‘माडीलाई मणी बनाउने’ ओली र प्रचण्डको आस्वाशन कहिले पुरा हुने ?

प्रेम पाठक

माण्डब्य ऋषिको तपस्थल हो माडी । धार्मिक पुस्तकमा पढिने पाण्डवहरुको गुप्तवासपनि हो माडी । सोमेश्वर काली,  बाल्मिकी आश्रम, परशुराम कुण्ड,  गोद्दक बाबा, बिक्रम बाबा जस्ता पवित्र धार्मिक भूमीलाई गुट्मुट्याएर बसेको स्थल हो माडी । पूर्वमा पर्सा र मकवानपुर जिल्ला । उत्तर पश्चिममा नवलपरासी जिल्ला र दक्षिणमा चम्पारण भारतले घेरिएको महाभारत पर्बत शृंखलाले फन्को मार्छ । चुरे पर्बत समथर दून भूमीपनि यहि हो । यसको महत्वको कथा लामो छ । यसको महात्म्य कहिसक्नु छैन ।

विश्वकै दुर्लभ एक सिंगे गैंडाको प्रमुख स्थल यहि हो । संकटपन्न पाटे बाघ लम्किने भूमीपनि यहि हो । अनौठो र दूर्लभ घडियाल गोही रमाउने जल भण्डार यहिँ छ । चरा चुरुंगी र अन्य अनौठा,  दूर्लभ  जीवजन्तुको उर्बर बासस्थान । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज, चुरे वन अन्तर्गतको चारकोसे झाडीलाइ कतै चिर्दै त कतै फन्को मार्दै बगेका र्‍यू, रापती र नारायणी नदीको पबित्र संगम त्रिबेणी धामले अझ यसको महत्वलाई बढाइदिएका छन् ।

धान, गहुँ, मकै, तोरी, दलहन,  तरकारी, फलफुल, माछा मासुको उर्बर भूमी हो यो । तराई तथा भित्रि मधेस हुँदाहुँदैपनि न धेरै जाडो नत गर्मिको नै अनुभूति हुने अद्भुद भूमी । नेपालका सबै नदि प्राय उत्तरबाट दक्षिण बगेका छन् । तर अचम्म के छ भने यहाँका खोलानाला र नदी दक्षिणबाट उत्तर बग्छन् । तिनै नदीको बहाव अनुसार उत्तर हेर्दा अन्नपुर्ण हिम शृंखलाले दन्त लहर खोलेर हाँसेको देखिने सुन्दर दृश्यको रस यहिँबाट चाख्न पाइन्छ । २१८.२४ वर्ग किमि क्षेत्रफलमा पूर्व पश्चिम फैलिएको माडीको २०७४ को गणना अनुसार ८६४९ घर धुरीमा ४३४०२ कुल जनसंख्या रहेको तथ्यांकले देखाउँछ । देश संघीय गणतन्त्रमा गइसकेपछि अनुसार २०७१ मंसिर १६ देखि साबिक गर्दी, बघौडा, कल्याणपुर, अयोध्यापुरी चार गाबिसलाइ एकिकृत रुपमा माडी नगरपालिका निर्माण गरियो । दसौं हजार किमि का विविध गाउँ, खोला र पहाड, बगैंचा र उद्दानहरु भएका दर्जनौं घुमेर हेर्दापनि पंक्तिकारलाइ यहि भूमी सुन्दर लाग्छ । किनभने माडीले जति प्राक्रितिक सुन्दरता, बैभव र मानविय विकासकालागि संभावना बोकेको छ त्यति अन्यत्र भेटिँदैन । त्यसैले गर्वको अनुभूति हुन्छ मेरो माडी भनेर संझिँदा ।

तर दुखको कुरो के भने प्राकृतिक ,भौगोलिक हिसाबले सुन्दर अनि उर्बर भुमि भए पनि माडी विकासका हिसाबले गति लिन सकेको देखिँदैन । शिक्षा, स्वास्थ्य, संचार, सडक, खानेपानी, बिजुली जस्ता आधारभूत आवस्यकताको बिकासको सूचांक हेर्दा नगन्य नै देखिन्छ ।

नेपालकै मुटुको रुपमा मानिने चितवन जिल्लाको माडी भन्ने ठाउँमा बिजुलीबत्ति मूल बाटो बाहेक अन्त छैन भन्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । बाँकि भागका जनताहरु कि त सौर्य उज्यालोमा छन् कि त प्राचिनशैलीकै टुकीमा आश्रित छन । शिक्षामा एक कलेज, दुइ उच्चामाबी, चार माबी रहेतापनि सबै बिषयको पढाई नहुनाले धेरै बिध्यार्थीलाई माडि बाहिर गएर पढ्नुपर्ने बाध्यता छ । सार्बजनिक वितरित र प्रसोधित धाराको पानी पिउनेको संख्या जम्मा १८ प्रतिशत छ । खाना पकाउने शैलीमा फेरिन सकेको छैन । दाउराको चुलोमा अझैपनि झन्डै ६० प्रतिशत निर्भर छन् । यातायातको मेरुदण्ड सडक ३५५ किमी मध्ये जम्मा ३० कि मी नाम मात्रको पिच छ भने बाँकी ग्रावेल र कच्ची नै छन् । पुल पुलेसा धेरै ठाउँमा बनेकै छैनन् । बनेकापनि भत्किएका छन् । उचित मर्मतको अभावले बिजोग छन् । स्वास्थ्यमा नाममात्रैको एउता अस्पताल छ जसको सेवा नगन्य छ । बेला बेलामा विभिन्न संस्थाले चलाउने स्वास्थ्य शिबिरनै उपचारको आधार हो । नत्र भरतपुर नै धाउनुपर्छ । त्यहि भरतपुर अस्पत्तालमा बिरामी लैजान सुबिधायुक्त एम्बुलेन्सको आस गर्नु सपना मात्रै हो । यी सेवा सुबिधा पनि जति उपलब्ध छन् माडी मै  सिमित छन  ।

माडीको अर्को अँधेरो पाटो बाँदरझुल्लामा त्यहि नाम मात्रैको सुबिधा पनि छैन । सुन्दर माडीका मेहनती  जनताको माडीको यो अवस्था किन ? राज्यको नागरिकका हैसियतले समान कर्तब्य तर असमान अधिकार किन ? यसको जवाफ कसले दिने ? माडीका जनताले वा तिनै जनताको कर मा डुल्ने र भुल्ने नेताले ?

भारतपुर देखि ३५ कि मि दुरीमा रहेको माडी बिकट किन बनेको ? सदरमुकाम देखि अछुत बन्नुको मुख्य कारण चार कोशे झाडीलाइ रास्ट्रीय निकुन्ज बनाई युनेस्को अन्तर्गतको बिश्व प्रकृति सम्पदा सूचीमा सूचिक्रित गरिएको पासविक, अमानवीय  नीति नियम हुन् । त्यसपछि भाग शान्ति नेता, नीति, प्राकृतिक नदीनाला हुन् भन्दा अत्तियुक्ति नहोला ।

बिगतमा राप्ती र्‍यूमा पुल नहुदा कयौं जनाको ज्यान गयो । बखान बा (बखानसिं गुरुङ) ले पुलको सपना देखाए । आफुले चुनाब जिते । पंचायत सकियो । माडीको दुख सकिएन । बहुदल आयो । तिर्थ भुसालको सक्रियता अनि गिरिजा बाबुको हठी निर्णयले आर्मी देखि युनेस्कोसम्मलाइ धोती लगाउँदै राप्तीको पुल निर्माण भयो । माडीका जनताले केहि राहतको सास फेरे । विकासको क्रममा र्‍यूमा पनि पुल बन्यो ।  तब खोला माथिबाट हेर्दै हिड्न मिल्ने भयो । पहिला बर्सेनि जिउ धनको क्षति हुने ठाउँमा पुल बनेपछि  मानबिय क्षति भएको छैन ।

तर यहाँ पर्ने चितवन राष्ट्रिय निकुञ्ज ले दिने समस्या भने जस्ताको त्यस्तै छन । १९९६ देखि युनेस्कोले जनता र जंगलको बिचमा हार्दिकता जोड्ने नीति अनुरुप ७५ हजर हेक्टरको चुरे, महाभारत शृंखलाका वन अनि निकुञ्जले घेरेको निजि जमिनलाइ मध्यवर्ती क्षेत्र भनियो । आर्मी , पुलिस, बनपालेले रोक्दै गर्दा सकिदै गएको वन मध्यवर्ती क्षेत्र घोषणा गरि जनतालाई हेर्ने जिम्मा दिए पछि हरियो बन्यो । जंगल झ्यांगिँदै आयो । वरिपरिको नांगो माटो हेर्दाहेर्दै हराभरा भयो । जनतानै असली बनपाले भए । सरकारी बनपाले बिस्थापित भए । जंगल बढ्दै गयो । जनावर फैलिँदै गए । हिजो जंगल मासिदै जाँदा बस्ति फैलिदै वनतिर सर्दै जान्थ्यो । अहिले जंगल फैलिँदै जाँदा बस्ति साँघुरिँदै गएको छ । जंगली जनावर गाउँ पस्दै बालीनाली सँगै मानबिय क्षति पुर्‍याउँदै छन । यो समस्या एकातिर छँदै छ । अर्को तिर निकुञ्ज सुरक्षामा बसेको प्रशासनिक निकायले माडी आवत जावत गर्ने जनतालाइ सास्ती दिँदै छ ।

राप्ती देखि ठोरीसम्म संकटकाल जस्तै चार ठाउँमा चेक जाँच हुन्छ ।निकुञ्जले तोकेको समय बिहान ५ देखि राति १० पछि हिँड्न पाइन्न । मान्छे बिरामी होस् वा मरोस मतलब छैन, प्रवेश निषेध गरिएको छ । आफ्नो घरमा पकाएको मासु सुत्केरीलाइ अस्पत्ताल खुवाउन लान्छु भन्दा नपाउने अवस्था छ । । घरका कुचो, कुर्ची आदि केहि लान पाइन्न । अहिले माडीको बिकासको क्रम बढ्दै गर्दा बाटोमा निर्माण गर्नुपर्ने ९ वटा पुल पुलेसा बनाउन स्थानीय खोलाको गिट्टी बालुवा निकाल्ने निर्णय गरेको माडी नगर पालिकालाइ निकुञ्ज प्रशासनले रोक लगाएको छ । त्यसले गर्दा माडीको विकास निर्माण ठप्प भएको छ । यतिसम्म कि ठोरीको बाँदरझुल्लामा त्यहाँको बस्ति बिस्थापित गर्ने गरि यातायात संचालनमै बेला बेला रोक लगाउँदै आएको छ । निकुञ्जको प्रसासनको यो व्यवहारलाई माडीका जनताले चुनोति दिँदै आएका छन् जसको मूल नेतृत्व माडीका मेयर ठाकुर ढकालले गरेका छन । माडीका जनप्रतिनिधि, वन संरक्षण अधिकृत, प्रशासन गरि पटक पटक छलफल भएता पनि कुनै ठोस निकास निस्किन सकेको छैन । प्रशासन जनताको आवाज सुन्दैन । जनता डग्दैनन् ।

