“जर्मनीका अस्पतालमा बिरामी घटिरहेका छन्” डा. चुडाल

घर भित्रै बस्दापनि कोरोना भाइरस सर्छ कि भनेर पलपल तर्सिरहेका छन् मानिसहरु । तर चितित्सकहरु भने त्यस्ता भाइरस लागेका सयौं ब्यक्तिसित घुलमिल भएर बस्नु र तिनको उपचार गर्नुपर्छ । अझ आपतकालिन सेवामा काम गर्ने चितित्सकहरु त अग्रभागमा रहेर शुरुदेखिनै तिनको उपचारमा खटिनुपर्छ । एम्बुलेन्स लिएर तिनका निवासमै पुग्नेदेखि अस्पत्तालमा भर्ति गरेर निको नहुन्जेल हेर्नुपर्छ । त्यस्तै चिकित्सक हुन् जर्मनीको बर्लिनस्थित एक अस्पतालमा कार्यरत डा सरोज चुडाल । विकसित देशको स्वास्थ्य पद्दती, स्रोत र साधन, कोरोना भाईरस लागेपछि त्यहाँको अवस्थालगायतका विविध विषयमा उनले नेपालप्लसलाई धकनमानी आफ्ना अनुभवहरु सुनाएका छन् । नेपालप्लस डट कमले लिएको उनको अन्तर्वार्ता पढ्नुस् –

तपाईले जर्मनीको कुन युनिभर्सिटीबाट कुन विषयमा अध्ययन गर्नुभएको हो ?

म ईन्टरनल मेडिसिन, इमर्जेन्सी डाक्टर हुँ । मैले सन् २०१४ मा जर्मनीको बर्लिनस्थित सारिटे मेडकल विश्वविध्यालयबाट अध्ययन सकेको हो । त्यस बेलादेखि अस्पत्तालमा कार्यरत छु ।

-यो सेवा कालमा नेपाल र जर्मनीको स्वास्थ्य सेवामा कस्तो भिन्नता पाउनु भयो ?

नेपालमा गएर काम गरेको त्यस्तो अनुभव त मलाई छैन । तर सन् २०१५ को भूकम्पका बेला नेपाल गएर काम गरेको हो । हाम्रो देशमा मेडिकल फिल्डमा मात्रै नभएर विकसित र विकासोन्मुख देशको विकास, प्रविधी र अन्य साधन र स्रोतहरुमा जुन फरक छ त्यस्तै फरक् मेडिकल फिल्डमापनि हुन्छ । नेपालमा सिमित साधन र स्रोतमा रहेर कसरि एकदमै राम्रो सेवा दिने भन्ने हुन्छ । त्यो अनुपातमा यताका देशहरुमा साधन र स्रोतको सुविधा बढि हुन्छ । त्यसैले अलि सजिलो हुन्छ राम्रो सेवा दिन जस्तो लाग्छ मलाई ।

-बिदेशी र स्वदेशी चिकित्सकमा त्यहाँ भिन्न गरिँदो रहेछ कि गरिँदो रहेनछ ?

स्वदेशी डाक्टरलाई बढि तलब र सुबिधा दिने स्वदेशीलाई कम दिने, हेप्ने भन्ने त्यस्तो मैले अहिलेसम्म अनुभव गरेकोपनि छैन । यो क्षेत्रमा समान ब्यवहार गरेको पाउँछु ।

-तपाईको अस्पत्तालमा इमरजेन्सीमा कस्ता कस्ता खाले बिरामीको उपचार गर्नुहुन्छ ?

म आपतकालिन सेवामा भएकोले यहाँ बिभिन्न खालका विरामीहरु आउँछन् । धेरै चाहिँ मुटु र फोक्सोका विरामी आउँछन् । त्यसमापनि गम्भिर ह्रिदयघात भएका, मुटु संवन्धि अरु खाले रोगका विरामी आउँछन् । उच्च रक्तश्राव भएर आउँछन् । मुटुका रोगीमा  कोहि सामान्य खालकापनि हुन्छन् । दमका रोगीहरु आउँछन् । आन्तरिक रक्तश्राब भएका हुन्छन् । कोहि मेरो तिन चार महिनादेखि ढाड दुख्यो, पखाला लाग्यो भनेरपनि आउँछन् । केहि नभएका विरामीपनि विरामी भएको जस्तो लागेर आउने गर्छन् । यसलाई पत्ता लगाउन सक्नुपर्‍यो । आपतकालिन सेवाका डाक्टरको मुख्य काम के हो भने कुनैपनि विरामीको त्यो अवस्था किन भयो ? किन अकस्मात बिरामी पर्‍यो भनेर पत्ता लगाउने । सकेसम्म त्यस्ता विरामीको स्वाश प्रश्वास, मुटु र स्वास्थ जटिलतालाई स्थिर राख्ने । त्यसपछि रोग र त्यसको जटिलता हेरेर सघन उपचारमा पठाउने हो कि अन्य वार्डमा पठाउने हो सिफारिस गर्ने ।

-बिरामी आउनासाथ तिनलाई सबैभन्दा पहिले कस्तो उपचार थालिन्छ ?

कुन उपचार भन्दापनि पहिले उसको अवस्थाबारे यकिन गर्नतिर लाग्नुपर्छ । उसलाई तुरुन्तै उपचार गरिहाल्नुपर्ने आवस्यकता छ कि छैन । कति मिनेटसम्म कुराउन सकिन्छ भन्ने जान्नु एकदमै आवस्यक हुन्छ । आपतकालिन सेवामा पहिले आउनेले पहिला उपचार पाउने भन्ने हुन्न । विरामीको जटिलता हेरेर कसलाई तत्कालै उपचार गर्ने त्यो हेरिन्छ । हामीले अन्य मुलुकमा जस्तै मेन्चेस्टर ट्रियाज सिस्टम पद्दती अपनाउँछौं । त्यो भनेको छोटकरीमा के हो भने विरामीको अवस्था जाँच्ने करिब ५ वटा मुल आधार हुन्छन् । रातो, सुन्तला रङ, पहेंलो, हरियो र निलो । रातो श्रेणीमा परेका विरामीको तत्कालै उपचार नगरे म्रित्यु हुन सक्ने भएकोले डाक्टरले तत्कालै हेरिहाल्नुपर्छ । यस्ता विरामीहरु प्राय एम्बुलेन्समा डाक्टरकै साथमा आएका हुन्छन् र ति आउँदैछन् भनेर अस्पत्तालमा पूर्व जानकारि हुन्छ । एम्बुलेसमै इसिजी गरेको हुन्छ । त्यो इसिजीको रिपोर्टमा के समस्या हो भनेर थाह हुन्छ । इसिजीको सूची हेरेर कहाँ राख्नुपर्ने हो त्यहाँ सिधै लान सकिन्छ । यसले गर्दा समय बच्छ । के समस्या भएको हो तत्कालै खोल्न सकिन्छ । र छिटो उपचार पाउँछन् ।

कतिपय विरामी डाक्टर नलिइकनै, हिँडेरपनि आएका हुन्छन् । तिनको स्थिति गम्भिर खालको नहुन सक्छ । ति विरामीको नाडीको पल, अक्सिजनको मात्रा, ब्लड प्रेसर, मुटुको धड्कन, श्वास प्रश्वासको अवस्था, आदि हेरेर ३०, ९० वा १२० मिनेट कति पछिसम्म हेर्दा हुन्छ भन्ने निर्णय गरेर डाक्टरलाई सिफारिस गर्छन् ।

-नेपालमा चिकित्सकहरुले कोरोना लागेका कतिपय बिरामीको उपचार नगरेको सुनिन्छ । जर्मनीमापनि स्वास्थ्यकर्मीहरु त्यसैगरि डराउँछन् कि ?

यो कोरोनाले विश्वलाईनै त्रसित बनाएको हुँदा हामी चिकित्सकहरुपनि नडराउने भन्ने हुँदैन । मलाईपनि पहिले अस्पत्ताल जाँदा यस्तो गर्छु, उस्तो गर्छु भन्ने जुन उत्साह हुन्थ्यो अहिले अलि कम भएको छ । पहिलेको जस्तै जोस र जाँघरका साथ काममा गइन्न भन्नुपर्छ । यस्तो हुन त नपर्ने हो । तर डर सबैलाई लाग्ने रहेछ । तैपनि अस्पत्तालमा आएका बिरामीलाइ म उपचार गर्दिन, यहाँ हुन्न अर्को ठाउँमा उपचार गर्न जानु भन्न पाइन्न । विरामीको रोग अनुसारको उपचार सेवा आफ्नो अस्पत्तालमा छैन भनेपनि त्यत्तिकै पठाउन पाइन्न । अर्को उपयुक्त अस्पत्ताल खोजेर, डाक्टरसित परामर्श गरेर, बेड खोजिदिएपछि आफैंले एम्बुलेन्स खोजेर पठाउनुपर्छ । अर्को कुरा यहाँपनि खुब चलेको छ पिपिई (पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट्) भन्ने शब्द । यसको अभाव यहाँ छैन । कोरोनाका विरामी आउँदा ति सुरक्षाका सामाग्रि नभएर तिनको उपचार गर्दा डराउनुपर्ने स्थिति छैन ।

-कोरोना भाईरस लागेको पत्ता लागेपछि त्यस्तो बिरामीलाई कसरि राखिन्छ ? एक्लै, केहि विरामी सँगै कि ? जस्तै स्पेन र ईटालीमा त कोरिडोरमै लाईन लगाएकोपनि देखियो ।

यो एकदमै महत्वपूर्ण प्रश्न हो । कोरोना भाईरस लागेपछि होइन कि लाग्नुभन्दा अगाडिनै के गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । जर्मनीका सबै अस्पत्तालहरुमा के छ भने अस्पत्ताल भित्र पस्नु अघि गेट अगाडिनै चिन्हहरु राखिएका हुन्छन् । कोरोना लागेको छ भने त्यसैलाई संकेत गर्ने घण्टि बाहिरैबाट बजाउनुपर्छ । त्यो घण्टि बजाएपछि अस्पत्तालको आपतकालिन कक्षका सबै डिपार्टमेन्टका सबै निकाय सक्रिय हुन्छन् ।

कोरोना भाईरस भएको वा शंका भएको बिरामीलाई सुरुमा आइसोलेसन वार्डमा नै राखिन्छ । कोरोना नेगेटिभ भएपछि अरु सामान्य वार्डमा सारिन्छ । पोजेटिभ भए कोहोर्ट आइसोलेसन (ग्रुप आइसोलेसन) मा राखिन्छ । उदाहरणको लागि, दुई जना पोजेटिभ भएकालाई एउटै कोठामा । ईटाली र स्पेनमा जस्तो सुबिधा, बेड नपुगेर विरामीलाई कोरिडोरमा राख्नुपर्ने अवस्था जर्मनीमा अहिलेसम्म आएको छैन । तर भविष्यमा त्यो अवस्था नआउला भन्न मिल्दैन । अवस्था एकदमै तिब्ररुपमा बदलिनपनि सक्छ ।

-जर्मनीमा ६० वर्षभन्दा आथिको उमेरका बुढाबुढीलाई विशेष खाले भ्याक्सिन दिने गरिन्छ । त्यहि भ्याक्सिनको कारणले गर्दा म्रित्यु संख्या कम भएको हो भनिन्छ । के भ्याक्सिन दिइन्छ त्यहाँ त्यस्तो ?

कुरो आयो भ्याक्सिनको । स्ट्रेप्टोकोक्कुस न्युमोनिया भन्ने किटाणुको संक्रमण नहोस भनेर ल्याइने भ्याक्सिनलाइ न्युमोकोक्कल भ्याक्सिनेसन भनिन्छ । यो किटाणुले विशेषगरि न्युमोनिया, मेनेन्जाईटिस, सिनुसिटिस आदिको संक्रमण गर्छ ।

कम्युनिटि एक्वायर्ड न्युमोनिया अर्थात् स्वास्थ्य सेवा बाहिरबाट लिईएको न्युमोनिया हुने लगभग २० देखि ४० प्रतिशतलाई न्युमोनिया यहि ब्याक्टेरियाले गर्छ । त्यो ब्याक्टरियाले न्युमोनियापनि बनाउँछ । र त्यसलाई सन्चो बनाउनपनि यो खोप दिईन्छ । र सबै देशमा बच्चाहरुमा लगाइने खोपमा योपनि पर्छ । अरु देशमा मलाई थाह छैन जर्मनीमा चाहिँ यो खोप ६० वर्ष माथिका र रोग निरोधक क्षमता कम हुने (जस्तै एच आइभी पोजेटिभ, शारिरिक अंग प्रत्यारोपण, बोनमारो प्रत्यारोपण गरेका आदि) लाई सिफारिस गरिन्छ । एक खाले न्युमोनिया चाहिँ अस्पतालमापनि सर्छ । फ्लुको भ्याक्सिनपनि दिईन्छ । त्यो चाहिँ इन्फ्लुएन्जा नलागोस् भनेर दिने हो । यि दुबैले कोरोना कन्ट्रोलमा कति भूमिका खेल्छन् थाह छैन । यहि खोपले गर्दा कोरोना भाईरस लाग्यो वा लागेन वा म्रित्यु भयो भएन भन्ने कुनै तथ्यांक भने छैन । तर यो छुट्टै खोप भने हो ।

-जर्मनीमा कोरोना लागेपछिपनि वा जर्मनीमा यो बेला म्रित्यु संख्या ज्यादै कम हुनुको कारण के होला  ?

क्रिस्टियान ड्रोस्टेन र उनको टोलीले सन् २००२, २००३ मा सार्स लागेको बेला यो पत्ता लगाएका हुन् । कोरोना थाह नभएपनि त्यसैमा अनुसन्धान भैरहेको थियो । चिनमा संक्रमण शुरु नहुँदै काम गरेकोले लाग्नासाथ ल है यसरि काम गर्नुपर्छ भनेर शुरु गरे । कोरोनाको टेस्ट उहाँले निकालेको हो । चिनमा फैलिनु अघिनै यहाँ सिस्ट बिकास गरेर ल्याबहरुमा पठाईसकिएको थियो । त्यसले गर्दा सबै तयारिमा बस्न पाए । यसमा उहाँको ठूलो देन छ । साधारण लक्षण देखेपनि नदेखेपनि तयार भए । युवायुवतीहरु देख्नासाथ तिनमा उपचार गर्न सजिलो भयो । उहाँले जे भनेको सरकारलेपनि मान्यो । नातिनातिनालाई हजुर बा हजुरआमाबाट टाढा राख्नुभने । त्यसैले बुढाहरु र योङहरु टाढा राखिदिएपछि बुढाहरुमा कम देखिनुको कारण यहि हो ।

कोरोना परिक्षण भएपछि धेरै क्वारेन्टाईनमा बसे । संक्रमित जति क्वारेन्टाईनमा बसेपछि कोरोना भाईरस संक्रमण कम भएको हो जर्मनीमा ।

-युरोपमा अन्य देश भन्दा जर्मनीमा स्वास्थ्य क्षेत्र बढि परिक्क, ब्यवस्थित देखियो । यसको खास कारण के हो ?

सरकारले गरेको निर्णयलाई जनताले मान्नु । बैज्ञानिक सुझावलाई सरकारले मान्नु । दिनदिनै सरकारले केहि भन्छ त्यो जर्मनहरुले माने । कोरोनाले ग्रसित मुलुक मध्ये जर्मनीमा डा. र नर्सको संख्या बढि देखियो । क्रिटिकल केयर बेड महत्वपूर्ण हुन्छ । कोरोना अघि २८ हजार बेड थिए । त्यसमा २५ हजार भेन्टिलेर । अहिले कोरोना पछि ४० हजार क्रिटिकल केयर बेड बनायो । ३० हजार भेन्टिलेटर पुर्यायो । त्यो हिसाबले क्रिटिकल केयर बेड मनग्गे भयो । त्यो हिसाबले पनि स्वास्थ्य सेवा धेरै विरामीमा पुग्यो ।  अहिलेसम्मको सूची हेर्दा भेन्टिलेरमा राखेका मध्ये ५० प्रतिशत म्रित्यु भएको छ । बाँकि ५० प्रतिशत बाँचेका छन् । भेन्टिलेटर नपाए ति पनि बाँच्थेनन् । ईटालीमा भएको त्यहि हो । भेन्टिलेटर ३ वटा छन् तर १० जनालाई भेन्टिलेटर चाहिने छ । तिन जनालाई मात्रै बचाउन सकिने भो । ईटालीमा के भयो भने ६० वर्षका बाउ र ८५ बर्षका हजुर बा छन् भने ईटालीमा हजुर बालाई त्यत्तिकै छोड्नुपर्ने स्थिति आयो । त्यस्तो डेसिजन गर्दा मन रुन्छ चिकित्सकको । तर त्यो डिसिजन लिनै पर्छ । ईटालीमा त्यहि भयो ।

फ्रान्स, जर्मनी, ईटालीहरुले देशको जिडिपीको ११, १२ प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् । अमेरिकामा त्यो भन्दा राम्रो छ लगानी तर सदुपयोग राम्रो छैन । अनावस्यक कुरामा खर्च बढि छ । डाक्टरकै तलबपनि यहाँ भन्दा बढि छ । इन्सुरेन्स नपाउने धेरै छन् । इन्सुरेन्स नपाएपछि उपचार पाएन ।

-इमरजेन्सीमा पहिले कति आउँथे विरामी ? अहिले कति आउँछन् ? विरामीको संख्या बढ्दा स्वास्थ्य सेवा खस्केको छ कि छैन ?

बिरामी आउन डराएका छन् । एकदमै अन्तिम परेर मात्रै आएका छन् । कोरोनाका बिरामीको प्रेसर छ । अरु बिरामीलाई भन्दा धेरै समय लाग्छ उपचार गर्न, जाँच्न । ४, ५ महिना अघि देखि मिति तोकेका अपरेसनका बिरामी, हर्निया, हात गोडाका अपरेसनका बिरामीको अपरेसन बन्द गरेकोले बिरामी कम छन् । तर कोरोनाका बढेका छन् । अप्रिलको अन्तिम वा मेको शुरुमा पिक बेला होला भन्ने अनुमान छ । इटालीभन्दा ढिलो शुरु भएको हो जर्मनीमा । ईटालीको पिक भयो । अब यता हामी तयारि अवस्थामा बसेका छौं । उपचारमा कमी छैन । पहिले हार्ट एट्याक हुने बिरामी कहाँ गए ? तिनमा के भएको छ ? अहिले मान्छेहरु डराएर अस्पत्ताल नआएर अन्तिममा आउने, चाप बढ्ने हो की ?

म एउटा बिरामी चेक गर्न गएको थिएँ । उ सेप्टिक सकको बिरामी थियो । तर ऊ अस्पताल आउनै मानेन , म एम्बुलेन्सा गएको थिएँ । अस्पताल ल्याउनुपर्ने थियो । अस्पताल जान्न भनेपछि हामीले जबर्जस्ति गर्न पाइन्न । त्यसैले छोडेर आएँ । यस्ता बिरामी कति होलान् ? ति अन्तिम अवस्थामा कोरोनाको संक्रमण सक्किएपछि अस्पताल आए भने धान्न नसकिने पो हो कि भन्ने पनि डर लाग्छ ।

साईकलबाट लड्ने कम छ । गाडी जुध्थे, घाइते हुन्थे । अहिले छैन । कोरोनाको डरलेपनि मान्छे आएनन् । र सामान्य खाले उपचार बन्द गरेको अवस्था छ । त्यसैले कम भयो ।

घरमा बुढाबुढी हुन्छन् । एक्लैपनि हुन्छन् । ति न मरिराका छन् कि ? मान्छेहरु भेट्नपनि नजाने । बर्लिनमा प्रति दिन सालाखाला सय जना मर्छन् । एक सय २०, ३० जन्मिछन् । तथ्यांक पछि आउला । पहिले हार्ट एट्याक भएर आउने र अहिले घट्या छ । कोरोना भएर हार्ट एट्याक नहुने भन्ने त हुन्न । मान्छे अस्पत्ताल आएका पनि भर्ना गर्न भनेपछि बस्दिन भनेर हिँडेका छन् । यसको कारण के हो, ति बिरामीको अवस्था के छ पछि थाह होला । हामीलाई चाहिँ अचम्म लागेको छ ।

-यो बेला अरु सेक्टरका डाक्टरपनि तानतुन पार्नुभएको छ कि छैन ?

भोली के होला कसो होला भनेर सर्जनहरु छन् । अरुलाईपनि भेन्टिलेटर आदिको तालिम दिईसक्यो । अहिले सबै सेक्टरको डाक्टरलाई तम्तयार गराएको छ । साधारण तालिमहरु गराएको छ । यस्तो यस्तो अवस्थामा प्रयोग गर्ने भनेर । जर्मनीमा के छ भने कम्तिमा छ महिना आइसियुमा काम गरेकै हुनुपर्छ यहाँ एम डि गर्नेले । बाध्यात्मकै हो त्यो ।

स्पेनकि एक जना स्वास्थ्यकर्मी मसित काम गर्छिन् । स्पेनमा त जनावरलाई प्रयोग गर्ने भेन्टिलेटर मान्छेलाई दिएको छ, नपुगेर ।

-उपचार पुरै सरकारले ब्यहोर्छ कि आफूले छुट्टै विमा गर्नुपर्छ ?

सबैले विमा गरेकै हुनुपर्छ । पब्लिक हेल्थ इन्सुरेन्स र प्राभिभेट हेल्थ । ९० सरकारी र १० प्रतिशत प्राईभेट हुन्छ । लगभग वर्षको ६० हजार युरो जति कमाई भयो भने प्राईभेटमा जान पाइन्छ । बिरामी हुँदा तिर्नै परेन । काम गरेको ठाउँमा तलब अनुसार १४ देखि १५ प्रतिशत इन्सुरेन्समा काटिन्छ । त्यसमध्ये साँढे सात प्रतिशत रोजगारदाताले तिर्छ । साँढे सात आफ्नो तलबबाट काटिन्छ । ४००० तलब छ भने मासिक ६०० बिमालाई गयो । त्यसमा ३०० कामदारले तिर्ने, आधा मालिकले तिर्ने । बिरामी भएर अस्पताल जाँदा सबै फ्री हुन्छ । केहिपनि काम गरेको छैन भने भत्ता खाएको छ भने आफूले तिर्न परेन ।

-ईमरजेन्सी सेवामा औषधी र साधनको कमी, अभाव कहिलेकाहिँ हुन्छ कि हुँदैन ?

त्यस्तो कमी महसुस भएको छैन । साधनभन्दा कहिलेकाहिँ बिरामीको चाप बढ्न सक्छ र बेड नपाउन सकिन्छ । त्यस्तो अवस्थामा बिरामीलाई स्टेबल बनाएर वरिपरिका अस्पतालमा फोन गरेर, बेड खोजेर पठाउनुपर्छ । त्यो चुनौतिपूर्ण हुन्छ ।

(नेपालप्लस डटकमकालागि ददि सापकोटाले लिएको अन्तर्वार्ता)

तपाइँको प्रतिक्रिया

फेसबुक