कोरोनाको आगमनपछि नेपालमा देखिएका चुनौती र अवसर

डा. प्रशान्त ध्वज अधिकारी  

आदरणीय कोरोना

संसारकै सबैभन्दा ठूलो हलचल ल्याउने महानयात्री तपाइलाई म गरीब राष्ट्रको नागरिकको तर्फबाट नमस्कार ।

कोरोना, तँपाइको विश्वयात्रा अन्त्यमा कहाँ पुगेर टुगिन्छ थाहा छैन । तैपनि तपाइ सारा संसारको केन्द्रबिन्दु हुनुभएको महिनौं भइसकेको छ । तपाइ हाम्रो देशमा आएको नै दुई महिना पुरा भएछ । मलाई शुरुमा प्रिय कोरोना भनेर सम्बोधन गर्न मन लागेको थियो ।

आज तपाइ हामी सबैको आदरणीय हुनुभएको छ । जे होस तपाइ हामीसँग प्रिय हुनुभन्दा आदरणीय भैंदिएकै राम्रो । कोरोना तपाइको स्वागतको लागि घर बाहिर बाटाघाटा सब खाली छन् । हामी घरभित्रबाट तपाइलाई हेर्छौ । तर तपाइ त साईजमा फूट्, मिलिमिटर, माईक्रोमिटर नभएर न्यानो मिटरमा हुनुहुँदो रहेछ । त्यहिमाथि लगभग सुन्य डाईमन्सनमा ।

हामीपनि विश्व मानचित्रमा तपाइ जस्तै साना र निमुखापनि छौं । तर तपाइको जस्तो बेजोडशक्ति हामीसँग छैन । तैपनि तपाइको आगमनले गर्दा निगरानी कडा पारिएकोले केहि क्षेत्रका महानुभाबहरुलाई हामीकोमा आजकाल ठूलो खटनपटन छ । तपाइलाई हामीबाट त्यसैले होला खास खतरा नभएकों । हामी चाहन्छौ। त्यो खतरा सदैबको लागि टरेर जाओस ।

मलाई अस्ति भर्खर जस्तो लाग्छ तपाइलाई कोरोना लाईट र यक्स्ट्राको रुपमा अमेरिकामा पिएको । तपाइ कति प्रिय पेयपदार्थ हुनुहुन्थ्यो । त्यसैले तपाइ अमेरिकामा प्रिय भएर बसिराख्नुभएको छ। अब त तपाइपनि त्यहाँ प्रिय नभएर अप्रिय भैदिए राम्रो ।

कोरोना तँपाइ हामीकोमा कति समय घुम्नुहुन्छ थाहा छैन । तर यस्तो उजाड ठाउँ देखेर तपाइ अघाईसक्नुभयो होला । मैलेपनि तपाइको यात्रा अध्ययन गरेको छु । तपाइ त लामो समय सरकार टिक्ने विकसित देशमा बढि बस्न रुचाएजस्तो लाग्यो ।

हामीकहाँ पनि बहुमतको सरकार छ र लामो समय टिक्छ भनेर छिर्नु भएको होला । हामीकोमा एक पूर्खाले त्यस्तो अवसरनै नदेखि जाने बेला भईसक्यो । फेरी तपाइको आगमनले सरकारमा पनि किचमिच सुरु हुनथाल्यो । त्यसैले कोराना हाम्रो संस्कारमा पाहुनालाई देवीदेवता जस्तै मान्ने चलन हुँदाहुँदैपनि आज भारी मनले भन्नुपरिरहेको छ, कृपया तपाइ हामीबाट बिदा भैदिनुस । अन्य देशहरुमा तपाइको आगमनले राज्य एकजुटले अघि बढिरहेका छन् । तर हामीकोमा आशा गरेजस्तो वातवरण अझैँ पनि हुनसकेन । कोरोना, हुनत हामीकहाँ थिती नभएकोले आसेपासे, चाकरी, चाप्लुसी, नातागोता आदि प्रथाबाट हामीहरु ओतप्रोत छौं । यस्तो बेथितिमा कसरी एकजुट हुन् सक्छौ र ?

कोरोना तपाइको यात्रापस्चात आज जो समाजसेवी, व्यवसायी छन्, समाजले तिनीहरुको मुल्यांकन त गर्ला । तर हिजो आफूलाई अनुसन्धानमुखी भनेर बोर्ड राखी आकर्षण गर्ने निजि अस्पतालहरुको समाजप्रतिको भूमिकापनि छर्लंग देख्न पाईयो । राज्यबाट सुबिधा लिने तर राज्यलाई परेको बेलामा गेट बन्दगर्ने तिनीहरुलाई अब हामिकोमा राज्यले के गर्ला ? तपाइको यात्रापस्चात देख्न पाइएला । जे भएपनि तपाइको आगमनपछि हामिकोमा पनि चुनौती र अवसरहरू टड्कारो रुपमा देख्न पाइने भएको छ । त्यसको जोडघटाउ यो लकडाउनमा हामी जस्ताको मानसपटलमा पनि खेल्न शुरु भैसकेको छ ।

कोरोना, हामीकोमा असंख्य परिवार दैनिक काम गरेर गुजारा चलाउँछन । तर तपाइको आगमनपछि यहाँ लकडाउन सुरु भएकोले भोकै बस्नुपर्ने हो कि भन्ने भय हामीलाई छ । कोरोना यस्तो बेलामा शासकका आसेपासेले भ्रष्टाचारबाट अकुत कुम्ल्याई अर्थतन्त्र डामाडोल बनाएर हाम्रो मुलुकको शासन नै गिर्छ कि भन्ने डरपनि हामीलाई हुन थालिसक्यो । आशा गरौं राज्यले त्यो हुन दिने छैन ।

हुनत कोरोना हामीकोमा जसरी होस्, जहाँ गएर होस् तैंले कमाउनै पर्छ अनि त्यसैको आडमा छरछिमेकमा धाक रवाफ देखाउनै पर्छ भन्ने मानसिकता छ । त्यसैले कोरोना, समाजको यो प्रवृतिले देशमै बस्ने हो भने हाम्रो चलिआएको यो चलनभन्दा राम्रो कमाउधन्दा अर्को केहिपनि छैन ।

कोरोना, तँपाइको यात्राले गर्दा हामी लगायत सारा विश्वले अर्थतन्त्रमा ठुलो मन्दीको सामना अब आउने दिनमा गर्नुपर्ने छ । अझ हामी जस्ता परनिर्भर भएकालाई कति ठूलो मानवीय र आर्थिक संकट आउने हो थाहा छैन । तर तपाइको आगमनले गर्दा हाम्रो बाझाखेत, बारीहरु पुन हरियाली हुन्छन् कि भन्ने आशापनि पलाएको छ । किनकि तपाइको यात्रापछि हामी लगायत विश्वका धेरै मुलुकमा खाद्यान्न संकट आउने समय त्यति टाढा छ जस्तो लाग्दैन । त्यसैले धेरै खाद्यान्न आयात गर्ने मुलुकमा रहेको हामी यो अवस्थाबाट कसरी माथि उठ्ने भन्ने प्रश्नगर्दा फेरी हाम्रो जमिनमा हरियाली हुन्छ की जस्तो भानपर्न थालेको छ ।

कोरोना, हाम्रो बिदेसमा रहेको जनशक्ति रोजगारको अभावमा आफ्नै भूमिमा फिर्ता आउनुपर्ने अवस्थालाई अवसरको रुपमा लिई सहि व्यवस्थापन गर्न सके तपाइको आगमन हाम्रोलागि फलदायि हुने छ । अर्कोतिर ठूलो संख्यामा मुलुक बाहिर श्रम गरिरहेका नेपाली एकैपटक मुलुक फर्किए भने उनीहरूलाई कसरी मुलुकभित्र रोजगारीको प्रबन्धगर्ने भन्नेबारे हामीले समयमै सोच्नु जरुरी छ जस्तो लाग्न थालेको छ । कोरोना हामीले छिमेकी मुलुकको नाकाबन्दी र तपाइको यात्राले सिकाएको पाठ भनेको हाम्रो सुरक्षा जत्तिकै महत्तवपूर्ण विषय भनेको खाद्य सुरक्षापनि हो कि जस्तो लाग्नथाल्यो । त्यसैले तपाइको आगमनपछि सबै क्षेत्रमा खाद्यान्नको वितरण सहज र समानरूपमा हुनुपर्छ भन्ने चेत हामीमा जाग्नुपर्छ भन्ने लाग्छ । अन्यथा तपाइको आगमन हाम्रोलागि यो राष्ट्रिय संकटको विषय बन्ने छ किनकि हामी जस्तो भूपरिवेष्ठित देशकालागि यो आफैंमा चूनौतीपूर्ण छ पनि ।

कोरोना, तपाइको विश्वव्यापी यात्राको कारण हाम्रो मुलुकमा आउने वैदेशिक लगानी, दातृ निकायको सहायता, नेपाल भित्रिने पर्यटन र भएका उद्योगमापनि धेरै फेरबदल आउने छ । त्यसैले तपाइको यात्रासँगै हामीले अर्थतन्त्रमा ठुलो धक्का महशुस गर्छौ किनकि तपाइको यात्राले वैदेशिक रोजगारीबाट फर्कने ठूलो संख्या, देश भित्रको बढ्दो बेरोजगारी, वैदेशिक सहयोग र लगानीमा हुनसक्ने प्रतिकुलतालाई पनि मध्यनजरगर्दै हामीले हाम्रो आर्थिक नीति बनाउने अवसरपनि अर्कोतिर पाएका छौं । सँगसंगै विदेशमा रहेका जनशक्तिले पनि अब रेमिट्यान्समार्फत् सहयोग गर्नसक्ने अवस्था हामीकोमा नआउन सक्छ । त्यसैले तपाइको यात्राको पाठ भनेको हामीलाई आत्मनिर्भर हुने बाटोतिर लम्कनु हो । त्यसकालागि हाम्रो उत्तम विकल्प भनेकोनै कृषि हो र यसै क्षेत्रलाई प्राथमिकतामा राखेर यसलाई हाम्रो अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित गर्न तपाइको यात्राले हामी सबैलाई प्रेरित गरोस । अनिमात्र हामी दीर्घकालीन स्थायित्वतर्फ उन्मुख हुनतिर लम्कन सक्छौं कि ?

कोरोना, हामीहरुको कृषि नै मुख्य आधार हो भन्नेबारे पुन जोड गरें । अब यसलाई क्रान्तिकारी परिवर्तन ल्याउन तपाईले उपयुक्त समय निर्माण गरिदिनुभयो जस्तो लाग्छ जसलेगर्दा किसानलाई र अब नयाँ योजनामा आउन चाहनेहरूलाई ऋणमा व्यापक सहुलियत प्रदान हुनसकोस् । लाग्छ, हामीपनि तपाइको यात्रापस्चात विश्वका अन्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनको निम्ति हाम्रा किसानलाई सहुलियतमा नयाँ शिल्प र विज्ञानका उपकरण उपलब्ध गराउन पो सक्छौं की ? तपाइको आगमनले गर्दा सबै खेतीयोग्य जमिनमा सिँचाइ तथा उचित मलखाद्को पनि व्यवस्थापनि गर्न सक्छौ की ? त्यसको अलावा तपाइको आगमनले गर्दा राज्यलेपनि कृषिमा दक्ष जनशक्ति उत्पादन गर्न र उत्पादनलाई देशभित्र बजार सुरक्षित पार्न ठूलो भूमिका खेल्नुपर्छ भन्ने पाठ सिक्यो कि ? तँपाइको यात्राले गर्दा हामीकहाँपनि परिणामउन्मुख कृषिक्रान्ति र यसलाई हाँक्नसक्ने सबल राजनीतिक नेतृत्व अब आउने दिनमा देख्न पो पाइन्छ की ?

जेहोस कोरोना, हाम्रों भूमि खेतिगर्न लायक छ। तैपनि केहि दधकदेखि खेतीयोग्य जमिन बाँझो थियो । युवाहरु पलायन भयका थिए । तर अब स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्न, कृषि उद्योगको विकास गर्न सुनौलो अवसर अहिले तपाईले निर्माण गरिदिनु भएको छ । त्यसैले युवाश्रम र ऊर्जा हाम्रै माटोमा प्रयोग होस भन्ने सोचाइसहितको कार्ययोजना आइदियोस भन्ने हाम्रो चाहाना छ । यसको अलावा कृषकलाई प्रोत्सान गर्नेगरी सस्तो ब्याजदरको ऋण सहुलियत, अनुदान र सम्मान दिने प्रचलनपनि तँपाइको आगमनपछि हुँदैजान्छ कि ।

कोरोना थाहा छ, हामीमा कृषि क्षेत्रमार्फत नै अनेकौं कलकारखाना, उध्योग खोलेर रोजगारी सिर्जनागरि हामीहरुको आम्दानी बढ्न सक्ने अवस्था छ । साथसाथै कृषि क्षेत्रको बढावासँगै उत्पादनका लागि चाहिने बीउबिजन, कृषिसामग्री, उत्पादनपछि बजार व्यवस्थापन,किसानलाई उनीहरूको श्रमको उचित मूल्य, बिचौलियाको न्यूनीकरण लगायतका विषयपनि महत्वपूर्ण हुन्छ भन्ने चेत तँपाईले हामीलाई दिनुभएको छ ।

कोरोना हामीकोमा नीति नियमन भएको हैन । तर कार्यन्वयन कडारुपमा लागूगर्न नसकीएको मात्र हो । त्यहिमाथि यो समयमा औधोगिक नीति, असल कृषि अभ्यास, गुणस्तरीय खाध्यान्न, पोषण, कृषि सूचना तथा प्रविधिको विकास, पूर्वाधारको विकास सबैलाई समेटेर नयाँ नीति ल्याइनु अथवा भएका नीतिहरूमा सुधारगरी कार्यन्वयनलाई अलि बलियो बनाउने पो हो कि ? त्यसैले अहिले हामीले धेरै कुरामा गृहकार्य गर्न जरूरी छ । यो समयलाई अवसरमा बदल्नको लागि ।

यी सबैको अलवा, कोराना हामीले यो समयमा परिमार्जित तरिकाबाट पशुपालन, डेरी उध्योग, फलफूल एवं जडिबुटीको प्रशोधनलगायतका धेरै क्षेत्र छन् जसको भरपुर उपयोगबाट हाम्रा वेरोजगार मानवीय स्रोतलाई यहिँ परिचालन गरी आउँदा दिनमा प्रशस्त रोजगारी सिर्जना गर्नसक्ने छौं । त्यसैले लाग्छ कोरोना, तँपाईको आगमन हाम्रोलागी चुनौतिमात्र हैन अवसर पनि हो ।

अन्त्यमा, संसारकै सबैभन्दा ठूलो हलचल ल्याउने महान यात्री तपाइ आज विश्वमै ज्ञानिक जगतकालागि सबैभन्दा ठूलो अनुसन्धानको बिषय बन्नु भएको छ । तपाइ सारा संसारको केन्द्रबिन्दु हुनुभएको पनि लामै समय भइसकेको छ । तरपनि यसबारेमा सम्पूर्णरुपमा वैज्ञानिकहरुले थाहा पाइसकेका छैनन् । तपाइको बारेमा थाहा पाउन र तपाइको यात्रामा ब्रेक लगाउने प्रबिधि निर्माण गर्नका लागि संसारभरिकै वैज्ञानिकहरु गहन अध्ययन अनुसन्धानमा जुटिरहेका छन् । थाहा छैन, तपाइको यात्रा कहिले टुंगिन्छ । तपाइले यात्रा नटुंगाएपनि वैज्ञानिकबाट तपाइको यात्रा छिटै टुंग्याउने आश राख्दै यहाँबाट बिदा हुन्छु । धन्यबाद !

उही

डा प्रशान्त ध्वज अधिकारी

तपाइँको प्रतिक्रिया

फेसबुक