माडीका जनताले भोगेका यी तमाम समस्यादेखि मौजुद कानुन २०२९ लाइ हाल अध्यादेश मार्फत हलगरि निकुञ्ज ऐन लागू गरियोस भनि ठाकुर ढकालले अनसन बस्ने निर्णय गर्नु भएको थियो । यहि बीचमा ३ नं क्षेत्रका निर्बाचित संघीय सांसद प्रचण्ड, माडीका प्रदेश सांसद रामलाल, मेयर ठाकुर ढकाल सहितको टिम प्रम के पी ओली कोमा माग ५ गते डेलिगेसन गयो । प्रमले म बिदेस (स्विस को) कार्यक्रम मा जाने हुनाले आएपछि यी सबै समस्य्या हाल गर्ने भन्ने आश्वासन  दिए । सोहि अनुसार माग १६ देखि बस्ने भनेको अनसन मेयर ठाकुरले स्थगित गरे । तर प्रम फर्केर आई मन्त्रि परिषदको बैठक पनि बस्यो । तर यी कुरा बिर्सिए नेताले । हिजो चुनाबको बेला माडी पुगेर माडीलाइ मणी बनाउने भन्ने केपी ओली आज ति कुरालाई मजाक बनाउँदै छन ।

माडीको हुलाकी बाटोमा निकुञ्ज भित्रको बाटो अन्डर ग्राउण्ड, ओभर फ्लाई तुरुन्तै सम्भव छैन र देखिँदैन । त्यसैले अहिलेको मुख्य प्राथमिकता धुर्वदेखि बन्कट्टासम्म को पाँच दशमलव तिन कि मि लामो पिच बाटो नै हो । र्‍यू देखि बाँदरझुल्ला सम्मको रोकिएका पुलको निर्माण स्थानीय नदिजन्य पदार्थ प्रयोग गरि निर्माण प्रक्रिया अगाडी बढाउनु पर्दछ । वन अभिसाप होइन बरदान हुनुपर्दछ । हिजो जसरि वन जनताले संरक्षण गरे निकुञ्ज पनि त्यहि मातहतमा ल्याईनु पर्दछ ।

नेपालको संबिधानले प्रदान गरेको स्थानीय स्तरमा उपलब्ध हुने नदीजन्य पदार्थमा राजस्व लिने र प्रयोग गर्न दिने भन्ने निर्णयलाइ नकार्दै एक ट्याक्टर गिट्टी र बालुवाको लागिपनि निकुन्जसँग सिफारिस लिनु पर्ने नीतिलाइ जनप्रतिनिधिले ठाडै नकार्दै संबिधान प्रदत्त हक कार्यन्वन गर्दै जाने बताएका छन् । निकुन्ज र मध्यवर्ती क्षेत्र फरक कुरा हो । निकुन्ज कानुन मिलाएर स्थापित गराइन्छ । मध्येवर्ती क्षेत्र जनताले जोगाएको विषय हो । यसकालागि जनता र जनताका प्रतिनिधी मिलेर कसरि जोगाउने, संरक्षण गर्ने भन्ने निर्णय गरिन्छ । बन्यजन्तुद्वारा हुने मानबिय तथा बालीको क्षति न्युनिककरण गर्न पूर्ण तार बार लागाउने योजना बनाएका छन् । जनावर जनतालाई हुनुपर्दछ न कि जनता जनवारको लागि । हाम्रो वन हामीले संरक्षण गर्ने हो । यो हाम्रो हितमा हुनुपर्छ । युनेस्कोको हितका लागि हामी बलीको बोको हुनुहुँदैन । कसैले बनाउनपनि पाइँदैन । यदि यसको मतियार निकुञ्ज प्रशासन, वनमन्त्रि र युनेस्कोदेखि जो बाधक हुन्छ त्यसको विरुद्ध आन्दोलन गर्नु जरुरि छ । माडी निकुञ्ज होइन मानव बस्ति हो ।

                                                                                              (लेखक)

(लेखक हाल बेल्जियममा बस्छन् । उनी राजनिति र समयसामयिक सामाजिक विषयमा बेलाबखत कलम चलाउने अभियन्ता हुन्। यहाँ ब्यक्त उनका बिचार निजि हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक