अस्पत्तालको बेडबाट पारिश्रमिक माग्दापनि नदिनेको नामबाट एन आर एन ए फ्रान्सका नाममा राहत बितरण

-तप्त भण्डारी / पेरिस, फ्रान्स

केहि दिन अघि मैले सामाजिक संजालमा एकजना स्वर्गीय मित्र प्रदिप राना मगरको मालिकले निजको काम गरेको रकम चार बर्षसम्म पटक पटक ताकेता गर्दापनि नदिएको लेखेको थिएँ । प्रदिपले फिन्जोको घर निर्माण ब्यवशायमा काम गरेको लगभग पन्ध्र सय युरो लिन बाँकि रहेछ । प्रदिप बिरामी परेर अस्पत्ताल भर्ना हुँदापनि आफूले फिन्जोसित १५ सय युरो रकम लिनुपर्ने रहेको बताइरहेका थिए । यो कुरा उनले अरु धेरैसित उठाएका रहेछन् । बिरामी परेर गलिसक्दापनि आफूले पाउनुपर्ने रकमबारे उनले पटक पटक उनले याचना गरेको सुन्दा जसलाईपनि नमजा लाग्छ । समाजसेवी भनेर हिँड्ने हामीहरुलाई त झन लज्जाकै विषय बन्छ । मलाइपनि प्रदिपको त्यहि बोली सुन्दा मन पोलेर आयो । मैले त्यो रकम के कति कारणले प्रदिले पाउन सकेनन् ? उनले भनेको कुरा सहि हो कि हैन भनेर संवन्धित ब्यक्तिसितै बुझ्नपनि खोजें ।

मैले यो प्रसंग उठाएर सामाजिक सन्जालमा राखिदिएपछि धेरैको सहानुभूति मिल्यो । उनले काम गरेको रकम उपलब्ध जसरीपनि हुनपर्ने धारणा आयो । यो कुरा संजालमा राखेको केही घण्टामै फिन्जोले सो रकम एनआरएनए फ्रान्सको खातामा पठाईदिएको म्यासेन्जर मार्फत मलाई जानकारी गराए । पोजिटीभ कुरा आएपछि धन्यवाद पनि दिएँ ।

काम गरेको रकम नदिएकै ब्यक्तिबाट दुख पाएकालाई राहत बाँड्ने भन्ने कुरो बाहिर देखियो । मिती १६ मे २०२० मा एनआरएनए फ्रान्समार्फत निज फिन्जोले कोरोनाको कारण समस्यामा परेका नेपालीलाई राहत बितरण गर्न खोजेको सुचना फेसबुक पेजमा देखें । मैले पटक पटक नेपाली समाजले मृतकको पैसा लिनको लागि ताकेता गरिरहेका ब्यक्ती (फिन्जो) एनआरएनए फ्रान्स मार्फत बाँडिने राहतमा देखिए पछि मैले सकारात्मक कमेण्ट लेखेको थिएँ । राहत बाँडेको खबर र फोटो राखिएको स्टाटसमा निज ब्यक्तीको नाममै मैले प्रतिक्रिया राखिदिने गरेको थिएँ । मेरो कमेन्टमा लेखिएको थियो ‘पहिला स्वर्गीय प्रदिप रानामगरले तपाईसित काम गरेबापत लिनुपर्ने पैसा दिनुस् ! राहत त फ्रान्सका नेपाली एसोसिएशनहरूले बाँडेका छन ।’

के मेरो यो लेख गलत थियो ? एनआरएनए फ्रान्सको बिरूद्दमा थियो ? सो त्यो कमेन्ट एन आर एन ए फ्रान्सले तत्काल हटायो । मैले फेरि फिन्जोलाई काम लगाएर जसलाई पैसा तिर्नुपर्ने छ त्यो ब्यक्तिले गरेको श्रमको पैसा तिरिदेउ भनेर लेखें । दोर्सो पटकपनि एक आर एन फ्रान्सले त्यो कमेन्ट हटायो । त्यसपछि मलाई लाग्यो, कि एनआरएनए फ्रान्स पनि यो मामिलामा संलग्न हो ? कुनै निर्क्यौल गर्नुअघि, आरोप लगाउनुअघि यस बारेमा मैले एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीलाई पनि आधिकारिक जानकारी दिएँ । मैले उनलाई दिएको जानकारि यस्तो थियो ।

नमस्कार

अध्यक्ष एनआरएनए फ्रान्स !

तपाईहरूले डेन्दुप फिन्चो को राहत बितरणको सूचना राख्नु भएको रहेछ । यसमा सो ब्यक्तीले स्वर्गीय प्रदिप राना मगरको १५०० युरो काम गरेको पैसा हालसम्मपनि नदिएको जानकारी नै छ । मैले कमेन्ट गर्दा डिलिट गरियो । कारण के हो ? यस्ता ब्यक्तीहरूलाई संरक्षण गर्नुको कारण के होला ?

अध्यक्षले नरेन्द्र शाहीले जवाफ दिए । नमस्कार तप्त दाइ !

यो बिषयमा यो बेला सामाजिक सञ्जालमा कसैको व्यक्तिगत लेनदेनको विषयलाई लिएर एनआरएनएको मञ्चलाई वादविवाद मुछ्नु या उहाँले गर्नु भएको राम्रो कामलाई निरुत्साहित तुल्याउने गरी अभिव्यक्ति दिनु उचित हैन । उहाँले मपनि यस महामारीमा नेपाली समुदायलाई खाध्यान्न सहयोग दिन्छु भनेर आउनु भयो र हामीले स्विकार्यौं । मलाई लागेको थियो, त्यो पुरानो हिसाबकिताब जिम्मा लिएका र उहाँसंग निकट रहनुभएका पुराना साथिहरुले मिलाउनुभयो होला । तर हजुरको कुरा अनुसार भएको रहेनछ । बरु यस विषयमा मपनि उहाँसग कुरा गरौंला । अनि हजुरलाई जानकारी गराउँला । धन्यवाद ।

एन आर एन एका तर्फबाट संस्थागत तरिकाले दिएको अध्यक्षको जवाफले मलाई चित्त बुझेन । त्यसैले मैले फेरि थप जवाफ मागेर यस्तो प्रतिक्रिया जनाएँ ।

नमस्ते भाई

कसरी ब्यक्तीगत लेनदेनको कुरा गर्नु हुन्छ ? कसरी राम्रो काम भयो प्रदिपलाई दिनु पर्ने पैसा एनआरएनए लाई दिएर ?

मसँग उसले लेखेको सबै प्रमाण छ । मैले एनआरएनएलाई बेइज्जत गर्न खोजे त मिडीयामा गईसक्ने थिएँ । मैले यो बारेमा डिटेल एकेन्द्रजीलाई फोनमा कुरा गरेको छु । म सँग सप्रमाण छ । जुन ब्यक्ती संपूर्ण नेपाली समाज अगाडी प्रमीस गरेको छ पैसा दिन्छु भनेर । साक्षी जीता कटुवाल हो । पछि माग्न खोज्दा ऊ त सम्पर्क बाटै हरायो ।

नरेन्द्र शाहीले फेरि ओंठे जवाफ दिए । ‘दाइ हजुरले के कुरा गर्नु भएको यस्तो ? एनआरएनएलाई कहाँ पैसा दिनु भएको छ उहाँले ? यो राहत र त्यो पुरानो हिसाबकिताबको कुनै सम्बन्ध छैन । जिताले जिम्मा लिएको भए जिता जीसँग सोध्नुस् । फेरिपनि मैले भनिसकेको छु । म बुझौंला अनि हजुरलाई खबर गरौंला भनेर । यो उहाँले दिएको खाध्यान्न राहत त्यो पुरानो लेनदेनसँग कुनै संबन्ध छैन ।’

एक जना जिम्मेवार ब्यक्तीको यस्तो किसीमको गैरजिम्मेवार अभिव्यक्ति आयो । उहाँ उक्त समयमा पनि एनआरएनए फ्रान्सको महासचिव नै हुनुहुन्थ्यो । काम गरेबापत पाउनुपर्ने श्रमको मूल्य कसरी अरूले मिलाए होलान भनेर उम्किन सकिन्छ सामाजिक संस्थाको ब्यक्ति ? समाज सेवा भनेकै समाज सेवा गर्ने र न्याय दिने होइन ? मैले भन्नैपर्ने तथ्य के हो भने त्यो समयमा फ्रान्सस्थित बिभिन्न संघ संस्थाहरूले उठाएको राहत रकम एनआरएनए फ्रान्स हुँदै एनआरएनए केन्द्रबाट नै चेक मार्फ़त हस्तान्तरण गरिएको हो ।

अहिले दुई वर्ष सात महिनासम्म रोकिएको पैसा निकाल्यौं भनेर गर्वका साथ एनआरएनए फ्रान्सले फेरी भन्दैछ । यदि त्यसो हो भने मैले राखेको सकारात्मक कमेन्ट किन हटाईयो त अध्यक्ष, महासचिव ज्यूहरु ? जबकि मैले त्यहि कमेन्ट राखेपछिनै फिन्चोले आफ्नो बेइज्जत हुने डरले मेसेन्जर मार्फत मसँग लामो कुरा गरेका थिए । मृतकले काम गरेर पाउनुपर्ने रकम नै एनआरएनए फ्रान्स मार्फत राहत बितरण गर्ने जिकिर गरेका थिए । पटक पटकको मेसेन्जरमा मैले दिएको खबरदारीबाट नै फिन्चोले मृतकको परिवारलाई आवस्यक परेमा १५०० युरो चार बर्ष अगाडी गरेको प्रतिबद्धता अनुसार एनआरएनए फ्रान्सको खातामा हालिदिन्छु भनेका थिए । यी सबै संबादका कपीहरू मसँग सुरक्षित छन । अब भन्नुस कसरी तपाईहरूको प्रयास भयो ? मेरो एउटै मात्र भनाई थियो ‘म जस्तै एक जना श्रम गरेर खाएका मृतक श्रमिकको श्रम शोषण नहोस । उहाँले मजदुरी गरेको पैसा बृद्द र विरामी आमासम्म पुगोस । यसमा मैले कसरी एनआरएनए फ्रान्सको बेइज्जत हुने कार्य गरें ?

दुई वर्ष सात महिनासम्म लगातार ताकेता गर्दासम्मपनि स्वर्गीय भाई प्रदिप रानामगरले काम गरेको पैसा नेपाली समाजको अगाडी प्रतिबद्धता गरेर हालसम्मपनि नदिनु ठूलो गल्ति हो भन्ने म ठान्छु । एनआरएनए फ्रान्सले गधालाई नुहाई दिएर कहिल्यै गाई बन्ने छैन ।

निज ब्यक्तीले एनआरएनए फ्रान्सलाई राहत बितरणमा सहयोग गर्न खोजे वापत होला ५०० युरो चन्दा दिने घोषणा गरेका रहेछन् । के पाँच सय युरो पाउने भयो संस्थाले भन्दैमा जे पनि गरि दिने ? एउटा श्रमिकले गरेको श्रमको मूल्य भुलिदिने ?

नेपाली समाजलाई राहतको आवस्यकता परेमा त संयुक्त राहत बितरण कोषमै रकम छ अझैपनि । अन्य संघसंस्थाहरूले पनि राहत खाँचो परे बाँड्ने भनेर त्यो बिकल्प अनिश्चित कालसम्मकोलागि खुल्ला राखे कै छन त । एनआरएनए फ्रान्सले मात्रै सबै समस्यामा परेकालाई एक्लै गरे जस्तो देखाउनु जरुरि देखिन्न ।

ममाथि पटक पटक एनआरएनए फ्रान्सलाई गालि गलौज गरेको आरोप लगाइएको छ । संस्थाप्रति मेरो कुनै रिस राग र बैमनस्यता हुँदैन । छैन । संस्था आफैंमा पवित्र हुन्छ । राम्रो कार्यको प्रशंसा गर्ने हो । गलत कुराको बिरोध गर्नैपर्छ । हरेक राम्रो र नराम्रो परिस्थिति र समयको फाईदा उठाएर हिरो देखिने मात्र काम नगरौं कसैलेपनि भन्ने मेरो अग्रह हो । राम्रो काम गरे मुल्यांकन त्यसै हुन्छ । तपाई हामी संस्थामा बस्नेहरूले भनिरहनुपर्दैन ।

राहत बितरणको कुराहरूमा पनि लकडाउन भएको दुई दिनमै हतार हतार राहत बितरणको सूचना राख्नुपर्ने जरूरी थिएन । कमसेकम पेरीसमा भएका संपूर्ण संस्थाहरूको अध्यक्षको भाईबर ग्रुप थियो । त्यसमा अब संस्थाहरु सँगै मिलेर कसरी जाने भन्ने सल्लाह गर्नुपर्ने थियो । त्यो किन गरिएन ? किन सधैँ एनआरएनए फ्रान्सले अन्य संस्थाहरूसँग मात्रै प्रतिस्पर्धा गर्नुपर्ने ? यसरी हिँडेपछि कसरी हुन्छ एनआरएनए फ्रान्स सबैको छाता संस्था ? यस्ता कुराहरूको बिरोध नगरेर तपाईहरू गल्ति गर्दै जाने र हामीले ठीक भनेर ताली ठोक्दै जानु पर्ने किन ?

(यहाँ ब्यक्त घटनाका साक्षी फ्रान्सवासी नेपाली होलान् । यहाँ ब्यक्त बिचारहरु लेखकका निजि हुन्-नेपालप्लस)

(मे ९, २०२० मा पुन सम्पादन गरिएको-नेपालप्लस)

तपाइँको प्रतिक्रिया

फेसबुक