बिधान बिपरित एन आर एन ए फ्रान्सद्वारा उपाध्यक्ष निलम्बित, चौतर्फि बिवाद

गैह्र आवाशिय नेपाली संघ, फ्रान्स (एन आर एन ए फ्रान्स) को कार्यकारि समितिले एन आर एन ए फ्रान्सका उपाध्यक्ष अमर बहादुर भण्डारीलाई छ महिनाकोलागि निलम्बन गरेको छ । तर एन आर एन ए फ्रान्सले निलम्बन गरेको आधार हेर्दा एन आर एन ए केन्द्र र एन आर एन ए फ्रान्स दुबैको बिधानमा त्यसरि कारवाहि गर्न पाउने प्रावधान कतै उल्लेख छैन ।

एन आर एन ए फ्रान्सले लगभग १८६ शब्द खर्चेर एकै वाक्यांशमा लेखेको कारवाहि पत्रमा भण्डारीमाथि आफ्नो पदिय दायित्व र नैतिक जिम्मेवारिलाई नजर अन्दाज गरेको, पटक पटक संस्थाको अहित हुनेगरि गोपनियता र अनुशासनको उल्लंघन गर्दै आएको ब्यहोरा जानकारिमा आएको उल्लेख छ । तर त्यो गोपनियता के हो ? कसरि अनुशासन उल्लंघन भयो, के गरेकाले नैतिक जिम्मेवारिको नजरअन्दाज भयो भन्ने उल्लेख छैन । त्यस्तो कार्य गरेबापत भण्डारीमाथि लिखित स्पष्ठिकरण मागेको उल्लेख छ ।

अमर भण्डारीले नेपालप्लससित आफूले लिखित स्पष्ठिकरण दिएको जनाएका छन् । तर उनले दिएको स्पष्ठिकरणका बारेमा भने कारवाहि पत्रमा केहि उल्लेख छैन । बरु संस्थामा बर्षौंदेखि काम गरेका महासचिव (मिन कुमार श्रेष्ठ) माथि कपोलकल्पित रुपमा संस्थाको लेटरप्याड दुरुपयोग गर्यो भन्ने आरोप लगाएको भन्ने आरोप भण्डारीमाथि लगाइएको छ । महासचिवमाथि कसरि लेटरप्याड दुरुपयोग गरेको आरोप भण्डारीले लगाए भन्नेपनि एन आर एन एको कारवाहिमा उल्लेख छैन ।

निलम्बन गरिएको पत्रमा एन आर एन ए फ्रान्सका वर्तमान अध्यक्ष नरेन्द्र शाही र महासचिव मिन कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  एन आर एन ए फ्रान्सका वर्तमान अध्यक्ष नरेन्द्र शाही एन आर एन ए फ्रान्सका निवर्तमान महासचिव हुन् । त्यस्तै, एन आर एन ए फ्रान्सका वर्तमान महासचिव मिन कुमार श्रेष्ठ एन आर एन ए फ्रान्सका निवर्तमान कोषाध्यक्ष हुन् ।

एन आर एन ए फ्रान्सले कारवाहि गरेको पत्रमा भण्डारीलाई मे १७, २०२० देखि लागू हुनेगरि छ महिनाकालागि निलम्बन गरिएको उल्लेख छ । कारवाहिको पत्र एन आर एन ए केन्द्रिय अध्यक्ष कुमार पन्त, एन आर एन ए केन्द्रिय महासचिव हेमराज शर्मा र एन आर एन ए युरोप संयोजक नारायण आचार्यलाई बोदार्ध दिइएको छ । एन आर एन ए फ्रान्स र एन आर एन ए को केन्द्रिय बिधान दुबैमा छ महिना कारवाहि हुने कतै उल्लेख नभएकाले एन आर एन ए फ्रान्सले कसरि छ महिनाको कारवाहि गर्‍यो भन्ने प्रश्न यतिखेर चौतर्फि उठेको छ । बिधानमा कहिँकतै प्रावधान नभएकैले हुनुपर्छ, एनआरएनए फ्रान्सको इतिहासमा कार्यसमितिको पदाधिकारीलाइ यस अघि निलम्बन गरिएको थिएन ।

यसकारण बिधान बिपरित कारवाहि !

(कारवाहि बारे यस्तो छ एन आर एन ए फ्रान्सको बिधानमा)

एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल एन आर एन ए फ्रान्सको बिधानमै कुनै सदस्यलाई कारवाहि गर्ने प्रावधाननै उल्लेख नभएकाले कारवाहि गर्नु रिसिईबी साँध्ने कुरो भएको बताउँछन् । एन आर एन ए फ्रान्सको बिधानमा ‘कार्यकारि समितिले तोकेको शुल्क नबुझाएमा, संघको हित बिपरित कुनै काम गरेको वा गर्न लगाएको उजुरि आएको अवस्थामा, सोको स्पष्ठिकरण दिन नसकेको हकमा कार्यसमितिको बहुमतले निर्णय गरेमा निजको पन्जिक्रित सदस्यता बदर हुने छ’ भन्ने उल्लेख छ । यो पन्जिक्रित सदस्यको हकमा लागू हुने हो । कार्यकारि पदका लागि होइन । छ महिनासम्म कारवाहि हुने भन्ने त झन बिधानमा छँदै छैन ।

एन आर एन ए फ्रान्सको बिधान समेत बनाएका संस्थापक अध्यक्ष हरिहर अर्याललाई ‘कार्यकारि समितिको कुनै ब्यक्तिमाथि निलम्बन कसरि गर्ने भन्ने किन उल्लेख नगरिएको एन आर एन एको बिधानमा ?’ भन्ने प्रश्न गर्दा उनले भने ‘हामीले बिधान बनाउँदा कार्यकारि समितिको कुनै ब्यक्तिमाथि कारवाहि गर्नुपर्ला भनेर सोच्दै सोचेनौं । अमर भण्डारीमाथि एन आर एन ए फ्रान्सको गोपनियता भंग गरेको आरोप लगाएर निलम्बन गरेको भन्ने सुनें । यति सानो संस्थाको गोपनियतानै के पो हुन्छ र ? यहाँ हरेक संस्थाले एक अर्कालाई चिनेकै छन् । सानो समूदायका नेपालीलाई हरेक संस्थाको कुरा जानकारि हुन्छ । एन आर एन ए को गोप्य कुरा अन्यत्र लानुपर्नेनै के पो हुन्छ र ? यो त रिसिईबी साँध्न गरिएको निर्णय हो । छुच्चो कुरो हो ।’

यस विषयमा नेपालप्लसले एन आर एन ए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही र बिबादमा मुछिएका महासचिव मिन कुमार श्रेष्ठसित आफ्ना भनाई लिने कोसिस गरेर फोन र एस एम एस मार्फत खबर छोडेको थियो । मिन कुमार श्रेष्ठ फेसबुक म्यासेन्जरमा भेटिएपनि उनले कुरा गर्न चाहेनन् । उनले ‘के कुरा हो दाई ? सोध्नुस न’ भन्दै नेपालप्लसका सम्पादकलाई सोधेका थिए । ‘ नेपालप्लसका सम्पादकले फोनमै कुरा गरौं न’ भनेपछि उनले फोन गरेनन् र उनलाई फोन गर्दापनि उठाएनन् ।

तर नरेन्द्र शाहीले भने नेपालप्लससित कुराकानी गरे । उनले उपाध्यक्ष अमर भण्डारीले यस अघिपनि पटक पटक गल्ति कमजोरी गरेको, एन आर एन ए फ्रान्सको सातौं र आठौं बैठकमा उनका कमजोरिहरु सुनाएर माफि माग्न लगाउँदा सहर्ष स्विकारेको र त्यसको माईनुटसमेत गरेको सुनाए । उनलाई कारवाहि गर्नु अघि लिखित स्पष्ठिकरण सोध्दा उल्टै दुई संस्थाका अध्यक्षबिच (त्यसमध्ये एक जना एन आर एन ए फ्रान्सका महासचिव मिन कुमार श्रेष्ठ) ब्यक्तिगत तवरमा भएको कुराकानीमा उल्लेखित चिठीको विषय उठाएर संस्थागत लेटरप्याड प्रयोग गरि उपाध्यक्ष भण्डारीमाथि कारवाहि गर्न अर्को संस्थाको अध्यक्षलाई लेखेको पत्रको उल्लेख गरेको र आफूलाई स्पष्ठिकरण दिन लगाएको विषयवस्तुको उत्तर नदिएको आरोप शाहीले लगाए । लिखित स्पष्ठिकरण नदिएको र पटक पटक गरेको गल्तिको क्षमायाचन गर्दापनि पटक पटक गल्ति गर्दै गएकाले कार्यसमितिको सर्वसम्मतिबाट निलम्बन गरेको शाहीले बताए ।

