कर्णालीको समृद्धिमा ‘स्वर्गकी अप्सरा’

-प्रेमबहादुर शाही 

मुगु जिल्ला जति भौगोलिकरुपले विकट छ, त्यो भन्दा पनि सयौं गुणा रारा तालले प्रसिद्ध छ । त्यहि भएर होला, राजा महेन्द्रले वि.स. २०२० मा आफ्नो शासनकालमा रारा तालको भ्रमण गरेका थिए ।

तिन दशमलव २ किलोमिटर चौडाई, १ सय ६७ मिटर गहिराई, करिब ५ किलोमिटर लम्वाई र १० दशमलव ८ किलोमिटर क्षेत्रफलमा फैलिएको रारा ताल विहानी सूर्यकोे किरणसँगै फरक–फरक रङमा देखिन्छ । रारा तालमा देखिने फरक रङसँगै रारातालको नाम पनि पटक–पटक फेरियो । रारातालमा पुग्ने जो कोही पर्यटनकले रारा ताललाई आफुलाई मनपर्ने शब्दको नामले परिचित गराउन खोज्छन् ।

अनुपम महत्व रहेको रारा ताललाई महेन्द्रले गरेको भ्रमणको समयमा ‘स्वर्गकी अप्सरा’ भनेर उपनाम दिए । राराताललाई पहिला ‘रारा दह’ भनिन्थ्यो । महेन्द्रको भ्रमणपछि रारा ताललाई ‘स्वर्गकी अप्सरा’ भन्दै ‘महेन्द्र ताल’ भन्न लगाए ।

त्यसो त, रारा तालको पहिचान मेटिने गरी ‘महेन्द्र ताल’ नाम राखिएपछि रारातालको नाम विवादित बन्यो । नेपालका नवौं शाहवंशीय राजा महेन्द्रले रारा तालको दुरगार्मी महत्वलाई बुझेर ‘महेन्द्र ताल’ नामले राराताललाई परिचित गराउने खोजेको हुनसक्छ । पृथ्वीनारायण शाहपछिका सबै भन्दा स्वाभिमानी राष्ट्रवादी राष्ट्रनायक आफूलाई ठान्ने महेन्द्रले रारा तालको महत्व र नेपालको स्वाभिमानसँग जोडिएको रारा तालको ऐतिहासिक नामलाई मेट्दै महेन्द्रकीकरण गर्न खोजेको आरोप लाग्यो । महेन्द्रको शासनकाल समाप्त भएसँगै ‘महेन्द्र ताल’ को नाम हराउँदै गयो । पुन: ‘राराताल’ भन्ने गरियो । यसरी जति रारा तालको नाम विवादीत बन्दै गयो, त्यति आम जनमानसको मन मस्तिष्कमा बस्न सफल भयो ।

महेन्द्रले राखेको ‘स्वर्गकी अप्सरा’ नामले रारा तालको महत्व शिखरमा पुग्न सफल भयो । समुन्द्र सतहदेखि २ हजार ९ सय ७२ मिटरको उचाइमा रहेको नेपालको सवैभन्दा ठूलो यस ताललाई शिखरमा राखिराख्नको लागि कर्णाली प्रदेशको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पर्यटन वर्ष २०७५’ राराको दिलबाट उद्घाटन गरे । त्यसैले, अहिले रारा तालको अध्ययन अवलोकन गर्ने पर्यटकको संख्या बढ्दै गएको छ । दैनिक २ हजारसम्म आन्तरीक तथा बाह्य पर्यटक आउने गरेका छन । रारा ताललाई यो उचाईसम्म पुर्‍याउनमा महेन्द्रको देन भएपनि रारातालको इतिहास भेटाउँदै आफ्नो नामले रारा ताललाई परिचित गराउन खोज्नु महेन्द्रको मुर्खता थियो ।

रारा तालको नामबाटै इ.स. १९७६ मा रारा राष्ट्रिय निकुञ्ज स्थापना गरियो । १०६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको निकुञ्जलाई रारा तालले अहिलेसम्म ओझेलमा पारेको छ । कस्तुरी मृग, थार, भालु, बँदेल, कालिज, डाँफे लगाएका बन्यजन्तु रहेको निकुञ्जमा ग्रीष्म ऋतुमा रारा तालको देखिने सुन्दरतासँगै विश्वमै नपाईने हिमाली माछाले पर्यटकको जसरी मन जित्न सकेको छ, त्यसरी निकुञ्जले पर्यटनको मन जित्न सकेको छैन ।

रारा तालले विदेशी पर्यटनको जति मन तान्नु पर्ने हो, त्यति विदेशी पर्यटनको मन तान्न नसकेपनि आन्तरिक र छिमेकी देशका पर्यटनको मन तान्न सफल छ । यो तालको रङ, वरिवरीको हरियो वन, रारा तालबाट ३ घण्टाको पैदल यात्रापछि पुगिने मुर्माटपबाट  देखिने तालको दृश्य, सिस्ने हिमाल, कान्जिरोवा हिमाल र सैपाल हिमालको श्रृङ्खला पर्यटनको पहिलो आकर्षणको केन्द्रविन्दु बन्छ । 

रारा ताल घुम्न जानको लागि उत्तम समय चैत्रदेखि जेष्ठसम्म र भदौदेखि कार्तिक सम्म हो । अन्य समयमा रारा तालको भ्रमण  उपयुक्त मानिदैन । पूर्व डोल्पा, पश्चिम बाजुरा, उत्तर हुम्ला र दक्षिणमा जुम्ला र कालिकोट जिल्लासँग सीमा जोडिएको मुगुको जेष्ठ देखि असोज महिनासम्म फूल्ने फूलहरुले रारा ताललाई ‘स्वर्गकी सजिएकी अप्सरा’ जस्तै दृश्ष्मा परिणत गरिदिन्छन् ।  यात्राको क्रममा नजिकबाट नियाल्ने सकिने छहारा र पहाराबाट निस्किएका पानीका सदावहार झरनाका मनोरम दृश्यले जीवनका सवै दुःख कष्ट बिर्साइदिन्छ ।

रारा ताल मुगु जिल्ला र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलमात्र नभई नेपालकै प्रमुख पर्यटकीय स्थलमध्ये एक हो । यसको संरक्षण, प्रर्वद्धन र प्रचार–प्रसार गर्नु सबैको दायित्व हो । देशको समृद्धिकालागि रारातालसम्म सहज रुपमा पर्यटकलाई पुर्‍याउन सक्नुपर्छ । त्यसको लागि काहालिलाग्दो सडकको स्तरउन्नती गरी बाह्रै महिना धुलाम्वे र हिलाम्वे समस्याबाट मुक्त बनाउनु पर्छ । रारा तालसम्म पर्यटनलाई पुग्नको लागि हवाईमार्ग भरपर्दो बनाएर पर्यटकलाई विश्वास दिलाउन सक्नुपर्छ । त्यसैगरि, रारा ताल नजिक पर्यटनको लागि प्रयाप्त सेवा सुविधा सहितका होटल सञ्चालन गर्नुपर्छ ।

रारा ताल हेर्नको लागि पर्यटकको चाप जसरी बढ्दै गएको छ, त्यसरी नै सरकारले पर्यटकलाई सहज सेवा सुविधा उपलब्ध गराई ताल अझै सुन्दर सफा बनाउनमा ध्यान दिनु आवश्यक छ । रारा तालको विषयमा जति बाहिर बुझेर आनन्द लिन सकिन्छ, त्यो भन्दा पनि आर्थिक, सामाजिक, राजनीतिक लगाएतका अत्यावश्यक सेवा सुविधाबाट वञ्चित भएका पिछडिएका मुगुका स्थानीयको समग्र क्षेत्रबाट माथि उठाउन स्थानिय, प्रदेश र संघीय सरकारले आ–आफ्नो क्षेत्रबाट लाग्नैपर्छ ।

(लेखक नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन् ।)

तपाइँको प्रतिक्रिया

फेसबुक