मेरी महँगी प्रेमीका (कथा)

-भुवन पाठक / पर्थ, अस्ट्रेलिया

आफूले माया गरेको मान्छेबाट माया पाउने हरेक मानिसमा चाहना हुन्छ । त्यस्तै असिमित चाहनाहरु थिए म भित्र पनि । यसै क्रममा उनिसँगको मेरो भेट र हाम्रो सामिप्यताले हाम्रो संबन्धलाई एउटा छुट्टै मोडमा पुर्यायो । दिनदिनै नजिकिँदै गरेको संबन्धले प्रेमको संज्ञा पायो । एकअर्काको साथ दुखसुख साटासाट गर्ने चौतारी बन्न पुग्यो । हरेक दिन हाम्रो भेट हुन थाल्यो । उनले म प्रती गरेको माया र बिस्वासले उनी मेरो जीवन साथी बन्न सुहाउँछिन भन्ने लाग्न थाल्यो ।

म भित्र पनि उनी प्रतिको माया दिनदिनै बढ्दै जान थाल्यो । लाग्न थाल्यो, एकअर्का बिना हाम्रा हरेक सपनाहरू अधुरो अर अपुरो रहने छ । यो सिलसिला चल्दै गयो । दिनहरु बित्दै गए । मनहरु धेरै नजिक भएको भान हुन्थ्यो । हरेक रातहरु बिहानिनीको प्रतीक्षामा बित्थे नयनहरु । उनिसँगै डुबिरहेको पाउँथे । सपनाहरु रंगिन बन्दै गए । हरेक दिन हाम्रो भेट हुन्थ्यो बिश्वबिद्धालयमा । दिनहरु कसरी बिते पत्तै भएन ।

यसै क्रममा हाम्रो लामो छुट्टीको दिन आयो । भेटघाट पातलिँदै गयो । तैपनि फोनमा हरेक दिन कुरा हुन्थ्यो । बेलाबेलामा समय मिलाएर भेट्थेउँ । एकदिन फोनमा उनले उनको जन्मदिन रहेको कुरा बताईन । साँझ खाना खान आफ्नो कोठामा आउन निम्तो दिईन् । मैले नि हुन्छ भनें । कामको ब्यस्तताको कारण मैले उनलाई के उपहार दिने भन्ने कुरा सोच्नै सकिको थिईन ।

तैपनि पहिलो पटक कसैको लागि उपहार किन्नु थियो । म एकदम अन्योलमा परेँ । धेरै बेरको सोचाइ पछि उनको लागि एउटा घडी उपहार दिने निर्णय गरेँ । जुन घडिको सहायताले मेरो प्रतीक्षामा हरेक उनका दिनहरु सहज बनोस । सेतो हातमा गोल्डेन कलरको घडी आहा ! कति सुहाउला । यहिँ सोच्दै मलाई सबैभन्दा राम्रो लागेको घडी उनको लागि लिएँ ।

त्यसपछि उनको कोठामा पुगेँ । उनी मेरै प्रतीक्षामा थिईन । शुभकामना दिँदै ‘सानो उपहार तिम्रो लागि’ भन्दै हातमा राखिदिएँ । उनले टेबलमा राखिन । अनि केक काट्न थालिन । म उनका फोटोहरु खिच्न थालेँ । हामीले सँगै खाना खायौं ।

फर्किने बेला भयो । मैले उनलाई उपहार खोलेर हेर्न आग्रह गरेँ ताकी म आफ्नै हातले लगाइदिन सकुँ त्यो घडी उनलाई । उनले उपहार खोलिन् । बाक्साबाट घडी हातमा लिईन । अचानक उनको अनुहारको भाव परिवर्तन भयो । बाक्सामा घडिको बिल देखेर सायद । उनले भनिन ‘यति सस्तो पो रहेछ ।’

मलाई नरमाइलो लाग्यो । मैले उनलाई सम्झाउने कोसिस गरेँ । ‘माया, मैले घडी किन्नु अघि मुल्य हेरिन । सोधिन पनि । मलाई राम्रो लाग्यो । तिमीलाई सुहाउँछ भनेर लिगेँ ।’ त्यत्तिकैमा उनले भनिन ‘मलाई सस्ता सामान मन पर्दैन । किनकी सस्ता सामान लामो समयसम्म टिक्दैन ।’ नमिठो लाग्यो उनको कुरा ।

मेरो लागि त्यो सामान महङो थियो । बहुमुल्य थियो । तर उनको लागि सस्तो भयो । म अरु केही नबोली त्यहाँबाट फर्किएँ । बाटोभरी धेरै कुराहरु मनमा खेल्न थाले । जहाँ उपहार र जिन्दगीलाई मूल्यसँग तुलना गरिन्छ त्यहाँ कुनै पनि कुरा जिबन्त हुन सक्दैन । खै र ! यी सब कुरा बिर्सनुनै थियो ।

त्यसपछिका हरेक दिनहरु आफैंलाई प्रश्न गर्न थालेँ । मन र दिमाग बिच द्वन्द्व हुन थाल्यो । मन भन्थ्यो ‘बाटो त गलत थिएन ?’ दिमाग भन्थ्यो ‘यस्ता उकालीओराली आइनैरहन्छ जिन्दगिको गोरेटोमा । जब पार हुन्छ अनि सामान्य लाग्छ ‘।

अब दिनहरु अलि फरक तरिकाले बित्न थाले । कामको ब्यस्तता । बिश्वबिद्धालयको छुट्टी । हाम्रो भेट पातलो हुँदै गयो । एकदिन मोबाइलमा लामो म्यासेज आयो । उनले धेरै कुराहरु लेखेकी थिईन । अन्त्यमा यत्ती थियो ‘यो नम्बरमा अब फोन गर्ने कोसिस नगर्नुहोला ।’

तैपनि मनले मानेन । फोन गरेँ । मेरो नम्बर ब्लक गरिएको रहेछ । भोलिपल्ट उनलाई भेट्न उनकै कोठामा पुगेँ । अघिल्लो दिन नै कोठा सरिसकेकी रहिछिन । निरास हुँदै फर्किएँ । सम्बन्ध तुहिएर गयो ।

आज धेरै समय बिति सक्यो । उनले भनेका सबै कुराहरु अझै ताजै छन । उनका महँगा सपनाहरु । ‘सस्तो सामान लामो समय सम्म टिक्न सक्दैन’ भन्ने अभिव्यक्ति । मेरो लागि त्यति महँगी तिमी फेरि पनि किन टिक्न सकिनौ ? सायद मैले नै भाउ धेरै दिएर महँगो बनाएको थिएँ । सस्तै थिईन । साएद टिकिनन् । हिजो महँगा लागेका सबै सामान आज सस्तो लाग्छन मलाई …………….

तपाइँको प्रतिक्रिया

फेसबुक