अमर भण्डारीको कारवाहि के बिधान सम्मत छ त ? भन्ने नेपालप्लसको प्रश्नमा नरेन्द्र शाहीले भने ‘यो बिधि बिधान हेरेरै निलम्बन गरेको हो । संस्थाको हित बिरुद्द लाग्ने र अनुशासनहिन काम गर्ने अध्यक्षमाथि त कार्य समितिको पूर्ण बहुमतले निलम्बन गर्न मिल्छ भने हामीले किन नमिल्ने ? संस्थाको हित बिरुद्द लाग्नेहरुले सधैं क्षमा पाउने नजिर नबसोस र संस्थाबिरुद्द काम गर्ने कारवाहिमा पर्छ भन्ने उदाहरण होस् भनेर उदाहरण देखाउनपनि कारवाहि त गर्नै पर्‍यो।’

तर एन आर एन ए युरोपका क्षेत्रिय संयोजक नारायण आचार्यपनि यसरि कार्यकारि समितिका कुनै पदाधिकारीलाई समितिले सिधै कारवाहि गर्न नमिल्ने बताउँछन् । उनका अनुसार निलम्बन भनेको कारवाहि भएकाले त्यसो गर्न नमिल्ने उनको भनाई छ । ‘एन आर एन ए फ्रान्सको बिधानमा के छ म हेर्ने छु । तर कुनैपनि ब्यक्तिलाई समितिले सिधै कारवाहि गर्न मिल्दैन । पहिले अनुशासन समिति बनाउनुपर्छ । त्यो समितिले संस्थाको हित बिरुद्द काम गरे नगरेको, अनुशासन तोडे नतोडेको अध्ययन गरेर त्यसको रिपोर्ट आउनुपर्छ । अनुशासन समितिको रिपोर्ट केन्द्रलाई बुझाउनुपर्छ । अनुशासन समितिले कोहि ब्यक्तिबाट अनुशासन तोडेको, संस्थाको हित बिपरित काम गरेको निष्कर्ष निकालेमा अनुशासन समितिको रिपोर्टका आधारमा केन्द्रसित समन्वय गरेर आरोपितलाई आफ्ना कुरा राख्न दिनुपर्छ । त्यसपछि चित्तबुझ्दो जवाफ नआएमात्रै कारवाहि गर्नुपर्ने देखिएमा कारवाहि हुने हो’ नारायण आचार्यले नेपालप्लससित भने ।

(कारवाहि बारे यस्तो छ एन आर एन ए केन्द्रिय बिधानमा)

राष्ट्रिय समन्वय परिषदको बिधानमा कारवाहि र निलम्बनको कुनै ब्यवस्था नभए एन आर एन ए फ्रान्स लगायत सबै राष्ट्रिय समन्वय परिषदको हकमा केन्द्रिय बिधान लागू हुन्छ । एन आर एन ए को केन्द्रिय बिधानमा ‘राष्ट्रिय समन्वय परिषदलाई संघको भावना बिपरित कार्य गर्ने वा संघ वा राष्ट्रिय समन्वय परिषदको विधानको उल्लंघन गर्ने संवन्धित राष्ट्रिय समन्वय परिषदमा पन्जिक्रित कुनैपनि सदस्यलाई स्दस्यताबाट निलम्बन वा निष्काशन गर्ने अधिकार हुने छ । यस प्रकार निष्काशन वा निलम्बित गरिएको ब्यक्तिलाइ उचित सुनुवाईको अवसर दिईने छ र राष्ट्रिय समन्वय परिषदको निर्णय उपर निर्णय भएको मितिले तिस दिन भित्र संवन्धित सदस्यले अन्तर्राष्ट्रिय समन्वय परिषदमा उजूरि गर्न सक्ने छन् । र अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णय अन्तिम हुने छ’ उल्लेख छ । यस प्रावधान अनुरुप पिडित अमर भण्डारीले अन्तर्राष्ट्रिय समन्वय परिषदमा उजुरि दिन सक्ने एन आर एन युरोप संयोजक नारायण आचार्यले बताए ।

‘बिधान बिपरित कारवाहि गरिएको भए के हुन्छ ?’ भन्ने नेपाल प्लसको प्रश्नमा आचार्यले भने ‘बिधान बिपरित कारवाहि गरेको भए निर्णय बदर हुनसक्छ ।’

(एन आर एन ए फ्रान्सभित्र भएका बिधान बिपरित कार्य, नियुक्ति र आर्थिक अपारदर्शिताका बारेमा अर्को समाचार आउने छ, हेर्दै गर्नुहोला- नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक