सामाजिक अन्तर्द्वन्दका बिच जातीय अन्तर सम्बन्ध !

-सुधिर राना  / पेरिस

जाजरकोटको घटनाले एकपटक फेरि नेपाली समाजमा तरंग ल्याइदिएको छ । राज्यले देश छुवाछुतमुक्त घोषणा गरेपनि मानिसहरुको मन र समाज यस संकीर्णताबाट अझै मुक्त हुन सकेको रहेनछ भन्ने प्रष्टै देखिन्छ । संबिधानमा जतिनै कडा कानुन लेखिएपनि जबसम्म आम नागरिकमा चेतनाको विकास हुँदैन तबसम्म यसको प्रभाव समाजमा रहिरहनेमा बिवाद देखिन्न ।

घटना भैसकेपछि राजनीति रङ्ग दिइ यस अपराधका दोषीले कुनै प्रश्रय पाउनु हुन्न । अझ जनप्रतिनिधि नै यसमा संलग्न देखिएपछि हाम्रो समाज कता जाँदै छ भन्ने सोच्न बाध्य बनाएको छ । यस प्रकृतिका घटनालाइ मानव जाति बिरुद्दकै जघन्य अपराधका आधारमा राज्यले निष्पक्ष छानबिन गरेमात्रै समाजमा एक किसिमको सकारात्मक सन्देश जाला । होइन भने राज्य नै घटनालाई ढाकछोप गर्न र अपराधीलाई उन्मुक्त गर्न लाग्ने, अपराधीले प्रोत्साहन पाउने हो भने समाज झन झन बिखन्डन तिर जाने छ ।

मलाई आज २४६ बर्ष अघि श्री ५ पृथ्वी नारायण शाहको दिव्योपदेश याद आइरहेको छ । “नेपाल चार जात छत्तिस बर्णको साझा फुलबारी हो ।” शाहको यस दिव्योपदेशले बोकेको सामाजिक न्यायको भावना कति उच्च र महान छ ।

जुन राष्ट्रमा सामाजिक समानता हुँदैन त्यहाँ भातृत्व, राष्ट्रियता र राष्ट्रिय एकताको विकास हुन सक्दैन भन्ने बुझ्नुपर्छ । वास्तबमा २४६ बर्ष पछिपनि हामीले यस बाणीलाइ पूर्णरुपमा हाम्रो सामाजिक व्यवहारमा उतार्न सकिरहेका छैनौं । आज एक्काइसौ शताब्दिमा पनि हामी आफैंले निर्माण गरेको खुला समाजभित्र हाम्रा आफ्नै दाजुभाई तथा दिदि बहिनिहरु संकुचित भएर बस्नु परेको अवस्था छ । यस बाणीले बोकेको सामाजिक न्याय र समानताको भावनालाइ हाम्रो समाजले या स्वयं हामीले  ब्यबहारमा कति अबलम्बन गर्यौ या गरायौं भन्ने सोच्नुपर्ने हो ।

यस सन्दर्भमा गहिरिएर सोच्ने हो भने वास्तवमा यो सानो बाणी भित्र लुकेको  सामाजिक न्याय र समानतालाइ बढवा दिनुको साटो हामीले समाजमा जातीय बर्चस्व र श्रेष्ठताका लागि धार्मिक कुसंस्कारलाइ सामाजिक नीति नियमका रुपमा अबलम्बन गर्दै समाजमा लादेको देखिन्छ । सामाजिक न्याय सिद्दान्तको आधारमा धार्मिक, सांस्कृतिक पुर्बाग्राह राखेर कसैलाईपनि कुनैपनि किसिमको विभेद गर्न पाइन्न । समाजका हरेक व्यक्ति या बर्गलाइ समान महत्व दिनुपर्छ । योनै सामाजिक समानता हो । माथि प्रस्तुत पृथ्वी नारायण शाहका पंक्तिको भावना र उद्देश्य पनि सामाजिक समानता नै हो ।

प्राचिनकालदेखि नै मानव सभ्यताको बिकासक्रमसँगै समाजमा बर्ण ब्यबस्था गरेको पाइन्छ । समाजशास्त्रमा बर्ण ब्यबस्था बर्गिकरणका विभिन्न आधारहरु बर्णन गरिएका छन् । जस्तै; रक्त समूहका आधारमा । कर्म (काम) का आधारमा । बर्ण (रंग) का आधारमा । या बेदहरुमा उल्लेख गरिएझैँ ब्रम्हाको शरीर बाट उत्पति भएको किवदन्ती र कथनका आधारमा ।

बर्गिकरणका आधारहरु जे जस्तो भए पनि कर्मका आधारलाइ अलि बढि विश्वसनीय मानिन्छ । आदिमकाल देखिनै हरेक बर्णका जात जातिको समाज प्रति आआफ्नै दायित्व, जिम्मेवारी थियो । हरेक कर्मलाइ समाजमा उत्तिकै सम्मानका नजरले हेरिन्थ्यो । यहि सन्दर्भमा मैले एक जना प्राचार्यलाइ सोधेको थिएँ, त्यसो भए ब्राम्हण जात कि जिम्मेवारी ? उहाँले भन्नुभएको थियो “वास्तवमा ब्राम्हण आफैंमा एउटा जिम्मेवारी थियो । समाजलाइ शिक्षित र संस्कारिक बनाउनु उसको कर्तब्य भित्र पर्थ्यो । त्यसैले बेदमा भनिएको छ, ब्रम्ह: जानादी ब्राहमण: अर्थात् ज्ञान भएको मानिस मात्रै ब्राम्हण हो बाबु । त्यसैगरी हरेक बर्ण, जातिका मानिसहरुका समाज प्रति आ-आफ्नै दायित्व र जिम्मेवारी थियो । सोहि अनुरुप उनीहरुमा ज्ञान र शिप हुनुपर्ने अनिबार्य थियो ।’ सायद  कर्मका आधारमा बर्ण निर्धारण गरेको हो भन्ने उहाँको ठहर होला ।

चेतनाको विकासक्रमसँगै मानिसमा आएको लोभ लालच या समाजमा आफूलाइ सधैं जातीय श्रेष्ठता कायम गर्नका लागि बर्ण ब्यबस्थालाइ गलत ब्याख्या गर्दै जातिबादतिर धेकेलियो । पछि यसले बिकराल रुप धारण गर्दै जातीयतामा आधारित समाजको निर्माण भएको हो भन्ने कथन छ एक थरि विद्वानहरुको । जीवन सबैको एकै हुन्छ भन्ने चेतना हुँदाहुँदै पनि हामीले मानिस मानिसको बीचमा समाजभित्र गहिरो भेदभाव बनायौं । आत्मसम्मान र समानताको चेतना हुँदाहुँदै पनि हामीले समाजमा जातिय श्रेष्ठता लाद्न खोज्यौं । समाजमा ब्याप्त यस किसिमको संकीर्णताले समाजलाइ झन पछि झन ग्रसित बनायो ।

वास्तवमा गहिरिएर विचार गर्दा हाम्रो समाजको सर्बांङ्गिण विकासको बाधक नै यहि कुप्रथा हो भन्दा फरक नपर्ला । आफू बसेकै समाजमा अपनत्व महसुस नभएर होला या आफ्नै भित्र अपहेलित, तिरष्कृत भएर होला आज धेरै मानिसहरुले पहिचान र धर्म परिवर्तन गरिरहेको प्रशस्त भेटिन्छन । हुन त यो मात्रै एउटा कारण नहोला । यसबाहेक अन्य बिबिध पक्षहरु पनि होलान । तर यो पनि एक कारण हो भनेर ठोकेरै भन्न सकिने अवस्था छ ।

धर्म परिबर्तन गर्नु मानिसको नैसर्गिक अधिकार हो । व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर दिनानुदिन बहुसंख्यक मानिसहरु यसरी पुर्खौदेखि मान्दै आएको धर्म, संस्कृति, आफ्नो पहिचान चटक्कै बिर्सेर किन परिबर्तन हुँदैछन ? के यो सोचनीय बिषय होइन ? के यो समाज र राज्यले  बुझ्न आवश्यक छैन  ?

हाम्रो संबिधानले जातीय विभेद, छुवाछुत या यस्ता किसिमको हरेक उत्पिडनको मामिलामा कानुनको व्यवस्था गरेको छ । तर ब्यबहारिक प्रयोग भने त्यति प्रभावकारी भएको पाइँदैन । कानुन केवल बहस गर्ने एक दस्ताबेजका रुपमा सिमित छ । समाजमा अझै सुसुप्त रुपमा रहेको रुढिबादी संस्कार नै यसको कारक तत्व हो । जबसम्म समाजका हरेक मानिसमा जातीय विभेद एक अमानबिय धार्मिक संस्कृति हो, या संकिर्ण विचारको पराकाष्ठा हो भन्ने चेतनाको विकास हुँदैन साथै समाजको हरेक तह र तप्काबाट यसलाई निस्तेज पार्न पहलकदमी गरिँदैन तबसम्म समाजमा यस्ता कुसंस्कारहरुले जरा गाडिनै रहनेछन् । समयसँगै यसको स्थान्तरण पुस्ता दरपुस्ता भइनैरहनेछ । एकै समाज भित्र सामाजिक र भावनात्मक रुपमा मानिस मानिसहरुको बिचमा बिखन्डनको कारक बनिनैरहनेछ । त्यसको मूल्य समाजले चुकाइरहनु पर्नेछ ।

सामाजिक समानताका लागि राज्यले जसरी प्रयोगात्मक रुपमा समतामुलक कार्यको सुरुवात गर्नुपर्ने थियो त्यो खाली भाषण र घोषणापत्रमा मात्रै सिमित रह्यो । राज्यले केहि गरेकै छैन भन्न खोजिएको होइन । बरु राज्यले आर्थिक, सामाजिक र राजनीतिक समानताका लागि शोषित, पिडित जाति, समुदायहरुलाइ सुचिकृत गरि हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गरेको छ । तर यसका बाबजुत समाजमा यसले केहि हदसम्म काम गरेपनि जातीय विभेदको सामाजिक सोचमा खासै प्रभाव परेको देखिँदैन । आज एक्काइसौं शताब्दिमा पनि जातीयतामा आधारित समाज र जातीय प्रथा हाम्रो समाजको कलंकको रुपमा अझै ब्याप्त छ । यो आफैंमा एउटा लज्जाको बिषय हो । त्यसैले नेपालको भबिष्यको लागि राष्ट्रिय एकता र अखण्डताको लागिपनि जातीय विभेदित समाजको उन्मुलन आजको आवश्यकता भएको छ ।

म आफै बसेको यूरोपेली समाज हेर्छु । यहाँको परिवेशमा हेर्यौ भने जात भनेको एउटा बंशावली पहिचान मात्रै हो । यसका आधारमा न यहाँ आरक्षण व्यवस्था छ न अवशर । अवशरका लागि यहाँ स्वयं आफूमा शिप र ज्ञान हुनै पर्छ । यहाँ धेरै पहिला नै बर्गीय समाजको अन्त्य भैसकेकोले यसो भएको हो । राष्ट्रिय नीति तथा कानुनमा कुनै पनि विभेदीकरण (वर्ग, जाति, धर्म , लैंगिक कुनै पनि आधारमा) बर्जित छ । कानुनतह दण्डित हुन्छ । समाजका हरेक मानिसहरु स्वयं यसलाई कुसंस्कारका रुपमा लिन्छन ।

यहाँ बिवाह भन्नु दुइ मानिसका बिचमा हुने पबित्र सम्बन्ध (समझदारी) हो । यसका लागि न जात सोधिन्छ न आर्थिक हैसियत हेरिन्छ । हेरिन्छ भने त्यो केवल सम्बन्ध दिगो राख्न चाहिने इमान्दारिता र नैतिकता ।

यहाँ हरेक मानिस आफ्नो समाज र राज्य प्रति इमान्दार छन् । राज्यपनि आफ्ना नागरिक प्रति उत्तिकै उत्तरदायी छ । यहाँको सुशासन, नागरिकको मौलिक अधिकार, मानवअधिकार आम नागरिकले महसुस गर्न सक्छ । यसरी सभ्य समाजको निर्माणसँगै राष्ट्र धनी बनेको छ । त्यो भन्दा ठूलो कुरा यहाँको मानिसहरुको मानसिकता ठूलो छ । सोचहरु फराकिला छन् ।

हुन त आज समयसँगै बिस्तारै हाम्रो समाजमा सोचहरु बदलिएको छ । आंशिक रुपमा समाजमा सोचहरु फराकिलो हुँदै गएपनि अझै निर्मुल भने भइसकेको छैन । उत्पिडनमा परेका वर्गहरुले पनि अब दोष समाजलाई र बादलाइ मात्रै दिनु भन्दापनि  आफूलाइ पनि क्षमतामा, अवशरमा र योग्यतामा बृद्दी गर्दै लैजानु पर्छ । यसका बाबजुत नेपाली समाज बिश्वको एक उदाहरणीय समाज हो । यहाँ यति सानो भूगोल भित्र यति धेरै मिश्रत जात जातिहरु, विभिन्न सम्प्रदायहरु आफूमा मिलेर र एकै मालामा उनियर बसेका छन । यहाँ हरेक जात जातिको आआफ्नै मौलिक भाषा, भेष भुषा, संस्कृति छ । तर पनि समाजमा आपसी मेलमिलाप, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता सुमधुर छ । सबैले एक अर्काको धर्म संस्कृतिलाई बडो सम्मानका साथ महत्व दिन्छन । महत्वपूर्ण चाड पर्बहरुमा सबै सामाजिक विभेद र तिक्तता भुलेर सबैले सँगै मिलेर मनाउँछन् । सायद यहि हो नेपाली हुनुको परिभाषा !

(राना नेपाली जनसंपर्क समिति, फ्रान्सका अध्यक्ष हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक