चढ्नुपर्ने रहेछ । त्यो डिसेम्बरको तापक्रम जर्मनीको इतिहासमै अति जाडो मानिएको माइनस २० डिग्री सेल्सियस जति थियो । कक्रक्क हुँदै रेल स्टेसन त पुगें तर त्यहाँबाट टिकट एक्लै किन्दा निकै महँगो पर्ने रहेछ । सप्ताहान्तमा पारिवारिक टिकट पाइने रहेछ । त्यतिखेर जर्मनहरूले सस्तोमा किनेर पाँचजनासम्म जान मिल्ने त्यो पारिवारिक टिकट अरूलाई बेच्ने रहेछन् । त्यसका लागि किन्ने व्यक्तिसितै यात्रा गर्नुपर्ने रहेछ । त्यस्तो टिकट नेत्रजीले एकजना जर्मनसित इन्टरनेटबाटै मिलाएका थिए । टिकट लिनेले मलाई ‘रेलको अघिल्लो भागतिर बस्नु, म त्यहीं आउँछु’ भनेकाले करिब तीन घन्टा उभिएँ । जाडोले घुँडा नै फुक्लेलाझैं भएपछि ऊ बल्ल मुस्कुराउँदै आयो अनि रेल चढियो । अन्तर्वार्ता गरेर फर्किंदा फेरि नेत्रजीले त्यसैगरी बर्लिन आउने सस्तो टयाक्सी खोजिदिए र त्यहाँबाट बस समातें । बस कुर्दा फेरि दुई-तीन घन्टा त्यही ठन्डीमा सेकिनुपर्‍यो । तीन-चार दिनको अनिँदो, भोको पेट र धपेडीले पेरिस फर्किनासाथ बिरामी परें ।

भियनामा झन् बढी दुःख पाइयो । अघिल्लो आधा दिन र पूरा एक रातभरिको बस यात्रा । बिहान नसुती शिव सापकोटासित अन्तर्वार्ता गरियो । त्यसको लगत्तै अर्को भेटघाट थियो । भोलिपल्ट बिहानै अन्तर्वार्ता गर्न लैजाने भनिएका चिरञ्जीवी खड्का मलाई लिन एउटा मेट्रो स्टेसनमा आउने भने । म बिहान आँखा मिच्दै पुगें । उनी झुल्किएनन् । उनको मोबाइलमा पनि कुरा हुन सकेन । मेट्रो स्टेसनबाहिरको चिसोमा करिब दुई घन्टा कुरेपछि आए र कोठामा लगे । त्यहाँ जाँदा पो बल्ल थाहा भयो, अन्तर्वार्ता गर्ने भनिएका पात्रसित त उनले एकपटक पनि कुरा गरेकै रहेनछन् । म उनको कोठामा पुगेपछि पो बल्ल सोधखोज गर्न लागे । ‘अब मिलेन भने के गर्ने होला भन्ने सोचले मलाई पोल्न थाल्यो । उनीहरू भने ढुक्कै देखिन्थे । दसैंको त्यो बेलामा उनीहरूले खाना र मासु बनाए, खाए, तास खेले । एकैचोटि साँझ दभिन गुरुङलाई भेट्न भनेर एउटा नेपाली रेस्टुरेन्टमा लिएर गए । त्यहाँ दभिनसित कुरा गरियो । वरिपरि टन्न नेपालीहरू भएको रेस्टुरेन्टमा म विषयवस्तुमा केन्दि्रत हुन खोज्थें तर वरिपरिका नेपालीहरू प्रसङ्गबाहिरका कुरा झिकेर विषय अन्तै मोडिदिन्थे । तैपनि चिरञ्जीवीजीको सहयोगमा दभिन गुरुङका कहानी सुनियो ।

फेरि अर्को ठाउँमा जानु छ भनेर हामी करिब १० बजेतिर दभिनसहितका नेपालीलाई त्यहीं छोडेर हिँडयौ । मैले अन्तर्वार्ता गर्ने भनिएका विनोद खड्का एउटा रेल स्टेसनमा राति ११ बजेतिर झुल्किए । कहाँ बस्ने ? पार्कमा गएर गफ गर्न थालियो । संयोग कस्तो परेछ भने त्यही रात पार्कको सार्वजनिक शौचालयका टयांकी सफा गर्दै रहेछन् । नाकै उडाउला जस्तो गन्धले टाउको दुखाएपछि चिरञ्जीवीजी केही बेरमा आउने बताएर हिँडे । मैले विनोदजीलाई ‘तपाईंले केही बेर दुःख बेहोर्दा धेरै नेपालीलाई शिक्षा मिल्छ’ भन्दै उभिई-उभिई कुरा सुनाउन लगाएँ ।

उनीहरूसित छुटिसकेपछि बीचमा मेट्रो बदल्नुपर्ने थियो । राति ढिलो भएकाले त्यो मेट्रो बन्द भइसकेछ । फसाद पर्‍यो । बासना बहिनीको होस्टेलको ठेगानासम्म पनि मसित थिएन । बिहानै निस्किएकाले बेलैमा फर्किइएला नि त भनेर १० युरो भन्दा मात्रै बोकेर हिंडेको थिएँ । गोजीमा फोन थिएन । यस्तो अवस्थामा मेट्रो नचलेपछि कसरी जाने ? टयाक्सी चढे पनि पैसा नपुग्ला । बसको आशा गर्दा गर्दै झन ढिलो भयो । धेरै टयाक्सीलाई बिन्ती गरें । बल्लबल्ल एकजना टर्कीको टयाक्सीवालाले १० युरोमा लग्न मान्यो । उसले लगेर होस्टेलको गेटमा त छोडिदियो । तर, भित्र कसरी पस्ने ? आफूसित चाबी थिएन । भुइँबाट चिच्याएर माथि कोठामा बस्नेले सुन्ने होइन । भित्र पस्ने केही विद्यार्थीलाई आग्रह गरें । करिब एक घन्टासम्म भित्र छिर्न पाइएन । एकातिर अन्तर्वार्ता गर्ने कामले नै फुर्सद नपाएर र अर्कातिर बहिनीहरू पनि भोकै कुरेर बसेका होलान् भन्ने ठानेर केही पनि नखाएकाले आन्द्रा झुत्ती खेल्दै थिए । बल्लतल्ल एक जना अफ्रिकी विद्यार्थीले भित्र छिर्न दियो । कोठामा बहिनीहरू मेरो चिन्ता गर्दै बसेका रहेछन् । चाउचाउ उमालेर निलियो र सुतियो त्यस रात ।

+++++++++++

यिुरोपका झन्डै सबैजसो देशको भाषा अलग छन् । कानुन भिन्न छन् । संस्कृति फरक छन् । मानसिकता र संस्कार अलग्गै छन् । त्यो बुझ्न नसक्दा पनि धेरै नेपालीले अधिकारबाट वञ्चित हुनुपरेको छ । सीपमूलक तालिम, अनुभव र कुनै विषयको दक्षताबिना क्याम्पसको डिग्रीले यहाँ कुनै काम लाग्दैन भन्ने नजानी धेरै नेपाली युरोप हाम्फाल्छन् र आखिरमा होटेलमा भाडा मस्काउने कामसम्म नपाउँदा निराश बन्छन् । तिनलाई यहाँको कानुन, विधि-विधान सिकाइदिएर सहजीकरण गरिदिने निकायको अभाव छ । नेपाली दूतावासका कतिपय कर्मचारीहरू तिनलाई सहयोग गर्नेभन्दा पासपोर्ट हराइदिए घूस लिएर कमाउन पाइन्थ्यो भन्ने दाउमा बसेका पाइन्छन् । दुःखी नेपालीलाई पासपोर्ट बनाउँदा फेरि ठगेर सास्ती दिएका अनेक घटना छन् ।

कोही नेपाली उताको ऋण र यताको दुःख खप्न नसकेर पागल बन्दै सडकमा भौंतारिएका पाइन्छन् । कोही यसै भएन उसै भएन भनेर ऋण तिर्न नसकेका कारण समाजमा मुख देखाउन नसक्दा नेपालका आफ्ना परिवारलगायत सबैसित सम्पर्क नै विच्छेद गरेर बसेका छन् । सरकारले कम्तीमा ९ युरो प्रतिघन्टा पारिश्रमिक तोकेकोमा १२-१३ घन्टा रङ् पोत्ने काम गर्दा पनि ज्याला पाएका छैनन् । कतिपयले दुई-तीन महिनासम्म उधारोमा काम लगाउने र पछि मोबाइल फोनको नम्बर नै बदलेर भागिदिएर पनि नेपालीलाई ठगेकै छन् । काम गर्ने वैधानिक कागज नहुँदा ती नेपालीले उजुरी गर्ने ठाउँ पनि छैन । कोही सानो कोठामा १०-१२ जना कोच्चिएर बस्न बाध्य छन् । सरकारले भत्काएर बनाउन लागेको खण्डहर भवनमा बिजुली, पानीजस्ता अति आवश्यकीय सुविधाबिना नै लुकीछिपी बस्ने पनि पाइन्छन् । कतिपय नेपालीहरू चिसो भुइँमा काठ ओछयाउँछन्, थुरुरु काम्दै सुत्छन्, जर्किन बोकेर सार्वजनिक धारामा जान्छन्, युरोपको ठण्डीमा चिसै पानीले नुहाउँदा बिरामी पर्छन् ।

नेपाली महिलाहरूको अवस्था भनिसाध्य छैन । नेपालमा छोराछोरी र श्रीमान् छोडेर आएका नेपाली चेलीहरू हातमा गतिलो सीप, काम गर्ने कानुनी इजाजत र भाषाको ज्ञान नहुँदा भारतीय र पाकिस्तानीको घरमा सरसफाइ गर्न पुग्छन् । त्यहीं उनीहरूमाथि अभद्र व्यवहार हुन्छ । कामको लोभले ती सहेरै बस्न बाध्य छन् । कतिको यता बस्दाबस्दै उता घरबार बिगि्रएको छ । दसैं, तिहार, तीजजस्ता चाडपर्व आँशुको भल बगाएर जान्छन् । नेपाल जानु त आकाशको फल, परिवारसित एक कल फोन गरेर बोली सुन्ने पैसोसम्म कतिपयसित हुँदैन । युरोपमा नेपालीहरूले अनेक दुःख, कष्ट र सास्ती भोगेका छन् । नेपालीहरूले यहाँ भोगेका सास्ती देखेर आफैं रोएको छु, भक्कानिएको छु ।

युरोप हानिएका नेपालीहरूमध्ये गतिलो अवस्था हुनेहरूको संख्या निकै कम छ । तर, त्यसरी दुःख पाउनेहरूले आफूले पाएको दुःख र वेदनाको कहानी, युरोपको वास्तविक चित्र नबताइदिँदा अरू धेरै नेपालीले दुःख पाएका छन् । त्यसैले उता नेपालमा रहेका परिवार मात्रै होइन, नातागोता र साथीभाइले पनि ‘हामीलाई पनि उतै तान’ भनेर हैरानी दिन्छन् । नगद सापटी र अनेक उपहार मागेर सास्ति दिने पनि कम हुँदैनन् । यो क्रम जारी नै छ । त्यसैले यहाँ नेपालीले भोगेका सास्ती र दुःखका कहानी, युरोपको वास्तविक स्थितिका बारेमा नेपालीलाई सचेत गराउने मूल उद्देश्यले नै मैले यो पुस्तक लेख्ने जमर्को गरेको हुँ । मैले यहाँ लेखेका वास्तविकता त नेपालीले भोगेको सिंगो समुद्रभित्रको एक मुठी पानी मात्रै हो । यस्ता धेरै दर्दनाक कहानी, चित्कार, दुःख र वेदनाका आँसु युरो पमा लुकेका छन् ।

(साभार कान्तिपुर कोसेली,प्रकाशित मिति: २०७१ जेष्ठ १७ ११:४९)

तपाइँको प्रतिक्रिया

फेसबुक