‘फ्रान्समा नेपाली सुरक्षित छन्’

चैत्र २३, २०७६ दीपक अधिकारी

फ्रान्स — फ्रान्सको दूतावासले एन्डोरा, मोनाको, पोर्चुगल, फ्रान्स र युनेस्को हेर्छ । मोनाकोमा कन्सुलर हुनुहुन्छ । अहिलेसम्मको रेकर्डअनुसार मोनाको र एन्डोरामा नेपाली एक जनापनि छैनन् । त्यसैले त्यहाँ नेपालीमा कोरोना भाइरस संक्रमणको कुरै भएन ।

पोर्चुगलबाट प्राप्त जानकारीअनुसार फारोमा एक जना नेपाली संक्रमित हुनुभएको थियो। उहाँ निको भइसक्नु भयो। अरु ५-६ जनालाई क्वारेन्टाइनमा बस्न भनिएको थियो। अरु तिन जना संक्रमित व्यक्तिसित नजिक भएकोले तिनलाई क्वारेन्टाइनमा राखेको थियो। अन्य ६ जनालाई सेल्फ क्वारेन्टाइनमा बस्नुस् भनेको हो, कोरोना भाइरसको संक्रमण हुनसक्छ भन्ने झिनो शंका भएकोले।

पोर्चुगलकै लिस्बोनबाट करिब १७० किमी परको ओदिमिरा भन्ने ठाउँमा मार्च २५ मा १७ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको छ। ती नेपालीसित १ जना विदेशीको सम्पर्क रहेछ। ती विदेशीमा कोरोना संक्रमण पुष्टि भएकाले नजिक भएका सबै नेपालीलाई पनि संक्रमण हुनसक्ने आशंकाले क्वारेन्टाइनमा राखेको छ। लिस्बोनमा पनि अन्य दुई जना नेपालीलाई संक्रमण भएको भन्ने आएको छ। उहाँहरूको आसपासमा हुने अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। फ्रान्समा कुनै पनि नेपालीलाई कोरोना संक्रमित भएको भन्ने रेकर्ड अहिलेसम्म छैन।

युनेस्कोमा हामी एसिया प्यासिफिक ग्रुपका ४३, ४४ देश छौं। हरेक महिना प्रत्यक्ष मिटिङ हुन्थ्यो। यो पटक भिडियो मिटिङ गर्यौं। मैले हाम्रो सरकारको तर्फबाट मृतकका परिवारमा समवेदना र बिरामीहरूमा स्वास्थ्य लाभको कामना सुनाएँ।

फ्रान्स र पोर्चुगलमा धेरै नेपाली भएकोले यी दुई मुलुकका बीच एकअर्का मुलुकका नागरिकलाई जस्तोसुकै सहयोग दिनुपरे पनि दिने प्रस्ताव गरेर फ्रान्सको परराष्ट्र मन्त्रालयलाई पत्र पठायौं। नेपालमा भएका फ्रान्सेली र पोर्चुगलका नागरिकलाई पनि बिना पूर्वाग्रह सहयोग गर्छौं भनेर आस्वस्त पार्यौं। फ्रान्सको परराष्ट्र मन्त्रालयबाट सहयोग गर्ने आस्वाशन प्राप्त भयो। पोर्चुगल सरकारको तर्फबाटपनि जसको भिसा थप्नुपर्ने हो, वैधानिकता सकिन लागेको हो तिनको जुलाई १ सम्म वैधानिक मानिने भनेको छ। यो संकटको बेला सामाजिक सहयोग, अरु सहयोग पनि पाउने भनिएको छ। फ्रान्समा मार्च १६ सम्म मान्यताप्राप्त कागज हुनेको ३ महिनासम्म स्वतः वैध हुने भनिएको छ। भोलि संकट लम्बियो भने फेरि थपिन सक्ला।

कोरोना भाइरस सरेपछि पनि लक्षण देखिन १४, १५ दिन लाग्छ भन्छन्। यो भाइरसको सबैभन्दा जटिल पक्ष कसलाई लागेको छ भन्ने थाहा नहुनु हो। कोहि हट्टाकट्टा देखिन्छ। निरोगी छ जस्तो लाग्छ। तर उसैलाई लाग्या हुनसक्दो रहेछ। कसैलाई लागे पनि रोग प्रतिरोधक क्षमता बढी छ भने उसले सजिलै पचाउने रहेछ। तर ऊसित संपर्कमा भएको मानिसलाई लाग्दो रहेछ। रोग प्रतिरोधक क्षमता बढी छ भने भाइरस लाग्नेसित बस्नेलाई पनि नहुने रहेछ। मान्छे स्वस्थ देखियो भनेर नजिक जान नहुने रहेछ। कागज, कार्टुन, फलाम जे बाट पनि सर्ने रहेछ। फेरि जीवित पनि होइन रहेछ यो भाइरस। केबाट सर्छ केबाट भन्नै नसकिने रहेछ।

क्वारेन्टाइनमा हामी दुई हप्ता बसिसक्यौं। हिजो शुक्रबारबाट बल्ल वृद्धाश्रममा मृत्यु हुनेको संख्यापनि जोड्न थालिएको छ, फ्रान्समा। पहिले दिनको ४ सय, ५ सयको हाराहारीमा मृत्यु भएको विवरण आउँथ्यो। वृद्धाश्रममा भएको मृत्युको संख्या पनि जोड्न थालेपछि प्रत्येक दिन १ हजार १ सय, १ हजार २ सय जनाको मृत्यु भएको विवरण आइरहेको छ।

यो बीचमा जसलाई देखिएन अब नदेखिएला। सुरुमै विजारोपण हुनेको टुसा पलाएको जस्तो हो। सुरुमा धेरै मानिस रेस्टुरेन्ट तिर गए। पार्कमा निस्किए। खानपिन, नाचगान, घुमघाम गरे। त्यहि बेला यो भाइरस धेरै फैलियो। मेरो विचारमा अहिले जनचेतना पनि बढ्यो। सतर्क भए मानिस। अब खास नबढ्ला।

यो भाइरसले निकट भविष्यमा ठूलो संकट पार्ला जस्तोपनि देखिन्छ। किनभने आगामी ३ महिनालाई कृषीमा काम गर्ने दुई लाख कामदार चाहियो भन्दै यहाँका कृषी मन्त्रीले आह्वान गर्नुभएको छ। फ्रान्समा उत्तर अफ्रिका र पूर्वी युरोपबाट कृषीमा काम गर्न आउने रहेछन्। फ्रान्स बस्ने तर वैधानिक कागजपत्र नहुनेले पनि कृषिमा काम गर्थे। ति कागजात नहुनेहरू सुरक्षाकर्मीले समात्ला, थुन्ला भन्ने डरले पनि निस्किन डराउँछन्। त्यसले गर्दा कामदारको संकट भयो। त्यहि भएर कृषी मन्त्रीले अहिले बेरोजगार बनेकाहरूलाई आउनुस कृषी सेनाको रूपमा काम गरौं भनेर आह्वान गर्नुभएको छ। फ्रान्समा अहिले बाली भित्र्याउने बेला छ। अर्को बाली लगाउन पनि कामदार चाहिएको छ।

जिन्दगी कस्तो रहेछ भने जुन खालको प्लेन चढेपनि, जति महँगा गाडी हुइँकाएपनि, जत्रा ठूला पानीजहाजका मालिक भएपनि, खरबौं सम्पत्ती भएपनि सुन खान नमिल्दो रहेछ। जतिसुकै ठूलो धनाढ्य होस अलिकति भएपनि जाउलो नै चाहिने रहेछ। धनको के मतलब रैछ र ? हामी नहुनेले यसरि नै चित्त बुझाउने हो।

सबैभन्दा महत्त्वपूर्ण के रहेछ भने आपतविपतको बेला जीवन चलाउन सानो झुपडी, सानै इनार वा कुवा, एक दुई वटा गाई भैंसी, अलिकति बारी, थोरै धान हुने जमिन, सागपात लगाउने एक चोक्टो करेसो। यो हाम्रो समाजको बनावट रैछ संकटमा सजिलोसित बाँच्न सकिने। अत्मनिर्भर हुने खालको।

मध्यपूर्वमा तेलका खानी छन्। तर खेती त हुन्न। एक दिन तेलको कुवा सुकेको बेला एक मुठी अन्न माग्न हाम्रैमा आउनुपर्ने हुन्छ। किनकी त्यहाँ अन्न त उब्जिन्न। अति धेरै मिहिनेतले, ठूलो धन खन्याएर, माटो बोकेर ल्याएर अलि अलि उब्जे मात्रै हो। हाम्रोमा त जतापनि त्यत्तिकै फल्छ। त्यसैले यो कोरोना भाइरसको संकटले धनसम्पत्ती केहि होइन भन्ने त सबैलाई पाठ सिकाएको छ।

मेरो विचारमा आगामी केहि महिना असहज नै हुन्छ। स्थिति गाह्रो हुँदै गयो भने खान पनि पाइन्न कि ? अहिले पाकेको खाद्दान्न, फलफूल टिप्न जाने मान्छे छैन। बाहिरबाट कोहि आउँदैन। मुलुक भित्र थन्काएर राखेको कति पो होला र ? लाखौं मानिसले बस्ने, खाने तर उब्जनी नहुने र थप्ने नगरेपछि कति दिन धान्ला ? भोलि कोरोनाको संक्रमण बढ्दै गएर यसै गरी ३-४ महिना घरमै थुन्नु पर्ने भएमा के खाने ? ग्रोसरि स्टोर रित्त्तिए भने कोरोनाले होइन खान नपाएर पो मर्छन् त मानिस।

खेतीपनि आज रोपेर भोली त हुन्न। अहिले रोप्न नसके ४ महिनापछि के खाने ? पछिको लागि खान अहिले मजदूर पाइन्न भनिरहेका छन्। ३-४ महिना पछि जहाज, रेल, ठूला घर, महँगा कार भएर त बाँचिन्न। मानिसले गरेका आविस्कार मध्ये घरमा खान उमाल्ने र पानी तताउने बाहेक अरु ठूला ठूला, महँगा आविस्कारको काम भएको छैन अहिले ।

यो रोगको प्रभाव शून्यमा झार्न सकिएन र त्यो अवस्थामा नपुर्याउँदै खुला गरेर केहि समयपछि यो भाइरस फेरि निस्कियो भने त खत्तमै भएन ? यो सुसुप्त अवस्थामा रहेर पछि फेरि देखियो भने के गर्ने ? त्यसैले यसको परिणाम के होला भनेर अहिले नै सोच्नपनि गाह्रो छ। तर विश्वमा धेरै विद्वान, अनुसन्धाता, योजनाकार भएकाले यस्ता समस्यालाई समाधानपनि गर्लान् भनेर आशावादी बनौं।

(फ्रान्सका लागि नेपाली राजदूत अधिकारीसँग कान्तिपुरकर्मी ददि सापकोटासँगको कुराकानी आधारित)

(साभार – कान्तिपुर अनलाईन, प्रकाशित : चैत्र २३, २०७६ ०७:३९)

तपाइँको प्रतिक्रिया

फेसबुक