कहाँ हराए विश्वभरिका विमान ?

विश्वको कम्तिमा आधा जनसंख्या कुनै न कुनैखाले लकडाउनमा छ । होटेल बन्द छन् । रेस्टुरेन्ट र बारहरुमा ताला लागेको छ । सिटि सेन्टर खुलेका छैनन् । बजार ठप्प छ । पर्यटकिय केन्द्रहरु सुनसान छन् । हामी माथिको आकाशपनि त सुनसानै छ । जति खेरपनि आकाशमा उडिरहने, परिवार, देश र विश्वलाई जोडिदिने विमानहरु लगभग आकाशमा देखिँदैनन् । कहाँ गए ति विमान ? कौतुहलता लाग्न सक्छ ।

फ्लाईट ट्र्याकिङ गर्ने फ्लाईटराडार २४ का ईयान पेचेनिकका अनुसार मार्च अप्रिल महिनामा विश्वमा एक लाख ७५ हजार देखि एक लाख ८० हजार विमान उड्छन् । भारतमैपनि यो कोरोनाको संकट अगाडि भारतीय विमानस्थलमा दैनिक तिन हजार तिन सय ३० स्थानिय फ्लाईट हुन्थे भने पाँच सय ८० वटा अन्तर्राष्ट्रिय उडान हुन्थे । तर ६ मेको तथ्यांक अनुसार विश्वमा लगभग ८५ प्रतिशतका दरले विमान कटौति भएको थियो ।

विश्वका सबै विमानस्थलमा विश्वका सबै विमान अटाउने ठाउँ छैन । विमानहरु सबै ओर्लिएभने के गर्ने भन्ने प्रश्न आजसम्म एउटापनि बैज्ञानिकले सोचेको देखिएन । त्यसैले सबै विमान जमिनमा ओर्लिँदा तिनलाई पार्किङको समस्या भयो । ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सले उनीहरूको क्षेत्रीय र अन्तर-महाद्वीपीय यात्रुहरू दुबई, न्यूयोर्कको जोन अफ केन्नेडी, लन्डन हीथ्रो र अन्य यस्तै ठूला शहरतिर उडान गर्थे । जहाँ पुग्यो त्यहिँ पार्क गर्थे । ती विमानहरू सामान्य रूपमा सबै एकै समयमा एकै थलोमा भेटै हुँदैनथे । कोरोना भाइरसको संक्राणले सबै विमान ग्राउन्डेड हुँदा पार्किङ नपाएर हैरान भएका हुन् ।

ट्याक्सी जसरि लाईन राखेर विमानहरु पार्किङ गरेर राख्दापनि रनवेहरु भरिएका छन् मुख्य विमानस्थलका । लगभग दुइ हजार पाँच सय ठूला विमान कंपनीहरुलाई पार्किङको समस्या पर्‍यो ।

नयाँ कोरोना भाइरस फैलावटको कारणले आएको औध्योगिक मन्दीको अवस्थामा विश्वका केही एयरलाइन्सहरूले पायक पर्ने ठूला शहरिया विमानस्थलमा पार्किङ नपाएपछि एरिजोना मरूभूमिमा विमानहरु छानी छानी पठाएका छन् । डेल्टा एयरलाईन्सकालागिपनि आफ्ना विमानहरु भण्डारकालागि अमेरिकाको माराना मुख्य विमानस्थल बनेको छ । यसले ७६७ बोइङपनि भण्डार गर्छ । उसले ठूला ब्यापारिक केन्द्र भएका शहरमा भन्दा उडानकालगि सजिलो हुन्छ भनेर मरुभूमीमा राखेका छन् । ठूला शहरमा भन्दा मरुभूमीमा पार्किङ गर्दा विमानहरु बढि सुरक्षित र पार्किङको मूल्य सस्तो हुनाले ७७७ बोइङपनि त्यतै थन्क्याएका छन् । डेल्टा एयरले मात्रै छ सय वटा विमानहरु पार्किङ गरेको छ ।

अमेरिकी यात्रुबाहक केहि विमान ओक्लाहामाको तुल्सा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सम्मै भरिएका छन् । यहाँ कोरोना भाईरसको समस्यापछि भण्डार गर्ने विमानहरुको संख्या पाँच हजारले दोब्बर भएको छ । त्यहाँ अष्ट्रेलियाको क्वान्टास लिमिटेड, सिँगापुर एयरलाईन्स लिमिटेडहरु पार्किङ गरिएका छन् ।

युरोपको सबैभन्दा ठूलो जर्मनीको फ्र्यान्कफर्ट विमानस्थल मौन विमानहरूको भूत शहर बनेको छ । यसको उत्तरपश्चिम अवतरण गर्ने रनवे, ट्याक्सीवे र पुलहरू सहित, लुफ्थान्सा, कन्डोर र अन्य एयरलाइन्सको लागि एक एयरपोर्ट पार्किंङमा रूपान्तरण गरिएको छ ।

लुफ्थान्सा ब्रान्डको स्विसले ज्यूरिखको नजिक रहेको सैन्य एयरपोर्टमा समेत पार्किंग स्थलहरू भाडामा लिएको छ । हङकङ, सिउल, बर्लिन, भियना जस्ता ठूला विमानस्थलका पार्किङमा त विमानको भिड लागेकै छ, त्यसबाहेक फ्लाईट ट्र्याकिङ गर्ने वेभसाईट फ्लाईटराडार २४ का अनुसार भिक्टोरभिल, क्यालिफोर्निया, मराना, एरिजोनाका मरुभूमीमा सयौं विमान पार्किङ गरिएको छ । विमान राख्ने ठाउँ नपुगेर क्वान्टास एयरले करिब ५० वटा विमानहरु अष्ट्रेलियाको मेलबर्नस्थित सानो विमानस्थल आभालोन एयरपोर्टमापनि लगेर पार्किङ गरेको छ । क्याथे प्यासेफिक एयरलाईनसले टाढाका खाडी, ट्याक्सी पार्किङ गर्ने ठाउँ र विमान उडाउँदा प्रयोग हुने अन्य क्षेत्र ओगटिरहेको छ ।

अमेरिकन एयरलाईन्सले चारवटा विमानस्थल प्रयोग गरेको छ । एयरबस ए३२०, ए३२१ र ए३३० को लागि र एम्ब्रायर ई-१९० क्षेत्रिय जेटकालागि पिट्सबुर्ग एयरपोर्ट प्रयोग गरिरहेको छ । किनकि यो विमानस्थलमा प्रशस्त ठाउँ छ । ब्रिटिस एयरवेजले उसका झण्डै ठूला ४० विमानहरु बोरनेमाउथमा पार्किङ गरेको छ । लुफ्थान्साका प्रवक्ता नेदा जाफारिका अनुसार लुफ्थान्साले प्रयोगमा नआएको रन वे र विमानस्थलका प्रयोगहिन ठाउँहरु खोजि खोजि पार्किङ गरेका छन् । लुफ्थान्साका सात सय ६३ मध्ये सात सय विमान पार्किङ गरिएको छ ।

साउथ वेस्ट र डेल्टा एयरलाईन्स हरेकले ५० वटाभन्दा बढि विमान अमेरिकाको भिक्टरभिल विमानस्थलमा पार्किङ गरेका छन् । डेल्टाले ८० विमान माराना, एरिजोना, बिरमिङटन, अलाबामामा पार्किङ गरेको छ । युनाइटेड एयरलाईन्स र अमेरिकन एयरलाईन्सले ४० वटा हडसन एयरपोर्टमा,  युनाईटेड एयरलाईनसले ओक्लाहामा राज्यको तुल्सा र पेनेन्सिल्भिया राज्यको पिट्स्बुर्ग एयरपोर्टमा पार्किङ गरेका छन् ।

ब्यस्त एयरपोर्ट, ब्यस्त ब्यापारिक केन्द्र नजिकको एयरपोर्ट, मुख्य शहर नजिकपर्ने विमान तिनको आकार अनुसार पार्किङ भाडा महँगो वा सस्तो हुने गर्छ । विमान उडाउने ठाउँसम्म लैजान नजिक, इन्जिनियर पाइने र सुरक्षित ठाउँमा पार्क गर्दा विमानलाई भाडा महँगो पर्छ । टाढा लगे पार्किङ भाडा सस्तो पर्छ । युरोपमा सस्तो मूल्यमा छिटो सेवा दिने भनेर चिनिएको इजिजेट यस्तै विमानमा पर्छ । यसका पार्किङ छरिएका छन् । त्यसैले यो कंपनीले आफ्ना तिन सय ४४ विमान बिभिन्न ३० वटा विमानस्थलमा छरेर पार्किङ गरेको छ । त्यसैले उसले सस्तो पार्किङ र धेरै यात्रु खोजेर युरोपका बिभिन्न शहरमा पार्किङ गर्छ ।

जर्मनीको फ्र्यांकफर्ट विमानस्थल एकदमै ब्यस्त हो युरोपको । विमानहरुले पार्किङ नपाएपछि यसले आफ्ना चार रन वे मध्ये एउटा पार्किङकालागि खुला गरिदिएको छ ।

फ्लाईट राडार २४ ले के देखाउँछ भने भारतको सबैभन्दा ठूलो डोमेस्टिक एयरलाईन्स ईन्डिगोका ६० विमान दिल्ली एयरपोर्ट, रष्ट्रिय ध्वजावाहक एयर ईन्डियाका ५० प्रतिशत विमान यहिँ पार्किङ गरिएका छन् । भारतको मुम्बैमा एक सय वटा पार्किङ गरिएको छ । बेङ्गालुमा ७१, हैदरावादमा ६१, कोलकातामा ५४ र चेन्नाईमा ५३ वटा पार्किङ गरिएको छ ।

इन्डिगोले एकै ठाउँ पार्किङ नपाएर भारतका १८ वटा विमास्थलमा पार्किङ गरिरहेको छ । स्पाईस जेट र गो एयरलाईन्सले ११ वटा विमानस्थलमा पार्किङ गरिरहेका छन् । एयर इन्डियाले सातवटा विमानस्थल, भिस्ताराले छ विमानस्थल र एयर एशिया इन्डियाले पाँच वटा विमानस्थल प्रयोग गरेका छन् । भारतका प्रमुख मुम्बै, बेङलोर, हैदराबाद, चेन्नाई र कोलकातामा भारतका ८५ प्रतिश्त विमान पार्किङ गरिएको छ । इन्डोर, पुने, कालिकट, गुहाटी, चन्डिगढ, जयपुर, लखनौ, थिरुभनन्थापुरन आदिमा पार्किङ गर्ने कंपनी पनि छन् ।

पार्किङको दस्तुर विमानको वजन, विमानस्थलको प्रसिद्दि, पार्किङको क्षमतापनि भर पर्छ । खासमा पहिलो एक सय टन सम्मको विमानलाई एक खाले दस्तुर र अर्को सबैभन्दा गह्रुंगा विमानकालागि महँगो लाग्छ दस्तुर ।

उदाहरणकालागि कोलकाता विमानस्थलमा पार्किङ शुल्क प्रति टन प्रति घण्टा ९ रुपियाँ र हाउजिङको प्रति टन १७ रुपियाँ ६० पैसा लाग्छ । यो एक सय टन सम्म वजन भएको विमानकालागि हो । त्यो भन्दा गह्रुंगा विमानकोलागि प्रति टन ११ रुपियाँ ८० पैसा र हाउजिङको शुल्क २३ रुपियाँ ६० पैसा लाग्छ । युरोप, अमेरिकातिर लगभग यतिनै रकम डलर वा युरोमा तिर्नुपर्छ ।

एउटा मात्रै खण्ड भएको ए ३२० जस्ता विमानको तौल ७० टन हुन्छ । बोइङ ७७७ जस्ता ठूला विमानको दुई सय टन हुन्छ । सालाखाला ३० हजार देखि ५० हजार रुपियाँ लाग्छ साना विमानलाई । ठूलालाई एक लाख प्रतिदिन तिर्नुपर्छ । त्यसैले भारतमा यो शुल्क मिनाहाको माग भैरहेको छ । केहि विमानहरु भने यात्रु नउडाएपनि बेला बेला आन्तरिक कामकालागि उडिरहन्छन् ।

हरेक विमानको प्रकार र आकार अनुसार त्यो विमानको मर्मत, कति घण्टा उडेपछि कति घण्टा निगरानी र कति इन्धन, ब्याट्रिको काम, कति समय पार्किङ गर्न मिल्छ भन्ने विमान उत्पादक संस्थाको निर्देशिका पालना गर्नुपर्छ । लगातार एक महिना पार्किङ गरे साना विमानहरुले झन बढि निर्देशिका पालना र जाँच गराउनुपर्छ । विमान लामो समयसम्म पार्किङ गर्दा शरिरका पाटपुर्जा खराब नहोउन् भनेर विमानहरुलाई बेला बेला उडाइराख्नुपर्छ । ए३२० विमान जसले १८६ यात्रु बोक्छ उसले महिनौं पार्किङ गर्‍यो भने उसको सेन्सर, पानीको थैलो, इन्धनको ट्यांकि, इन्जिन, पावर आपूर्ति आदिको लागि बढि कडा नियम पालना गर्नुपर्छ । त्यसकोलागि न्युन भएपनि कामदार नभैहुन्न । उडान भर्ने विमान र इन्जिनियरिङ कार्यशालाको क्षमतापनि हेर्नुपर्ने हुन्छ । काम नगर्दा विमानलाई निस्क्रिय पारेर पार्किङ गर्नुपर्छ । यसो गर्दा विमानको खर्च बढ्छ । लामो अवधिको असक्रियताको मामलामा झ्याल र ढोका मास्किङ जस्ता थप उपायहरू आवश्यक पर्न सक्छ । तिसित मानवस्रोतपनि कम हुन्छ । यो असाध्यै महँगो हुन्छ ।

विमान कंपनीहरुले ठूलो आर्थिक घाटा ब्यहोर्नुपरेकाले धेरै देशहरूले विभिन्न उद्योगहरूको लागि सहुलियत प्याकेज घोषणा गरेका छन् । अमेरिका, सिंगापुर, अष्ट्रेलिया, न्यूजील्याण्ड, फ्रान्स, स्विडेन र नर्वे जस्ता देशहरूले एयरलाइन्सलाई पैसा ग्यारेन्टी र कर छूटका लागि वित्तीय राहत प्याकेजको घोषणा गरेका छन् । अष्ट्रेलियाको मेलबर्न र ब्रिसबेन विमानस्थलले पार्किङ निशुल्क दिएका छन् ।

विश्वको लकडाउन कहिले खुल्न सक्छ भन्ने बारे अनिश्चितता छ । खुलेपनि ती विमानहरूमध्ये कति चाहिन्छ निर्क्यौल छैन । अबको विश्वमा पर्यटन र ब्यापारको अवस्था कसरि विकास हुन्छ भन्नेपनि अनिस्चित रहेकाले ठूला विमान कंपनीहरु कति विमान राख्ने, कहिलेसम्म राख्ने भन्नेमा अलमलिएका छन् । त्यसले गर्दापनि धेरै विमान कंपनी आर्थिक रुपमा टाट पल्टिन सक्ने अवस्था छ ।

(साभार – कान्तिपुर दैनिक)

तपाइँको प्रतिक्रिया

फेसबुक