काठमाडौं विमानस्थल ओर्लिँदा दाँतमा ढुंगा लागेजस्तो

-नारायण गाउँले / काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नेबित्तिकै गेटमा केही तामाका गाग्री र ताउलीहरू राखिएका थिए । राम्रो लाग्यो । तर नजिक पुग्दा थाहा भयो, त्यहाँ राखिएका फूलहरू कुहिएर पानी दुर्गन्धित बनेको रहेछ । दाँतमा ढुङ्गा लागेझैँ भयो ।

लामो लाइन लागेर ल्यान्डिङ्ग कार्ड भर्नुपर्ने बाध्यता हटेछ । त्यसका लागि भित्र पर्यटकलाई लक्षित गरेर इलेक्ट्रोनिक ‘चेक इन’ गर्ने मशिन रहेछन् । तर तीमध्ये अधिकांश बिग्रिए पनि कुनै सूचना देखिएन । कहिलेदेखि बिग्रिएको र कहिलेसम्म बन्छ भन्ने सूचना त्यहाँका कर्मचारीलाई रहेनछ । बाँकी मशिन अगाडि यात्रुको घुइँचो थियो ।

तलको सेक्युरिटी स्क्यान गर्ने ठाउँमा त्यति बिहानै पर्याप्त कर्मचारी नआइपुगेकाले खुरुखुरु पास हुन पाइयो । त्यसपछि ट्वाइलेट जानुपर्ने थियो । ओभरनाइट फ्लाइट भएकाले मुख धुने र ब्रस गर्ने इच्छा थियो । बुटिक एअरपोर्टको पहिलो आकर्षणमध्ये ट्वाइलेट पनि होला भन्ने थियो तर अर्को नमज्जा लाग्यो । मैले मुख धुने र ब्रस गर्ने हिम्मत गरिन । त्यहाँ दुर्गन्ध त सामान्य भयो, फोहोर कतिसम्म थियो भने सफा गर्न प्रयोग गरिने पोछासमेत सिन्कमाथि थियो । ढोकाको तस्बीर राखेको छु ।

नजिकैको भुइँ सफा नदेखिएपछि एकजना कर्मचारीले सफाइकर्मी महिलालाई त्यो सफा गर्न अनुरोध गरे । बड़ो अनिच्छापूर्वक तिनले एउटा साह्रै मैलो ‘पोछा’ हातमा उठाइन् र त्यसलाई सफा गर्न अघि बढ़िन् । मैले त्यो आफैमा मैलो पोछाले भुइँ थप फोहोर बनाउँदै लगेको हेरिरहेँ । जहाँ छोयो त्यहाँ फोहोर होलाजस्तो पोछाले केकति सफा गर्न सक्यो, भगवान् जानून् ।

मेरो नजर दोष हुनसक्छ, तर बुटिक-पन देखिने गरी मैले केही पनि आहा फ्याक्टर देखिन । कर्मचारीहरू कोही चप्पल लगाएर उभिएका थिए, कोही क्याजुअल ड्रेसमा थिए ।

अझ नमिठो अनुभव त के भयो भने, बिहानै साढ़े छ बजेको ल्याण्डिङ थियो, तर रनवे बिजी भएको कारण अवतरण अनुमति नपाएर आधा घण्टा आकाशमैं होल्ड भयौं । झर्दा टर्मिनलमा हाम्रो मात्रै जहाज थियो । केले बिजी भएछ भन्ने थाहा पाउन सकिएन । त्यत्रो समय होल्ड हुँदा वायु प्रदूषणदेखि जहाजको लागत कति बढ्छ भन्ने मलाई थाहा छैन, तर यात्रुहरू दिक्क देखिन्थे । लगेज कन्भेयर बेल्ट पनि जम्मा एउटाले काम गरेको रहेछ ।

बाहिर निस्किनेबित्तिकै ट्याक्सी र ड्राइभरहरूको त्यही अव्यवस्थित भीड़ र हानाथाप अहिले पनि उस्तै रहेछ । पार्किंगमा मार्किंग गर्नुपर्छ भन्नेसम्मको ज्ञान पनि देखिएन । जसले जता जसरी राखे पनि हुने । न समग्र एअरपोर्ट सफा देखियो ।

धन्न कसैले यो एअरपोर्ट बनाएर गणतन्त्रलाई दिएको रहेछ र आफ्नै देशमा उत्रिन पाइयो । नत्र हामीले बीसौँ वर्षसम्म गफमात्रै गरेर भए पनि राम्रो काम गरेको फुर्ती लगाउन कहाँ पाउँथ्यौं र !

(स्रोत- गाउँलेको फेसबूक)

तपाइँको प्रतिक्रिया

फेसबुक