संझिन मन लाग्दैन छापामारका दिन

  • रेजिना राई

people's-army

हिजो काँडाघारीमा हिँड्दा हामिलाई भनिन्थ्यो ‘कामरेडहरु हो ! हामी लक्ष्यमा पुग्नै लागेका छौँ । हाम्रो गन्तव्य अब त्यत्ती टाढा छैन । गर्वले हामी ढकमक्क फूल्थ्यौँ । लालीगुराँस फूले जस्तै । लाग्थ्यो, जित्नेहरुको मात्र नाम लेखिने इतिहासमा हामीले अर्को नाम थप्यौँ । सगरमाथाको उचाइ थप्यौँ । तब बल्ल म सपनाबाट ब्युँझन्छु, हामीलाई त्यसबेला किन भनिएन की हामीले हिँडेको दश वर्ष लामो बाटोमा सपनाका केवल रेखाहरु कोरीए ? केवल आस्वासनका गोलीहरु बर्साइए अथवा हामीलाई किन महसुस भएन दश वर्ष लामो यात्राको गन्तव्य भेट्टाउन फेरी अनेकौं वर्षको प्रतिक्षा गर्नु पर्छ भनेर ।

अहिले आएर लाग्छ, जनयुद्ध केवल यौटा सपना थियो । या त केवल यौटा सृजनात्मक भ्रम थियो । आकाशको छानो ओढुन्जेल र धर्तिको ओच्छ्यानमा सँगै बसुन्जेल पत्तै भएन, भोली गएर हामी विभाजित हुन्छौँ भनेर । किनभने हामीलाई सिकाइएको थियो की सबै मानिस एक हुन्छन भनेर । खै त आज समानताका फलेकहरु ? भो सम्झिन मन लाग्दैन, मेची र महाकाली एक गरेर सामन्तीलाई घुँडा टेकाएका दिनहरु । भो सम्झिन मन लाग्दैन, कामी दमाइ र भट्टराइ एक हुन भन्दै चुल्हो वरिपरी सँगै बसेका पलहरु । सायद, यो “छापामारको मन” जस्तै भाहोला नेपाल आमाको मनपनि । सायद, सम्झिन मन लाग्दैन होला उनिलाई पनि । आफ्नै छाती माथी बगेका थुप्रै रगतका खोलाहरु । आफ्नै सन्ततीले गरेका अत्याचारका दिनहरु ।

(रेजिना राईले गोर्खा एफ एम ९३ मेगाहर्जमा कार्यक्रम चलाउँछिन । यो सामाग्री उनैको फेसबूकबाट लिएको हो )

तपाइँको प्रतिक्रिया

फेसबुक