कोरोना महामारीका सकारात्मक पक्ष

बिनाशकारी पर्यटनले विश्वका अति सुन्दरतम ठाउँ भेनिस, ईटालीको फ्लोरँस, थाईल्याण्डको फुकेट, नेपालको सगरमाथा क्षेत्र कुरुप बनाउँदै थिए । पानीनै पानीको शहर भनेर चिनिने ईटालीको भेनिस शहरको पानी पर्यटकको चापले गर्दा सधैं धमिलो हुन्थ्यो । कोरोना भाईरसको प्रकोपले पर्यटकहरु आउन बन्द हुँदा पर्यटकिय डुंगा चल्न रोकिएर पानी सफा भएकोले माछा खेल्न थालेका छन् । कुनाकाप्चाका माछापनि बाहिरै तैरिन थालेका छन् । ईटालीको अति ब्यस्त पर्यटकिय टापू सार्डिनियामा डल्फिनहरू फेरी (डुंगा) हरूको अभावमा बन्दरगाहमा पौडीरहेका छन् । यस अघि डल्फिन त्यसरि नदेखिएको वर्षौं भएको थियो ।

हाम्रै देशको कुरा गर्दापनि पर्यटकिय गतिबिधीले गर्दा चितवन राष्ट्रिय निकुञ्जका गैंडा र म्रिग घरपालुवा जस्ता बन्न लागेका थिए । होटेल, रेस्टुरेन्ट वरिपरिका जिवमा जंगली आनीबानी हराउँदै थियो । अहिले चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा, चित्तल र अन्य जनावर साँझ नपर्दै बाहिर देखिन थालेका छन् । रापती रिउ खोलामा पर्यटक बोकेर सयौं डुंगा जान छोडेपछि किनारमा गोहीहरुको संख्या बाक्लो देखिँदै गएको छ । जंगली चराहरु ग्रामिण भेगका वगैंचा र करेसासम्म बिचरण गरेको देखिएको छ ।

कोरोना भाईरसले ब्रह्माण्डको हावापानी सफा राख्न खेलेको भूमिका त झनै उच्च छ । कोरोना प्रकोप यो ग्रहको स्वास्थ्यकालागि सकारात्मक पाटो हो । प्रत्येक दिन विश्वका मानिसले ३८ लाख ब्यारेल इन्धन जलाउँथे । अहिले त्यो स्वाट्टै घटेर १८ वर्ष अघिको अवस्थामा फर्किएका छौं हामी । चीनमा मानिसहरुको यात्रा फेब्रुअरीमा एक बर्ष पहिलेको तुलनामा ८० प्रतिशतले कम भयो ।

उद्योग, यातायात सन्जाल र कलकारखाना बन्द भएपछि कार्बन उत्सर्जनमा नाटकिय गिरावट आएको छ । मार्चको तेस्रो हप्तामै न्युयोर्क शहरमा ५ देखि १० प्रतिशत कार्बनडाईअक्साईडको मात्रा घटिसकेको थियो । ट्राफिकको भिड ३५ प्रतिशतले कमि भैसकेको थियो । गत बर्ष यहि बेलाको तुलनामा अर्थात् मार्चको तेस्रो हप्तामै न्युयोर्कमा प्रदूषणको स्तर करीव ५० प्रतिशतले घट्यो । चिनमा जनवरीको शुरुमै प्रदुषणमा २५ प्रतिशत कमि आयो  । किनभने मानिसहरुलाई एकान्तवासमा बस्न लगाइएको थियो । कारखानाहरु बन्द भएकाले कोइलाको प्रयोगमा ४० प्रतिशत कमी आयो । चिनको वातावरण तथा ईकोलोजी मन्त्रालयका अनुसार चिनका बिभिन्न ३३ शहरमा यो वर्ष गत साल भन्दा ११ दशमलव ४ प्रतिशतले हावाको गुणमा सुधार भएको पाइयो ।

कोरोना भाईरसबाट उत्पन्न प्रकोप शान्त भएर क्वारेन्टाईनको अवधि विश्वभरिनै झिकिएपनि हालसम्मको प्रभावकै कारण सन् २०२० मा विश्वब्यापीरुपमै प्रदुषण शुन्य दशमलब तिन प्रतिशतका दरले घट्ने दाबी गर्छन्, सेन्टर फर इनटरनेशल क्लाईमेट एण्ड इन्भाईरोन्मेट रिसर्च ओस्लोका अनुसन्धानदाता ग्लिन पिटर्स ।

चिन, फ्रान्स, जर्मनी, ईटाली, बेलायत, अमेरिका जस्ता ठूला औध्योगिक मुलुकमा ठूला उध्योगहरु बन्द छन् । आकाश खुला छ । सडकहरू शान्त छन् । सयौं विमानको करकस आवाज सुन्न परेको छैन । वातावरण स्वच्छ भएको छ । नाईट्रोजन अक्साईडको उत्सर्ग ३० प्रतिशत भन्दा माथि छैन । अर्थात् सामान्य अवस्थामा फर्किएको छ ।

उत्पादन नगर्ने तर बसेर खाने गर्दा खाध्यान्नको भण्डार अहिले सीमित भैरहेको छ । आपूर्तिका माध्यमहरू सामान्य अवस्थामा चाँडै नफर्किने देखिन्छ । यसले मानिसहरुलाई केहीपनि खेर नफाल्न, अड्कलेर चाहिनेजति मात्रै प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ । आफूलाई चाहिने मात्रामा मात्रै प्रयोग गरिदिए अरुका लागिपनि बाँकि रहन्छ । अरुलेपनि चाहिएको चिज पाउन् भन्ने पाठपनि सिकाएको छ । वास्तबमा यो बेला धेरै चिज नफालिकनै जिवन जिउन कति थोरै चिजमात्रै भएपनि पुग्ने रहेछ भन्ने हामीले भोग्न पाएका छौं । खुशि जिवन बिताउन के आवस्यक रहेछ भनेर आधारभूत परिमार्जन ल्याउन यसले सिकाउन सक्छ । यसले भविष्यमा खाद्दान्न ब्यवस्थापन, संरक्षणकालागि ठूलो शिक्षा मिलेको छ ।

फ्रान्समा क्रिषी मन्त्रीले खेतीमा कामगर्ने तिन लाख मजदूरको संकट परेकाले खेतीमा काम गर्न आउन आव्हान गरेका छन् । केहि क्रिषी क्षेत्रबाट श्रमिकहरु भागेका छन् । केहि जसले राम्रो ब्यवहार गर्छ उसैकोमा पुगेका छन् । किनभने फ्रान्समा मात्रै होइन युरोपका धेरै देशमा क्रिषी श्रमिकहरु पूर्वी युरोप र अफ्रिकी मुलुकबाट आउने हुन् । तिसित यहाँको आवाशिय भिसा हुन्न । भिसा हुनेसितपनि भाषा हुन्न । स्थानिय प्रशासनको ज्ञान हुन्न । तिनले शहरमा काम खोजुन्जेल बस्ने ठाउँ पाउँदैनन् । होटेलमा बस्न चर्को मूल्य तिर्न सक्दैनन् । त्यसैले कठिन भएपनि सजिलै पाइने खेतीको काम गर्छन् । तर यो गाह्रो साह्रो र बाध्यता बुझेका क्रिषीका साहुहरुले तिनलाई पेलेर, हेपेर काममा लगाउने गरेका थिए । जति दलाएपनि प्रहरीकहाँ जान सक्दैनन् भन्ने तिनको बाध्यता बुझेर हेप्ने र चुस्ने गरेका थिए । तर कोरोना भाइरसको संकटले मानिसहरुलाई ओहोरदोहोरमानै बन्देज गरिदिएपछि श्रमिकको संकट परेको छ । जोसित बैधानिक आवाशिय अनुमति छ तिनको भाउ बढेको छ । अहिले श्रमको मूल्य र महत्व बुझेर ति क्रिषीका साहुहरुले फरक तर सम्मानित ब्यवहार गर्न थालेका छन् ।

बैधानिक स्विक्रिति, स्थानिय भाषा र प्रशासनिक ज्ञान नहुनेका पाखुरिले साँझ विहान मुख जोर्ने सम्पन्न र शहरियाहरुको जिवन धानिदिन कति महत्वपूर्ण भूमिका खेलेका रहेछन् भन्ने अहिले तिनले महत्व बुझेका छन् । अहिले यस्ता क्रिषी महजदूरहरु भेटिएनन् भने अर्को याममै क्रिषी संकट निम्तिने खतरा देखिएपछि फ्रान्सेली क्रिषी मन्त्रीले क्रिषीमा काम गर्न आउन सार्वजनिक आव्हान गरेका छन् । कोरोना संक्रमणकै कारण मजदूरहरुको महत्व बढ्नु खुशिको कुरो हो ।

पोषण र व्यायामको कुरामा धेरैले सचेत भएर छनौट गर्न थालेका छन् । मानिसहरु प्राक्रितिक खाद्द, उपचार र उत्पादनको खोजि गर्न थालिसकेका छन् । यसले भविष्यमा स्वास्थ्य क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने छ ।

हामी हाम्रो जीवनशैली र काम गर्ने विधिहरूलाई समायोजन गर्न बाध्य भएका छौं । मान्छेहरुले रमाईलोकालागि कम पैसा खर्च गरिरहेका छन् । भर्खरका हप्ताहरूमा यो स्पष्ट भएको छ कि हामी कसैलाई पनि आनन्द र मनोरन्जनको लागि एकदमै धेरै पैसा खर्च गर्नुपर्ने आवश्यकता नहुँदो रहेछ । महँगो जिम सेन्टर नधाएपनि ब्यायाम गर्न सकिने रहेछ । वास्तवमै सुख के रहेछ भन्नेपनि मानिसहरुले बुझ्ने मौका पाएका छन् ।

पहिले पार्क र खुला ठाउँहरूले यति खुशि देला भन्ने मानिसहरुलाई हेक्का थिएन । अहिले करेसा बारीको एक चोक्टामा रोपिएका फूल र झारपातलेपनि आनन्द दिएका छन् । खुशी पार्दैछन् । धेरै ठाउँमा सामाजिक दूरी कायम गरिएकाले महसुस हुँदै छ कि बाहिरी संसारमा निस्केर वरपरको फूल, डाँडा र रुखपात नियाल्न पाउनु कति महत्वपूर्ण हुँदो रहेछ ।

थुप्रै मानिसहरुले यतिखेर रोजगारी गुमाएका छन् । ति मध्ये कतिपयलाई सिमित भत्ता आउँछ । कतिपयलाई भत्तानै आउँदैन । जसलाई भत्ता आउँछ तिनलेपनि थोरै आम्दानीले दैनिक खर्च चलाउनुपर्ने भएको छ । यो कठिन अवस्थामा कसरि थोरै खर्चले धेरै समस्या टार्न सकिन्छ भन्ने पाठ सिक्दैछन् । जसलाई भत्तानै आउँदैन तिनलेपनि चुनौतिपूर्ण, कठिनपूर्ण अवथामा कसरि जिउन सकिन्छ भन्ने सिकिरहेका छन् । अहिलेको अभावलाई सम्झेर भविष्यमा तिनले आफ्नो कमाईलाइ बुद्दिमत्ता किसिमले खर्च गर्नेछन् । आफ्ना वालवालिकालाईपनि त्यहि सिकाउने छन् ।

धनाढ्यहरुलेपनि देखिरहेका छन् कि रोग र महामारीले सानो ठूलो, धनी र गरिब भन्दैन । त्यसैले सम्पत्तीको अलिकति अंश साझेदारि गरौं, सामाजिक काममा लगाऔं, गरिबगुरुबालाई बाँडौं भन्ने भावना जगाएको छ । त्यसैले अहिले युरोपका कतिपय मुलुकमा धनाढ्यहरुले गरिबकालागि भन्दै दान गरिरहेका छन् ।

राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा यदि हामीले कदम चाल्ने हो भने प्रक्रिति संरक्षण र अन्य मानविय संकट टार्नपनि सकिन्छ भन्ने शिक्षा कोरोना भाईरस समाधानकालागि गरिएको कामबाट शिक्षा मिलेको छ ।

मानिसहरु गाउँ गाउँ फर्किएको अवस्था छ । भारतमा त ‘गाउँ फर्कौं’ भन्न्ने अभियाननै चलाइएको छ । गाउँका मानिसहरुबिच एक खाले ऐक्यबद्दता देखिएको छ । आफ्ना गाउँका समस्या समाधान गर्न र सामूहिक काम गर्न । गाउँ बिर्सिएकाहरुले गाउँको महत्व बुझ्न पाएका छन् । यो संकटका बेला धेरैले हराएका साथी फेला पारेका छन् । धेरैले नयाँ साथी बनाएकापनि छन् । परिवार चिन्ने अवसर जुटेको छ । अरु बेला कहिल्यै जवाफ नफर्काउनेहरुलेपनि गफ गर्न थालेको देखिन्छ । आत्मियता बढ्न थालेको छ ।

यतिबेला आफ्नो सम्पत्तीबाट प्राप्त गर्न सकिने अधिकतम आनन्दपनि लिईरहेका छन् मानिसहरुले  । सामाजिक सम्बन्ध र छिमेकी भावनाको पहिले भन्दा धेरै मात्रामा सराहना गरिएको देखिन्छ । कोरोना भाईरसको कारणले खुम्चिनुपर्दा हामी मध्ये धेरैले संसारका अरु कसरी बाँचेका छन् भन्ने अन्तर्दृष्टि गर्न पाएका छौं ।

कोरोना प्रकोप अघिसम्म कतिपय मान्छेहरुले आफूलाई अजम्मरी झैं ठान्थे । साना कुरामा ठूलो दम्भ देखिन्थ्यो । कोरोना भाईरसले सिकाएको अर्को पाठ के हो भने मानिसहरुले म्रित्युलाई नजिकबाट नियाल्न पाए । अस्तिसम्म आफ्नै आँखा अगाडि हँडिरहेको मान्छे आज एक्कासि ढलेको सुन्नुपर्दा धेरै मानिसहरुमा दया, माया र अरुप्रति करुणा जागेको देखिन्छ । तिनलाई सामाजिक सेवा, सामूहिक भावनातिर तानेको देखिन्छ ।

पक्कैपनि कोरोना भाईरसबाट धेरै गम्भीर प्रतिकूल प्रभावहरू हुनेछन् । त्यसका सकारात्मक नकारात्मक प्रभावले भविष्यलाई सहज बनाउने छ । ठूलो सामूहिक भावना, अरुप्रति आभारि रहनेहरुको जनसंख्या, बेकारभन्दा सकारात्मक सोच्ने समाज, जिम्मेवारपूर्ण नागरिक, प्रक्रिति संरक्षण कोरोना भाईरसपछिको सकारात्मक पाटो हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक