युवाहरुलाई चुनौति : गूट, उपगूटका नायक र खलनायकका हलकारा बन्ने कि देश बनाउने ?

-डा. बसिस्ट रिजाल

नेपालको राजनीति फेरि तरंगित भएको छ । नेपाली जनताले यो २०० वर्षमा निरङ्कुश राणा शासन, राजतन्त्र, राजासहितको संसदीय प्रजातन्त्र र गणतन्त्रको अनुभव गरेका छन् । राजनीतिक प्रणालीमा धेरै खुड्किलाहरु हिँडिसकेका नेपाली जनताहरू के खुसी छन् ? राजनीतिमा सबै वर्ग, जाती, स मूह र क्षेत्रको प्रतिनिधिमुलक सहभागिता छ ? राजनीतिक रुपमा अगाडि बढे पनि के आर्थिक क्षेत्रमा नेपालले खासै प्रगति गर्न सकेको छ ?

स्वदेशमा रोजगारको अभावमा अनुमानित कुल तिन करोड जनसंख्यामा करिब ७० लाख देश बाहिर रोजगारी खोज्दै भौतारिँदै छन् । उनीहरु राम्रो शिक्षा र सीपको अभावमा बिदेशमा सबभन्दा जोखिम भएको सस्तो कामदारको रुपमा काम गरिरहेका छन् । हेपिएका छन् । श्रम शोषणमा परेका छन् । हजारौ महिलाहरु घरेलु कामदारको रुपमा काम गरिरहँदा यौन शोषणमा परेका छन् । यी बिभिन्न कारणबाट देश बहिर काम गरिरहेका धेरै नेपालीहरु मानसिक तनाबमा छन । मानसिक सन्तुलन गुमाएर आत्महत्या गरिरहेका छन् । यी कारणहरुले गर्दा परिवार र समाज धेरै प्रभावित भएको छ । विदेशको भूमिमा रोजगारीकोलागि भौंतारिएर बस्नु पर्दा परिवारको सामाजिक धरातलमा खिया लागेको छ । समाजको नैतिक धरातल गिरेको छ । यी सबै कारणले समाजको आर्थिक अवस्था सुधार हुन सकेको छैन । समग्रमा अधिकांस मानिस निरास भएका छन् ।

नागरिकहरुमा स्रिजना भएको निरासजनक परिस्थितिको समाधान कसले गर्ने ? कसरी गर्ने ? कहिले गर्ने ? समाजमा भएको निराशाजनक परिस्थितिको हल गर्ने, समाजिक र आर्थिक उत्थान गर्ने र देशलाई अगाडि बढाउन देशको शासकहरुको प्रमुख भूमिका हुन्छ । नेपालको दूर्भाग्यनै भनौं, प्रकतिले यति राम्रो, सुन्दर हिमालहरु, पहाड, नदीनाला, हावापानी र हजारौं वर्षदेखि मिलेर बसेका अति मिहिनेती देशका नागरिकहरू यस देशमा छन् । तर बिडम्बना यस देशका शासकहरुले देशका जनताको भावना बुझेर काम गर्न सकेका छैनन । सधैंभरि शासनकोलागि शासकहरूबिच द्वन्द, परिवारमा भाई भारदारबिच लडाई, कलह छ ।

राजा र राणाहरुले नेपाली जनताहरुलाई २०० बर्षसम्म अन्धकारमा राखे जब कि त्यों समयमा संसारका अन्य मुलुकहरुले शिक्षा, उध्योगमा ठुलो फड्को मारे । हजारौं जनताहरूको बलिदान पछि २००७ सालमा देशमा प्रजातन्त्र आयो । तर राजाले देशको बागडोर जनताबाट चुनिएका प्रतिनिधिलाई शासन संचालन गर्न बाधा गरिराखे । दाउपेच लागाएर निरङ्कुश राजतन्त्रको पुनर्गमन गरे । तर पनि नेपाली जनताको पूर्ण प्रजातन्त्र, जनजिबिकाको पूर्ण अवसर, समानता, बिभिन्न किसिमको भेदभावको अन्त्य जस्ता आधारभुत आवश्यकता प्राप्तिको लागि आफ्नो संघर्ष गरिरहे ।

यसै लक्ष्य प्राप्तिको लागि २०१७ साल पछि निरङ्कुश शासनको बिरोधमा ठूला ठूला आन्दोलन भए । हजारौं जनताले बलिदान गरे । त्यसको फलस्वरुप आज देशमा गणतन्त्र आएको छ । तरपनि देशले आर्थिक बिकाशको गति लिन सकेको छैन । सुशासन छैन । घुसखोरी छ । देशभित्र रोजगारी अवसर नभएर लाखौ विदेश भासिएका छन् । शिक्षा, चेतना र रोजगारको अभावमा हजारौ चेलीहरू विदेशको कोठीमा बेचिएका छन् । लाखौ युवाहरु विदेशको भूमिमा छटपटिएरर रोइरहेका छन् । समग्रमा ठूला ठूला राजनीतिक परिबर्तनपछि पनि देशमा आर्थिक र समाजिक उन्नति हुन सकेन ।

नेपालको बिडम्बना र नेपाली जनताको दुर्भाग्य किन ? के यो देशमा सतिको सराप छ ? प्रत्येक पटक नेताहरुको नेत्रित्व, आह्वान् र अगुवाईमा जनताले साथ दिएका छन् र उत्साहित भएर आएका छन् । तर जनताहरुलाई सधैं यहाँका नेताहरुले निराश बनाएका छन् । जब चुनाब हुन्छ, सरकार गठन गर्ने बेलादेखि तेरो, मेरो, किचमिच, भाँडभैलो र रडाको हुन्छ । जब सरकार बन्छ, पार्टी र जनता छायाँमा पर्छ । को मेरो मान्छे, कसले कमिसन उठाएर बुझाउन सक्दछ त्यों हेरिन्छ । इमान्दार कार्यकर्ता, नेता, कर्मचारी सबैलाई पाखा लगाइन्छ । यसले गर्दा शासन र शासकको वरीपरी घुषखोर, चाकरीबाज, अल्छी, बेइमान, तस्करहरुको हाबी छ । कति त अदालतबाट सजाएँ नासियद, अख्तियार चेतावानी र नसियत दिएकाहरुको हालीमुहाली हुन्छ ।

अर्को तर्फ, सत्ताबाट बहिर परेका कैयौं पटक प्रधानमन्त्री, मन्त्री, पार्टीको प्रमूख, संसद र कार्यकारी पदमा बसिसकेकोहरू पदबाट बहिर हुने बित्तिकै उनीहरुमा छटपटी र निराशा सुरू हुन्छ । उनीहरुले आफ्नो बाउको बिर्तामा पराइले हडपेको जस्तो गरेर छटपटी गर्न थाल्छन । पटक पटक पदमा पुगेर असफल भएका, भ्रस्टाचारी भनेर गन्हाएका, उमेर पुगेर शारिरिक र मानसिकरुपले असक्त, दीर्घ रोगी भए पनि नातेदार, तस्कर, गुटको जामा समातेर पटक पटक सत्तामा पुग्दै आएकाहरु फेरिपनि सत्तामा पुग्ने जमर्को गर्दछन् ।

संसारका बिकसित देशरुमा आज ३०-४० वर्ष उमेरका जेहेन्दार, युवामहिला तथा पुरुष राष्ट्र्पति वा प्रधानमन्त्री बनेर देश हाँकेका छन् । तर ख़ोइ हाम्रो देशका युवाहरु कहाँ छन् ? थोत्रो झाजर जस्तो लोताकोको टालटुल गर्दे छन् कि, गूट र उप गूटका नायक र खलनायकको हलकारा बनेर यता उता चहार्दै छन् कि ? विदेशको बाकसबाट एयरपोर्ट कहिले खुल्छ भनेर चिहाउँदै छन् कि ? विदेशको कोठरीमा भोक रोग, मानसिक यातनाले छटपटी गरिरहेका छन् ? सयौं ऋषिहरुको कर्मभूमि, बुद्धको जन्म भूमि नेपालमा के सतिको सराप परेकै हो ? नत्र भने सम्पूर्ण युवाहरुलाई यो युगको एउटा हाँक वा चुनौती हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक