अमेरिकामा रंगभेद भएको भन्दै स्विजरल्याण्डमापनि प्रदर्शन

स्विजरल्याण्डको सबैभन्दा ठूलो सहरका सयौं व्यक्तिहरूले संयुक्त राज्य अमेरिकाको प्रहरी हिरासतमा भएको  अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको को मृत्युको विरोध गरेका छन् ।

स्विस सरकारले आफ्ना शहरहरुमा राजनितिक वा अन्य प्रदर्शनीहरु गर्न बन्देज गर्दागर्दैपनि त्यसको उल्लंघन गरि सोमबार ज्यूरिखमा प्रदर्शन गरेका हुन् । यस अघि यस्ता सार्वजनिक जुलुसमा प्रतिबन्ध लगाएपछि उत्तर अमेरिका, युरोप, न्यूजील्याण्ड र इरानमा हिंसात्मक प्रदर्शन भैरहेका छन् ।

प्रदर्शनकारीहरुले ‘काला वर्णका मानिसको जिन्दगीकोपनि मूल्य हुन्छ, चुपचाप रहनु हिंसालाई प्रश्रय दिनु हो, प्रहरी ज्यादती बन्द गर’ भन्ने प्लेकार्डहरु बोकेका थिए ।

किस्टोन-एसडीए समाचार एजेन्सीका अनुसार जुरिच शहरमा करिब दुई हजारले प्रदर्शनमा भाग लिएको जनाएको छ । तर प्रहरी रिपोर्टमा भने सयौंले प्रदर्शन गरेको उल्लेख छ ।

रंगभेद बिरोधी बिभिन्न नारा लगाउँदै शहरतर्फको शान्तिपूर्ण प्रदर्शनीमा भाग लिएका प्रदर्शनकारीहरुलाई स्विस प्रहरीले त्यहाँबाट अन्यत्र लाग्न निर्देशन दिएको थियो ।

कोविड १९ महामारीको प्रसारलाई नियन्त्रण गर्न गत शनिबारदेखि सरकारले तिन सय भन्दा बढि भेला नहुन पाउने निर्देशन जारि गरेको थियो । तर प्रदर्शनकारीहरुले सोमबारनै यसलाई उल्लंघन गरेका थिए ।

त्यसैगरि स्विजरल्याण्डको राजधानी बर्नको एक पार्कमापनि करिब चार सय प्रदर्शनकारीहरुले अमेरिकामा भएको अफ्रिकी मूलका नागरिकको हत्याको बिरोधमा सोमबार प्रदर्शन गरेका थिए । यहाँ भने प्रहरीले हस्तक्षेप गरेन ।

तर सोमबारनै जेनेभा शहरमा भएको प्रदर्शनमा भने प्रहरीले हस्तक्षेप गरि जुलुसलाई तितरबितर पारेको किस्टोन न्युजले जनाएको छ ।

गत हप्ता देखि स्विजरल्याण्डका बिभिन्न शहरमा भएका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै आएको भन्दै सुरक्षाकर्मीहरुको आलोचना भएको छ ।

प्रहरीको ज्यादतीले गत साता अमेरिकाको मिनियापोलिसमा ४६ वर्षीय अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि हाल अमेरिका तनावग्रस्त छ । अमेरिकामा उक्त हिंसात्मक घटनामा परि पाँच जनाको म्रित्यु भैसकेको छ । त्यहि हिंसाको मौका छोपी त्यहाँ लुटपाट मच्चिएको छ । प्रहरीले हिंसात्मक घटनालाई नियन्त्रणमा लिन नसक्ने अवस्था देखिएपछि त्यहाँ केहि हजार सेना परिचालन गरिएको छ ।

अमेरिकी सुरक्षा निकाय र प्रशासनले रंगभेद गरेको भन्दै विश्वभरि यसको बिरोध भैरहेको छ । र खासगरि आप्रवाशी मुलका नागरिकहरु प्रदर्शनीमा उत्रिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक