सिमा अतिक्रणम बिरुद्द जनता सचेत, सरकार दोषी

-राम बहादुर गुरुङ / बेल्जियम

अहिलेको सबैभन्दा जल्दोबल्दो विषय भनेको भारतले नेपालको सिमा मिच्याइलाइ राजनीतिक वैधता दिएको भन्ने नै हो । यस सम्वन्धमा देशभक्त नेपालीको रगत उम्लेकै हो । तर रगत उम्लेर मात्र समस्याको समाधान त हुने होइन ।

प्राय सवै राजनीतिक दल संग सम्वद्ध संघ संस्थाले देशमा मात्र होइन विदेशमा पनि भारतिय राजदुतावासमा विरोधपत्र दिए । विरोध प्रर्दशन पनि गरे । साथै मिडिया लगायत सामाजिक संजालमा धेरै कुराहरु आए । अझै आउँदैछन । यी सबै विषयको अध्ययन मनन गर्दा त नेपाली सिमा नजोगिनुमा दोष सोह्रै आना सुगौली सन्धी यताको राज्यको देखिन्छ । अर्थत् भूतकालदेखि वर्तमानसम्मका सरकारहरुनै दोषी देखिन्छन ।

यस विचमा केपी ओली जस्ताहरुले नाकावन्दी ताका केही अडान जस्तो देखाएर नेपाली जनताको सेन्टीमेन्ट नजिक ल्याए पनि त्यो सवै नाटकनै रहेछ भन्ने अहिले लाग्दैछ । अहिले आएर भारतको अतिक्रमण विरुद्ध जनताको सेन्टीमेन्टको उभार फेरी आएको देखेर सत्तामा बस्ने नबस्ने प्राय सबै दलका सांसदहरु भारतिय अतिक्रमणको विरुद्ध एक भए जस्तो नाटक पनि गरे । सरकारले चाहीं एउटा फ्यांगलो बेनामे विज्ञप्ती फ्यात्त फ्यालदियो। नेपाली जनता ट्वाल्ल टोलाए अहिले सम्म टोलाइरहेकै छन ।

वास्तबमा सिमा अतिक्रमण सम्वन्धमा त किलकिलो त सरकारमा बसेका हाम्रै नेताहरुको पो समाउनुपर्ने देखिन्छ । यत्रा दिन हुँदा पनि सरकारको तर्फबाट खास कुनै प्रभावकारि कदम अगाडी बढाएको देखिँदैन । संसदले एकमतले विरोध पनि गरे विज्ञप्ती फालेर जनतालाइ उनीहरु देशभक्त भएको नाटक देखाइसके । विस्तारै भारतिय राजदुतावासमा विरोध गर्न जाने जनता पनि सेलाउने छन र कति संघसंगठन त सरकारकै निर्देशनमा नाटक गर्न पनि गए । उनीहरुलाइ त झन के मतलव , यसरीनै यो विषय सेलाउँदै आएको छ ।

मैले थाहा पाए अनुशार २०२८ सालको व्यापार तथा पारवाहन सन्धी असफल हुँदा उठेको भारतिय विस्तारवाद विरुद्धको जनउभार थियो । त्यतीखेर म वीरगंज सेन्टरवाट आइएको परिक्षा दिंदै थिएँ । परिक्षाको तयारीलाइ समेत तिलान्जली दिएर विरगन्ज रक्सौलको वोर्डरमा ढुंगा हान्न गएको थिएँ । पाता फरकाइ फरकाइ दिनभर पुलतीर ढुंगा हान्यौं । पुल छैवैको पुलिसहरु पहिल्यै सबै चौकी छाडेर भागीसकेका थिए । म सँग ढुंगा हान्ने साथीहरु चितवनका दिनेश विष्ट र शेरवहादुर थापा अहिलेपनि छँदै छन । उनीहरु के सोच्दैछन कुन्नी ? म चाहीं त्यो सब व्यर्थ रहेछ भन्छु अहिले । त्यसैले नारा जुलश विरोध र ढुंगा हान्नु पर्ने त सिंहदर्वार तिरै रहेछ ।

अर्को कुरो, आफ्नो साँध किल्ला सहि सलामत नराख्ने, त्यसको संरक्षण पनि नगर्ने, कसैले मिच्दा घरको कोठा भित्र कराउने जस्तो कुरोले केही बन्ने वाला छैन । पहिलो कुरो त सिमानाको जनता बिच सरकार पुगेकै छैन । दक्षिणको सिमानामा जाने हो भने कतिपय स्थानमा त नेपाल हो भन्ने अनुभुतीनै हुँदैन ।प्राय सिमानमा भारुनेै चल्छ । गौतमहरु शहिद भएर यादवहरुले निधार फुटाएर मात्र सिमाना जोगीँदैन । निहत्था जनता कती मारिने ? कतिले टाउको फुटाउने ?  सामान्य हिसावले पनि सिमाना जोगाउन राज्यको तर्फवाट निम्न कार्यहरु हुनुपर्ने देखिन्छ –

(१) सर्वप्रथम पुनः नेपाल र भारतको नक्सा छुट्याउन अन्तर्राष्टिृय मान्यता प्राप्त दुवै तर्फका राज्यको उच्च संयन्त्र अन्तर्गतका प्राविधिकहरु बसेर सुगौली सन्धीमा छुट्याइएको नक्सा अगाडी राखेर सो अनुशार सिमान छुट्यउनु पर्छ ।

(२) यसो गर्दा विवाद भएका स्थानहरुमा दुवै तर्फबाट अन्तराष्टिृय मान्यता अनुसारको नियम अनुसार समस्या समाधान गर्ने ।

(३) अन्तर्राष्टिृय नियमलाइ पनि पालना नगर्ने,अरु कुनै समाधान पनि निकाल्न चासो नदिने र हाम्रो सिमाना मिचिनै राख्छ भने अन्तर्राष्टिृय अदालतमा मुद्धा हाल्ने र सिमानामा सेना तैनाथ गराउने ।

(४) तत्कालै भारतले मिचेको र मिच्न सक्ने सिमानामा शसस्त्र वल तैनाथ गर्ने ।

(५) सिमानाको जनतालाइ संरक्षण गर्न सरकारको सक्रिय उपस्थिती हुनुपर्छ ।

(६) नेपाल सानो देश भएको र संधै भारतबाट सिमा अतिक्रमणमा पर्दै आएकोले सिमानामा काँडे तारवार वा पर्खाल लगाउनु पर्छ । सिमाना नक्सांकन गरीसके पछि दुवै सरकारको हस्ताक्षरीत नयाँ सिमानाको दस्तावेज सार्वजनिक गर्नुपर्छ ।

(७) यी सवै वीधीहरु अपनाउँदापनि हामीमाथि भारतले अतिक्रमण जारी राख्छ भने युद्धको घोषणा गर्नु पर्छ र लडेरै आफ्नो भूमी फिर्ता ल्याउनु पर्छ ।

यो भन्दा वैज्ञानिक तरिकाहरु पनि होलान विज्ञहरु सँग । तर जनस्तरबाट हामीले जाने बुझेको यहीनै हो । सरकार साँच्चैको देशभक्त हो भने तुरुन्त ठोस कदम चालियोस । सिमाना जोगाउन कती देशभक्त छन नेपाली जनता भन्ने कुरो सरकारले चालेको ठोस कदम पछि थाहा हुन्छ । अहिलेको अवस्थामा जनता तयार छन । बरु सरकारनै केहो भन्ने अहिलेको विषय हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक