बिरामी खोज्दै गाउँ चहार्ने डाक्टर

उति बेला गाउँमा डाक्टर थिएनन् । गाउँमा के सिंगो शहरमै डाक्टर भेटिन्नथे । कतै कतै कम्पाउण्डर थिए, तिपनि डाक्टरधारी । तिनलाई डाक्टर साप भन्थे सबैले । कसैलाई कुनै रोगले च्याप्यो भने राति राँको बाल्दै खाट वा डोकोमा बोकेर भरतपुर अस्पत्ताल लैजानुपर्थ्यो । पातला बस्ति भएको गाउँको छेउछाउमा सम्साँझै गैंडा भेटिन्थे । बिरामीलाई अस्पत्ताल पुर्‍याउनु र अस्पत्ताल पुर्‍याएरपनि सहजै डाक्टर भेटिनु ठूलो युद्द जितेजस्तै थियो, त्यो बेला ! यस्तो बेला चितवन झुवानीका बसिष्ठ रिजाल कानमा दुई वटा बाङ्गा सुइरा झुण्ड्याउँदै गाउँका घर घरै पसेर सोध्नुहुन्थ्यो ‘कोहि बिरामी छ ?’

उहाँ काठमाडौंतिर बस्नुहुन्थ्यो । हामीलाई त्यसबेला काठमाडौं असाध्यै ठूलो, सपनाको शहर लाग्थ्यो । उहाँ हाम्रो वाल सपनाको स्वर्गको शहर भक्तपुर त कहिले टिचिङ अस्पत्तालमा जागिर खानुहुन्थ्यो ।

महाराजगञ्जको छात्रावासमा बशिष्ट रिजाल (बिचमा), २०३४ सालमा आफ्ना सहकर्मीका साथ ।

बिदाका दिनमा फुत्त फुत्त गाउँ झर्ने बानी थियो । गाउँमा फुत्रु फुत्रु पैदलमै  आउनुहुन्थ्यो । हिलाम्मे सडकमा चप्पल पड्काएर, कहिले जुत्ता हातमा बोकेर घर तिर हानिँदै गर्दा गाउँमा थारु समूदायले भन्थे ‘डाक्टरवा एलिहे (डाक्टर आउनुभो) ।’ बशिष्ठ दाई गाउँ झर्नु भनेको धेरैलाई राहतको विषय बन्थ्यो । घर पुग्नासाथ उहाँको आमाले मकै, भटमास र मोहीले स्वागत गर्दा उहाँले आमालाई सोध्नुहुँदो रहेछ ‘गाउँमा कोको बिरामी छन् आमा ?’

बिहानै बिरामी भेटिउन् भनेर उहाँ बिरामी भएका घरमा छिर्नुहुन्थ्यो । कानमा झुण्ड्याएको रोग पत्ता लगाउने लुर्कन बिरामीका शरिरमा लगाउनुहुन्थ्यो । कहिलेकाहिँ आफैंले ल्याएका औषधी सित्तैमा दिएर अर्को बिरामीका घरतिर लाग्नुहुन्थ्यो । नत्र औषधीको सूची लिखिदिने हो कि अर्को कुनै अस्पत्ताल लानुपर्ने हो सुझाव दिएर बाटो लाग्नुहुन्थ्यो । ‘डाक्टर साप काठमाडौं हामी जान सक्दैन, धेरै घर छ, गाह्रो छ ।’ धेरै विरामीले काठमाडौं छिचोल्न नसक्ने बताउँथे । वशिष्ठ दाईको जवाफ हुन्थ्यो ‘यसरि यसरि काठमाडौंको फलानो अस्पत्ताल आउनु, त्यहाँ आएर डा बशिष्ठ रिजाललाई सोध्नु, बाँकी काममा म सहयोग गर्छु ।’

दाइले लुर्कन शरिरमा झोसेको देखेपछि हामी ईत्रुका भुराहरुले एक दिन अनुमान काट्यौं ‘यो लुर्कन शरिरमा टाँसेपछि काँ कुँ, चिँचिँ, गुरगुर, चर्र चर्र कराउँछ होला ।’ ध्रुबेले भन्यो ‘होइन होइन मान्छेले ऐया ऐया गरेको बेला यो मेशिनले पत्ता लगाउँछ होला ।’ अझै अगाडि बढेर अर्जुनेले सुनायो ‘हैन दाइ यो मेशिनले बोलेरै भन्छ होला यस्तो यस्तो भाको छ भनेर ।’

हामीले अनेक अनुमान लगायौं । उहाँको त्यो लुर्कन देखेपछि हामीलेपनि एक दिन कर्कलाका बुटा काटेर टुप्पातिर जोड्यौं र आफ्ना आफ्ना शरिरमा टाँसेर बुझ्न खोज्यौं । तर केहि सिप लागेन । त्यसपछि सल्लाह गर्‍यौं ‘एक दिन सोध्ने कसरि पत्ता लगाउनुहुन्छ भनेर ।’ तर कहिल्यै बशिष्ठ दाईसित त्यो सोध्ने हिम्मत जुरेन । किनभने ‘मात्तियो भने डाक्टरले यति बडेमाको सुईले पेटमा हान्दिन्छ’ भनेर हामीलाई इत्रुकामा सुनाउँथे । रोयो भने डाक्टरले झन ठूलो सुइले हान्छ भनेर खुब तर्साइन्थ्यो । बशिष्ठ दाई गाउँमा रहेसम्म हामी रुनपनि डराउँथ्यौं ।

                                          (हामीलाई लाग्ने झिल्के पहिरनमा बशिष्ठ रिजाल)

त्यतिखेर गाउँका फाट्टफुट्ट अति हुनेखानेका छोराछोरी मात्रै काठमाडौं जाने, पढ्ने हैशियत राख्थे । धान, मकै र तोरी बेचेर आउने केहि पैसो बाहेक नगद हुन्थेन । काठमाडौं जाने बाटा खर्च तिनै धान, तोरी बेचेर जुराउनुपर्थ्यो । बिदेश जाने चलन त छन् कसैले सोच्थेन । डाक्टर भनेको यस्तो पेशा थियो ‘यो कुनै अर्कै लोकबाट झरेर आएको भगवान हो, मान्छेको सेवा गर्नकालागि ।’

अझ डाक्टरी पढ्ने भनेको त सोच्नपनि नसकिने विषय थियो । सरकारी कोटामा पढ्न अद्भुत दिमाख लिएर, सुबिधा सम्पन्न थलोमा पढेकासित प्रतिस्पर्धा गर्नुपर्थ्यो । कि कुनै ठूलो घरानाका भएर जन्मिनुपर्थ्यो । अद्भुत दिमाखि क्षमता लिएर जन्मेको भए ठूलो मेहनतपछि प्लान पाइन्थ्यो । बशिष्ठ दाई सायद यस्तै दिमाखी हुनुहुन्थ्यो । दाईले त्यो बेला काईलाबा (गोपाल रिजाल) को इज्जत मात्रै राख्नुभएन त्यो क्षेत्र र गाउँको ईज्जतपनि माथि उठाउनुभयो । धेरै पछि टिचिङ हस्पिटल पुग्दा हामीलाई सोध्थे ‘घर कहाँ हो बशिष्ठ रिजाललाई सोध्नेको ?’ हामी उहाँकै गाउँको हो भनेर नाक पुक्क पार्थेम ।

  (गाउँमा केहि गरौं भनेर बशिष्ठ दाईले अझैपनि योजना बनाउन छोड्नुभएको छैन)

दाईको समाजसेवा किनपनि दूर्लभ खालको थियो भने उहाँले गाउँलेलाई जचाएको कहिल्यै पैसो लिनु भएन । घरमा नगद चलखेल नहुने त्यो बेला ग्यास्ट्रिक हुँदा डाक्टरकहाँ जचाउने, औषधि किन्ने, अस्पत्ताल भर्ना भएर महँगो रकम तिर्ने हैशियत हुने कमै थिए । ग्यास्ट्रिकले थलिँदा आँपको रुखका बोक्रा काटेर त्यसलाई थिचेर निकालेको रस पिउने चलन थियो । यो अभावको बेला गाउँमा कपाउण्डहरुले कसेर दाम असुल्थे । बशिष्ट दाईले सित्तैमा जचाउनुहुन्थ्यो । उहाँको यो कर्मले धेरैको पेट पोलेको सुन्थ्यौं हामी । ‘गाउँमा आएर एक दुई दिन जचाउँछ, सित्तैमा गर्छ । भाउ घटाउँछ र हाम्रो काम खोस्छ ।’

त्यसो त, उहाँमाथि अर्को आरोपपनि थियो, ‘यो कम्निस्ट हो । आफ्नो पार्टीतिर तान्न, कम्निस्ट बनाउन सित्तिमा जँचाएको हो ।’ साँच्चै उहाँ क्म्युनिस्टनै हुनुहुन्थ्यो । अझ भन्ने हो भने अहिले सम्झिँदा खाँट्टी कयुनिस्ट । जनताको सित्तैमा सेवा गर्ने कयुनिस्ट ।

कम्युनिस्ट भएपनि आफ्नो पेशामा कहिल्यै राजनितिक विचारले भिन्न ब्यवहार गरेको देखिएन । उहाँको ब्यवहारले त्यसो भन्ने आँटपनि उहाँको सामुन्ने कसैले गर्न सकेन । उहाँले जुनसुकै बिचारका मान्छेका घर घरै पसेर जचाउनुभयो । नसक्नेका घर खोजिखोजि पस्नुभयो । हैरान परेका बिरामीहरु, पैसो नहुनेहरु पर्खेर बस्थे ‘अब यो दशैं यो तिहार, यो चाडका बेला बशिष्ठ आउँछ, उसले सित्तिमा राम्रोसित जचाउँछ ।’

    (बा आमासित बशिष्ठ रिजाल)

खुरुखुरु आफ्नो काम गर्ने । कसैका कुरा नसुन्ने । डाक्टर भएपनि गाउँले मान्छेहरु जम्मा भएका चिया पसल, चौतारोका छेउमा फुत्त भेटेर, केहि बेर गफागाफ गरेर सम्बन्ध राख्ने गज्जबको बानी थियो, बशिष्ठ दाईको । कुर्लुङ कुर्लुङ परेको छोटो कपाल, सुस्त सुस्त बोल्ने बानी । घाँटीबाट सधैं तल झर्ने बिरामी जचाउने त्यो लुर्कन । बा आमा, काका काकी, भाई भनेर मिठोसित सम्बोधन गर्ने, जहाँ देखेपनि आफैंले बोलाउने दाइको स्वभाव । हामी सोच्थियौं ‘सप्पै डाक्टर यस्तै भैदिए ।’

दुई तिन वटा खोला तरेर हिलो बाटोमा ठमठमी हिँड्दै गाउँ आउने बशिष्ठ दाई हेर्दा हेर्दै सिमलका भुवाझैं फुलेर के भो त ? जाँघर, आँट, उत्साह र रुची उहिबेलाकै जस्तो छ । धेरै पछि लगभग दुई वर्ष पहिले बशिष्ठ दाई बाउ आमाले जोडेको जग्गाको लामो पलट अगाडि उभिएको अवस्थामा मैले भेटेको थिएँ । सेवा निब्रित्त भएरपनि गाउँमै केहि गर्ने आफ्नो इच्क्षा र रहर सुनाउनुभयो । शहकारी खोलेर क्रिषीमा सकेको गाउँलाई सहयोग गर्ने । स्वास्थ्यमा ध्यान दिने । नयाँ नयाँ भित्रिएका सिप र प्रविधीसित गाउँलेलाई पारंगत बनाउने । गाउँमा जे सकिन्छ त्यहि योगदान गरेर बाँकी जिवन बिताउने । ‘हेरन भाई यत्रो जमिन छ । यहाँ काम गर्ने कोहि पाइन्न । गर्न सके यहिँ सुन फल्छ, यहिँ कमिन्छ । तर गाउँमा बस्न कोहि तयार छैन । अरुका त के कुरो गर्ने आफ्नैलाईपनि बुझाउन गाह्रो छ । जाने बुझेकापनि पाएसम्म बिदेश, नपाए शहर जानै आतुर छन् । गाउँमा जस्तो सम्पन्नता, आनन्द र खुशिको जिन्दगी कहाँ पाइन्छ र ?’

(तस्विर स्रोत- बशिष्ठ रिजालको फेसबूक)

तपाइँको प्रतिक्रिया

फेसबुक