‘स्याङ्जा झरेसी, कस्ले पो देख्छ र बसमा चढेसी’

-महेन्द्र पौडेल

‘स्याङ्जा झरेसी कस्ले पो देख्छ र बसमा चढेसी’ राती कसैको घरमा रोधी लाउने योजना बुन्थे तरुण तरुनीहरु । अनि जम्मा हुन्थे र सहभोज गर्दै रातभरी दोहोरी चल्थ्यो, प्रेमको मायाको । ऊ घरमा कसैलाई नभनी आएकी हुन्थी । रातभरी गीतगाउँदा गाउँदा झिसमिसे उज्यालो भैसक्थ्यो ।

मध्यरात गीतको मज्जा । तरुणको मायालु हेराई । गीतका भाकामा प्रेमको वर्षा । पानी पिउने बहानामा काँसको अंखरा दिने बेला छोइएका हातका औंलाहरु । त्यही बहानामा फेरि अर्कोपटक माग्दा वा दिँदा हल्का मुसारिएको हात । फेरि जमेको दोहोरी ।

चिसो मौसम । उनको बर्को उसले पनि ओढीदिन्छ । वर्कोबाट आएको जवानीको मन्दहोस बासना । दुवैले दुवैको सुगन्धलाई नाकदेखि मस्तिष्कसम्म पुराइदिन्छ र त्यहीबाट जन्मन्छ एउटा समागम । दुवै त्यो समागम ऊ पानी पानी बन्छे । ऊ ज्वाला बन्छ । प्रेम पलाउँछ । झिसमिसे बिहानी अब कसरी जाने ? घर के मुखले जाने ? कहाँ गएकी थिइस भनेर सोधे के भन्ने ? छरछिमेकीले देखे भनेँ के भन्लान जवान छोरी ? ऊ सम्झिन्छे गीतगीतमै र विहानीपख उसको गीतमा माया प्रेम र विछोड सबै एकैपटक पोखिन्छन् । त्यतिबेला केटाले हिम्मत गरेर गाइदिन्छ उक्त माथीको गीत ।

दाजु दिदीहरुसँग कतैकतै हिँड्दा उनीहरुले गाएका त्यतिबेलाका गाउँघर चल्तीमा गाइने यी यस्ता दर्जनौं गीतहरु मेरो मानसपटलमा आजसम्म ताजै छ । भन्थे ‘गीतहरु गोठ र ओठमा बज्नुपर्दछ’ । कोठाको बाथरुममा जाँदा अनायसै यस्ता अनेकौ गीतहरु मेरो दिमागमा आइदिन्छन् । सरल र स्पष्ट सोझो अर्थ लाग्ने यी र यस्ता गीतहरु छन् जसलाई मैले कति खोज्छु भेट्दिन युटुवमा । गीतको सरलतामा अनेकौ माया शंकाहरु भेटिन्छन् । जसलाई जसरी सोच्यो त्यसरी अर्थ लाग्दछ । अर्को एउटा गीत छ–
‘राम्दी रसाइछ
के माया ल्याइथ्यौ र नानु गाँउै वसाइँ छ’ । अर्थ स्पष्ट छ । ऊ दुइजीउकी हुन्छे अनि यो गीत जन्मन्छ ।

स्याङ्गजामा गीत संगीत भनेपछि सबै हुरुक्कै हुन्छन् । प्रत्येकका शब्द र बोलीमा गीतका भाका लुकेका हुन्छन् । जब पोखरा कटेर स्याङ्गजातीरको उकालो लाग्छ त्यतिबेला भीरपाखाबाट तपाईलाई कताकता संगीतको मधुर श्वर तपाईको कानमा ठोक्किन्छ । त्यहाँका चराहरु, रुख विरुवाहरुले पनि संगीतको साधना गरेका छन् कि भन्ने भान पर्दछ ।

बुटवलबाट पाल्पा हुँदै जब राम्दी नदीको पुल तर्नुहुन्छ त्यसपछि तपाईलाई गल्याङ्गनपुग्दासम्म काली गण्डकी नदीको सुसाहटमा कताकता संगीत तपाईको कानमा ठोकिरहेको हुन्छ । गल्याङ्गबाट स्याङ्गजा नपुग्दासम्म तपाईलाई आधिखोलाले नेपथ्यबाट म्यूजिक दिइरहेको हुन्छ त्यो हो स्याङ्गजा ।

वर्षायामका आधिखोला, ज्याग्दीखोला, राङ्गखोलालगायत दर्जनौं खोला छन् ती खोला यसरी उर्लेर आउँछन् । त्यसपछि एउटा गीत बन्छ । यति मिठो भाकाको यो गीत हो–

‘जुन तारा झललल आयो खोलो उर्लेर वरको पार बगायो सलल
सिखदेउराली तिम्लाई सम्झँदै सम्झँदै झरे उराली’ ।

भर्तिहुन जाने प्रवृत्ति हुन्थ्यो । गल्लाहरु गाउँगाउँमै युवा केटाहरुलाई छानीछानी लैजान्थे गोरखपुर । खेतरोप्दा वा कोदोरोप्दा भर्खरै भर्खरै मायाप्रीती बसेको हुन्थ्यो केटीसँग । त्यो पललाई छाडेर ऊ लाउरे हुन जान्थ्यो गल्लासँग । त्यतिबेला जन्मन्थ्यो यस्ता गीतहरु ।
‘बाटो छ भिरालो सानु कसको आँगन कुरेर बसौली यही लाग्छ पिरलो’
अनि केटीले भन्थी–

‘हिड्दै कतै नजाऊ है कान्छा तिजु पाके अरुले टिपेर खाइदेला’
अनि केटाले भन्छ– काँचो सुन्तला नटिप्दै यो चाल, टिपे कुन चाल ?

ऊ भर्ति हुन्छ । लाहुरे हुन्छ । टिनको बाकस टलक्क टल्काएर बुट बजार्दै आउँछ । हातमा एउटा टेपरेकर्ड झुण्डाउँछ । तर उसले मायालु भेटदैन । दुइवर्षको बीचमा मायालु पराई भैसक्छे ।
अनि उसले गीत गुनगुँनाउँछ–

‘मेरो माया हिडेको बाटोमा, पाइला हेर्छु धुलो र माटोमा हिड्दै जाल बुन्दै,
मेरो माया कहाँ बसी रोएको छ, खाको छ कि दुइदिनको भोको छ, मेरै चाल सुन्दै’

यी भाकाका गीतहरु यति कर्णप्रिय र यतिमिठो लय छ । भनिसाध्य छैन । जुनसुकै गाउँमा पुग्नुभयो भने रसिक मान्छेहरु हुन्छन् । मादल, खैजडी र मुजुराहरु प्रत्येकका घरघरमा हुन्छन् । चारजना जम्मा भएपछि गीत जम्छ । अझ त्यसमा एउटी युवती भैदिनु पर्दछ गीत त यसै निक्लिहाल्छ । कोदो रोप्दा होस वा खेत रोप्दा लगाएको पीरती धान काट्ने बेला पाकीसक्थ्यो । अर्थात एकैघरका भैसक्थे । अथाह प्रेम र माया हुन्थ्यो । एकरातमा गीत गाएर प्रेम बसेर भागेका जोडीहरु आजभोली म गाउँतीर जाँदा उनीहरुको खुशी देख्छु र आफूलाई सम्झन्छु । प्रेम र प्रेमको परिभाषा त यिनीहरुले पो जानेका रहेछन् । यिनीहरुलाई न लैला मैजनु थाहा छ ? न क्लीयोपात्र र मार्क एन्थोनी ? रोमियो र जुलियट ? शाँ जहाँ र ममताज ? नेपोलियन र जोसेफिने ? बोनी र क्लाइडे ?

त्यतिबेला चुड्का गाउँने होस वा रत्यौली साथै भजन पनि स्याङ्गजा अगाडि थियो । तर आजभोली चुड्काहरु सुन्न पाईदैंन । पुराना गाउनेहरु बिते । नयाँलाई आउँदैन ।

अनायसै म गुनगुनाउँछु यतिका वर्षसम्म पनि । यस्ता गीतहरुका लय, शब्द र कतैकतै श्वर कसका थिए र हुन् पत्तै छैन ।

धेरैवर्षपछि आफ्ना दौतरी भेट हुन्छ र छेडखानी तरिकाले केटीले भन्छे–
‘पानीको कलीधारा बेइमानीको संगतै नगर बिग्रेला घरबार,
माछी काँडैले नजर लाउँदैमा छेक्यो डाडैले’ ।

पान फुले पछ्यौरी हाँसी हाँसी लाएको पिरती, म भुलेँ कसरी?
काँचो कटहर, म जान्छु राङ्गखोला रोक मटर ।

दरौ सिरुवारी नसमाऊ कान्छादाई हात मेरो जाला घरबारी ।

यस्ता खले गीतहरु हराए । यी गीतहरुको खोजी गरिनुपर्दछ गीत संगीतमा लागेकाहरुले । यी गीतहरु कालजयी हुन् ।

बनमा घाम दाउँरा गर्नेहरुले । मेलापात गर्दा गाइने यस्ता गीतहरु म सानो हुँदा खुब चाख दिएर सुन्थे दिदीवहिनीहरुले गाएको । मेलापात गर्दागर्दै गर्मि हुन्छ । अनि उसले आफ्नो मायालुलाई यसरी भनेकी हुन्छे ।
‘आउन माया जाम शितल बसौं न चर्को लाग्यो घाम’

यी यस्ता केवल लय वा भाका मात्रै हुन् । स्याङ्गजाका भित्रीभित्री डाँडापाखाहरुमा गइयो भने अनेकौं टाइपका गीतहरु सुन्न पाइन्छ । प्रत्येक गीतका लयमा प्रेमनै प्रेम भेटिन्छ । स्याङ्गजालीहरु प्रेमिल हुन्छन् सबैसँग । किनभने उनीहरुलाई थाहा छ श्रवणकुमारको कहानी । उनिहरुकै आँखा अगाडि आधिँखोला सुस्ताएको हुन्छ जसलाई उनीहरु प्रेम, समर्पण र सद्भावको खोला सम्झन्छन् । पुराना दिनका गीतहरु सम्झँदै गर्दा ।

तपाइँको प्रतिक्रिया

फेसबुक