पत्रकार आचारसंहितामा परिमार्जन

● भानुभक्त आचार्य

नेपालमा पत्रकारहरूको आचारसंहिता समय समयमा परिमार्जन हुँदै गएको छ ।  समय, प्रविधि र मानिसको चेतनास्तरमा आएको परिवर्तनसँगै पत्रकार आचारसंहिता पनि परिमार्जन गरिरहनुपर्ने आवश्यकता पर्दछ ।  वि.सं. २०५८ वैशाख ११ गते गोरखापत्रको सनददेखि आरम्भ भएको पत्रकार आचारसंहिताको इतिहास पछिल्लो पटक पत्रकार आचारसंहिता २०६० (संशोधित तथा परिमार्जित २०६४) सम्म आइपुगेको छ ।  पत्रकार आचारसंहिताको वर्तमान संस्करणमा पनि परिमार्जन आवश्यक देखिएकाले विभिन्न अन्तर्राष्ट्रिय प्रचलन र मान्यताहरूका आधारमा बुँदागत रूपमा यहाँ केही सुझाव प्रस्तुत गरिएको छ ः

 सरकारी संलग्नता अनावश्यक ः सामान्यतः पत्रकारको आचारसंहिता निर्माणको काम पत्रकारको व्यवसायिक संगठनहरूले गर्दछन् ।  उदाहरणका लागि क्यानडाको पत्रकार आचारसंहिता त्यहाँको पत्रकार संघले विज्ञहरूको सहयोगमा सन् २०११ मा निर्माण गरेको हो ।  युरोपमा पत्रकारका विभिन्न संघसंस्थाहरूले आ–आफ्नै अनुकूलता हेरी आचारसंहिता निर्माण गरेको पाइन्छ ।  अमेरिकामा सबैभन्दा धेरै प्रचलनमा रहेको आचारसंहिता त्यहाँको सोसाइटी अफ प्रोफेसनल जर्नलिस्टस्     (एसपिजे) ले सन् १९९६ मा निर्माण गरेको हो ।  नेपालमा भने पत्रकारहरूको आचारसंहिता निर्माणमा प्रेस काउन्सिलको निर्णायक भूमिका रहँदै आएको छ ।  पञ्चायतकालमा पत्रकारहरू पञ्चायती व्यवस्थाको विरुद्धमा जान नपाऊन् भन्ने अभिप्रायले प्रेस काउन्सिल नेपाललाई आचारसंहिता निर्माण कार्यमा अग्रसर गराइएको थियो तर बहुदलीय व्यवस्थाको पुनरागमन पछि पत्रकारको आचारसंहिताको निर्माणमा सरकारी निकायको संलग्नता वा हस्तक्षेप भइरहन जरुरी छैन ।  

 पत्रकारको परिभाषा गर्न नहुने ः पत्रकारिता पेसा होइन चरित्र हो भनी विभिन्न विद्वान्ले परिभाषा गरेका छन् ।  पत्रकारिताका मूल्यमान्यता र आचारसंहितालाई परिपालन गरी समाचारको उत्पादनमा संलग्न व्यक्ति स्वतः पत्रकार हो ।  तसर्थ, विश्वका अधिकांश पत्रकार आचारसंहितामा ‘पत्रकार को हो वा होइन’ भनी परिभाषित गरेको पाइँदैन तर नेपालको पत्रकार आचारसंहिता, २०६० (संशोधित तथा परिमार्जित, २०६४) को दफा २ (क) मा ‘पत्रकार’ को परिभाषा गरिएको छ, जसले गर्दा पत्रकार आचारसंहिता पालन गर्नुको साटो आफू जे गरे पनि परिचयपत्र बोकेकै आधारमा पत्रकार भनी दाबी गर्ने परिपाटी बनेको छ ।  उदाहरणका लागि कुनै एउटा चिकित्सकले समसामयिक स्वास्थ्य समस्याका बारेमा नियमित रूपमा लेख पठाएकै आधारमा उसलाई पत्रकार भन्न सकिन्न तर अहिलेको आचारसंहिताले त्यस्तो व्यक्तिलाई पत्रकार ठह¥याउँछ ।  त्यसकारण, पत्रकार शब्दको परिभाषा गर्नुभन्दा पत्रकार आचारसंहिताको परिपालन गरी समाचारमूलक कार्यमा संलग्न व्यक्तिलाई मात्र पत्रकार भन्न सकिन्छ ।

 अनलाइन मिडियाका मुद्दाहरू समेट्नु पर्ने ः वर्तमान आचारसंहिताले अनलाइन माध्यमका प्राविधिक जटिलताबाट सिर्जित समस्यालाई सम्बोधन गरेको छैन ।  अनलाइनमा एकपटक प्रकाशित समाचार हटाउन वा डिलिट गर्न मिल्छ कि मिल्दैन ? अनलाइन माध्यममा प्रकाशित विषयवस्तुको परिमार्जन गर्न तथा विषयवस्तु राखिएको ठेगाना परिवर्तन गर्न मिल्छ कि मिल्दैन ?  यी सवालहरूका बारेमा आचारसंहिता मौन छ ।  अन्तर्राष्ट्रिय प्रचलन अनुसार समाचारसँग सम्बन्धित कुनै पक्षले अनुरोध गर्दैमा अनलाइनमा प्रकाशित÷प्रसारित समाचार हटाउनु हुँदैन तर कुनै समाचार वा आलेखले सार्वजनिक सुरक्षामा असर पारेमा, समाचारमा गम्भीर त्रुटि भेटिएमा, आचारसंहिताको स्पष्ट उल्लंघन वा प्रचलित कानूनको विपरीत भएमा त्यस्तो समाचार वा आलेखलाई अपवादका रूपमा अनलाइनको अभिलेखालयबाट हटाउन सकिन्छ भनी क्यानडाको पत्रकार आचारसंहिताले उल्लेख गरेको छ ।  त्यसरी समाचार हटाएको लिंकमा समाचार हटाउनु पर्ने कारणबारे पाठकलाई जानकारी दिनु पर्ने तथा हटाइएको समाचारलाई कानूनी खोजबीन भएको खण्डमा सम्बन्धित समाचार संस्थाले उपलब्ध गराउनु पर्नेछ भनी नियम बनाउन सकिन्छ ।

 पुराना त्रुटि सच्याउनु पर्ने ः अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ अखबारले गत मार्च ४ मा १६१ वर्षअघि प्रकाशित समाचारमा भेटिएका त्रुटिहरू सच्याएको थियो ।  यस घटनाले सयौं वर्षपछि पनि विगतमा गरेका त्रुटिहरूलाई सच्याउन सकिन्छ भन्ने सन्देश दिन्छ ।  नेपाली सञ्चारमाध्यममा समाचारमूलक सामग्रीमा भएका त्रुटिहरू नसच्याउने, थाहै नपाएजस्तो गर्ने र कदाचित् सच्याइहालेमा झारा टार्ने प्रवृत्ति हावी छ ।  आचारसंहिताले समाचारमूलक सामग्रीमा भेटिएका त्रुटिहरूलाई तत्कालै र पारदर्शी रूपमा सच्याउन प्रेरित गर्नुपर्छ ।  समाचार सच्याउँदा समाचारमा भएको त्रुटि र सच्याउनुको कारणबारे पनि प्रष्ट उल्लेख गर्नु पर्दछ ।  त्रुटि सच्याउनेसम्बन्धी मापदण्ड निर्धारण गरी त्यसैअनुसार सबै त्रुटिलाई समान रूपमा भूलसुधार गर्ने परिपाटी बसाल्न आवश्यक छ ।  साथै नियतवश गलत समाचारको प्रवाह गर्ने सञ्चारमाध्यमलाई आचारसंहिताले मात्र पुग्दैन कानून बनाएर दण्डित गर्नु पर्दछ ।

 सिन्डिकेट तोड्नु पर्ने ः  एउटा पत्रकार वा सञ्चारमाध्यमले गरेका अपराधलाई सामान्यतः कुनै पनि सञ्चारमाध्यमले समाचार प्रकाशन÷प्रसारण नगर्ने प्रवृत्ति छ ।  कदाचित् समाचार प्रकाशन÷प्रसारण भइहालेमा पनि ज्यादै सतही र पत्रकार चोख्याउने किसिमको हुने गरेको पाइन्छ ।  वर्तमान पत्रकार आचारसंहिताको दफा ४ (१२) मा ‘एउटा सञ्चारमाध्यमबाट प्रकाशित÷प्रसारित समाचारको खण्डन सामान्यतः अर्को सञ्चारमाध्यमले गर्नु हुँदैन’ भन्ने उल्लेख छ ।  यस्तो व्यवस्थाबाट कुनै पत्रकार वा सञ्चारमाध्यमले जानाजान कुनै व्यक्ति वा संस्थाका विरुद्धमा गरेको अनर्गल प्रचारबाजीलाई रोक्न कठिन हुन्छ ।  अमेरिकाको व्यावसायिक पत्रकार समाज (सोसाइटी अफ प्रोफेसनल जर्नलिस्टस्) ले सञ्चारमाध्यमको विरुद्धमा सर्वसाधारणको गुनासोहरूलाई उचित स्थान दिनु एवं पत्रकार तथा समाचार संस्थाहरूबाट भएका आचारसंहिता विपरीत कुराहरूलाई सार्वजनिक गर्नु पत्रकारको दायित्व भनेको छ ।  तसर्थ गलत समाचारको सप्रमाण खण्डन गर्न, स्वस्थ आलोचना र टिप्पणीहरू प्रकाशन÷प्रसारण गर्न जुनसुकै सञ्चारमाध्यमलाई स्वतन्त्रता दिइनु पर्दछ ।

 समाचारप्रति उत्तरदायी हुनु पर्ने ः एउटा सञ्चारमाध्यमले गलत समाचार प्रकाशन÷प्रसारण गर्दा त्यसले क्षमायाचना गर्नु पर्ने चलन छँदैछ तर त्यही समाचार अन्य सञ्चारमाध्यमले उठाउँदा समाचार गलत भए पनि आ–आफ्ना पाठक, स्रोता वा दर्शक समक्ष क्षमायाचना नगर्ने प्रवृत्ति छ ।  ‘फलानोले गरेको गल्ती हो म त चोखै छु’ भन्ने बुझाइ छ तर हरेक सञ्चारमाध्यमको लक्षित उपभोक्त फरक पर्ने भएकाले समाचार उठान गर्ने माध्यमले मात्र भूलसुधार गरेर पुग्दैन ।

 यौनहिंसा पीडितको परिचय ः वर्तमान आचारसंहिताको दफा ४ (७) मा यौनजन्य हिंसाबाट पीडित व्यक्तिको प्रत्यक्ष वा परोक्ष रूपमा परिचय खुल्ने कुनै सामग्री प्रकाशन÷प्रसारण गर्न हुँदैन भन्ने व्यवस्था छ तर आफन्तबाट बलात्कार भएका व्यक्तिको नाम गोप्य राख्ने वा परिवर्तन गर्ने तर अभियुक्त फलानो भनी ठेगाना र नाता समेत खुलाइदिंदा पीडितको गोपनीयता उल्लंघन भइरहेको छ ।  उदाहरणका लागि काका नाता पर्ने व्यक्तिबाट कुनै बालिका बलात्कृत भएकी रहिछन् भने बालिकाको नाम गोप्य राख्ने वा परिवर्तन गर्ने काम गरिएता पनि काकाको परिचय र नाता खुलाइदिंदा बालिकाको परिचय स्वतः खुल्छ ।  त्यस्तो अवस्थामा अभियुक्तको नाउँ समेत गोप्य राखी समाचार प्रकाशन÷प्रसारण गर्नु राम्रो हुन्छ ।  पत्रकारले पीडक भनिएको व्यक्ति कानूनी दायरामा आयो कि आएन तथा कानून बमोजिम कारवाही भयो कि भएन भन्ने कुरालाई प्राथमिकता दिनु पर्दछ ।  साथै नाम परिवर्तन गर्दा त्यसै समाजमा बस्ने अर्कै व्यक्ति पनि पर्न सक्ने भएकाले नाम उल्लेख नगरी समाचार प्रकाशन÷प्रसारण गर्नु उपयुक्त हुन्छ ।

 बौद्धिकचोरी निरुत्साहित गर्नु पर्ने ः अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) लगायत विश्वका धेरैजसो पत्रकार संगठनहरूले बौद्धिक चोरीलाई गम्भीर व्यावसायिक अपराधका रूपमा आचारसंहितामा उल्लेख गरेका छन् ।  नेपालमा पनि प्रतिलिपि अधिकार ऐन, ले बौद्धिक चोरीलाई निरुत्साहन गर्ने प्रयास गरेको छ तर त्यो सञ्चारमाध्यमको हकमा लागू हुनसकेको छैन ।  कुनै स्रोतबाट एक हरफ वा अनुच्छेद मात्रै समाचार वा सूचना लिइएको भएता पनि समाचारको स्रोत अनिवार्य उल्लेख गर्नु पर्दछ ।  रेडियो, टेलिभिजनले पत्रपत्रिका वा अनलाइनको समाचार वाचन गर्दा वा अनलाइनका समाचार वा लेखहरूलाई पत्रपत्रिकामा प्रकाशन गर्दा सम्बन्धित समाचार संस्थाबाट औपचारिक रूपमा स्वीकृति लिनु पर्ने व्यवस्थालाई बाध्यकारी बनाइनु पर्दछ ।

प्रायोजित समाचारको स्रोत उल्लेख ः हामीकहाँ प्रायोजित समाचारको आर्थिक सहयोगकर्ता र त्यसको उद्देश्यका बारेमा मौन रहने प्रचलन छ ।  यस्तो प्रचलन व्यावसायिक आचरणको विरुद्ध हो ।  तसर्थ कुनै संघसंस्थाको सहयोगमा तयार पारिएको समाचार (फेलोसिप, प्रायोजन, आर्थिक सहयोग आदि) प्रकाशन÷प्रसारण गर्दा अनिवार्य रूपमा त्यस्तो सहयोग र कार्यक्रम उद्देश्यका बारेमा खुलाउनु पर्दछ ।  साथै पत्रकारले समाचार प्रकाशन÷प्रसारण गरे वा नगरे बापत कुनै किसिमको घूस, उपहार वा अन्य प्रकारको लाभ लिनुहुँदैन ।

 झुक्याएर समाचार संकलन गर्न नहुने ः पत्रकारले सामान्य अवस्थामा छद्म भेषमा वा झुक्याएर समाचार संकलन गर्नु हुँदैन ।  नेपालको पत्रकार आचारसंहिता यसबारे मौन छ ।  आइएफजे लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पत्रकारले रिपोर्टिङ गर्ने क्रममा आफ्नो यथार्थ परिचय दिन आवश्यक छ भनेका छन् ।  कुनै असामान्य प्रकृतिको समाचार, जस्तै गम्भीर अपराध भइरहेको वा हुने सम्भावना भएको अवस्थामा छद्मभेषमा समाचार संकलन गर्ने अभ्यास बिबिसी लगायत विश्वका प्रतिष्ठित सञ्चारमाध्यमहरूले गरिरहेका छन् तर त्यसरी संकलन गरिएको समाचारमा पत्रकारले पहिचान बदलेर किन रिपोर्टिङ गरिएको जानकारी दिन र त्यसो गर्नुपर्ने कारणबारे समाचारमा उल्लेख गर्नु पर्दछ ।

उल्लिखित बुँदाहरूका साथै हरेक वर्ष आफ्नो संस्थासँग सम्बद्ध पत्रकारको कुन–कुन संस्थासँग के–कस्तो हैसियतको सम्बन्ध (सदस्यता, सेयर, पूर्ण वा आंशिक, तलबी वा बेतलबी संलग्नता आदि) छ भनी सम्बन्धित सञ्चारमाध्यमले सार्वजनिक गर्नु राम्रो हुन्छ, जसले गर्दा सम्बन्धित पत्रकारले लेखेका समाचारहरू पूर्वाग्रही रूपमा प्रस्तुत भएका छन् कि छैनन् भनी विश्लेषण गर्न सजिलो हुन्छ ।  त्यसैगरी, विज्ञापन प्रकाशन÷प्रसारण गर्दा सत्यतथ्य जानकारी लिनु पर्ने, अग्रीम स्वीकृति विना विज्ञापन प्रकाशन÷प्रसारण गर्न नहुने, यौनहिंसामा परेका पुरुषहरूको समेत गोपनीयता कायम राख्नु पर्ने, आरोपित व्यक्तिलाई अपराधीझैं पूर्वाग्रही ढंगले चित्रण गर्न नहुने लगायतका विषयवस्तुहरू समेत आचारसंहितामा समेट्न जरुरी छ ।

(साभार : http://www.gorkhapatraonline.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A4%BF%E0%A4%95%E0%A5%8B%E0%A4%A3/17866-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%86%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A4%B8%E0%A4%82%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%A8.html)

तपाइँको प्रतिक्रिया

फेसबुक